अमेरिका जलिरहेछ, भारत बलिरहेछ

कहाँ लागेको छैन आगो, नेपालीको मनमनमा सल्किरहेछ

आज चेतना भएको कुनै पनि स्वाभिमानी मानिस वर्तमान सत्तासँग, सरकारसँग, सत्ताधारी पार्टीसँग सन्तुष्ट छैन । मानिस खोजिरहेछ समानता, स्वतन्त्रता र मुक्ति तर सत्ता र सरकारहरू दिइरहेछन्, लादिरहेछन् दासता, राष्ट्रघात, जनघात, अन्याय, अत्याचार, महँगी र विभेद । त्यसैले मानिस स्वतस्फूर्त रूपमा उत्रिएको छ विद्रोहमा र समातिरहेको छ रातो झन्डा । विद्रोही मानिस अरूले दयाले दिएको अमृत होइन, सत्ताले सधैँ पिलाइरहने विद्रोहको विष खोजिरहेछ र विष पचाएर अझै शक्तिशाली बन्न खोजिरहेछ । कवि बीपी विद्रोही क्रूर सत्तासँग यसरी विषको प्याला मागिरहेका छन् :

यतिबेला शासकले मलाई
विष र अमृत दियो भने
म विष रोज्नेछु र पिउँछु पनि…
किन थाहा छ ?
तपाईंलाई लाग्ला
म हारेको छु
म मर्न चाहन्छु
तर होइन
म सधैँ विष पिइरहेको छु
मलाई विष पच्छ
म विषले ढल्दिनँ
किनकि उसले मलाई सधैँ विष पिलायो
मलाई विष पिउने बानी परेको छ
मेरो नसानसामा विष छ
मलाई अझै विषालु बन्नु छ ।

अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइडको श्वेत प्रहरीबाट घाँटी थिचेर दर्दनाक र क्रूर हत्या हुनु र नेपालको रुकुममा नवराज विकसहित ६ युवाहरूलाई घेरीघेरी हत्या गरेर नदीमा फालिनु संयोग मात्र होइन, उत्तरसाम्राज्यवादको चरित्र र स्वभाव मिल्नु हो । भारतमा जनप्रिय माक्र्सवादी कवि एवम् विचारक बरबर रावलाई ८१ वर्षको वृद्ध र जीर्ण शरीरमा बिनाऔषधी–पानी माओवादी भएको आरोपमा हतकडी लगाएर जेलभित्रै मार्ने षड्यन्त्र गर्नु, टर्कीमा योरुम समूहकी जनसंस्कृतिकर्मी हेलिन बोलेकलगायत तीनजना विद्रोही युवाको जेलभित्रै हत्या हुनु (वा मर्न बाध्य पारिनु) र नेपालमा कृष्णलाल अधिकारीले क्रूर राणाशासनको दमन खप्न नसकेर ‘मकैको खेती’ पुस्तक लेखेकै आरोपमा जेलभित्रै मर्नुपर्ने वातावरण तयार पारिएकै निरन्तरतामा एचपी हिमाली, माइला, रणवीर, शिलु, ओम पुनलगायत नेपालकै जनप्रिय साहित्यकार, संस्कृतिकर्मी, लेखक, बौद्धिक व्यक्तित्वहरूलाई देशभक्तिको गीत गाएको आरोपमा जेलमा सडाइनु, झूट्टा मुद्दा लगाएर देश घुमाइनु संयोग मात्र होइन, संसारभरकै जनद्रोही शासकहरूको वर्गमा देखिएको समानता हो । यो समानता मानवमुक्तिको बाधक छ । यी घटना र दृश्यहरूले मान्छेको मन पग्लिएको छ । तातेको छ । दन्किएको छ र सल्किएको छ । जनपक्षीय स्रष्टा शरद पौडेल यी क्रूर र घिनलाग्दा दृश्यहरूका विरुद्ध आगो ओकलिरहेका छन् । मानवता मरिरहेको उनको विश्लेषण छ । ‘जीवन गीत’ शीर्षकमा उनी लेख्छन् :

उता ढल्यौ जर्ज फ्लोइड, मानवता ढल्यो
यता ढल्यौ नबुहरू, समानता नि ढल्यो
मान्छेभित्र रङ्ग हेर्ने, प्रजातान्त्रिक रङ्ग
मान्छेभित्र, जात खोज्ने, लोकतान्त्रिक ढङ्ग
ढल्यौ दुवै, ढोङ्गीहरू, जनताका नजर
पाखण्डको घडा फुट्यो, उठ्यो गाउँ–सहर
अधिकारका ठेकेदार जल्दै ऐले उता
समृद्धिका छेपाराको, कन्तबिजोग यता
मान्छेलाई, पशुतुल्य, सोच्ने दुष्टहरू
जातिवादी, रङ्गवादी, अहङ्कारीहरू
विभेदमा अझै कति पिल्साउँछौ मान्छे ?
अनेक रङ्गमा अझ कति बाँडिरन्छौ मान्छे ?
दिल खोली चिच्याऊँ अब इन्कलाब नारा
मान्छे भन्नू मान्छे मात्र यो ब्राह्मण सारा ।

त्यसैले त के अमेरिका, के भारत, के टर्की, के नेपाल सबैतिर यी पाशविकता, बर्बरता र दमनविरुद्ध विद्रोहको आगो सल्किरहेको छ । जहाँबाट पनि देखिन्छ अमेरिकामा विद्रोहको आगो सल्किरहेको छ, भारतमा जनयुद्धको ज्वाला दन्किरहेको छ । नेपालमा जनक्रान्तिको दावानल सल्किरहेको छ । टर्की होस् कि बङ्गलादेश, इरान–इराक होऊन् वा पेरू, सबैतिर मुक्तिका नाराहरू घन्किइरहेका छन् । प्रतिक्रान्तिका मतियारहरू सत्तास्वादमा दङ्ग पर्दै जुँगामा ताउ लगाइरहे पनि दावानल बनेर सर्वत्र उठिरहेको जनज्वारले तिनको पनि होसहवास ठेगानमा नरहेको बुझ्न सकिन्छ । सत्ताको द्रोही चरित्रका विरुद्ध स्रष्टाहरू आगो ओकलिरहेकै छन् । फेरि शरद पौडेलको एक कवितांश :

मचान छेउबाट
यो सिंहासनमा
जो चढ्यो
श्रमजीवीका बलिदानहरूको लिस्नो टेकेर
तिनै नवमहाराजहरूका लागि
कति चाँडै
तिनै लिस्नो बनेका
गरिबका ओतहरू फेरिए
बाँदर धपाउने मचानमा ?
तिनै भरेङका खुट्किला बनेका
मानिसहरू फेरिए अमानिसमा ?
हो ! कति छिटै फेरियो
गरिबहरूमो आँसु र चित्कार
अनि तिनका सुस्केराहरू
महाराजहरूका लागि
श्रमजीवीले गरेका बहानाबाजीमा ?
सत्ताको कुर्सी
कति निर्लज्ज पार्छ मान्छेलाई ?
दृष्टि र विवेकहीन बनाउँछ मान्छेलाई ?
छली महाराज
ख्याल गर !
तिम्रो कपटपूर्ण सत्ता–व्यवहारले
स्वयम् आमन्त्रण गरिरहेछ
तिमीलाई नै बढार्ने आँधी !
तिम्रो सत्तालाई नै बढार्ने तुफान ।।

समय वेगवान् छ ।

कुनै दिन इराकका राष्ट्रपति एवम् राष्ट्रवादी नेता सद्दाम हुसेनलाई अकारण फाँसीमा झुन्ड्याएर मार्ने विश्वकै महाशक्तिशाली राष्ट्र कहलिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अश्वेत युवकको बर्बरतापूर्वक हत्यापछि सल्किएको जनताको शक्तिशाली आन्दोलनपछि बङ्करमा लुक्न बाध्य छन् । लाखौँ सेना र संसार ध्वस्त पार्ने क्षमता भएका शस्त्रास्त्रले घेरिएका ट्रम्पले किन लुक्नुप¥यो बङ्करमा ? किनकि तानाशाह ट्रम्प संसारकै श्रमजीवी वर्गका एक नम्बरका शत्रु हुन् अर्थात् ट्रम्पहरूले सञ्चालन गरेको उत्तरसाम्राज्यवाद एक नम्बरको जनविरोधी तानाशाही व्यवस्था हो । यसले कुनै न कुनै बहानामा संसारभरका पददलित जर्ज फ्लोइडहरूको त्यसैगरी नृशंश हत्या गरिरहन्छ, कहीँ घाँटी दबाएर, कहीँ बम खसालेर र कहीँ गोली दागेर । हिजो इराक र अफगानिस्तानजस्तै आज सिरियाहरू जलिरहेछन् । सुलेमानीहरू मारिइरहेछन् र इरानहरू आक्रोशित भइरहेछन् । सत्ताको क्रूरता, पाशविकता र स्वेच्छाचारीपनका विरुद्ध सत्ताका प्रशंसकहरू नै कलम चोब्न थालेका छन् । कवि वासुदेव अधिकारी ‘गाउँको आगो’ शीर्षकमा लेख्छन् :

प्रिय बन्दाबन्दी,
रुकुममा आगो
जाजरकोटमा खरानी
भेरीमा उर्लंदो रगत
तिमीलाई पोल्दैन ?
घाम लागेर पनि
अँध्यारो बाँकी
बिउ सप्रिएर पनि
झाङ्गिँदै झार
घाउ बल्झिँदै–बल्झिँदै
शिर खस्दै–खस्दै
हृदय छिया पर्दै–पर्दै
सुन्दरजस्तो लाग्ने गाउँमा
सहृदयीजस्तो लाग्ने मनमा
खै त उज्यालो ?
खै त परिवर्तनको राप ?
मलिलो जस्तो लाग्ने ठाउँमा
हरियालीतुल्य बस्तीमा
खै त सद्भावको सुवास ?
खै त मानवताको मिठास ?…
भन, गाउँले भन
इन्द्रेणी गाउन छाडेर
के स्वादले
खिया लागेको हतियार चलाएको ?
आफ्नै चेलीको प्रेम महोत्सवमा
किन क्रूरतम् मृत्युधुन बजाएको ?

एउटा अध्ययनले देखाएको छ, संसारमै सबैभन्दा भयग्रस्त जनता बस्ने देश अमेरिका हो । त्यहाँ शासकहरूले गरेका महाअपराध र विध्वंशका कारण जहाँ गए पनि अमेरिकीहरूलाई कति बेला कोबाट मारिन्छु भन्ने भय भइरहन्छ । मानिसहरू भनिरहेका छन्– नम्बर एक तानाशाह डोनाल्ड ट्रम्पले बङ्करमा लुक्नुपर्ने दिन पनि आए बाबै ! जनतालाई अझै पनि वर्गविभेदको रापमा सेक्ने, जाति र धर्मको विभेदमा पिल्स्याएर मार्ने नेपाली तानाशाहहरूले पनि ट्रम्पले जस्तै आफू लुक्ने बङ्कर बनाएका छन् कि बनाउनै बाँकी छ कुन्नि ?

संसारमा खराब मानिस मात्र कहाँ छन् र ? दुनियाँको भलो चिताउने मानिसहरूको पनि कमी छैन जो अमानुषका विरुद्ध सदा खबरदारी गरिरहेका छन् । संसारकै दुष्ट र कुत्सित पात्रहरूप्रति एक सरल प्रश्न छ स्रष्टा आकृति रेग्मीको :

मोह पालेर दम्भ मौलाउनु छैन
धन बटुलेर स्वर्गको लिस्नु बनाउनु छैन
पसिना पोख्दै इमानको खेती फलाउने म
स्वाभिमान रेटेर स्वार्थ मौलाउनु छैन
दाग त चन्द्रमामा पनि लाग्छ नि
विषालु नागजस्तै डसेर रमाउनु छैन
जन्मभूमि मेरो प्राण हो
माटोमा पसिना पोखेर
हातमा पौरख जगाएर
ठाडो शिर सगरमाथामा चुलाउनु छ
सोझासीधा मनुस्यहरूसँगै
स्वविवेकलाई फुलाउनु छ
मानव भएर मानवता नहुनेहरू
लुटको धनमा रजाइँ गर्नेहरू
म रोडको चिसो छिँडीमा निदाउन सक्छु
आँटो र ढिँडो खाएर
राष्ट्रियताको पहरेदार बन्न सक्छु
मलाई गिरेर बाँच्नु छैन
छाती फुलाएर मेची–काली पुग्न सक्छु
लुकेर वाण हान्नेहरू हो
सक्छौ यमराजलाई वाण हान्न ??

सत्य हो, दिन फिर्छन् भन्थे बुढापाकाले । हो रहेछ । बाँचीबर्जी रहे देख्न, सुन्न र भोग्न पाइन्छ भन्थे अग्रजहरू, हो रहेछ । जीवन चक्र हो । छेउको सियो माझैमा क्वै बेला भन्थे गन्यमान्यहरू, हो रहेछ । जर्ज फ्लोइडको हत्याविरुद्ध महासागर उर्लिएपछि आज डोनाल्ड ट्रम्प बङ्करमा लुकेको छ । हेर्दाहेर्दै हामीले यो पनि देख्नु र सुन्नु पर्नेछ– डोनाल्ड ट्रम्प बङ्करभित्रै मारियो रे । अन्धविश्वासीहरू भन्दैछन् अझै– पाप धुरीबाट कराउँछ रे, हो रहेछ । हाम्रा ट्रम्पहरू अर्थात् ट्रम्पका उत्तराधिकारीहरूका बारेमा त्यस्तो शुभसमाचार सुन्न हामीले अरू कति समय यत्न गर्नुपर्ने हो कुन्नि ! तर समय बलवान् छ । त्यो समय पक्कै आउनेछ । सद्दाम हुसेन, बिन लादेन र कर्नल कद्दाफीलाई बङ्करबाट निकालेर झुन्ड्याउने र सुलेमानीको दिनदहाडै हत्या गर्ने अमेरिकी प्रशासकहरू जनविद्रोहको आगो सल्किएपछि आफैँ बङ्करमा लुक्न बाध्य भएको दिन देख्नुपरेको छ दुनियाँले र यी दिन बिस्तारै भारततिर सल्किरहेछन् । एक दिन नरेन्द्रदामोदरदास मोदी र उनका उत्तराधिकारीका विषयमा पनि हामीले यस्तै समाचार सुन्नुपर्नेछ । किनकि स्रष्टा इन्द्र रेग्मीभित्रको स्रष्टा व्यक्तित्वको ज्वालामुखी त्यसै प्रस्फुटित भएको छैन :

हामी फनफनी घुम्दैछौँ
तिम्रो ‘डेमोक्र्यासी’ लाई मियो बनाएर
सम्झ हामी त्यहाँ बालुवा पेल्दैछौँ
न रस आउँछ, न तेल
तर मजैसँग घुमिरहेका छौँ
अनि तिमी
तिमी दौरा, सुरुवाल र कोट लगाएर
पर…परसम्म
क्षितिज नियाल्दैछौ
हामी रिँग्दैछौँ
फगत रिँगिरहेका छौँ
तिमीले नै गाडेको कोलवरिपरि
सायद तिमी लाउँदैछौ
जुँगामा ताउ
र सोचिरहेका होलाऊ
मेरा पुस्तैनी दासहरू
यी सधैँ दासै बनिरहून् !

सत्ताउन्मादले मैमत्त शासकहरू आफ्नो निष्कण्टक राज्यका लागि बन्दुकको गीत गाइरहेछन्, दमनको भाका बोलिरहेका छन् । आफ्नो सत्ताका विरुद्ध कसैले मसिनो वा मध्यम स्वरमा गीत गायो भने पनि शासकहरूको निद्रा बिथोलिन्छ । उनीहरू देश र जनताको वर्तमान र भविष्यप्रति होइन, आफ्नो र आफ्ना सन्ततिको भविष्यप्रति चिन्ता गर्दै दिनरात कटाइरहेका छन् । त्यसैले त भूकम्पले सोत्राम्मे बनेका जनताको लास उठाउनुअघि पनि उनीहरूलाई कमिसनको चिन्ता हुन्छ । कोरोना भारइरसले अकालमा ज्यान गुमाएकाहरूको सद्गत् गर्नुअघि पनि उनीहरूलाई स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको कसिनको पोको लुकाउन हतार हुन्छ । जब शासकहरूलाई देश र जनताभन्दा बढी भ्रष्टाचार, राष्ट्रघात र कमिसन दुख्छ उनीहरूको हृदय पाषाण बनिसकेको बुझ्न गाह्रो पर्दैन । अब रुपैयाँ, जमिन र सुनमा मात्र होइन, शासकहरू जनताको रगतमा पल्किएका छन् । कुमार पौडेल हुँदै मणिसुन्दर राई ‘मनीष’ सम्मको रगतमा पौडी खेल्दा उनीहरूलाई रक्तमात लागिसकेको आभास हुन्छ । जनताको अपार समर्थन पाएको विद्रोही शक्ति घाइते बघिनी हो भन्ने सायद शासकहरूलाई थाहा छैन । शासकहरूको यस्तै निर्घृणी, निर्लज्ज र मैमत्तपनलाई स्रष्टा खगेश्वर भण्डारीले ‘भूमण्डलीकरण’ मा यसरी समेट्दै सुखद भविष्यको अपेक्षा पस्किएका छन् :

…ए प्रिय !
मण्डलाकार घुम्छन्
अन्तरिक्षमा षड्यन्त्रहरू
हिर्काउँछन् कूटनीतिले
नङ्ग्राले चिथोर्छ, ठुँडले ठुङ्छ
धर्तीको छाती चिरिन्छ ।
हिमाली कोखमा जन्मेका रक्तसरिता
तनतनी पिउँछन्
धस्छन् धर्तीको गर्भमा तिखा दाँतहरू
निकाल्छन् सुनगेडी र इन्धन
बजारमा व्यापार चल्छ
उसकै पोल्टामा जान्छ
तिम्रा चुरापोतेमा कालो पोतिएका छन्
मेरा दौरा–टोपी छिः भनिएका छन्
सोरठी र टप्पामा माटोको गन्ध मेटिए
कोइलीका गीत सुन्ने गुराँस बेचिए
आकाश र धर्तीमा बिर्काे लगाएर
उसिनेको छ हामीलाई
न आकाश भेटिन्छ
न जमिनमा टेकिन्छ
भयङ्कर मुख बाइरहेछ
डरलाग्दा दाँतहरूले टोकिरहेछ
खुनको स्वादले उन्मत्त जिब्रो
लपलपाइरहेछ
समस्त संसार पीडामा छट्पटाइरहेछ
ए प्रिय !
हेर्न नसके
तिमी पसिना उमालेर कुद
म आगो बालेर कुद्छु
तिमी चाहना पालेर जाऊ
म समय सँगालेर आउँछु
तिमी आँखा चिम्ल
म पत्थर बन्छु ।
म आकाश खोज्न चितामा जान्छु
तिमी मुटु छाम्दै धर्ती खोज ।
मैले आकाशबाट हेर्दा
चिरिएको धर्ती
तिमीले जोडिरहेको हुनुपर्छ ।
तिमीले आकाशतर्फ हेर्दा
हराएको आकाश
मैले खोजिरहेको हुनुपर्छ ।

विगतमा जीवन दाउमा लगाएर लड्नेहरूलाई वर्तमान यति भद्रगोल र गोलमालपूर्ण होला भन्ने कुनै आभास थिएन । एउटा चटकेले एक चुट्कीमै दसौँ हजारको बलिदान र आकाश–धर्ती कम्पायमान बनाउँदै बगेको रगतले दुस्मनको पाउ पखालिदेला भनेर कसैले कल्पनासम्म गरेको थिएन तर विडम्बना भइदियो त्यस्तै । जे हुनुपर्ने थियो, जे हुन्छ भनिएको थियो, जे हुनु आवश्यक थियो त्यो भएन र जे–जसका विरुद्ध त्याग, शौर्य, विवेकको लदाबदी हुँदै बलिदान भएको थियो, रगत बगेको थियो फेरि त्यही प्रवृत्ति, त्यही विचार, त्यही व्यवहार, तिनै पात्रहरू ढसमस्स गरी उक्लिए सत्तामा । मानौँ जसरी घोडा चढेर बसेका छन् जनताले विद्रोह गरेर र रगत बगाएर ल्याएको गणतन्त्रमा पनि सहिदहरूको सालिकमाथि राणा शासकहरूका सालिक । यही विडम्बनाले पोलेको छ स्रष्टा सीता विक सम्झनालाई र डाहा भएको छ लुटाहाहरूले राज गरिरहेको गणतन्त्र । यही अवस्थालाई चित्रण गर्दै यो तामसी गणतन्त्रसँगै हिजोका नायकहरूलाई उनी प्रश्न गर्छिन् :

एक बारको जुनीमा
एक मुठी सास
हत्केलामा राखी
टाउकोमा कफन बाँधी
सातु–सामल बोकी
बिनाचप्पल
बिनाजुत्ता लामालामा बाटा हिँडेर
मृत्युसँग लाप्पा खेल्दै
ज्यानको बाजी थापेर
ल्याएको गणतन्त्र
खोइ कहाँ आयो ?
खोइ कसलाई आयो ??
धक फुकाएर सोध्न मन छ सुप्रिमोलाई
जनवादको यात्रा कहाँ पुग्यो भनेर
दुनियाँ ब्युँझिने गरी बुझ्नुछ कमरेडसँग
घाइते सहिदका सपना कति साकार भए भनेर
बेपत्ताका लागि भनेर बेपत्तै भएका आयोगका
पाना पल्टाइपल्टाई हेर्नुछ
प्रियजनको लुकाएको सास
चित्र पनि चिन्नै नसक्ने गरी दबाइएका दोरम्बाहरूका लास
गणतन्त्रका लागि सोलु–सल्लेरी–खारा–खुम्चेरीमा
जागै हुन लगाउने तपाईं
नवराजहरूको न्यायका लागि चौहजहारीमा
जम्मै जाग्दै गर्दा
तपाईं भने आफ्ना आफन्त जोगाउन
आफू भने निदाइरहनु भएको छ रे !
साँच्चै निदाइरहनु भाको छ कि
निदाएको स्वाङ पारिराख्नु भाछ ?
ब्युँझिने गरी निदाउनुभएको छ कि
कहिल्यै नब्युँझिने गरी निदाउनुभएको छ ?
यो पनि थाहा होस्
तपाईं निदाएको सबैले बुझेका छन्
नवराज निदाउँदा सबै ब्युँझेका छन् ।
गणतन्त्रका घाइतेलाई घात गरेपछि
अपाङ्गका आशा–अपेक्षा अलपत्र पारेपछि
बेपत्ताका विश्वास विलय भएपछि
सहिदका सपना स्वाहा भएपछि
ए, कमरेड
म कसरी शुभकामना दिऊँ
गणतन्त्र ल्याउनु भनेको
बयलगाडामा अमेरिका जानु हो भन्नेलाई
जनयुद्धमा बगेको रगतलाई
रजस्वलाको रगतजत्तिको पनि मूल्य छैन भन्नेलाई
गुलेली चलाउन नजान्नेले
के गोली चलाउलान् भनेर
मुक्तियोद्धाहरूलाई खिसिट्युरी गर्नेलाई
सत्ताको सिंहासनमा बिराजमान भएर
नयाँ राजारानीजस्तै नक्कल गर्नेलाई
जदौ मालिक भनेर
गणतन्त्रको मसिहा मानेर !
भन्नुस् कमरेड
म कसरी गणतन्त्र दिवसको शुभकामना दिऊँ !!!
पानी नचल्ने जात भन्दै
पानीमै मानवता मारेको हेरेर
म हर्षित हुँदै
दीप प्रज्वलित पार्दै
मीठोमसिनो खाँदै
अबिरजात्रा गर्दै
म गणतन्त्र दिवसको शुभकामना दिन सक्दिनँ
मलाई माफ गर्नुहोस् कमरेड
यसलाई म गणतन्त्र मान्न सक्दिनँ ।

कमरेड सीता विक ‘सम्झना’ जनयुद्धमा जनमुक्ति सेनाकी एक सशक्त कमान्डर हुन् । हिजो उनलाई दुस्मनका बङ्कर कब्जा गर्न आदेश दिने तिनै कथित सुप्रिमोहरू आज खलनायक बनेका छन् र हिजो जनयुद्ध दमन गर्ने, महान् युद्धलाई होच्याउनेहरूलाई जनयुद्धका सेना, सत्ता, हतियार बुझाएर त्यहीँ शरण लिँदै जीवनको भिक मागिरहेका छन् । देश मुक्त पार्ने र समानता र स्वतन्त्रताको राज ल्याउने महान् सपना बोकेर लड्दालड्दै बलिदानको बाटो रोजेकाहरूको आज नामोनिशान छैन तर हिजो दोरम्बामा २१ जना योद्धाहरूलाई लाम लगाएर कन्चटमा गोली दागेर बीभत्स हत्या गर्ने मेजर राममणि पोखरेलहरूको काँधमा अतीतका सुप्रिमोहरूकै आदेश र निर्देशनमा फुली थपिएको छ र हजारौँ कृष्ण सेन ‘इच्छुक’ हरूका हत्याराहरूको पदोन्नति भइरहेको छ । यस्तो अवस्थामा कसरी सक्छन् महान् जनयुद्धका योद्धा सीता विक ‘सम्झना’ हरू यो बिहारी गणतन्त्रलाई जनताको गणतन्त्र भन्दै सलामी ठोक्न र जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मका योद्धा अम्बिका चन्दहरू मस्तराम बनेर सुख र चैनको निद्रा निदाउन ?! त्यसैले आज लाखौँ जनताका निद्राहरू अम्बिकाका जस्तै जाग्राम बसेर बितिरहेका छन् किनकि मुलुकमा फेरि हिजो स्वप्नहन्ताहरूले समाप्त पारिदिएको विद्रोहको बिउ जगाएर एकीकृत जनक्रान्ति आरम्भ भएको छ :

निद्रा हराएका यी रातहरूमा
जब झ्यालको सानो चेपबाट बाहिर हेर्छु
क्षितिजभन्दा परको गहिरो कालो आकाशमा
जूनताराहरूको बस्ती नियाल्छु
आकाशको एउटा जून र अनगिन्ती ताराहरू
सृष्टिका सबैभन्दा सुन्दर छन् तर धेरै टाढा छन् ।
तिनै जूनतारा हेरीहेरी म सम्झन्छु
चरीले छोडेर गएका डालीका गुँडहरू
प्रेमीले छोडेर गएका अधरका स्पर्शहरू
नदीले छोडेर गएका बगरहरू
बगैँचाबाट टुटेका फूल र कोपिलाहरू
भीडभाडमा यतै कतै छुटेका मधुर सम्झनाहरू ।
जब रात गहिरिँदै जान्छ
स्मृतिको क्यानभासमा देखिन थाल्छन्
यो रात ढालेर धर्तीमा बिहान ओराल्ने
सपना देख्दादेख्दै अस्ताएकाहरू
आफ्नो जीवनभन्दा पनि
सपना प्यारो बनाउनेहरू
भैरवनाथ गणबाट हराएकाहरू
शिवपुरीआसपासबाट बेपत्ता पारिएकाहरू
घडीको सुई र भित्ताको पात्रोले नापिरहेको
समयको गति र सीमाभित्र
भेटिएन कतै उनीहरूको चिनो
न सुनिए कतै तिनका पदचापहरू
सायद उनीहरू सबै
आकाशका जून–ताराहरूसँगै मिसिएर त होला
जब रात ढल्छ र बिहान नजिक आउँछ
आकाशका ती जूनताराहरू अलि चम्किला हँुदै जान्छन् ।
म जति गहिरो गरी जून हेर्छु
जूनमा देख्छु–
कृष्ण सेनको शालीन तस्बिर
अनि पूर्ण पौडेलको कलिलो मुखाकृति
विपीन भण्डारी, दिलबहादुर राई
रामहरि रूपाखेती, कृष्ण बस्नेतहरू
त्यस्तै ताराहरूमा देख्छु
महान, कुमार, सनराइज र दीपेन्द्रहरू
र देख्छु छोडेर गएका
सुनिल, आकाश र झरनाहरू
जसले मलाई छोडेर गएका थिए
उनीहरू जूनतारा बनेर हेरिरहन्छन्
जब उनीहरू बादलभित्र पस्छन्
बादलले थरीथरी आकृति बनाउँछ ।
तिनै जूनतारा हेरी–हेरी
निद्रा हराएका यी रातहरूमा
आज एउटा उन्मुक्त सपना देखेकी छु
डरलाग्दो रातको कालो घुम्टो च्यातेर
धर्तीको छातीमा मिर्मिरे बिहान पोखिएको
चराहरूको गीतमा बतासले सङ्गीत भरिरहेको
पाषाण युगका कानुनहरू ढालेर
स्वर्णिम युगको शिलान्यास गरिएको
सपनाले जीवनकोे लय बदलेको
सपनाले जीवन जिउने तरिका बदलेको
जीवनहरू पन्छीजस्तै स्वतन्त्र विचरण गरेको
जसको खुसीयालीमा सहरमा एउटा जुलुस निस्किएको
यो धर्ती र आकाशमा एकैपटक
इन्क्लाबको गगनभेदी नारा घन्किएको ।

यो साताको समय समीक्षाको अन्त्य आफैँले कोरेको कविताको एउटा हरफबाट गर्न चाहन्छु :
कमरेड हेलिन बोलेक !

हो, यो समय नै यस्तै–यस्तै छ
रक्तपिपासुहरू सलबलाइरहेछन् अझै
गोराको कालो शासनभित्रका जर्ज फ्लोइड होऊन् वा
नक्कली समाजवादभित्र थिचिएका नवराज विकहरू होऊन्
कुमार वा रामकुमार श्रेष्ठहरू नै किन नहोऊन्
कोही जाति, कोही रङ र कोही वर्गविभेदका कारण
बगाउन विवश छन् तिम्रोजस्तै पवित्र रातो रगत
र आह्वान गरिरहेछन् विश्वक्रान्तिलाई ।
जो राष्ट्रियताका लागि लडेको छ
ऊ राजद्रोही घोषित भएको छ र मारिएको छ
जनतन्त्र र जनजीविकाका लागि सङ्घर्षमा उत्रिएकाहरू
जनविरोधीमा डामिएर दण्डित भएका छन्
र देश बेच्नेहरूले थापेका छन् राष्ट्रवादीको पगरी
जनता मार्नेहरूले पाइरहेछन् जनसेवकको पदवी
आफ्नो देशलाई हाम्रो हो भन्नेहरूका हातगोडामा
लागिरहेका छन् हतकडी, नेल र कोचिएका छन् कारागारमा !…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :