सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

मानवसमाजको प्रारम्भबाहेक सिकारमा आधारित ढुङ्गेयुग, फाैज (जत्था) मा आधारित दासयुग, कृषिमा आधारित सामन्ती युग र अहिलेको पुँजीवादी युग यी सबै युगहरूमा मानवले आफूलाई सधैँ समूहमा राखेर आफ्ना समस्याहरू समाधान गर्दै आएको इतिहास छ । मानिसले आफूले थाहा पाउने भएदेखि नै समुदायको महत्व बुझेर वा आवश्यकताले हो, कुनै न कुनै समूहमा रहेर नै काम गर्यो । समयहरू बित्दै जाँदा काम गर्ने तौरतरिका र माध्यमहरू फरकफरक र परिष्कृत पनि बन्दै गए । सिकारमा आधारित ढुङ्गे युगभन्दा दासयुगमा धेरै विकास र जटिलता थप्यो । त्यसभन्दा बढी कृषिमा आधारित सामन्ती युगमा थपिए । श्रमको विविधीकरण र त्यसले बनाएको समाजले विकास र विभेद दुवै सँगै लिएर आयो । यो प्रक्रियासँगसँगै राज्यमा अनेक जटिलताहरू पैदा हुँदै जान थाल्यो । अब राज्यलाई हिजोको परम्पराबाट अगाडि बड्न समस्या हुन थाल्यो अनि राज्य प्रमुख वा अगुवाहरूले राज्यका दैनिक काम व्यवस्थापन गर्न जिम्मेवारी विभाजन गर्न थाले । त्यही कार्यविभाजनलाई दिशानिर्देश गर्न शासकहरू विभिन्न धर्म, तिकडम र षड्यन्त्रको सहारा लिन थाले जसले राजनीतिक प्रणालीलाई जन्म दियो । अहिलेको आधुनिक राजनीतिक प्रणालीको प्रारम्भ त्यही चरणबाट भएको मान्न सकिन्छ । त्योभन्दा अगाडिका समाजहरू विशेषतः भौतिक बलमा आधारित थिए । जो बलियो हुन्थ्यो ऊ नै समूह वा कबिलाको अगुवा हुन्थ्यो । उसले आफ्ना समूहका मानिसहरूको रक्षा गर्ने, समूहलाई काममा लगाउने र व्यवस्थापन गर्ने गर्दथ्यो । त्यो बेला समूहका अगुवाहरू बेलाबेलामा परिवर्तन भइरहन्थे । बलियाहरूले विद्रोह गर्ने, अलग्गै समूह निर्माण गर्ने, लडाइँ जितेर समूहको मुखिया बन्ने हुन्थ्यो तर पछि विशेषतः दासयुगको अन्त्य र खेतीमा आधारित सामन्ती युगको सुरुआतसँगै संसारभर हिजोका घुमन्ते समूहहरू स्थायी बसोबास र आफ्नो समूहको नेतृत्व र परिचालन वंश परम्पराअनुसार बुबा पछि छोरा वा नातेदारबाट खोज्न थालियो । यसलाई थप बलियो धर्म र श्रमका आधारमा कार्य विभाजन गरिएको जात व्यवस्थाले ग¥यो । जसका कारण संसारभर राजामहाराजाहरू, उनका उत्तराधिकारीबाट राज्यहरू सञ्चालन हुने अवस्था आयो । यो प्रक्रिया केही हज्जार वर्ष चल्यो । यो प्रक्रियाभित्र भएको संस्कृति र श्रम विभाजनले निर्माण गरेको संरचनाले समाजको बनोट तथा उत्पादक शक्ति र साधनहरूमा व्यापक हेरफेर ल्यायो जसको परिणाम सेवाका लागि घरघर धाउने बालीघरे कामदारले अब निश्चित ठाउँमा जाने र निश्चित समय व्यापार गर्ने हुँदै घुमन्ते (हाटबजार) व्यापारको सुरुआत भयो । सायद यही समय हो संसारभरि सिन्धुघाँटी, ह्वाङ्हो, मिश्र, रोमन साम्राज्यलगायत ठूलाठूला सभ्यताहरूको जग बस्न थालेको । अब नगरहरूमा ससाना व्यापारिक बजारहरू निर्माण हुन थाले । यसले एउटा समुदाय र सम्बन्धको निर्माण गर्यो । यसले राज्य सञ्चालन, काम र आवश्यकतामा अझ विविधता ल्यायो । अब हिजोको वस्तु विनिमय अब जटिल र झन्झटिलो हुँदै जान थाल्यो । यसले मुद्राको आविष्कार भयो । यो इतिहासकै युगान्तकारी परिघटना थियो ।

अब राज्यराज्यबीच कृषि, पशुपालन, हस्तकला र अन्य व्यापारहरू मुद्रामा हुन थाले । यसले विनिमय प्रक्रियालाई अझ सहज र व्यापक बनायो । अब यिनै कुराहरूमा राज्यराज्यबीच युद्ध, कूटनीति र सम्झौताहरू हुन थाले । यसले राज्यहरूलाई स्वार्थकेन्द्रित र जटिल प्रक्रियामा लग्यो । अब राज्य सञ्चालनका लागि छुट्टै नीतिहरूको आवश्यकता पर्न थाल्यो । त्यसका लागि पुरानो सत्ता सञ्चालनका विरासतका रूपमा रहेको धार्मिक मान्यता, आन्तरिक कलह, दाउपेच र षड्यन्त्रले नयाँ राज्य सञ्चालनसम्बन्धी नीतिहरू निर्माण र परिचालनमा सहयोगी भूमिका निर्वाह गर्यो । यसले राज्य सञ्चालनसम्बन्धी नयाँ मान्यताहरू स्थापित गर्यो । पोप, पादरी र भक्तहरूले प्रभु, भगवान् र अल्लाहका नाउँमा शासन गरे । यो आर्थिक संरचनाले निर्माण गरेको सम्बन्ध थियो । उता माग र पूर्तिको सिद्धान्तअनुसार वस्तुहरूको अभाव हुन थाल्यो । अब आजको आवश्यकता हिजोको तरिकाले नथेगिने भयो । हस्तचालित उद्योगबाट यन्त्रीकरणमा राज्यहरू जान बाध्य भए जसले वाष्प इन्जिनलाई आविष्कार गर्न सहयोग गर्यो । यो अर्को ऐतिहासिक फड्को थियो । यन्त्रीकरणसँगै उद्योगहरू नयाँ रूपमा विकास भए । हिजोका कृषि कामदारहरू अब औद्योगिक मजदुर भए । औद्योगीकरणको यो प्रक्रियाले मजदुरहरूलाई सर्वहाराकरण गर्यो । हिजोका गाउँको कृषि श्रमको ठाउँ सहरमा औद्योगिक श्रम र सम्बन्धले लियो । यो सामन्ती कृषि श्रमभन्दा निर्मम र उपयोगमा आधारित थियो । अब मजदुर हरूसँग केवल श्रमका लागि दुई हात र कामका लागि उद्योगको विकल्प रहेन । उद्योगहरूमा अब हजारौँ मजदुरको फौज कामदारका रूपमा भर्ती हुने र मालिकको इच्छामा मजदुरको जीवन चल्ने भयो । यसले श्रमिकहरूको अत्यधिक दोहन गर्यो जसका कारण श्रमिकहरू रोग, भोक र अभावले ग्रस्त हुँदा परिवार पाल्न समस्या हुने स्थिति पैदा हुँदै गयो भने मालिक धनकुवेरमा परिणत हुँदै गए । यो अवस्थाले राज्यमा नयाँ अभिजात वर्गको जन्म गराइदियो जसले नयाँ सामाजिक संरचना निर्माण गर्यो । राज्यका स्रोत, साधन र अर्थ सीमित मानिसहरूमा केन्द्रित हुने युगको सूत्रपात भयो अर्थात् पुँजीवादी युग जहाँ वर्ग, वर्गीय पक्षधरता, विचार, दृष्टिकोण, दर्शन अब यी तत्वका आधारमा समाजको सम्बन्ध निर्माण, परिचालन र व्यवस्थापनको सिलसिला सुरुआत भयो । यो प्रक्रियाले समाजलाई दुई कित्तामा विभाजन गरिदियो : पुँजीपति वर्ग र सर्वहारा वर्ग । अब संसारभर विशेषतः पश्चिम युरोपमा यी वर्गका बीच बहसहरू हुन थाले । मेहनतकस जनताका प्रतिनिधिहरूले समानतामूलक राज्यको परिकल्पना गर्ने र पुँजीपतिहरूले आफ्नो अनुकूल राज्य चाहने । यो सिलसिला लामै चल्यो । यसैबीच समाजवादी विचारकहरू हेगेल, फायरबाखलगायत मेहनतकस जनताका राज्यको कल्पनासहित राज्यसम्बन्धी धारणाहरू सार्वजनिक गरे जसले यी विचारकहरूको धारणामा त्यति बेलाका बुद्धिजीवी, प्राध्यापक, वकिल, विद्यार्थी, कलाकार, मजदुरहरू र पुँजीपतिहरूबीच विचारका आधारमा ध्रुवीकृत हुने अवस्था आयो । यही प्रक्रियाका बीच सर्वहारा वर्गका महान् गुरुहरू कार्ल माक्र्स र एङ्गेल्सको उदय भयो । उहाँहरूले भन्नुभयो, ‘हिजोसम्म दर्शन र विचारकले संसारलाई बुझ्ने र व्याख्या मात्रै गरे तर मुख्य कुरो बदल्नु हो ।’ यसरी संसारलाई हेर्ने, बुझ्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विचार र दृष्टिकोण प्रस्तुत गर्नुभयो । यो विषयले हेगेलको टाउकाले टेकेको भौतिकवादलाई आफ्नो खुट्टामा उभिन सहयोग मात्र गरेन, भौतिक परिस्थितिले चेतनाको निर्माण गर्दछ भन्ने मान्यतालाई स्थापित गरिदियो । त्योभन्दा अगाडि चेतनाले वस्तुको निर्माण गर्छ भन्ने अज्ञेयवादी उल्टो मान्यता थियो । यसैका आधारमा उहाँहरूले कम्युनिस्ट घोषणापत्रमा भन्नुभयो, ‘आजसम्मको विद्यमान समाजको इतिहास वर्गसङ्घर्षहरूको इतिहास हो ।’ यो विषयले संसारको हिजोका परम्परागत नक्सामा फेरबदल गरिदियो । अब मानिसहरू विचार, दर्शन, राजनीति र वर्गका आधारमा सङ्गठित हुने, आफ्ना अधिकारहरूका लागि बोल्ने, सङ्घर्ष गर्ने र आन्दोलित हुने युगको प्रारम्भ भयो । सन् १८४८ को कम्युनिस्ट घोषणापत्र, औद्योगिक श्रमको व्याख्या र अनुसन्धानसहित पुँजीजस्तो सर्वहारा साहित्यको रचना र यसको प्रभावले औद्योगिक श्रमको शोषणले थलिएका श्रमजीवी वर्गमा जन्मिएको विद्रोही चेतना र एकताको जगमा स्थापना भएको सर्वहारा वर्गको पहिलो सङ्गठन प्रथम इन्टरनेसनल गठन, सन् १८७१ मा भएको फ्रासको राज्यक्रान्ति र विजय त्यसको अवसान र त्यसबाट सर्वहारा वर्गले लिएको प्रेरणा र शिक्षा । यी घटना र परिदृश्यले विश्वव्यापी प्रभाव पार्यो र यसले सर्वहारा वर्गसङ्घर्ष र आन्दोलनलाई संसारभर विस्तार गर्न मद्दत मिल्यो । यसले व्यापक रूपमा कम्युनिस्ट पार्टीको गठन, सन् १९१७ मा कमरेड लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । सोभियत रुसमा सर्वहारा वर्गको सत्ता वैज्ञानिक समाजवादको स्थापना र व्यावहारिक अभ्यास गर्ने तहमा पुर्यायो जुन कुराले विश्व–सर्वहारा वर्गमा आशा, उत्साह र समाजवादी राज्य निर्माणको लहरसँगै विश्वको दुईतिहाइ भूभागमा विस्तार हुन सक्यो । यो ऐतिहासिक महत्वको परिघटना थियो । त्यसमा कमरेड लेनिनको दर्शन, राजनीतिक वैचारीक नेतृत्वसँगै मुख्य साङ्गठनिक योगदान अतुलनीय रह्यो । विश्वभर अहिले पनि कम्युनिस्ट आन्दोलनमा माक्र्स–एङ्गेल्सपछि लेनिनको समग्र योगदान साथै सङ्गठनात्मक योगदान विशेष छ । उहाँले सर्वहारा वर्गको वैज्ञानिक समाजवादलाई पहिलोपटक व्यावहारिक रूपमा यस धर्तीमा कार्यान्वयन गर्नुभयो र पार्टीभित्र साङ्गठनिक संरचनामा पनि नयाँ अवधारणा ल्याउनुभयो जसका आधारमा संसारभरका कम्युनिस्ट पार्टी र सङ्गठनहरू चल्ने गर्दछन् । यो कमरेड लेनिनको मुख्य योगदान हो जसले सर्वहारा वर्गको अग्रदस्तालाई शक्तिशाली पार्टी दियो ।

कम्युनिस्टहरूका आदर्श कमरेड लेनिनको मुख्य योगदान दर्शन, राजनीति र विचारमा रह्यो नै, त्योसँगै पार्टीलाई एकरूपतामा सङ्गठित र परिचालित गर्न सङ्गठनका क्षेत्रमा गरेको योगदान पनि कम महत्वको छैन । त्यो समयमा रुसका सन्दर्भमा माक्र्सवाद लागू गर्ने र पार्टी संरचना कस्तो बनाउने भन्ने विषय निकै चुनौतीपूर्ण थियो । सन् १९०३ मा सम्पन्न दोस्रो महाधिवेशनमा सङ्गठनात्मक प्रश्नमा व्याप्त अवसरवादका विरुद्धको सङ्घर्षले पार्टीमा फुट निम्त्यायो जसको कारण सन् १९०५ को क्रान्ति सफल हुन सकेन । यसमा मार्तोभहरूले पार्टीसम्बन्धी, त्यसमा पनि सङ्गठन निर्माण र परिचालनमा गम्भम्र मतभेद राखेका थिए जुन पार्टी फुटपछि मेन्सेबिक (अल्पमत) पार्टीका नामले चिनियो । उनीहरूको जोड सङ्गठनभन्दा राजनीतिक क्रियाकलापमा हुन्थ्यो जसलाई लेनिनले ‘पुच्छरवाद’ भन्नुभयो अर्थात् सङ्गठनात्मक पछौटेपन राख्न चाहने प्रवृत्ति । यो (मेन्सेबिक पार्टी सोभियत क्रान्तिपछि घोर दक्षिणपन्थी पार्टीमा रूपान्तरित हुँदै प्रतिक्रियावादी कित्तामा उभीन पुग्यो भने अर्कातर्फ कमरेड लेनिनले विकास गर्नुभएको साङ्गठनिक संरचनालाई माक्र्स कालभन्दा माथि उठाउँदै यस क्षेत्रमा नयाँ मान्यताहरू स्थापित गर्दै बलियो बोल्सेबिक (बहुमत) पार्टी बनाउनुभयो जसले सन् १९१७ मा सर्वहारा वर्गलाई सफल अक्टुबर क्रान्ति दियो । यसको अन्तर्यमा उहाँले विकास गर्नुभएको विचारसँगै साङ्गठनिक संरचनाको मुख्य योगदान थियो जहाँ पार्टी र सङ्गठन जनवादी केन्द्रीयताका आधारमा चल्ने, अल्पमत बहुमतका आधारमा चल्ने तर फरकमतको सम्मान गर्ने, तल्ला कमिटी माथिल्ला कमिटी मातहत रहने, सम्पूर्ण कमिटी केन्द्रीय कमिटी मातहत रहने, केन्द्रीय कमिटी महाधिवेशन अधीनस्थ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको अधीनस्थ रहने विधि निर्माण गरियो । योसँगै मानिसहरू सङ्गठित हुन अनिवार्य पार्टीको नीति तथा कार्यक्रम मान्नुपर्ने, पार्टीको निश्चित कमिटीमा बस्नुपर्ने, पार्टीलाई निश्चित लेबी तिरेको हुनुपर्ने, गोपनीयता र अनुशासनको ख्याल गर्नुपर्ने जस्ता आधारभूत नियमहरूले पार्टी र सङ्गठनलाई शक्तिशाली र दिगो बनायो । यही साङ्गठनिक प्रक्रियाका आधारमा संसारभर कम्युनिस्ट पार्टी र सङ्गठनहरू निर्माण र सञ्चालन हुँदै आएका छन् तर पछिल्लो समय यो मान्यतामा ह्रास आउँदा र कतिपय कुरामा नेतृत्व अभिधूतवादी हुँदा टर्की, फिलिपिन्स, पेरू, भारत र नेपालकै पार्टी आन्दोलनहरू सफल हुन सकेनन् भने सोभियत सङ्घलगायत संसारभर समाजवादी राज्यको पतन र कतिपय नेतृत्वको अधिनायकवादी प्रवृत्ति र वैकल्पिक नेतृत्वको अभावका कारण विश्वभर कम्युनिस्ट पार्टी र सङ्गठनहरूले क्षति र अलोकप्रिय बेहोर्नुपर्यो । यसो हुनुमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको गलत प्रयोग र समयअनुसार थप विकास हुन नसक्नु मुख्य समस्या रह्यो । यी अनुभवहरूबाट सिक्दै कम्युनिस्ट पार्टीहरूले नेतृत्वको निश्चित समयमा अध्यावधिक गर्ने, महिला सहभागिता सुनिश्चित गर्ने, तल्ला जाति र समुदायको उपस्थिति तोक्ने र क्षेत्रीय उत्पीडनमा परेका भूगोलको प्रतिनिधित्व गराउने अभ्यासहरू पछिल्ला समयमा नेपाललगायत दक्षिणएसियाका देशहरूले गरिरहेका छन् । यसका सकारात्मक र नकारात्मक दुवै अनुभवहरू हामीमाझ छन् । सकारात्मक यस अर्थमा कि पार्टी सङ्गठनभित्र हुने यसकिसिमको प्रतिनिधित्वले श्रमजीवी वर्गको आवाज, क्षमता र नेतृत्वको विकासमा केही हदसम्म यसले सम्बोधन गरेको छ तर नयाँ पुस्तालाई सङ्गठित गर्ने, राजनीतिक स्कुलिङ, विचार, दृष्टिकोण र वर्गप्रतिको निष्ठा र इमानदारीको अभावमा यो संरचनाको सङ्गठन वर्गभन्दा आम पार्टी बन्ने र नेतृत्व फरक वर्गबाट फरक स्वार्थसहित निर्माण र परिचालित हुने समस्या रह्यो जो मुर्दाशान्तिको वकालत गर्ने, गुटगत स्वार्थमा रमाउने र चुनावका लागि पुँजीपति वर्गको हितमा फस्दा पार्टी संशोधनवादमा गएर टुङ्गिएको छ जसको मार विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा वर्गले बेहोरेको छ । त्यसको ज्वलन्त उदाहरण दक्षिणी भारतमा २५ वर्ष शासन सत्तामा रहेका ज्योति वासुहरूको पतन (जो आफू पनि सकिए र अन्य कम्युनिस्टहरूलाई पनि दमन गरेर सके र नेपालमै पनि केपी–प्रचण्ड नेतृत्वको सत्तापक्षीय कम्युनिस्ट पार्टीको सरकार, नेतृत्व र सङ्गठनको अवस्थालाई लिन सकिन्छ । सङ्ख्याको हिसाबले हेर्दा करिब आठ लाख दाबी गर्ने पार्टीका सदस्यहरू कम्युनिस्ट विधि, पद्धति, अनुशासन र वर्गीय मुद्दामा भने खुला रूपमा दलाल पुँजीवाद पक्षपोषण र प्रतिनिधित्व गर्दछन् भने पार्टीभित्र जनवादका नाउँमा व्यक्तिगत स्वार्थ र केन्द्रीयताका नाउँमा गुटगत निर्देशन छन् । यस्तो अवस्थाले श्रमजीवी जनता र इमानदार नेता–कार्यकर्ताहरूमाथि धोका भएको छ र मेहनतकश वर्गका मुद्दाहरू ओझेल परेका र पार्टी आन्दोलनप्रतिकै विश्वास हराउँदै गएको स्वयम् त्यही पार्टी नेताहरू आफ्ना भाषण र आलेखहरूमार्फत सार्वजनिक गरिरहेका छन् जुन कुराको थप पुष्टि पार्टीको शीर्ष नेतृत्व र सरकारका गतिविधिले गरेको छ । पार्टीको विधान र प्रतिवेदनमा समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ । यो समाजवाद बर्नस्टिनले अघि सारेको संशोधनवादी समाजवाद हो जसले वर्गसमन्वयको कुरा गर्दछ । यहाँ शिक्षा, स्वास्थ्यमा खुला व्यापार छ । सरकारी सञ्चार, उद्योगधन्दा, सेवाको निजीकरण गरिँदैछ र कम्युनिस्ट क्रान्तिकारीहरूमाथि प्रतिबन्ध, हत्या र धरपकड जारी छ । आफ्नै वर्गप्रतिको विश्वासघात र देशका ८० प्रतिशत श्रमजीवी जनताको अवस्थाले विधान–प्रतिवेदनमा जे लेखे पनि यी कम्युनिस्ट र समाजवादी दुवै होइनन् भन्ने कुरा प्रमाणित गर्दछ । अर्को यसको मूल नेतृत्व निगम साम्राज्यवादको खुला दलाली, फाउन्डेसनपथ र एनजीओकरणमा डुबेको छ जसको प्रमाण अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको आर्थिक विकास परियोजना मिलिनियम च्यालेन्जर कर्पोरेसन (MCC) लाई हेर्ने सरकार र पार्टीको दृष्टिकोण, प्रधानमन्त्री केपी वलीको राम जन्मभूमि विवाद र होली वाइन प्रकरणले थप पुष्टि गर्दछ । यी सबै कम्युनिस्ट मूल्य–मान्यताभन्दा बाहिरका कुरा हुन् र यो सामूहिक नेतृत्वको अभावमा लेनिनवादी साङ्गठनिक संरचनाको विपरीत र विचार, वर्ग र समाजवादी मूल्य–मान्यताबाट अलग भई व्यक्तिगत र गुटगत स्वार्थलाई केन्द्रमा राख्दा उत्पन्न भएका परिणामहरू हुन् । यसलाई कम्युनिस्ट नामभित्रको संशोधनवादी प्रवृत्तिका रूपमा हामीले बुझ्नु जरुरी छ । यसले समाजवादको नारा दिएर समाजवादीहरूकै हुर्मत लिइरहेको छ । यस किसिमको प्रवृत्तिले सच्चा कम्युनिस्ट आन्दोलन र समाजवादप्रति नै जनतामा घोर निराशा र थुप्रै प्रश्न खडा गरिदिएको छ । यो प्रवृत्ति र पार्टी दलाल पुँजीवादमा पतन भएर ढिलोचाँडो सिद्धिने निश्चित छ । अहिलेको सरकारी नेकपाभित्रको विवाद र स्वार्थहरूको टकराव त्यही प्रक्रियाको सुरुआत हो । क्रान्तिकारीहरू यो प्रवृत्तिबाट सचेत यसविरुद्ध निर्मम हुन जरुरी छ ।

यी सबै संरचना र दृष्टान्तले क्रान्ति निर्विकल्प र अनिवार्य गरिदिएको छ । यहाँ लेनिनको भनाइ विशेष स्मरणीय छ, ‘सत्ताका लागि सङ्घर्षमा सर्वहारा वर्गसित सङ्गठनशिवाय अर्को कुनै हतियार छैन ।’ यसले सङ्गठनको महत्व दर्साउँछ । त्यसकारण नेपाली श्रमजीवी जनताको असली प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी कमरेड विप्लवको नेतृत्वमा नेपाली जनताको जनजीविका, राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्ष र भ्रष्टाचार, कालोबजारी, हस्तक्षेप र दलाल संसदीय व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्षरत छ । यो लेनिनवादी सङ्गठनात्मक पद्धतिमा रही सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको समाजवादी मान्यताका आधारमा आफ्नो वर्गको बीचबाट सङ्गठित र परिचालित भएको कम्युनिस्ट पार्टी हो । यो वर्गसङ्घर्ष र श्रमजीवी जनताको शक्तिमा विश्वास राख्दछ । यसैकारण राज्यको प्रतिबन्ध, गिरफ्तारी र षड्यन्त्रको सामना गर्दै नेपाली समाजको मौलिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशासहित अघि बढिरहेको छ । यसले हाम्रो समाजका तत्कालीन विशेषताहरू १. नगर उन्मुख समाज २. मध्यम वर्गको विकास ३.जाति–जनजातिको मिश्रित बसोबास ४. विज्ञान प्रविधिको विकास र पहुँच ५. देशभक्तहरूको बाहुल्य ६.देशको भूपरिवेष्ठित अवस्था र ७. दलाल पुँजीको विकासजस्ता विषयहरूलाई समेटेर कार्यदिशा निर्माण गरिएको छ । यसमा रोजगारीका लागि बिदेसिएका लाखौँ श्रमिकहरू र त्यसले उत्पन्न गरेको सामाजिक, आर्थिक सम्बन्धसमेतलाई कार्यदिशामा जोडेर पार्टीको सार (पार्टीको क्रियाकलाप) र रूप (सङ्गठनात्मक पक्ष) एकीकृत रूपमा निर्माण र परिचालन गर्ने दिशामा हाम्रो पार्टी नेतृत्वले कामहरू अघि बढाइरहेको छ । यसो हुँदा यो हिजो जनयुद्धको सङ्गठन र कार्यदिशा होइन । यसबारे हामी भ्रममा पर्नु हुँदैन । त्यसकारण हाम्रो कार्यदिशा चीनको जस्तो दीर्घकालीन जनयुद्ध र रुसको जस्तो सहरी विद्रोह मात्र होइन, यो ती सङ्घर्षका मान्यताहरूमा टेकेर विकास गरिएको नितान्त नौलो र अहिलेको विश्वपरिवेश, विज्ञान प्रविधि र हाम्रो सापेक्षतामा विकास गरिएको राजनीति र साङ्गठनिक योगको कार्यदिशा हो । यो हिजोको शास्त्रीय मान्यता र सुधारवादबाट अनुभव र शिक्षा लिएर द्वन्द्ववादको शृङ्खलाबाट निर्माण गरिएको छ । अहिले यो परीक्षणको चरणमा छ । यसले आंशिक सफलताहरू पनि हासिल गर्दै आएको छ र पनि यसलाई सङ्गठित र विस्तारित गर्नमा हाम्रा केही अपुगहरू छन् जसका कारण पार्टी गतिशील हुनमा विशेषतः प्रतिबन्धपछि केही समस्या उत्पन्न भएका छन् । यसो हुनुमा पार्टीको कार्यदिशाभन्दा पनि केही वस्तुगत कारण, व्यक्तिगत बुझाइ र माक्र्सवादलाई आजको परिवेशमा लागू गर्ने रूढिवादी शैली, चिन्तन, प्रवृत्तिले काम गरेको छ जसलाई अविलम्ब हटाएर माक्र्सवादलाई आजको परिवेश र हाम्रो देशको मौलिकतामा लागू गर्न एकीकृत स्कुल निर्माण गर्नु अहिलेको पहिलो काम हो । यसो हुँदा पार्टीले प्रस्ताव र निर्णय गरेका सङ्गठन, स्कुलिङ, उत्पादन, न्याय, शिक्षा, अर्थ, सहकारी, प्रशासनलगायत सबै विभाग तथा अङ्गहरूलाई कसरी श्रमजीवी वर्गसँग जोड्ने, बलियो सङ्गठनको सञ्जाल निर्माण गर्ने र त्यसलाई पार्टीमार्फत एकीकृत रूपमा परिचालन गरी समाजवादी आन्दोलन निर्माण गर्ने भन्ने विषयमा हाम्रा सबै जनवर्गीय सङ्गठनहरू विशेषतः मजदुर, महिला, युवा, विद्यार्थी र अन्य सङ्गठनहरूले खोज, अनुसंधान र आफूलाई व्यवस्थित गर्न जरुरी छ । क्रान्तिको पूर्वाद्र्धमा जनवर्गीय सङ्गठनहरूले खुला मोर्चाका रूपमा पार्टीका विचार र कार्यक्रमहरूलाई आम स्तरमा लैजाने, क्रान्तिकारीबीच ध्रुवीकरणका लागि पहल गर्ने, जनताका मुद्दामा संयुक्त मोर्चा निर्माण र परिचालन गर्ने, जनसमुदायहरूको प्रतिक्रिया र सुझावहरूलाई पार्टीसम्म संस्थागत गर्ने, पार्टी निर्माणमा नयाँ जनशक्ति निर्यातका लागि कारखानाका रूपमा काम गर्नु पर्दछ । त्यसकारण पनि मोर्चाहरूले आफ्नो नेतृत्व निर्माण र आफ्नो वर्ग–समुदायका मुद्दाहरूमा पार्टीको अधीनस्थ रहे पनि स्वतन्त्र पहलकदमी लिन सक्नुपर्छ जसले भोलिको वैकल्पिक नेतृत्वको विकास र संयुक्त मोर्चाहरूका आन्दोलनलाई उठाउन सकोस् । यसो गर्दा सङ्गठनसम्बन्धी माक्र्सवादी मान्यताभन्दा बाहिर जाने छूट कसैले पाउनु हुँदैन जसले अराजकता निम्त्याओस् । यसमा पार्टी सचेत रहनु पर्दछ । त्यसकारण पार्टीले अब सङ्गठनसम्बन्धी लेनिननवादी मान्यतामा अहिलेका विशेषताहरूलाई समेट्न सक्ने गरी थप प्रयोग र विकास गर्नु आजको आवश्यकता भएको छ जुन सन् १९८० पछि संसारभर क्रान्ति उठ्न नसक्नुले पनि यसको महत्व उजागर गरेको छ । यसबारेमा पार्टीको आठौँ थबाङ महाधिवेशनले सङ्गठन सम्बन्धमा क्रान्तिपछि नेतृत्वको दुई कार्यकाल, निश्चित उमेरपछि विश्राम र अवकाशपछिको जीवनको सुनिश्चितता गर्नेबारे नीति बनाएको छ । त्यस्तै पार्टी निर्माण सम्बन्धमा पार्टी विपरीतहरूको एकत्वको होइन, बरु सजातीय वा सवर्गीयहरूको एकत्व हो भनेको छ । जहाँ मतभेद हुने कुरालाई स्वीकारिएको छ । यो कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्वको निर्णय हुनेछ । यसका साथै कम्युनिस्ट विचार र आन्दोलनलाई कसरी जनतासँग निरन्तर जोड्ने र त्यसको रक्षा, प्रयोग, थप विकास र विस्तार गर्ने भन्नेमा जोड दिएको छ र आर्थनीतिबारेमा महासचिव विप्लवले भन्नुभएको छ, ‘उत्पादनमा जोड दिने र खर्चहरू संस्थागत र मितव्ययी गर्ने, बलियो संस्थागत पुँजी र सुखी निजी जीवन’ समाजवादकै बारेको भ्रमबारे पनि प्रस्ट लेख्नुभएको छ, ‘समाजवाद अभावको मात्र सिद्धान्त होइन, यो त बरु सचेतना र वास्तविक समृद्धिको सिद्धान्त पनि हो ।’ यी विषयको प्रयोग, विकास र थप खोजले सम्भवतः कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिनेछ । त्यसकारण सबै पार्टी सदस्यहरूको ध्यान यी विषयहरूको कार्यान्वयनमा पुग्न जरुरी छ । अन्यथा कार्यदिशा सही हुँदाहँुदै पनि बुझाइ र व्यवहारमा एकरूपता नहुँदा वैज्ञानिक समाजवाद मृगतृष्णा रहने खतरा छ । त्यसैले वैज्ञानिक समाजवादको आधार निर्माण र त्यसअनुरूपको जनवादी केन्द्रीयतामा आधारित पार्टी, सङ्गठन र नेतृत्व निर्माणमा सर्वहारा वर्गका असली प्रतिनिधिहरूले ध्यान दिँदै नयाँ पुस्ताका कम्युनिस्ट क्रान्तिकारीहरूले आफ्ना सबै योगदानहरू श्रमजीवी वर्गको साझा भविष्य र पार्टीका लागि समर्पित गर्न जरुरी छ जसले विश्व कम्युनिस्ट र हाम्रो आन्दोलनलाई नयाँ उचाइमा पुष्टि गर्नेछ– वैज्ञानिक समाजवाद विश्वको निर्विकल्प सत्य र आवश्यकता हो जुन कोभिडपछि विश्वभरका तथ्य र प्रयोगहरूले यसका औचित्यहरूलाई थप सान्दर्भिक बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :