हिटलरजस्तो इतिहास

कविता

हजारौँहजार जनतालाई जनयुद्ध गर्न उक्सायौ
जनताको साथ पाएर नै राजतन्त्रलाई फुस्कायौ
हजारौँहजारले बलिदान दिए ज्यानको परबाह नगरी
मर्ने मरे, बाँचेकाहरू रोएका छन् धर्धरी ।

घाइते–अपाङ्गले के पाए त राखेनौ कुनै हिसाब
सहिदको सपना पूरा गर्ने मागेका छन् निसाफ
लठ्ठै बनायो बाह्रबुँदेले लगायो तिमीलाई मोहनी
सम्झौता गर्यौ दिल्ली पुगेर देशको हितमा नहुनी ।

शान्ति–सम्झौताको नाम दियौ हतियार, सेना बुझायौ
के–के थियो देशद्रोही सम्झौता खै कता लुकायौ
सुखी नेपाली, समृद्ध नेपाल मीठो दियौ नारा
डुबायौ देशलाई, बनायौ कङ्गाल जनताजति सारा ।

लडेका थियौँ जनयुद्ध जनवादको उद्देश्य लिएर
एमालेमा विलीन भयौ जनतालाई धोका दिएर
माफिया र दलालबाट देशले मुक्ति पाउँदैन
यही व्यवस्था रहेसम्म जनताको व्यवस्था आउँदैन ।

जबसम्म वैज्ञानिक समाजवाद आउँदैन यो देशमा
जनता अघि बढ्नैपर्छ क्रान्तिको भेषमा
जनयुद्धको नाम दिएर देश बनायौ सर्वनाश
प्रचण्ड तिम्रो नाम लेखिनेछ हिटलरको जस्तो इतिहास ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :