तेज सकिएका रामबहादुर थापाले विद्रोहीलाई दिए निस्तेज पार्ने धम्की

अनावश्यक द्वन्द्व भड्काएर मुलुकलाई अस्थिर बनाउँदै वली सरकार

तेज सकिएका रामबहादुर थापाले विद्रोहीलाई दिए निस्तेज पार्ने धम्की

काठमाडौँ : केही वर्षअघिसम्म रामबहादुर थापाको नाउँ नेपाली श्रमजीवी जनताले गर्वसाथ लिन्थे । रामबहादुर थापाभन्दा पनि बादल नाउँले चिनिएका उनी जनयुद्धका एक कुशल कमान्डरका रूपमा गनिएका थिए । पुष्पकमल दाहालले जनयुद्धमाथि षड्यन्त्र गरेर संशोधनवादी बाटो अपनाएपछि उनी मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी निर्माण गरुन्जेल चर्चामा पनि थिए तर जब उनी किरणको पार्टीबाट पनि पलायन भएर आत्मसमर्पणवादी दाहालकै पार्टीमा फर्किए, उनीप्रतिको मानिसको आशा एउटा गम्भीर धोका र भ्रममा रूपान्तरित भयो । यतिबेला उनी दलाल पुँजीवादी सत्ताको टेको बनिरहेका केपी वलीको सामाजिक फासिवादी सरकारको गृह प्रशासन हेरिरहेका छन् र बारम्बार विभिन्न विवादास्पद अभिव्यक्तिका कारण बदनाम बनिरहेका छन् । अझ उनका पछिल्ला केही अभिव्यक्ति र क्रियाकलापहरू चरम प्रतिगामी र द्वन्द्व भड्काउने हर्कत साबित हुँदै गएका छन् ।

पछिल्लो समय गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्ने भाषण गरेपछि उनको यो भनाइ फेरि चरम विवादमा तानिएको छ । केही दिनअघि बालिका सम्झना कामीका बलात्कारपछि हत्याका विषयमा उनले त्यस्तो जघन्य अपराधलाई सामान्य रूपमा प्रस्तुत गर्दै यस्ता घटना दिनदिनै हुन्छन् भन्ने हलुका र गैरजबाफदेही टिप्पणी गरेपछि उनी सर्वसाधारणको समेत आक्रोशको निशाना बनेका थिए ।

गृहमन्त्री थापाले ६५ औँ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको नामै नलिए पनि भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना सङ्कलन, विश्लेषण, फिल्ड अपरेसन र नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्ने बताएका थिए । स्मरणीय छ, जनयुद्धका क्रममा थापा माओवादी नेतृत्वमा रहँदैको समयमा प्रहरी पराजित भएपछि सरकारले सेनाको दुरुपयोग गर्दा संसारभरबाट त्यसको आलोचना भएको थियो । आखिरमा माओवादीसँग सेनाको पनि केही लागेको थिएन । एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलन र कारबाही भ्रष्ट, तस्कर, कमिसनखोर, बिचौलिया र अपराधीहरूका विरुद्ध केन्द्रित गरिरहेको थियो । कोरोना भाइरस सङ्क्रमणले प्रकोपको रूप लिएपछि नेकपा आफ्ना आक्रामक कारबाही स्थगन गरी जनचेतना जगाउने र कोरोनाबाट जनतालाई जोगाउने घोषणा गरेर अभियानकै रूपमा गाउँबस्तीहरूमा केन्द्रित बनेको छ तर थापा गृह प्रशासनले जनसेवामा लागेको नेकपाका नेता–कार्यकर्तालाई अनावश्यक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर हिरासत र जेलमा पठाउने काम गरिरहेको छ । थापाले यस्तो बेलामा नेकपा र अन्य विपक्षीमाथि चेतावनी दिएर आफ्नो कमजोरी लुकाउने धृष्टता गरेका छन् ।

०७५ साल फागुन २८ गते वली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, दोहोरो झडपको बहानामा इन्काउन्टर गरी नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलसहित तीनजना कार्यकर्ताको हत्या गरिसकेको छ । सरकारको यो गतिविधिको चौतर्फी आलोचना हुँदै आएको छ ।

हालै २१ वटा विभिन्न साना वामपन्थी दल र सङ्गठनहरूले कार्यगत एकता गरी नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने, राष्ट्रघात, जनघात, कमिसन, तस्करीलगायत सरकारका मुलुक र जनताविरोधी गतिविधि रोक्नुपर्ने माग राख्दै सडक सङ्घर्ष गर्दै आएका छन् । यस्तो अवस्थामा गृहमन्त्री थापाले विभिन्न बहानामा विद्रोही र विपक्षीलाई तेजोबध गर्ने घोषणा गर्नु द्वन्द्व र झडप निम्त्याउने कामबत्राहेक केही नभएको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :