कोरोना केन्द्र बन्दै प्रधानमन्त्री वलीको निवास

कोरोना केन्द्र बन्दै प्रधानमन्त्री वलीको निवास

काठमाडौँ : देशको प्रमुख प्रशासकीय थलो सिंहदरबारलाई पनि सञ्चालन गर्ने प्रधानमन्त्री केपी वली र उनका सल्लाहकारहरूको बासस्थल र कार्यकक्षसमेत रहेको बालुवाटार अब कोरोनाको केन्द्र बन्दै गएको छ । बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण भएको र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि कोरोना सङ्क्रमित भएको सार्वजनिक भएसँगै कोरोना अब बालुवाटारमा पनि छिरिसकेको देखिन्छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरका ६७ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई पनि शनिबारै कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको निवासस्थान बालुवाटारमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको सार्वजनिक भएको छ । नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र पहरी बलका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ जनासमेत ६७ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको हो ।

सार्वजनिक भएको समाचारअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वीकय सचिव इन्द्र भण्डारी र फोटो ग्राफर राजन काफ्लेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रिमाल, भट्टराई, थापा, भण्डारी र काफ्लेले आफूहरू सङ्क्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्री केपी वलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ । यसअघि प्रधानमन्त्री वलीकी निजी चिकित्सकसमेत रहेकी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्यासिंह शाहलाई असोज १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :