चिनियाँ आकाशमा घुम्यो अमेरिकी जासुसी विमान, फेरि आए खसाइदिने चीनको चेतावनी

काठमाडौँ  : चीनले आफ्नो क्षेत्रमा आएर अमेरिकी सेनाको जासुसी विमानले चिनियाँ सेनाको सैन्य अभ्यास गोप्य रूपमा रेकर्ड गरेको भन्दै फेरि पनि आफ्नो क्षेत्रमा आए खसाइदिने चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यास गर्दै आएको उत्तरी चीनको उक्त सीमा क्षेत्रमा अमेरिकी सेनाका विमान अनधिकृत रूपमा प्रवेश गरेको चीनले बतएको छ । रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकाले गल्ती स्वीकार नगरे र फेरि पनि त्यस्ता कार्य जारी राखे सैन्य झडप हुने बताएका छन् ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू किनले उडान क्षेत्र नभएकै ठाउँमा अमेरिकी सेनाका २ विमानले सम्झौता उल्लङ्घन गर्दै गोप्य रूपमा सैन्य गतिविधि रेकर्ड गरेको बताएका छन् । अमेरिकाको उक्त कार्यले आफ्नो सेनाको सैनिक प्रशिक्षणमा समेत असर परेको बताउँदै प्रवक्ता वू किनले भने, “अमेरिकी नौसेनाका २ विमानले उत्तरी क्षेत्रमा अभ्यास गरिरहेको हाम्रो सेनाका बारेमा थुप्रै घन्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्रशिक्षणलाई असर गरेको छ । अमेरिकाले दुई देशबीचको सम्झौतासमेत उल्लङ्घन गरेको छ ।”
अमेरिकी सेनाका विमान फ्लाई जोन नभएको क्षेत्रमा उडान भर्ने र गोप्य रूपमा गतिविधि रेकर्ड गर्ने कार्य निकै खतरनाक भएको उनले बताएका छन् । रक्षा मन्त्रालाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकी सेनाका विमान फेरि चिनियाँ इलाकामा छिरे सैन्य झडप हुने र खसाइदिने चेतावनीसमेत चीनले दिएको जनाएका छन् ।
अमेरिकाले चिनियाँ दाबीको खण्डन गरेको छैन । सीएनएनसँगको कुराकानीमा यूएस एयरफोर्सले आफूहरूले आफ्नो नियममा बसेर काम गरिरहेको दाबी गरेको छ । उसले हिन्द महासागरवरिपरि अप्रेसन गर्दै आएको र फेरि गर्ने धम्की दिएको छ ।
अमेरिकी सेनाले उक्त क्षेत्रमा प्रयोग गरेको जासुुस विमानलाई यू २ नाम दिएको छ । अमेरिकाले उक्त विमानलाई पहिलोपटक सन् १९५० मा प्रयोग गरेको थियो । यी जाजुसी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट सूचना रेकर्ड गरेको चीनले बताएको छ । विमान धेरै समय आकाशमै बिताएर हिन्द महासागरको आफ्नो आधार क्षेत्रमा फर्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :