डेढ दर्जन मानिसलाई जिउँदै जलाउने इँटाभट्टाका हेडमिस्त्री पक्राउ

डेढ दर्जन मानिसलाई जिउँदै जलाउने इँटाभट्टाका हेडमिस्त्री पक्राउ

काठमाडौँ : अपराध कहीँ गए पनि छिप्दैन भन्ने नेपाली उखान छ । अर्को उखान छ पाप धुरीबाट कराउँछ । यतिबेला भएको छ त्यस्तै । २०६४ सालको संविधानसभा चुनावमा बुथहरू प्रभावित पारेर चुनाव जित्न बनाइएका बम विस्फोट भएको घटना लुकाउन घटना थाहा हुनेहरूलाई जिउँदै आगोमा हालेर मार्ने व्यक्तिका रुपमा बदनाम भई हाल जेल सजाय काटिरहेका नेपाली काङ्ग्रेसका नेता मो अफ्ताब आलमका सहयोगी मानिएका एक व्यक्ति पक्राउ परेका छन् ।

डेढ दर्जन मानिसलाई जिउँदै जलाएको भनी कुख्यात इँटाभट्टाका हेडमिस्त्रीलाई ढिलै भए पनि प्रहरीले पक्राउ गरेको समाचार सार्वजनिक भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्फरपुरबाट पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार भारतीय स्पेसल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको हो । २०६४ साल चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस ४ (हाल राजपुर नगरपालिका ४) का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । विस्फोटमा परी श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि मृतक र घाइतेलाई इँटाभट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा काङ्ग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । त्यसको एक वर्षपछि हेडमिस्त्री सहनीले पक्राउ परेका हुन् । उनले आलमको निर्देशनमा बम विस्फोटका क्रममा मृत्यु भएका र घाइते भएकाहरूलाई भट्टामा जलाइएको स्वीकारेको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :