जनअदालतमा बयान दिँदै गाउँपालिकाका अध्यक्ष

जनअदालतमा बयान दिँदै गाउँपालिकाका अध्यक्ष

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गरी सोधपुछ गरेको जानकारी प्राप्त भएको छ । गत असोजसम्म अछाममा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा मात्रै करिब ११ करोड २ लाख ७ सय ३३ भन्दा बढी खर्च भएको सार्वजनिक भएपछि जनअदालतले त्यसको हिसाबकिताब बुझाउन निर्देशन दिएको थियो ।

कोरोना महामारी रोकथामका नाममा भएको खर्च विवरणको स्पष्ट हिसाबकिताब र स्थानीय निर्वाचनपछिको प्रगति प्रतिवेदनका विषयमा आफूहरूले सोधपुछ गरेको नेकपा अछामका कार्यालय सचिव लक्ष्मणले बताएका छन् । तुर्माखाद गाउँपालिकाले एक करोड छ लाख ६२ हजार दुई सय सोह्र रुपैयाँ खर्च भएको तथ्य गत असोजमा सार्वजनिक गरेको थियो । सोहि विषयमा व्यापक जनगुनासो आएपछि गाउँपालिकाका अध्यक्ष शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरिएको हो । कोरोना कहरकै बीच अछाममा अधिकांश स्थानीय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता गरेको उजुरी जनपरिषद्को कार्यालयमा परेको नेकपा अछामले बनाएको छ ।

आफूहरूले सबै तहको अनुगमन गरिरहेको र अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपालको निर्देशिकाका आधारमा कारबाही गर्ने जिल्ला जनपरिषद्का प्रमुख सौगातले बताए । अध्यक्ष शर्मालाई जनअदालतमा सोधपुछ गरी ७ दिनमा जबाफ दिने गरी साधारण तारेखमा रिहा गरिएको नेकपा अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :