फासिवादी दमनको प्रतिरोध

प्रारम्भ

‘हरूवा गोरुको छेरुवा दाउ’ भनेझैँ केपी–पीकेको सामाजिक दलाल पँुजीवादी सरकार फासिवादी दमनको हथकण्डा प्रयोग गरेर आफ्नो आयु धानिरहेको छ । ‘भ्रम छर्ने र दबाब दिने’, ‘वार्ता र दमन’, ‘सर्वदलीय सहमति र दमन’ र अहिले ‘कडाइ र कन्ट्रोल’ जस्ता बासी रणनीतिहरूको प्रयोग गरिरहेको छ । इटलीको मुसोलिनी र जर्मनको हिटलरले विकास गरेको फासिवादको प्रयोग रुसको जार र चीनको च्याङकाइसेकहरूले पनि गरेका थिए । खै त श्रमिक जनतासँग जितेको ? गङ्गालालहरूलाई फाँसीमा लट्काउँदा पनि निरङ्कुश राणाशासन बच्न नसकेको इतिहास सर्वविदितै छ । सयौँ गङ्गालालहरू जन्मिएर राणाशासन अन्त्य भयो । गङ्गालालहरू मृत्युञ्जयी भए र राणाहरूको सर्मनाक पराजय । ‘अजम्मरी पञ्चायत’ ढल्यो । ‘विष्णुको अवतार’ को अन्त्य भयो । अहिलेका दलालहरूलाई श्री पशुपतिनाथले कल्याण गर्लान् वा नगर्लान्, हामीलाई अवगत एवम् विश्वास छैन तर आमजनताले भने छोड्नेवाला छैनन् । भाबी इतिहास पनि पुरानोको ध्वंस र नयाँको निर्माणकर्ताहरूको नै हुनेछ ।

क) प्रतिबन्ध किन ?

कारण एक, ‘गुप्तचर र सूचक व्यक्ति अत्याचारी शासकका मुख्य सहयोगी हुन् । मानिसको ध्यान अन्यत्र मोड्नु तथा आफूलाई आवश्यक बनाउन युद्ध गर्नु उनीहरूको प्रिय पेसा हो ।’ अरस्तुले भनेजस्तै विगतमा जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्ध सम्झौतामा टुङ्गिए, जनतालाई धोका भयो । प्रतिक्रान्ति भयो । जनतामा निराशा उत्पन्न भयो । निराशालाई नयाँ आशामा बदल्दै, प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा पुनर्सङ्गठित गर्न नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भयो । पार्टी जनतामा झाँगिँदै र जनप्रिय हुँदै गयो । त्यसपछि पार्टीले गर्ने हरेक कार्यक्रम, सभा–सम्मेलन, राजनीतिक अभियान, कामकारबाही आदि सबै दलाल सरकारका लागि टाउकोदुखाइ र आतङ्क बन्न थाले । यिनीहरूले भित्तामा लेखिने नाराहरूलाई मृत्युपत्र, शान्तिपूर्ण जुलुसहरूलाई शवर्याली, विशाल जनसभाहरूलाई अक्टोबर विद्रोह, खाद्य सम्प्रभुताका लागि थाल ठटाउँदा बन्दुकहरू पड्केको, एनसेलले ७२ अर्ब कर बुझाओस् भन्दा बमको आवाज सुन्ने आदिआदि । ‘जब हामी सहिरहन्छौँ, हाम्रा दुस्मनहरूले गाली–गलौज र विभिन्न आरोप–प्रतिआरोप गर्छन् । जब बाटो बिराउँछौँ अनि प्रशंसा एवम् आशीर्वाद दिन्छन्’ भनेर माओले भनेझैँ साम्राज्यवादीहरूले विश्वशान्तिका पक्षमा विशेष योगदान गरेको भनेर गोर्बाचोभलाई ‘नोबेल शान्ति पुरस्कार’ नै दिएर प्रशंसा गरेका थिए । साम्राज्यवादीहरूले गोन्जालोहरूलाई पागल, धर्मान्ध, रक्तपिपासु, पोलपोटवादी, जडसूत्रवादी, साम्प्रदायिक र लागूपदार्थमुखीको आरोप लगाएको कुरा पर्याप्त छ । नयाँ विचार र नेतृत्वसहित हामी राष्ट्र र जनताका पक्षमा समर्पित छौँ । युगीन कार्यभार पूरा गर्ने जिम्मेवारी एवम् उद्देश्यमा अघि बढिरहेका छौँ । एकीकृत जनक्रान्तिद्वारा दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महाअभियानमा छौँ । तसर्थ नेपाल कम्युनिस्ट पार्टीलाई सामाजिक दलाल पँुजीवादी एवम् फासिवादी सरकारले प्रतिबन्ध घोषणा गर्यो । अन्य कुनै निमित्त कारण देखाउनुको तुक छैन ।

कारण दुई, चुनावमा एमाले, काङ्ग्रेस, एमाओवादीलगायतले आफ्नो विचार, राजनीति र व्यवस्थाको असफलतालाई ढाकछोप गर्न र जनता ठग्न ‘हामी मङ्गलग्रहबाट पहिलोपल्ट पृथ्वी (नेपाल) मा पाइला टेकेका छौँ । हामीलाई भोट दिनुहोस्’, ‘गाउँमा सिंहदरबार पुर्याउँछौँ, सुखी र समृद्धि बनाउँछौँ’ भनेर जनतालाई भ्रमित गरेका थिए । केवल त्यो विचार, राजनीतिक व्यवस्था र ती प्रवृत्ति एवम् पात्रको नयाँ आगमन नभएर पुनरावृत्ति मात्र हो । ‘मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सतारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।’ (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । माक्र्सको विश्लेषण) मा लेनिनले सुन्दर ढङ्गले उल्लेख गर्नुभएको थियो । नेपालका राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, सुरक्षा, धार्मिक आदि क्षेत्रका दलालहरूले लेनिनको माथिको निष्कर्षभन्दा नयाँ के पो गरेका छन् र ? अहिले जनतामा छाएको आक्रोश नयाँ क्रान्तिमा सङ्गठित हुनेछ । आइनस्टाइनले ‘पटक–पटक उही कुरा दोर्याएर फरक परिणामको अपेक्षा गर्नु पागलपन हो’ भनेझैँ २००७ सालदेखि मूलतः ०४६ पछि विश्वमा बदनाम एवम् असफल दलाल संसदीय व्यवस्था नेपालमा अपवाद बन्ने कुरा हुँदैन । यो संसदीय पागलपनको वास्तविकताको मुकुन्डो धुजा–धुजा भइसकेको छ । जनताले दलालहरूको विचार, राजनीति र व्यवस्थाको नै विकल्प खोजिसके भन्ने अवगत भएपछि नै हामी प्रतिबन्धित भयौँ ।

कारण तीन, बेलायती बुर्जुवा उदारवादका अनुयायी हारकोटले ‘अब हामी सबै समाजवादी बनेका छौँ (we all are socialists now)। समाजवाद उन्मुख भन्ने श्री केपी–पीकेकोे एनसेल, निर्मला, वाइडबडी, सुन, चिनी, यती, स्टार, ओम्नी, ललिता, होलीवाइन, गोकुल, एमसीसीलगायत काण्डहरूको चाङ लाग्यो । दलाल तथा भ्रष्टहरूको अखडा सिंहदरबार गाउँमा कथित जनप्रतिनिधिहरूलाई मालामालको जागिर, चरम भ्रष्टाचार, मनग्गे कमिसन र चर्को करका रूपमा देखापर्यो । ‘सुखी नेपाली र समृद्ध नेपाल’ चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगार, कालोबजारी, राष्ट्रघात, जनघात, जनविरोधी हर्कत आदिमा परिणत भयो । अनि मुलुकलाई गृहयुद्धमा धकेलेर ‘गन्जागोलमा गोल गर्ने’ कुचेष्टा नै हाम्रो पार्टीमाथिको प्रतिबन्ध हो ।

कारण चार, सिद्धान्त (विचार) र राजनीतिक सत्ताको सङ्कटमोचन । माक्र्सवाद–लेनिनवाद–माओवाद परित्याग गरेर सामाजिक दलाल पुँजीवादलाई व्यवहारतः लागू, वैज्ञानिक समाजवाद–साम्यवादलाई तिलाञ्जली दिएर विश्वमा बदनाम एवम् असफल दलाल संसदीय व्यवस्थालाई नयाँ हो भनेर जनतामा लाद्ने, सर्वहारा वर्गीय क्रान्तिको सिद्धान्त र मार्गलाई छोडेर दलाल पुँजीवादी व्यवस्थामा समाजवादको पुलिन्दा बाँड्ने, कम्युनिस्ट जीवनशैली, नैतिकता, सदाचार र आचरणबाट पतीत भएर नवधनाढ्य दलाल पुँजीपति वर्गमा बदलिए, राष्ट्रिय स्वाधीनताविरुद्ध साम्राज्यवाद, मूलतः भारतीय साम्राज्यवादको दलाल एवम् कठपुतली बने । यो दलाल पुँजीवाद सामाजिक फासिवादमा पतन हुँदैछ । यो जर्मनको सिदेमान र भारतको ज्योति वसुको पथमा बेलगाम अन्धाधुन्द कुदिरहेको छ । सङ्कटमा महासङ्कटका रूपमा प्रतिबन्ध आयो ।

कारण पाँच, मरणासन्न विचार र सत्ताको बुख्याँचालाई जिउँदो मान्छे बनाएर जनता ठग्ने दाउ हो प्रतिबन्ध । ‘त्यो बौद्धिक अन्धविश्वास जसले सिद्धान्तको अभावलाई लुकाएको हुन्छ र अभिव्यक्त गरेको हुन्छ, त्यही यिनीहरूको मुख्य मनोभाव हो ।’ के बोल्सेबिकहरू राज्यसत्ता थाम्न सक्छन् ? मा लेनिनले भनेझैँ दलालहरूको वैचारिक टाटपल्टाइ र सत्ताको सङ्कट चरम छ । यो नयाँ क्रान्तिको सुनामीमा रूपान्तरण हुनेछ । अबको विकल्प आर्यघाटको खरानी राजतन्त्र, काङ्ग्रेसी प्रजातान्त्रिक समाजवाद, केपी–पीकेको सामाजिक दलाल पुँजीवाद र बाबुरामको लोकतान्त्रिक समाजवाद होइन । वैज्ञानिक समाजवाद नै हो । यो प्रवाहलाई रोक्न अनि प्रतिबन्ध ।

ख) फासिवादी दमनको उद्देश्य

उद्देश्य एक, राज्यआतङ्क र फासिवादी दमनद्वारा आफ्नो लूटको स्वर्ग बचाउने । दमनले जनप्रतिरोध जन्माउँछ र जनप्रतिरोध भयानक विस्फोट हो । जनप्रतिरोध जनक्रान्तिको एक आधार पनि हो । ‘परन्तु लूटको माल अंशबन्डा गर्न, मन्त्री, सहायकमन्त्री, गभर्नर, जनरल आदिको ओहोदा टप्काउन भने कुनै प्रकारको विलम्ब गरिँदैन, न त संविधानसभाको नै प्रतीक्षा गरिन्छ । त्यो वास्तवमा ‘लूटको माल’ बाँडफाँट गर्ने र पÞmेरि बाँड्ने यसै अंशबन्डाको अभिव्यक्ति मात्र थियो जुन देशैभरि नै तलदेखि माथिसम्म नै, केन्द्रीय तथा स्थानीय प्रशासनको हरेक विभागमा चलिरहेको छ ।’ (दोस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८४८–१८५१ को अनुभव) मा लेनिनले संश्लेषण गरेझैँ आफ्नो गल्ती छोप्न र क्रान्तिको महासारगरबाट बच्न झूट्टा मुद्दा, व्यापक गिरफ्तारीका रूपमा दलालहरूले राज्यआतङ्क मात्र होइन, फासिवादी दमन गरिरहेका छन् । तीन करोड जनता थुनेर राख्ने झ्यालखाना हो र देश ? परिणाम के होला ? दलालहरू ।

उद्देश्य दुई, आफ्ना कमजोरीहरूको ढाकछोप गर्ने र जनआक्रोश मत्थर पार्ने । ‘उच्च कोटिका ताराहरूमध्ये’ धेरैजस्ता निःसन्देह पुँजीवादी नैतिकताद्वारा त्यत्तिकै भ्रष्ट भएका हुन्छन् ‘पुँजीवादी अपुताली कायम राख्न खोज्ने’ ढुकुटीचोरहरू र ‘सलामी’ तिर्ने बाध्यतालाई सफाचट गरेर मात्र सबैलाई मुक्त गर्न सकिन्छ’ (सोभियत सत्ताका तात्कालिक कार्यभारहरू) मा लेनिनले भनेझैँ झापा आन्दोलन र जनयुद्धका भगौडा एवम् गद्दार केपी–पीकेलाई जनताको क्रान्तिलाई आतङ्क तथा अपराध देख्ने, प्रतिबन्ध लगाउने र सिदेमान–जोति बसुपथमा फासिवादी दमन गर्ने बुद्धि कुन ‘भगवान्’ ले दिएका हुन् ? ‘कम्युनिस्ट’ को धर्म क्रिस्चियन हो भन्थे पुष्पकमल र ‘राम’ नेपालमै जन्मेका हुन् भन्छन् खड्गप्रसाद । कतै उनीहरूकै देन त होइन ? कुचाले बढार्नु पदैन, हावाले नै उडाइरहेको छ ।

उद्देश्य तीन, जनक्रान्तिका कोपिलाहरूमा डढेलो सल्काउने दुस्साहस । लेनिन, माओ र किम इलसुङहरू पनि त कुनै जमानामा सत्ताका लागि आतङ्ककारी थिए । साम्राज्यवादीहरूका अत्याधुनिक जेस्टार जासुसी भूउपग्रह, लेजर निर्देशित आईसीबीएम, ड्रोन आदि जनताका सामु नकाम छन् । तिमीहरू टाउकाकोे मूल्य तोक, प्रतिबन्ध लगाऊ वा फासिवादी दमन गर, अन्तिम जित जनताकै हुनेछ । कमरेडहरू सुदर्शन, वीरजङ्ग, रणवीर, ओम, शिलु, माइला, आदर्श, दीपेशलगायतलाई तिम्रा जेल–हिरासतमा राखेर दमन गर वा पाल ! अन्य सक्नेजति गर तर ‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्छन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्र उनीहरूको उद्देश्य पूर्ति हुनसक्छ । साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारावर्गले यसमा आफ्ना हतकडीशिवाय अरू केही गुमाउनु पर्दैन, बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्छन्’ (माक्र्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृष्ठ ८५) मा माक्र्सले भनेझैँ तिमीहरू धेरैपटक हार अनि हामी अन्तिमपटक जित्नेछौँ । धनरूप, तीर्थ, कुमार, रामकुमार र निरहरूलाई गोलीले हत्या गर ! उनीहरू त मृत्युञ्जयी भए तर तिमीहरू किन आतङ्कित ? हेगेललाई उद्धृत गर्दै महान् माक्र्सले भन्नुभएको थियो, ‘विश्व–इतिहासमा ती सबै महत्वपूर्ण घटनाहरू तथा व्यक्तिहरू दुईपल्ट अविर्भूत हुन्छन् : पहिलोपल्ट दुःखान्त नाटकका रूपमा र अर्कोपल्ट प्रहसनका रूपमा ।’ (माक्र्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृष्ठ १३३) । तिमीहरूका सबै बासी रणनीतिहरू नकाम र तिमीहरू जार र च्याङकाइसेक हुनेछौ । ‘बेलोरुसभदेखि लिएर मार्तोभसम्म–पुँजीवादी समाजका यी कुकुरहरू एक पुरानो शिवल जङ्गल फाँड्दा जुन काठका छेस्काहरू निस्कन्छन् त्यसबारे हल्ला गर्दै गरून् । सर्वहारा हात्तीलाई भुक्नुबाहेक यी कुकुरहरूको अर्को कामै के छ र ? भुक्न दिनोस् ।’ (सोभियत सत्ताका तात्कालिक कार्यभारहरूमा) लेनिनले भनेझैँ ऐँजेरु दलालहरू हो, आमजनताले प्रतिबन्ध खारेज गरिसके र फासिवादी दमनको प्रतिरोध गरिरहेका छन् । आँखा र कान खोल, गुहार माग साम्राज्यवादी तिम्रा मालिकहरूसँग बचाऊ, बचाऊ, बचाऊ । तर जनताले छोड्नेवाला छैनन् ।

ग) प्रतिरोध किन ?

दलाल पुँजीवादको पराजय अपरिहार्य छ । एकीकृत जनक्रान्तिको विजय अवश्यम्भाबी छ । हामी क्रान्तिकारीहरूले जनक्रान्तिका लागि यथासम्भव व्यापक रूपमा, साहससहित तथा तत्परतासहित जनक्रान्तिका उद्देश्यहरू सम्पूर्ण जनतासमक्ष राखिरहेका छौँ । दलालहरूको फासिवादी दमनका विरुद्ध जनताको आक्रोशलाई कसैले पनि दोषी ठहर्याउन सक्तैनन् । ‘क्रान्तिहरू इतिहासका इन्जिन हुन्’, कार्ल माक्र्सले (सन् १८४८– १८५० फ्रान्समा वर्गसङ्घर्षमा) भनेझैँ क्रान्ति कसैको लहड, इच्छा र रहर नभएर यो युगको अपरिहार्य आवश्यकता र हाम्रो दायित्व हो ।

लेनिनकै शब्दमा ‘जनक्रान्तिका कार्यभार विशुद्ध संसदीय सङ्घर्षका कार्यभारभन्दा हजार गुना बढी कठिन र बढी जटिल हुन्छन् ।’ नेपाली जनताले सबै चुनौतीको सामना र दमनको प्रतिरोध गरिरहेका छन् । ‘समाजवादी क्रान्ति एकाङ्गी क्रिया, एउटै मोर्चामा मात्र एक्लो लडाइँ होइन, अपितु यो तीव्र वर्गसङ्घर्षहरूको एक पूरा युग नै हो । अर्थनीति तथा राजनीतिसम्बन्धी समस्त लडाइँहरूको एक पूरा सिलसिला हो । यो बुर्जुवा वर्गको अधिकारच्यूतमा मात्र पूरा हुनसक्छ ।’ (समाजवादी क्रान्ति र जातिहरूको आत्मनिर्णयको अधिकार) मा लेनिनले मार्मिक रूपमा उल्लेख गर्नुभएको थियो । यो केपीको झापा आन्दोलन र पुष्पकमलको पालाको जनयुद्ध होइन । माक्र्सले पेरिस विद्रोहलाई ‘आकाशका विरुद्ध धावा बोलेका थिए’ भनेझैँ हो– एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्ति १ प्रतिशतका विरुद्ध ९९ प्रतिशत आमजनताको आन्दोलन एवम् अभियान पनि हो । तसर्थ आमजनतालाई दलालतन्त्र स्वीकार्य छैन । राणा, पन्चे र राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने आमनेपाली जनता आज मुठीभर दलालहरूका दास बन्न सक्दैनन् । नेपाली जनताले तिरेको करबाट तलब खाने सेना र पुलिसका जवानहरू दलालहरूको फाइदाका लागि ठाडो आदेशको भरमा भाडाका हत्याराको काम गर्न अब बाध्य हुने छैनन् । आफ्नो मुलुक र प्यारा आफन्तहरू छोडेर विदेशमा दलालतन्त्रका कारण गुलामको जिन्दगी बिताउन र दलालहरूलाई रेमिट्यान्स बुझाउन, ५५ डिग्रीको तापक्रममा काम गर्न विवश लाखौँलाख युवाहरू बाकसमा होइन, सकुशल स्वदेश फर्किनेछन् र बेरोजगारको कारक दलाल पुँजीवादी व्यवस्थाको टाउकोमा घन प्रहार गर्न तयार हुनेछन् । साम्राज्यवादी डाकुहरूको हितमा काम गर्ने दलालहरूको मुनाफाका लागि हाम्रो राष्ट्र र जनता जन्मनेबित्तिकै ऋणी हुनेछैनौँ । प्राकृतिक स्रोत–साधनहरू बेच्ने, कमिसन खाने तथा भ्रष्टाचार, कमिसन, महँगी, कालोबजारी, चर्को करबाट दलालहरूले सयौँ–हजारौँ खर्ब डलर लुटिरहेका छन् । हरेक डलरमा कलङ्कको छाप छ । प्रत्येक डलरमा रगतको दाग छ । अब कोही पनि दर्शक बन्न सक्दैनन् । दिदीबहिनीहरू विदेशको कालकोठरीमा दास र खेलौना बन्न सक्दैनन् । प्रेम गरेको र चुलो छोएका कारण दलितहरू मर्न तयार हुनेछैन् । सम्पूर्ण देशभक्त, कानुनविद्, सीमाविद्, मानवअधिकावादी, कर्मचारी, मध्यमवर्ग, पत्रकारलगायत शोषित एवम् उत्पीडितहरूले स्वाधीनता, शान्ति, समानता र समृद्धिका खातिर वैज्ञानिक समाजवादको नयाँ विकल्प खोजिरहेका छन् ।

अन्त्यमा

‘क्रान्तिले साँच्ची यति शीघ्रता तथा पूर्णतासाथ सिकाउँछ कि राजनीतिक विकासको शान्तिपूर्ण कालमा यो कुरा एकदम असम्भव लाग्न जान्छ । के कुरा महत्वपूर्ण छ भने नेताहरूलाई मात्र नभएर जनसाधारणलाई समेत सिकाउँछ । यी सब भ्रमहरूलाई क्रान्तिले निर्ममतापूर्वक र अन्तिम रूपमा नष्ट गरिदिनेछ । क्रान्तिले पहिलोपल्ट विभिन्न वर्गहरूको न्वारान गर्नेछ ।’ (जनवादी क्रान्तिमा सामाजिक जनवादीहरूको दुई कार्यनीति भूमिका) मा लेनिनले भनेझैँ जनताले सम्झौता, धोका र पराजयबाट सिकेका छन्– अब हामी धोका र सम्झौतारहित विजयी हुनेछौँ । दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनार्थ एकीकृत जनक्रान्तिको समर्थन, सहयोग र सहभागिताको विकल्प छैन । नेपालमा राजनीतिक पार्टी प्रतिबन्धित भएको यो नयाँ घटना एवम् परिघटना होइन । निरङ्कुश राणाशासन, तानाशाही पञ्चायत र फासिवादी बहुदलीय संसदीय कालमा नेपाली जनताले महासङ्कटकालविरुद्ध प्रतिरोध र विजय हासिल गरेकै हुन् । फासिवादी दमन मुर्दावाद । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद जिन्दावाद ।

२३ साउन, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :