प्रिय कमरेड, शरीर बन्धक भए पनि विचार कहिल्यै बन्धक नबनाउनू

समय समीक्षा

राष्ट्रिय राजनीतिका दृश्यहरू बडो विचित्रमय देखिइरहेका छन् । एकातिर सयौँको सङ्ख्यामा देशभक्त क्रान्तिकारीहरू देशद्रोहको झूट्टा मुद्दामा जेल र हिरासतको कठोर जीवन बिताइरहेका छन् भने अर्कातिर मातृ र वर्गघातीहरू मत्ता घोडाझैँ हिःहिः गर्दै उन्मत्त बनेर देश र जनताको घोडा चढिरहेछन् !
समय उस्तै छैन, बदलिइरहेको छ । ‘चौटा खान गएको, झोलमा डुबेर मरेको’ भन्ने नेपाली उखान (परिमार्जित) लाई सार्थकता दिँदै केही पूर्वकमरेडहरू दुस्मन क्याम्पभित्र छट्पटाइरहेका दृश्य नेपाली समाजले बडो चनाखो बनेर दयालु दृष्टिले हेरिरहेको छ । मूल नेतृत्व वर्गसङ्घर्ष छोडेर संशोधनवादी, सुधारवादी बाटो समात्दै पहिले आफैँले प्रतिक्रियावादी घोषणा गरेका तत्वहरूसँग काँध मिलाउँदै अस्वाभाविक हिमचिम गरेर हिँडेपछि केही समयसम्म अन्धाधुन्ध ‘यही बाटो ठीक छ’ भन्ने भ्रम छर्दै हिँडेका र भर्भराउँदो भएर अघि बढिरहेको जनक्रान्तिले छद्मभेषीहरूको मुहार उदाङ्गो बनाइदिएपछि तिल्मिलाएका केही थान बुख्याँचा बटुवाहरू बीच बाटोमा बसेर रोइरहेका दृश्यहरू बडो कारुणिक देखिन्छन् ।
यी करुण दृश्यहरूकै बीचमा चौबाटोमा बसेर वल्लो घाट न पल्लो तीर बनेर रोइरहेका, हिजो सँगै जनयुद्ध लडेका पात्र पूर्वकमरेडहरूलाई सम्बोधन गर्दै नेकपाका युवा नेता पूर्णबहादुर सिंहले सम्भवतः पहिलो कविता लेखेका छन् ‘आऊ प्रिय कमरेड !’ शीर्षकमा । यद्यपि उनले ‘यो कविता होइन, एकजना पूर्वकमरेडको काव्यात्मक स्टाटसको जबाफ हो’ भनेका छन् तर पनि यो कविता नै हो । कविता समयले लेख्न सिकाउँछ । मानिसलाई विद्रोही र क्रान्तिकारी समयले बन्न सिकाउँछ, बन्न लगाउँछ । विद्रोह र क्रान्ति समयले गर्न सिकाउँछन्, रहरले होइन आवश्यकताले । उनले लेखेका छन् :
वर्ग छ, वर्गसङ्घर्ष छ
वर्ग नामेट गर्ने नयाँ सङ्कल्प पनि छ
कहाँ झुक्छ झन्डा, सम्झौता अनि धोकामा ?
सपना र सङ्कल्प साकार गर्न
बसेर हुन्न ढोकामा
बुझ्न मात्रै होइन, बदल्न
बदल्न मात्रै होइन, रक्षा र विकास गर्न
आऊ कमरेड नयाँ सङ्ग्राममा
इतिहासको पुनरावृत्ति गर्न होइन
नयाँ इतिहास रचना गर्न
एकीकृत वर्गसङ्घर्ष लड्न
आऊ प्रिय कमरेड
हिन्दमहासागरको यात्री बनेर
पुगिन्न सगरमाथा
आऊ प्रिय कमरेड
प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा बदल्न
धोका र सम्झौता तोड्न
एकीकृत जनक्रान्तिको पुलले
वैज्ञानिक समाजवाद जोड्न
आऊ प्रिय कमरेड
वाचा, सङ्कल्प र सपना पूरा गर्न
दलाल र वादशाहको सेखी तोड्न
आऊ ! आऊ ! आऊ !!
प्रिय कमरेड…
ती प्रिय त हिजो सहयोद्धा बनेर एउटै उद्देश्य पूरा गर्ने प्रतिबद्धता गर्दै जीवनलाई दाउमा राखेर सँगसँगै एउटै मोर्चामा लड्दाको समयमा थिए । आज ती अप्रिय भइसकेका छन् किनकि तिनीहरूले प्रतिक्रान्तिको बाटो रोजेका छन् र प्रतिक्रान्तिकारी नेतृत्वलाई महिमामण्डित गर्दै तिनको पछुवा बनेका छन् । अप्रियहरूलाई पनि प्रिय भनेर सम्बोधन गर्नुपर्दाको व्यङ्ग्यबोधमा पनि आफ्नै किसिमको आनन्द लुकेको हुँदो रहेछ, मानौँ आतङ्कले अर्को आनन्द जन्माइरहेछ । ती करुण दृश्यहरूले हृदयभित्र अर्को ममता र करुणा जन्माइरहेका छन् । उनको यो काव्यात्मक अभिव्यक्ति सरकारी पार्टीका युवा स्रष्टा रमेश मल्लको यो कविताको प्रत्युत्तरमा आएको हो :
ओ प्रिय साथी !
वर्गप्रेमले वर्गसङ्घर्षमा होमियौँ
परिस्थितिको उपज मोर्चा बदल्यौँ
जहाँ रहे पनि, जुन मोर्चामा भए पनि
देश र जनताका खातिर झन्डा उठायौँ
जिते संसार हारे हत्कडी
उन्मुक्तिका गगनभेदी नारा लगायौँ ।
ओ प्रिय साथी, ओ प्रिय कमरेड
साथी सम्झन्छौ, गला मिलाइन्छ
रैती सम्झन्छौ, विद्रोह गरिन्छ
व्यक्तिका रूपमा तिम्रो र मेरो
न केही लिनु छ, न केही दिनु छ ।
दावानलको बीचबाट बिच्केर आएका हामी
बमगोला र बारुदसँग जिस्केर आएका हामी
कति साथी छुटे समरमा
त्यो प्यारो झन्डा र त्यो प्यारो कसम
पूरा गर्ने सङ्कल्प लिई निस्केर आएका हामी
ओ प्रिय साथी, ओ प्रिय कमरेड
तिमी वर्ग सम्झन्छौ, प्रेम गरिन्छ
वैरीसँग नतमतस्क हुन्छौ, घृणा गरिन्छ
जब तिमीसँग सहकार्यका टुसा उम्रन्छन्
मेहनतसाथ गोडमेल गरिन्छ
जब पूर्वाग्रहको ऐँजेरु उम्रन्छ
त्यो कलुषित डाँठ छिमलिन्छ ।
भेरी–कर्णालीको अनन्त प्रवाहझैँ
लामो छ यात्रा जनसमरको
समरका चुनौतीपूर्ण घुम्तीहरूमा
भेट भयो हामी नयाँ समरयात्रीको
स्वप्नद्रष्टाको सपना साकार पार्न
आरम्भ भएको छ नयाँ समर–यात्राको
ओ प्रिय कमरेड, ओ प्रिय साथी
ढालिदेऊ तिम्रो अहङ्कारको महल
छोडिदेऊ तिम्रा छद्मभेषी चलखेल
दुस्मन चौतर्फी जाल बुनेर बसेको छ
छिचोल्नु छ षड्यन्त्रका सबै जालझेल
तोड्नु छ फेरि अनेकताको जन्जिर
दियो बाल्नु छ एकताको
प्रज्वलित बनाउँदै आकाश–धर्ती सबैतिर ।
कवि रमेशको अवस्थिति र कविताबीच साम्य छैन । कवि जहाँ बसेर जसलाई प्रिय कमरेडको सम्बोधन गरिरहेका छन् त्यहाँ कुनै सङ्गति छैन । फोहोरको थुप्रोमा बसेर सुघ्घरीहरूलाई फोहोरी भन्नुजत्तिकै असङ्गतिपूर्ण छ । कविताले बहुनिशाना साधेको देखिए पनि सहकर्मीहरूमाथिको प्रहार हो भन्नेमा सन्देह उत्पन्न हुने पर्याप्त ठाउँ छ किनकि जुन खलनायकहरूलाई नायक मान्दै एउटा पङ्क्ति जुरुकजुरुक गर्दै बुरुकबुरुक उफ्रिएको थियो, यति छिट्टै उनीहरूमा ग्लानि र प्रायश्चितबोध भइसक्यो होला भन्ने त्यस्तो कुनै लक्षण, आधार र प्रमाण देखिन्न । रमेशको पङ्क्ति जसले कमरेड्लीपनलाई इतिहासमै सेलाएर आइसकेको छ उनीहरूलाई तिनले कमरेड र अझ प्रिय कमरेड भन्नु आफैँमा सङ्गतिपूर्ण होइन । क्रान्तिकारीहरूलाई यस किसिमको शैलीले सम्बोधन गर्नु र आग्रह गर्नु झनै असङ्गतिपूर्ण छ किनकि हुरीचराहरू त आफ्नो वेग बढाइरहेकै छन् क्रान्तियात्रामा । कालोले आफूलाई सेतो भनिदिएन भनेर प्रलाप गर्नु वा निशाले आफूलाई दिवा भनिदिएन भनेर रोदन गर्नुमा कुनै अर्थ छैन । पूर्वसहयोद्धा अर्थात् आजका सहकर्मी, सहधर्मीहरूप्रतिको आग्रह वा आक्रोश हो भने पनि त्यो प्रक्रिया र निरन्तरतामा छैन ।
यो कविताबाट रमेशको नाउँ मेटिदिने हो भने कविता कुनै क्रान्तिकारी आशावादी कविले लेखेको प्रतीत हुन्छ तर उनको अवस्था त्यस्तो छैन । तिनका विद्यमान अगुवाहरूले तिनीहरूलाई जान्दाजान्दै दलाल पुुँजीवादतिर घिसार्दा पनि यो समाजवादको यात्रा नै हो भनेर तिनीहरू मौन मात्र बसेनन्, देखीदेखी ओरालो यात्रालाई उकालोको यात्रा हो भनेर दुनियाँलाई झुक्याउने दुष्प्रयास गरे र क्रान्तिकारीहरूलाई धारे हात लगाएर सरापे । क्रान्ति पूरा भएको छैन, हिजोको नायकले धोका दियो भन्नेहरूलाई उग्रवादी, अराजक, लोभी र महत्वाकाङ्क्षी भनेर भ्रम छरे । ‘आची ग¥यो, दैलो देख्यो’ भन्ने नेपाली उखानझैँ संसदीय चुनावमा शर्मनाक पराजय बेहोरेपछि सत्तास्वार्थ र अस्तित्वरक्षामा लिप्त भएर पराईसँग विलय भएपछि देख्ने र भोग्ने भनेको यही अपमान, तिरस्कार र पीडाबाहेक के हुन्छ र ? क्रान्तिकारीहरू त दूरदर्शी हुन्छन् । दुई वर्षपछिको भविष्य पनि देख्न नसक्नेहरूले के राजनीतिक डुँगा खियाउनु ? त्यस्ताहरूका लागि त बरु नाङ्ले व्यापार नै ठीक छ । विद्रोहचेत गुमिसकेकाहरूसँग विद्रोहको झिनो आशा गर्नु र थाहा हुँदाहुँदै भीरबाट गुल्टिएकालाई कठै भन्नुशिवाय अरू के गर्न सकिन्छ र ? रमेशको त्यही कवितामा व्यक्त निराशा, कुण्ठा, द्विविधा, असङ्गति र छट्पटाहटलाई सम्बोधन गर्दै अशोक सुवेदीले प्रत्युत्तरमा लेखेका छन् ः
ए पूर्वकमरेडहरू
अर्थात्
ए पूर्वमित्रहरू
वा भनौँ
ए पूर्वसहयोद्धा र सहकर्मीहरू
बन्ने भए गधा धोएर गाई
हुने थिएनन् कहीँ पनि गाईगोठहरू
जन्मिने थिएनन् कहीँ पनि
सुन्दर बाच्छाबाच्छीहरू
गर्ने थिएनन् बाँऽबाँऽऽ
र डुल्ने थिएनन् रनबन
दिने भए कुनै पनि रङको गोरुले बाल्टिनभरि दूध
किन पाल्नुपथ्र्यो गोठमा दुधालु गाई र भैँसी ?
कहाँ हरायो तिम्रो आलोचनाचेत र
कहाँ फाल्यौ तिमीले
हिजोका धारिला तर्कशक्ति
र गरिरहेका छौ अरण्यरोदन !
फल्ने भए अमिलो ज्यामिरको बोटमा
सुस्वादु सुन्तला
कसले गथ्र्यो सुन्तलाखेती ?
ढुक्क होऊ र छोडिदेऊ पागलपूर्ण भ्रम
दिँदैनन् गोरुहरूले दूध
र लाग्दैनन् अक्करमा धानचामर
कतै बचेका छन् भने भित्री अन्तरकुन्तरमा
हिजोका सुन्दर सपनाका झिल्काझिल्की
विद्रोह गर बुख्याँचाहरूसँग र
आऊ
उर्वर छ मैदान र
लटरम्म फलेका छन् सपना
सपनाको मैदानमा आऊ र
तयार होऊ साकार पार्न हिजोका सपना ।
…………….
हेर्दाहेर्दै, भोग्दाभोग्दै र लड्दालड्दै एक साथ
सुटुक्क मिलाएपछि वर्गदुस्मनसँग चोचोमोचो
र गर्न थालेपछि दुस्मनहरूको पाउपूजा
त्यागिदिएका हौँ हामीले तिमीलाई तिरस्कारपूर्वक ।
घृणा गर्नेलाई प्रेम र
प्रेम गर्नेलाई घृणा गर्दै
र दुस्मनसँग मितेरी र
सहयोद्धासँग दुस्मनको व्यवहार गरेपछि
घोषणा गरिदिएका हौँ तिमीलाई सपनाका दलाल
हो, अब फेरिएको छ
तिम्रो वर्ग र हाम्रो वर्ग
उत्थान भएको छ तिम्रो वर्गको
भुलेका छौ तिमीले झुप्रा–छाप्राहरूलाई
र लगाएका छौ हुर्हुरी आगो
चेपाङ, तामाङ वा अरू आधारभूत वर्गका बस्तीहरूमा
तिम्रा अर्ना र डामेर छोडिएका साँढे चराउन
बिमाख पारिएका छन्
जनबस्ती र सुकुमबासी टहराहरू ।
हराएपछि दुस्मनका महलका चोठाकोठाहरूमा र
लहसिएपछि सुरा र सुन्दरीहरूमा
देख्न थालेपछि हिजो आफैँ बसेका
जनताका बुकुरालाई गोठ र छाप्रा
र जलाउन थालेपछि तिनै छाप्रामा दनदनी आगो
घोषणा गरेका हौँ तिम्रो प्रतिक्रियावादमा पतनको ।
हो, अब भेट त अवश्य हुने नै छ पूर्वकमरेड
जसरी भएथ्यो हिजो
निशाचर सत्ताका मालिकका रक्षकहरूसँग आमनेसामने भएर
हिजो उसले जस्तै
तिमीले पनि खाएका छौ हाम्रा होनहार योद्धाहरूलाई
जसरी खाएथे हिजो
नानाथरी शाही साम्राज्यले
हाम्रा दसौँ हजार सहयोद्धालाई
भेट त भएकै थियो हिजो पनि उनीहरूसँग
लडाइँका मोर्चाहरूमा
हो, हुनेछ हाम्रो पनि भेट त्यसरी नै

कि तिमी÷तिम्रो वर्ग रहनेछैनौ
कि हामी !
तर विश्वस्त छौँ हामी हाम्रो विजयप्रति
किनकि
आजसम्म बचेका छैनन्
संसारका कुनै पनि तानाशाहहरू
र क्रान्तियात्रा बहेको छ
झन्झन् उर्लंदो र वेगवान् नदी भएर
अघि बढिरहेको छ
श्रमिक–सर्वहाराहरूको क्रान्ति–दावानल ।
मौकामा सही निर्णय गर्न नसकेपछि पश्चाताप गर्नु, बत्तुराउनु, पागलप्रलाप गर्नु, बर्बराउनुबाहेक के बाँकी रहन्छ र साथमा ! आज त्यस्तै नियति भोगिरहेछन् क्रान्तिकारी यात्रामा भुतभुते खन्याएर आत्मसुरक्षाका लागि युद्धमैदानबाट दुस्मनक्याम्पतिर शरण लिन भागेकाहरू ।
हिजोका विद्रोही तर बीचमा वैचारिक अलमलका कारण सत्तानिकट समर्थक र कहिले आलोचक बन्ने गरेका स्रष्टाहरू पनि अंशअंशमा सत्ताप्रति, सत्ताका सञ्चालकप्रति, हिजो आफूले नायक मानेका र हेर्दाहेर्दै पतन भएर पनि पतन भएको स्वीकार गर्न नसकेका पात्र–प्रवृत्तिप्रति झिनो आशामिश्रित व्यङ्ग्य र आक्रोश प्रकट गर्न थालेका छन् । यथार्थलाई ग्रहण गर्ने र वास्तविकता पत्ता लगाउने घ्राणशक्ति बिस्तारै जाग्रत हुन थालेको पाइन्छ उनीहरूमा । रमेश वा अरूहरूका अभिव्यक्तिले पनि यस्तै सङ्केत गर्छन् । आशालाग्दा प्रगतिशील युवाकवि राजु स्याङ्तानले हिजो जनयुद्धमा नायक मानिएका प्रचण्ड ‘पुनर्मुसिको भवः’ हुँदै पुष्पकमल दाहालमा पतीत भएको विषयलाई कलात्मक तरिकाले यसरी व्यक्त गरेका छन् :
एउटा प्रचण्ड
ओत लाग्ने झुपडी बनाउन
आराले बूढो रूख काट्दाकाट्दै
उतै जङ्गलका खोँचहरूमा छुट्यो
अर्को प्रचण्ड
रगत र आँसुको वर्षा भइरहेको झरीमा
रुझ्दै–रुझ्दै सहर पसेपछि
त्यही सहरको भीडमा कतै छुट्यो
मेरी प्रिय छापामार संगी !
गिट्टी फोरेको हातको निसानी र
पाठेघरछेउमा बल्झिँदै गरेको
बमको घाउ बोकेर
खुमलटार वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी
झोलाभरि बोकेर
बिहारी रेलका डिब्बाहरूमा
यात्रा गर्दागर्दै उतै छुट्यो
अर्को प्रचण्ड
दस्ताबेजका पानामाथि
काँसको थालमा मार्सी चामल राखेर
खाँदाखाँदै उतै छुट्यो
मेरो प्रिय दलित साथी
कम्युनिस्ट घोषणापत्र बोकेर
पेरिसडाँडा वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
काखीमा भरुवा बन्दुक च्यापेर
नारायणी तीरैतीर हिँड्दा–हिँड्दै
चेपाङ बस्तीहरूमा कतै छुट्यो
अर्को प्रचण्ड
पाँचतारे होटेलको एउटा तारामा
बोकिरहेको हँसिया सिउरिएर
त्यही होटेलमा नाच्दानाच्दै उतै छुट्यो
मेरो प्रिय चेपाङ दाइ
एउटा हातमा
गिट्ठा–भ्याकुर कोसेली बोकेर
अर्को हातमा
घरको निसानी एक मुठी खरानी बोकेर
सहरका चोक र गल्लीहरूमा
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
मधेसका मुसहर बस्तीहरूमा
मधेसी भेष धारण गरी
माई बाप भन्दै, हात जोड्दै
झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो
अर्को प्रचण्ड
अघाएका मान्छेहरूको भीडमा
पुष्पगुच्छाले पुरिएर
त्यही भीडहरूमा कतै छुट्यो
मेरो प्रिय मधेसी काका
ज्ञापनपत्र च्यापेर नाइट बस चढी
रत्नपार्क, खुल्लामञ्च वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
झोलामा माओका रेडबुक बोकेर
रुकुमका मगरबस्तीहरूमा
बास माग्दामाग्दै उतै छुट्यो
अर्को प्रचण्ड
आफूले खनेको गोरेटो भुलेर
अरूले बनाएको राजमार्गमा
विजयजुलुस निकाल्दानिकाल्दै
अघाएकाहरूको हुलमा कतै छुट्यो
मेरो प्रिय मगर दाजै
रुकुमका जङ्गली पातहरूमा
प्रचण्डका नाममा चिठी लेखेर
अब कुनै ठेगानामा नपठाऊ
गोधूलिसँगै जीवन डुब्नुअघि
राप्तीको घोंगी टिपेर
प्रचण्डको भाग राखिदिने
ए थरुनी आमा
अब नपर्ख कुनै प्रचण्ड
राज्यले आधा लुछेको
तिम्रो झुपडीमा बास माग्न
अब आउँदैन कहिल्यै कुनै प्रचण्ड
अब नखोज कुनै नायक
अब नपर्ख कुनै महानायक
हाम्रो त इतिहास
उसै पनि अलिखित छ
हाम्रो त वर्तमान
उसै पनि कष्टकर छ
हाम्रो दुःखको महाख्यानमा
थपिएको न हो अर्को पाना
भोकाहरूको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरूको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल ।
राजुले कवितामा यथार्थलाई सटिक रूपमा उतार्ने प्रयास गरेका छन् तर अझै पनि छद्मभेषी र धोकेबाज प्रचण्डमाथि÷भित्र÷वा छायाँमा नायकत्व खोज्ने गल्ती गर्नु र समाजमा अर्को महानायक जन्मिनै नसक्ने घोषणा गर्नु भनेको मृत इतिहासप्रतिको ‘ह्याङ’ (धङधङी) शिवाय केही हुन सक्तैन । उनले त धोकेबाज र गद्दारहरूका विरुद्ध विद्रोहको हुँकार गर्न सक्नुपर्छ र जनक्रान्तिमा लामबद्ध हुन आह्वान गर्न सक्नुपर्छ ।
भगौडा र पश्चातापको आगोमा जलिरहेकाहरूको हृदयमा एक किसिमको तनाव, चिन्ता र पीडा छ भने क्रान्तिमैदानमा यात्रारत योद्धाहरूका मनमा भिन्नै किसिमका चिन्ता पीडा र उद्वेलनाहरू छन् । केही थान धोकेबाजहरूले क्रान्तिमा दिएको धोका र त्यस धोकाले सहिद परिवार, बेपत्ता योद्धा, जनसमुदायमा परेको घातलाई फेरि विश्वासमा लिएर क्रान्ति उठाउने, अघि बढाउने र पूरा गर्ने काम कम जटिल छैन तर दुरुह वा दुःसाध्य पनि छैन । क्रान्तिकारीहरूमाथि त्यो ऐतिहासिक जिम्मेवारी छ । ‘कोहीलाई केहीको धन्धा, घरज्वाइँलाई खानकै धन्धा’ भन्ने पुरानो नेपाली उखानले सङ्केत गरेझैँ क्रान्तिकारीलाई क्रान्ति सफल पार्ने कुराको चिन्ता छ भने क्रान्तिलाई धोका दिएर हिँडेकाहरूलाई नायक मान्दै हिँडेर आज पश्चाताप र प्रायश्चितको अवस्थामा रहेकाहरूलाई कसरी आफ्ना कमजोर अतीत मेटाउने, भुलाउने र क्रान्तिकारी देखिने भन्ने चिन्ता पनि छ । जे होस् यी चिन्ताहरू नै वर्गसङ्घर्षका कारणहरू हुन् ।
क्रान्तिकारीहरूको हृदयमा कति उद्वेलना छ भन्ने विषय झल्किने किसिमको नवदर्शनको ‘पिताजीका नाममा दुई शब्द’ कविताको यो अंश प्रस्तुत गर्ने अनुमति माग्छु :
कमरेड सुदर्शन
पिताजी तिम्रो भौतिक शरीर
कहीँ बन्द कोठामा घेरिएको छ .
तिम्रो भौतिक स्वतन्त्रता
काँडेतारभित्र बेरिएको छ

तिम्रा सपनाहरूलाई बर्बाद पार्न
शत्रुहरूको जमघट भएको छ .
तिम्रा विचारहरूलाई कुण्ठित पार्न
षड्यन्त्रको तानाबाना बुनिएको छ

कुर्सीमा आसीन पूर्वकमरेडहरू
सत्ताको रसास्वादन गरिरहेका छन्
तिमी बन्द छौ तिनकै कालकोठरीमा
तर पनि समाजवादको लक्ष्य जोगाइरहनेछौ .

शासकहरू दोहोरो नाटक मञ्चन गरिरहेका छन्
तिमीलाई जेलमा बन्द गरी
घरमा पक्राउ पुर्जी टाँसिरहेका छन्
तिम्रो जीवन बन्दी भए पनि
धर्तीको छातीभरि
न्यानो किरण छरिरहेछौ .
शोषित, पीडित श्रमजीवीका पक्षमा
विद्रोहको गीत गाइरहेछौ .

तिम्रो शरीर बन्दी भए पनि
विचार बन्दी कहिल्यै नबनाउनू
मृत्यु जिती आएको योद्धा तिमी
साम्यवाद चुम्ने अठोट गरिरहनू
किनकि तिम्रो आस्थाको साम्यवाद
एक दिन जरुर उदाउनेछ !
सरकार नाउँको एक थान बुख्याँचा देश र जनतालाई कहरशिवाय केही दिन सक्तैन÷दिँदैन । जनताको मत लिएको र जनताका लागि काम गर्ने अधिकार पाएको दाबी गर्ने कथित कम्युनिस्ट खोल ओढेको सरकार जनस्तरसम्मै कतिविघ्न निन्दित र पतीत छ भने यो बगरे सरकारको एकरत्ति संवेदना र एकरत्ति स्पन्दन हुन्थ्यो भने उसले क्षणभर पनि सत्तामा टाँस्सिइरहने नैतिकता राख्ने थिएन । तर देशका लागि सरकार छैन । जनताका लागि सरकार छैन । भ्रष्ट, तस्कर, बिचौलिया र दलालहरूका लागि सरकार छ । सरकार भन्नु द्रोहको अर्को नाउँ बनेको छ । जनता रोग, शोक र भोकले छट्पटाइरहेको छ । सरकार नाउँको बुख्याँचा जनताको रोग, भोक र शोकको छट्पटीमा पनि मोलमोलाइ गरिरहेछ र कमिसन कुम्ल्याइरहेको छ । यस्तो सरकारलाई के सरकार भन्नु ! यस्ता नेताहरूलाई के नेता भन्नु ! यी त हुनुभन्दा नहुनु नै बेस छ । स्रष्टा सुनीता बुढाथोकी ‘अवज्ञा !’ शीर्षक सिर्जनामा भन्छिन् ः
भोकहरू निदाए हुन्थ्यो
यसरी उफरतौलो हुने गरी
नब्युँझाए हुन्थ्यो ।
सरकारले लकडाउन लगाएको छ
ऊ बुझ्दै–बुझ्दैन, टेर्दै–टेर्दैन
अटेर गरेर ऊ चिन्दैन सरकारको कर्कश
र झम्टन्छ शासककको कठालो !
सपनाहरू फुल्न खोज्छन्
चाहनाहरू उड्न खोज्छन्
खुसीहरू झाँगिन खोज्छन्
अपसोच !
शासक हाम्रा सपना, चाहना र खुसीहरूमा
प्रतिबन्ध लगाउँछ !
तर किन यी मनहरू
शासकको कठपुतली बनेर उड्न अस्वीकार गर्छन् ?
पहिरोले पुरेका बिहानहरू
खोलाले बगाएका कोपिलाहरू
कोरोनाले त्रस्त जीजिविषाहरू
विदेशमा हराएको पसिना
देशले नदेखेको उज्यालोले
देश खोज्दैछन्
सरकार खोज्दैछन्
आफ्नोपन र खुला आकाश खोज्दैछन्
सरकार सास नफेर भन्छ
शिर उचालेर नहेर भन्छ
रोगीहरूलाई समाज बहिष्कार गर्छ
मानवतामा धमिरा लगाएर
बौद्धिक वर्ग पिँजडामा थुनेर
शासक सुगाको कारखाना खोल्छ
हेर, सुन सुगाको स्तुति र प्रार्थना
सुगाहरू सधैँ मालिककै उक्ति रटिरहेछन्
मालिकको आयुका लागि मन्त्र जपिरहेछन् !
हो, जबजब विश्वास गरेकाहरूले धोका दिन्छन् तबतब विश्वासमा परेकाहरूको धैर्यको बाँध टुट्छ । बाँध टुट्नु र भत्किनुको पनि सीमा हुन्छ । घोषित धोकेबाजले त धोका दिन्छ नै, उसको पेसा, खेती र व्यवसाय नै धोका दिनु हो । मानिसले धोकेबाजलाई विश्वास नै गर्दैनन् । तर जब आफूलाई आफ्नो, प्रिय, नायक वा अगुवा भनेर विश्वास दिलाइरहेकाले धोका दिन्छ मानिसहरूको सहनशक्ति आक्रोशमा रूपान्तरण हुन्छ र विद्रोहमा उत्रिन्छ । यो साताको समयसमीक्षाको अन्त्य जनयुद्धकी योद्धा स्रष्टा सीता विक ‘सम्झना’ को यस्तै शालीन आक्रोश र आवेगपूर्ण कवितांशबाट गर्ने अनुमति माग्छु :
तिमी तिमी रहेनौ
नियत बिगा¥यौ र त
नीति बिग्रियो
तिमी तिमी रहेनौ
विधा भुल्यौ र त
विधि बिग्रियो
त्यसैले त तिमी तिमी रहेनौ
विज्ञान बिस्र्यौ र त
तिम्रो विषय बदलियो
त्यही त तिमी तिमी रहेनौ
निमुखाको सपना
बोकेको छु भन्थ्यौ
बीचमै बिसायौ र त
तिमी तिमी रहेनौ
योद्धाहरूसँगै हिँड्छु भन्थ्यौ
आधा बाटोमै छोड्यौ र त
तिमी तिमी भएनौ
जनयुद्धका घाइतेहरूको
जीवन फेर्छु भन्थ्यौ
गन्तव्य नै भुल्यौ र त
तिमी तिमी भएनौ
सहिदहरूको बाटो
अन्तिमसम्म पछ्याउँछु भन्थ्यौ
अन्तै यात्रा मोड्यौ र त
तिमी तिमी भएनौ
तिमी हाम्रो रहेनौ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :