माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी वलीको राजीनामा माग

माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी वलीको राजीनामा माग

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले काठमाडौँको माइतीघर मण्डलाबाट प्रधानमन्त्री कपी वलीको राजीनामा माग गरेको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको उक्त सङ्गठनले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा कोरोना महामारी नियन्त्रणमा सरकारले गैरजिम्मेवारीपन देखाएकाले प्रधानमन्त्री वलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो ।

मण्डलामा आयोजित विरोधसभामा सहभागी विद्यार्थीहरूले सरकारविरुद्ध नारा पनि लगाएका थिए ।

कार्यक्रममा उक्त सङ्गठनका अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने र महासचिव पेशल दाहालले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा, स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण, हत्या, हिंसा र बलात्कारका विषयमा सरकारले फासिवादी चरित्र देखाएको बताएका थिए ।

वक्ताहरूले नेपालका लिम्पियाधुरासहितका भारतीय साम्राज्यवादद्वारा अतिक्रमित भूमि फिर्ता गर्न, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, शिक्षा र स्वास्थ्यको जिम्मेवारी बहन गर्न र हत्या, बलात्कारका घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :