जेलका ७०० कैदीबन्दीलाई कोरोना, आठको मृत्यु

जेलका ७०० कैदीबन्दीलाई कोरोना, आठको मृत्यु

राससले दिएको जानकारीअनुसार मलुकका विभिन्न कारागारमा रहेका ७०० भन्दा बढी कैदीबन्दीलाई कोरोना सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । स ङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको जानकारी विभागका सूचना अधिकारी देवर्शी सापकोटाले दिएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार सुन्धारामा रहेका ६ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङमा एक–एकजनाको मृत्यु भएको पनि सापकोटाले बताए ।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० भन्दा बढीको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० जनामा पोजिटिभ देखिएको र झन्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।

सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ ।

आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए । शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ ।

विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :