युवा सङ्गठनले पनि सुरु गर्यो रक्तदान अभियान

नवलपुरमा २५ जनाले दिए रगत

युवा सङ्गठनले पनि सुरु गर्यो रक्तदान अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले पनि रक्तदान कार्यक्रम सुरु गरेको छ । यसअघि अखिल क्रान्तिकारीले देशैभर रक्तदान अभियान सञ्चालन गर्दै आएको थियो ।

यसैक्रममा युवा सङ्गठन नेपाल नवलपुरले मध्यबिन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका २५ भन्दा बढी युवा नेता, कार्यकर्ता र स्थानीय युवाको उपस्थितिमा युवा सङ्गठन नवलपुरले कोरोना महामारीका कारण अस्पतालमा भइरहेको रगतको अभाव पूर्ति गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

नवलपुर रेडक्रससँगको समन्वयमा गरिएको उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको जानकारी युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले दिएका छन् ।

जिल्ला अध्यक्ष अविनाशले पुँजीवादी दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरूले जनतालाई लुटिरहेको र कोरोनाभन्दा ठूलो दुस्मन विद्यमान दलाल संसदीय व्यवस्था रहेकाले यसका विरुद्ध देशभक्त, क्रान्तिकारी, परिवर्तन चाहने सम्पूर्ण युवालाई एकजुट हुन अपिलसमेत गरे ।

नवलपुरमा युवा सङ्गठनले विभिन्न अभियानात्मक सङ्घर्ष गर्दै आएको छ । यसअघि नवलपुरमा अखिल (क्रान्तिकारी) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :