काङ्ग्रेस पनि बोल्यो सम्झना कामीको बलात्कार–हत्याकाण्डविरुद्ध

‘गृहमन्त्रीले गरे बलात्कारका घटनाहरूलाई प्रोत्साहन’

काङ्ग्रेस पनि बोल्यो सम्झना कामीको बलात्कार–हत्याकाण्डविरुद्ध

काठमाडौँ : बझाङमा बुधबार बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न नेपाली काङ्ग्रेसले पनि माग गरेको छ । विभिन्न सात विद्यार्थी सङ्गठनले यसअघि नै उक्त बलात्कार र हत्याकाण्डका अपराधीलाई पत्ता लगाई तत्काल कारबाही गर्न माग गर्दै यसअघि नै सरकारलाई चेतावनी दिइसकेका छन् ।

काङ्ग्रेसले गृहमन्त्रीले संसद्मै उभिएर बलात्कार दैनिक हुने घटना हुन् भनी दिएको अभिव्यक्तिले बलात्कारीलाई प्रोत्साहन दिएको भन्दै काङ्ग्रेसले निन्दा पनि गरेको छ । गृहमन्त्रीले संसद्मै बलात्कार दिन–प्रतिदिन हुने घटना भनी दिएको गैरजिम्मेवार अभिव्यक्तिले नै यस्ता घटनाहरूलाई प्रश्रय दिएको निष्कर्ष काङ्ग्रेसले निकालेको छ ।

संसद्को प्रमुख प्रतिपक्षी पार्टी काङ्ग्रेसले सम्झना कामीको बलात्कारपछि हत्या भएकोे घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग्मीले जारी गरेको प्रेस विज्ञप्तिमा बलात्कार, हत्या हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहारलगायत आपराधिक घटनाहरू हुन नदिन सरकार प्रतिबद्ध नदेखिएको भन्दै सरकारको आलोचना गरिएको छ ।

बझाङको मष्टा गाउँपालिका २, खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बुधबार बलात्कारपछि हत्या भएको थियो । यस्ता आपराधिक घटनाहरू देशमा दिनानुदिन एकपछि अर्को गरी बढिरहेको भन्दै विज्ञप्तिमा आमनागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको लाचारी एवम् गैरजिम्मेवार प्रवृत्तिप्रति हामी प्रश्न गर्न चाहन्छौँ– कहिलेसम्म नेपाली महिलाहरू बलात्कृत हुने र ज्यान गुमाउनुपर्ने हो ? महिलाहरू निर्जीव मेसिनका रूपमा प्रयोग भइरहेका छन् । यस्ता अमानवीय कार्य तत्काल रोकिनुपर्दछ ।’

विगतमा भएका बलात्कार र हत्याहिंसामा संलग्न अपराधीलाई सरकारले कानुनको कठघरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नसकेको भए उक्त दुःखद् घटना नुहने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक नाबालिकामाथि भएको क्रूरतापूर्वक बलात्कार र हत्याको हामी घोर भत्र्सना गर्दै उक्त घृणित कार्य गर्ने अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडाभन्दा कडा सजाय दिलाउन र हत्या गरिएकी बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछौँ ।’

स्मरणीय छ, विगतमा नेपाली काङ्ग्रेसका नेता योगप्रसाद उपाध्याय गृहमन्त्री भएको समयमा बलात्कारीलाई कारबाही गर्न माग गर्दै आएको प्रतिनिधिमण्डललाई उनले महिलालाई खुर्सानीको धुलो बोकेर हिँड्न र बलात्कारीका आँखामा छ्यापिदिन भन्दै उट्पट्याङपूर्ण जबाफ दिएपछि उनको भनाइ नकारात्मक रूपमा चर्चामा आएको थियो । बलात्कार र हत्याका घटनामा सरकारमा बसेकाहरू प्रायः यस्तै गैरजिम्मेवारीपूर्ण काम र अभिव्यक्तिका कारण बारम्बार विवादमा पर्दै आएका छन् । बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न लामो समयसम्म आन्दोलन नै सञ्चालन गरिए पनि गृहमन्त्रीले अझै वास्तविक हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेका छैनन् । निर्मलाको बलात्कार र हत्याको घटनामा प्रमाण नष्ट गराउने व्यक्ति भनी जागिर खोसी थुनामा राखिएका प्रहरी अधिकारीलाई हालसालै उन्मुक्ति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :