राम जन्मभूमिको बेमौसमको बाजा

सम्पादकीय

नेपाली समाजमा नेवारी समुदायको एउटा उखान चर्चित छ, ‘बेला न कुबेला बजी न्यौला ।’ यसको दुरुस्तै नेपाली अनुवाद त नमिल्न सक्छ तर यसको भावार्थचाहिँ बेला न कुबेला चिउरा खान्छु भनेर जिद्दी गर्ने पात्रको चरित्रसँग सम्बन्धित रहेको बुझ्न सकिन्छ । यतिबेला नेपाली जनता कोरोना सङ्क्रमणको त्रासले आहत छन् । मृतक र सङ्क्रमितको सङ्ख्या भयावह बनिरहेको छ । अर्कातिर बाढीपहिरो र डुबानले जनताको अकालमा ज्यान गइरहेको छ तर केपी वली सरकारलाई नेपाली जनताको पीडाले कत्ति पनि दुखाउँदैन । ऊ त कोरोना सङ्क्रमण परीक्षणका लागि ल्याइने सामानको कमिसनको चक्कर, बाढीपहिरो पीडितका नाउँमा वितरण हुने राहतको कमिसनको चक्करमा छ । अझ भनूँ, जनमनमा घृणित र तिरस्कृत बनिसकेको केपी वली सरकार आफ्नै पार्टीभित्रको सत्ता र शक्तिको जोड, घटाउ, गुणन र विभाजनको साइत हेरेर देश र जनतालाई तमासा देखाउन उद्यत छ । जनता कोरोनाले मरेको छ, बाढीपहिरोमा पुरिएको छ, सैनिक र प्रहरीको यातनाले ढलेको छ तर वली सरकार राम जन्मभूमि कता पर्छ भनेर कम्पास घुमाइरहेको छ । ‘काशी जानु कुतीको बाटो’ भनेजस्तो अर्थात् भनौँ ‘काम–कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो । पूरै असङ्गत र विसङ्गत कामकारबाहीमा व्यस्त छ ।

उता वलीको खोक्रो राष्ट्रवादको पर्दा खुलेपछि साम्राज्यवादी भारतीय शासक नेपालको राष्ट्रियतामाथि अतिक्रमण, हस्तक्षेप र लूटले मात्र नपुगेर नेपालको राष्ट्रियता र अस्मितासँग सम्बन्धित पुराना घाउहरू कोट्ट्याइदिँदै र बल्झाइदिँदै कहिले कालापानी, लिपुलेक र लिम्पियाधुरामा हस्तक्षेप गर्छ त कहिले नेपाली भूमि लिपुलेकसम्मको क्षेत्र आफ्नो नक्सामा पारेर नेपालीलाई उद्वेलित बनाउँछ । संसारसिद्ध तथ्य गौतम बुद्ध नेपालमा जन्मिएको यथार्थलाई उल्ट्याउँदै भारत यतिबेला फेरि नक्कली लुम्बिनी भारतमा बनाएजस्तै नक्कली बुद्ध जन्माउने र गोयबल्स प्रचार गर्ने ध्याउन्नमा छ । शासकहरूको चिन्तन र प्रवृत्ति एउटै र उस्तै भएपछि योभन्दा बढी गरून् पनि के र ?

नेपाली जनता रोग, शोक र भोकले मरिरहेका छन् तर शासकहरू जनताको संवेदना र समस्यालाई कसरी आफ्नो नाफामा रूपान्तरित गर्ने भन्ने ध्याउन्नमा छन् । केपी वली काग कराएजस्तै फेरि रामको जन्मभूमि नेपालको चितवन, माडीमै हो, त्यहाँ राम मन्दिर बनाऊ र गाउँको नाउँ पनि अयोध्यापुरी राख भनेर निर्देशन दिइरहेछन् । यी उखान र सन्दर्भ यसैका लागि उद्धरण गरिएको हो ।

सत्पात्रहरूका सन्दर्भमा कुरा बेग्लै हो । सगरमाथा नेपालमै पर्छ, यसमा दुईमत हुन सक्तैन । यो घाम पूर्वबाट झुल्किन्छ भनेजस्तै कटु सत्य हो । त्यस्तै बुद्ध नेपालकै लुम्बिनीमा जन्मिएका हुन् भन्ने यथार्थ पनि अकाट्य छ । बुद्ध सत्पात्र वा यथार्थ चरित्र भएकाले उनको जन्मस्थान र यशले अर्थ र महत्व राख्छ । हिन्दु र सनातन धर्मावलम्बीहरूले मिथक बनाएका पुराकथाका, पुराणका, शास्त्रका, किंवदन्तीका, महाकाव्यका पात्रहरू जहाँ जन्मिएको भनेर बखान गरे पनि शासकहरूलाई आफ्नो सत्ताको जोडघटाउमा अर्थ राख्ला तर नेपाल र श्रमिक नेपाली जनतालाई केही फरक पर्नेवाला छैन । अर्थात् पौराणिक पात्रहरू, राम, शिव, हनुमान, विष्णु, कृष्ण, मधुकैटव वा जालन्धरहरूको जन्म र मृत्यु किंवदन्तीमा भयो र कथामै सकियो । यसले नेपाल र नेपाली जनजीवनलाई कुनै फरक पार्नेवाला छैन तर यो कुरा जान्दाजान्दै पनि केपी शर्मा वली रामको जन्मभूमि यहाँ हो र उहाँ हो भनेर किन बारम्बार चिच्याइरहेका छन् ? यो कुरा अर्थपूर्ण छ ।

केपी वलीलाई नेपाल र नेपालीको, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको कुनै चिन्ता छैन । इतिहासमै उनले महाकालीमा राष्ट्रघात गरेर नेपाललाई कहिल्यै तिरिनसकिने घात गरिसकेका छन् । राजनीतिक रूपमा उनले विगतको वर्ग बदलिसकेका छन् । क्रान्तिकारीहरूमाथि प्रतिबन्ध लगाएर र हत्या गरेर उनले आफ्ना मालिकहरूलाई रिझाइसकेका छन् । उनी दलाल पुँजीवादलाई समाजवादको पगरी र जामा गुथाएर शासन गरिरहेका छन् र यसलाई अलि लम्ब्याउने दुष्प्रयत्न गरिरहेका छन् । दलाल पुँजीवाद बुख्याँचा व्यवस्था हो । यसको कुनै आकार, रूप र रङ छैन । यसले आकाशतिर चिल देखाएर भुइँको चल्ला टिप्ने हो । अथवा नक्कली र ऐँजेरु व्यवस्था भएकाले यसको कुनै आधार र जग छैन । यिनका मालिकहरू साम्राज्यवाद र उत्तरसाम्राज्यवाद हुन् । विकृत पुँजीवादले बजारमा जे बिक्छ, त्यही बेचेर आफ्नो बचेखुचेको आयु लम्ब्याउने प्रयास गर्ने हो । अमेरिकी वा भारतीय शासकहरू यतिबेला रङ र धर्म बेचेर जनतामाथि शासन गरिरहेको तिनका असली उत्तराधिकारी वा चेला केपी वलीहरूलाई थाहा नहुने कुरै भएन । त्यसैले मालेमा छोडिसकेका वलीहरूलाई यतिबेला रामको व्यापार चल्छ भन्ने कुरा उनका गुरु मोदीले सिकाएका छन् । त्यसैले उता मोदी रामको जन्मभूमि अयोध्या यहाँ हो भनेर मन्दिर बनाउन आदेश दिन्छन्, यता उनका चेला वली रामको जन्मभूमि यता हो भनेर यता मन्दिर बनाउन आदेश दिन्छन् । यी दुवै व्यापारी आकाशतिर रामको जन्मस्थलको चिल देखाएर भुइँका चल्ला अर्थात् सत्ताको चल्ला हात पारिरहन, टिकाइरहन चाहने स्यालजस्तै हुन् । सारमा यिनीहरू धर्म वा अफवाहका व्यापारी हुन् ।

दलाल पुँजीवादमा मानिसको श्रम मात्र होइन, रगत, पसिना मात्र पनि होइन, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका संवेदनाहरूका साथै हावाका महलहरू पनि बिक्री हुन्छन् । यतिबेला राम, सीता, हनुमान वा वायुको जन्मस्थलमा देश र जनतालाई फसाएर आफ्नो ढल्न लागेको मक्किएको सत्ता बचाउने मोदीहरू र वलीहरूको चालबाट सावधान रहनुपर्छ र दलाल पुँजीवादको असली चेहरा बुझ्नुपर्छ । यी सबैको शक्तिशाली प्रतिरोधबाहेक समस्याहरूको समाधान छैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :