खरायो गतिमा कोरोना : ठूलाबडाहरूकै वरिपरि पुग्यो

काठमाडौँ : चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस विश्व भ्रमण गरेर नेपाल प्रवेश गरेसँगै नेपाल उच्च जोखिममा रहेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले चालेको अव्यावहारिक कदमका कारण कोरोना निकै छोटो समयमै देशका ७७ जिल्लासम्म फैलियो । यो विवरण तयार पार्दासम्म नेपालमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भैसकेको छ भने मङ्गलबार नेपालमा थप ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा मंगलबार मात्र ६ सय ३८ जना सङ्क्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल सङ्क्रमित सङ्ख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । यो समयमा कोरोनालाई पराजित गर्नेको सङ्ख्या पनि १६ हजार ४९३ छ । अहिलेसम्म चार लाख ५२ हजारभन्दा बढीको परीक्षण गरिएको र अझै ४ लाख परीक्षण गर्ने तयारी रहेको सरकारी दाबी छ ।

जम्मा परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु भएको तथ्याङ्क मिलाउने हो भने नेपालमा ५ प्रतिशत कोरोना सङ्क्रमण भएको सरकारी अधिकारीहरूको भनाइ छ । यस्तै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोडभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या साढे ७ लाख नाघेको छ ।

यता जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोनाको दोस्रो लहर फैलिएको र यो देशका विभिन्न ठाउँमा समुदायमा फैलिइसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले कोरोना वुहान, इटाली, अमेरिका र भारतकै गतिमा सङ्क्रमण भएमा र गम्भीर हुनेको दर बढेको खण्डमा नेपालको जनस्वास्थ्य प्रणाली निकै प्रभावित हुने चेतावनी दिएका छन् । यति बेलासम्म काठमाडौँ उपत्यका, पर्साको वीरगन्ज, बाँकेको नेपालगन्ज, नुवाकोट, धुनषा, हेटौँडालगायत क्षेत्रहरू कोरोनाको हटस्पटका रूपमा देखापरेका छन् । निकै ठूलो जनसङ्ख्या र देशका विभिन्न ठाउँ, भारत र वैदेशिक रोजगारीबाट आउनेहरूको केन्द्र पनि काठमाडौँ नै भएका कारण काठमाडौँ अहिले ‘रेड जोन’ मा परेको छ । सरकारले आधिकारिक तवरले घोषणा नगरे पनि कोरोना काठमाडौँमा समुदायमा पुगिसकेको छ ।

यसैबीच राजनीतिक दलका नेता र सरकारी मन्त्रीहरू कोरोनाको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न ठाउँमा मन्त्री र सरकारी पार्टीका नेताहरूको सुरक्षामा रहने सुरक्षाकर्मीहरूमा सङ्क्रमण भेटिएपछि नेताहरूको वरिपरि कोरोना घुमिरहेको पाइएको छ । यसअघि सरकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना प्रहरीमा सङ्क्रमण भेटिएको थियो थियो भने नेकपाका महासचिव विष्णु पौडेलको पीएसओमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । पीएसओमा कोरोना देखिएपछि सरकारी नेकपाका महासचिव पौडेल आइसोलेसनमा बसेका छन् । उता प्रधामन्त्री केपी वली पनि कोरोना सङ्क्रमित व्यक्तिको क्लोज कन्ट्याकमा बसेको भेटिएपछि प्रधानमन्त्री कार्यालयमा कार्यरतहरूलाई पनि परीक्षण गरिएको थियो । यस्तै सरकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा पनि कोरोना सङ्क्रमितसँग क्लोज कन्ट्याक्टमा रहेको भन्दै पीसीआर परीक्षण गरिएको जनाइएको छ । यसअघि प्रदेश ५, प्रदेश ६ र प्रदेश २ मा पनि मन्त्री र सांसदमा कोरोना सङ्क्रमण देखिइसकेको छ ।

यस्तै सामाजिक सम्पर्कमा सबैभन्दा बढी रहने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू पनि कोरोनाको उच्च जोखिममा रहेका छन् । पर्सा, काठमाडौँ, स्याङ्जालगायत जिल्ल्लाहरूका सुरक्षाकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएको छ । मङ्गलबार मात्र पर्सामा ९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ ।

यसअघि नेपालमा कोराना भाइरस प्रवेशको सुरुआती चरणमा रहेको बेला सरकारले प्रभावकारी कदम चाल्न नसकेका कारण कोरोना निकै छोटो समयमा देशैभरि फैलिएको हो । सरकारले कोरोना नियन्त्रणका लागि जम्मा भएको रकम पनि स्वास्थ्य अधिकारीहरूकै संलग्नतामा हिनामिना भएको भन्दै उक्त रकमको खोजी र संलग्नमाथि कारबाही गर्न जनस्तरबाटै आवाज उठेको छ ।

कोरानाले वर्तमान विश्वमा मानवसभ्यतामै निकै ठूलो चुनौती दिइरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले भने कोरोना पूर्ण निर्मूल पार्नसक्ने भ्याक्सिन बन्न नसक्ने भन्दै आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिसकेको छ । त्यसो नगरिएमा मानवसमुदायले अकल्पनीय क्षति बेहोर्नसक्ने चेतावनी पनि विश्व स्वास्थ्य सङ्गठनले दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :