पाल्पाका गाउँगाउँमा नेकपाको अभियान तीव्र


बुटवल : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जिल्लाभरि अभियानलाई तीव्रता दिएको छ । भदौ १५ देखि सुरु भएको अभियानअन्तर्गत नेकपाले विभिन्न राजनीतिक दलहरूसँग छलफल, अन्तरक्रिया, राजनीतिक–वैचारिक प्रशिक्षण, सङ्गठन विस्तार तथा जनभेटघाट कार्यक्रम तीव्रतामा सञ्चलन गरिरहेको जानकारी प्राप्त भएको छ ।

अभियानका क्रममा युवा सङ्गठन नेपालका ४ वटा गाउँस्तरीय भेला सम्पन्न भइसकेको नेकपा पाल्पाले जनाएको छ । भेलाले ३ वटा गाउँस्तरीय समितिहरू निर्माण गरेको छ । त्यस्तै अखिल (क्रान्तिकारी) का ३ वटा एकाइ समिति, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को एउटा गाउँस्तरीय समिति, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका २ वटा वडा समिति निर्माण भएको पनि प्राप्त समाचारमा उल्लेख छ ।

यसक्रममा नेकपाले पाल्पामा ११ वटा जनभेला सम्पन्न गरेका छ । पार्टी तथा जनवर्गीय सङ्गठन/मोर्चाहरूको सदस्यता विस्तार र नवीकरण, सेल कमिटीका बैठक तथा प्रशिक्षणहरू सञ्चालन भइरहेको जानकारी नेकपा पाल्पाका इन्चार्ज प्रवीणले दिए ।

अभियानका क्रममा कोरोना भाइरस सङ्क्रमणविरुद्ध जनचेतना, भ्रष्टाचार, कालोबजारी, जनविरोधी क्रियाकपालहरूविरुद्ध दलालको भण्डाफोर तथा पार्टी नीति एवम् समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा पाल्पाले जनाएको छ । अभियानअन्तर्गत पार्टी, जनवर्गीय सङ्गठन तथा मोर्चाहरूको सङ्गठन सुदृढ तथा विस्तार एवम् राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सङ्घर्षहरू सञ्चालन तीव्र हुने इन्चार्ज प्रवीणले रातो खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :