बलात्कृत शव र सिमदेवताको थान

लेखक : अशाेक सुवेदी

बिसाएर डोकोनाम्लो
फेरेर च्याथ्रा लुगा
दसैँमा नयाँ नाना फेर्ने रहर थियो
खुल्नासाथ स्कुल
लगाएर नयाँ ‘डे«स’
पढ्न जाने आशा पलाएको थियो
पड्काउँदै नयाँ चप्पल
चर्चरी फुटेका नाङ्गा खुट्टाहरूमा ।
कपालको फुर्कोमा फूल बनाएर नयाँ रिबनको
तेल लगाउँदै चिटिक्क कोरेर कपाल
छुट्ट्याएर सिउँदो
लगाउँदै निधारमा रातो टिकी
भिरेर पिठ्युँमा नयाँ झोला
देखाउने रहर थियो स्कुलका साथीहरूलाई ।

हिजै त हो
चार वर्षदेखि मुग्लानिएका बाबाआमासँग
हिम्मत जुटाएर भनेकी थिइन् उनले–
सबै साथी बोक्न थालेका छन् मोबाइल
दसैँमा आउँदा एउटा मलाई पनि ल्याइदिनू
अनि म ‘किलास’ मा ‘फस्ट’ हुन्छु
र पुग्छु सात कक्षामा…
गन्दै थिइन् उनी दिनहरू
र भाँच्दै थिएन् औँला–
आज असोजको सात गते
सकिनै लाग्यो सोरसराद
२३ दिन छन् जमारे औँसी आउन
बाबाआमा आइपुग्न २० दिन छ बाँकी…
तर !
तर यी कुनै पनि दिन आएनन् उनको जीवनमा
न बाबाआमा आइपुग्न पाए, न त सिउँदो नै कोरियो
नलगाउँदै निधारमा रातो टिकी
आयो त एउटा क्रूर काल बनेर आयो समय
उपहार दिएर गयो बलात्कार र मृत्युको !

उनी अर्थात्
बझाङ मष्टाकी बाह्र वर्षीया सम्झना कामी
अर्थात् भनौँ धेरैधेरै सम्झनाहरू… ।

सिमदेवता थानमा
आज बिहानै पनि त हो
आएकी थिइन् हातमा पूजाथाली लिएर उनी
र गरेकी थिइन् कामना–
औँसीभन्दा पहिल्यै आइपुगून् मेरा बाबा–आमाहरू…

थानको पेटीमा
सधैँ बिसाउँथिन् उनी घाँसदाउराको भारी
आज बिसाइएको छ त्यहाँ उनकै बीभत्स लास
बलात्कृत सम्झनाको लास !
र समाज हेरिरहेछ तमासा !
घुमेर बीभत्स लासवरिपरि
सरकार पारिरहेछ नखरा !
घुमिरहेका छन् वरिपरि ‘बिस्ट’ हरू
र गरिरहेछन् खासखुस–
डङ्ग्रिनी, खुब पार्थी नखरा
भेटी अहिले…
साससँग मात्र होइन
लाससँग पनि इख लिइरहेछ समाज
लिइरहेछ युगयुगदेखि बदला !
मानौँ ‘डङ्ग्रिनी’ अर्थात् कामी हुनु
सबैभन्दा ठूलो अपराध हो सम्झनाको
पूजाथाली बोकेर मालिक्नीहरू
र तिनका मैसाप्झैँ मन्दिरमा धाउनु
नखरा हो उनको
दसैँमा नयाँ नाना र चप्पल लगाउने इच्छा राख्नु
र कपालको फुर्कोमा नयाँ रिबन झुन्ड्याउने रहर पाल्नु
केवल नखरा हो !
किनकि ऊ यो समाजले डामेर छोडेकी
दलित हो, अछूत हो, कर्महारा हो
चल्छ, सबैलाई चल्छ उसको तन
र चल्छ उसको कलिलो लास
तर ऊ चल्दिन !

सिमदेवताको थान
जहाँ केहीबेर अघिसम्म
गरिरहेका थिए ओहोरदोहोर
आस्तिकहरू
बर्बराउँदै नानाथरी तन्त्रमन्त्र
पण्डित, धर्मात्मा र छूतहरू
बोकेर हातहातमा फूल, अछेता, धूप र दियो
अहिले पनि
एकातिर मन्दिरमा मगमगाइरहेको छ धूप
र जलिरहेको छ दियो
अर्कातिर त्यही आकाशमा गुन्जिरहेको छ
सम्झनाको करुण क्रन्दन !
त्यही मन्दिरमै छट्पटाइरहेको छ
बलात्कृत सम्झनाको कोमल तन !
केही थान यौनपिपासुहरू
केही थान रक्तपिपासुहरू
कोपरिरहेछन्, चिथोरिरहेछन् र
उन्मत्त भएर सेरिरहेछन् मुनाको घाँटी !
मौनमौन र अमूकअमूक छ
निर्जीव सिमदेवताको थान ।

हृदयको भाका मिसाएर सम्झनाको चित्कारमा
बोल्न त बोल्दैनन् सास भएकैहरू पनि
के बोलून् यी जाबा निर्जीव ढुङ्गा र त्रिशूल !

ए निर्जीव भित्तो !
ए पाखण्डको पहाड !
ए भ्रम र अन्धविश्वासको चाङ !
किन फैलाइरहेको छस् आजसम्म कुविश्वास !!
पाखण्डपूर्ण प्रलाप गरेर बत्तुराइरहेका
ए राजनीति र धर्मका ठेकेदार–व्यापारीहरू !
अब के हुन्छ तिम्रो जबाफ–
सम्झनाको लुछिएको तनसँग ?
अब के हुन्छ तिम्रो जबाफ–
बलात्कृत कलिली मुनाको बीभत्स शवसँग ?

आज जहाँ लडिरहेको छ सम्झनाको शव
हो, त्यही सिमदेवताको थान हो
जसका लागि हिजो
सम्झनाका बाउले नै बनाइदिएका थिए त्रिशूल
र अस्ति सम्झनाका बाजेले नै बनाइदिएका थिए घण्ट
आफ्नै बाजेले बनाएको त्रिशूलको प्रहारले
उडेको छ उनको प्राणपखेरु !
बोल् न बोल् ए सिमदेवता
तेरै मूर्तिसामुन्ने लडिरहेको छ
बाह्र वर्षीया सम्झनाको बीभत्स लास !
सत्तारक्षित यौनपिपाशुहरूले मिल्काएका छन् यहीँ
र क्षतविक्षत पारिदिएका छन् सम्झनाको तन
के छ तेरो शक्ति ?
आफ्नै मूर्तिसामुन्ने
एउटी कलिली मुनाको पीडा र आक्रोशले
छट्पटाइरहँदा तन
बगिरहँदा कलिलो शरीरबाट भलभली रगत
र निथ्रिँदा पनि प्राणवायु
चल्मलाउँदैनस् भने तँ,
एउटी चिचिली मुनाको बीभत्स शवले
पोल्दैन र काटिँदैन भने तेरो हृदय !
फालिदेओ ए निर्माताहरू हो
तिमी आफैँले बनाएको सिमदेवताको त्रिशूल र घण्ट
भत्काइदेओ मन्दिर
थुपारेर झ्यास
लगाइदेओ आगो
र ताप बसेर वरिपरि
तर यो कुराचाहिँ नबिर्स
त्यही झ्यासमा बलून्
बलात्कारी र तिनका संरक्षकहरू
अनि तिनका धर्मशास्त्र नामका पागलशास्त्र पनि
जसले शदीयौँदेखि गरिरहेछन्
सम्झनाहरूको बलात्कार र हत्या
र गरिहेछन् मनोरञ्जन !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :