बलिदानको विरासत

सम्पादकीय

महान् दार्शनिक एवम् सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले एक सन्दर्भमा भन्नुभएको छ, आफ्नो वर्ग (सर्वहारा वर्ग को मुक्तिका लागि आवश्यकताअनुसार इतिहासका चिहानहरू पनि खोतल्नुपर्छ । हो, यतिबेला त्यस्तै आवश्यकता परेको छ । दलालहरूले आफ्नो जीवनरक्षाका लागि फोहोरमा फालेको क्रान्तिको रक्तरञ्जित झन्डा धुलोबाट उठाएर र तानाशाह शासकहरूले चपरीमुनि गाडेका सहिदहरूका बलिदानका गाथाहरूलाई निरन्तर हृदयङ्गम गरेर फेरि क्रान्तिमा होमिएका क्रान्तिकारीहरूका लागि इतिहासका विरासतहरू उत्तिकै शक्तिशाली र अझ ऊर्जावान् बनेर उभिएका छन् । यो साता हामी जनयुद्धका क्रममा रामेछाप दोरम्बामा दुस्मनसँग कत्ति नझुकी हाँसीहाँसी बलिदान गर्ने ती २१ जना महान् योद्धाहरू र जनयुद्ध आरम्भ हुनै लाग्दा तत्कालीन सत्ताले क्रूरतापूर्वक हत्या गरेका जनयुद्धका शीर्ष सहिदमध्येका एक कमरेड रामवृक्ष यादवको बलिदानलाई स्मरण गरिरहेका छौँ ।

यो साता सहिद रामवृक्ष यादवको २७ औँ र दोरम्बामा बलिदान गर्ने २१ जना योद्धाहरूको स्मृति दिवस हो । नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा २०६० साल साउन ३२ गते रामेछाप जिल्लाको दोरम्बा–डाँडाकटेरीमा माओवादी नेताहरूको सामूहिक रूपमा क्रूर हत्या भएको १७ वर्ष पुगेर १८ वर्ष लागेको छ । जनयुद्धको राप र तापले गालेको शाहीसत्ता टिकाउने अन्तिम प्रयासस्वरूप ज्ञानेन्द्र शाहीको चाकरका रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएका सूर्यबहादुर थापाको निर्देशन र शाही अमेरिकी सेनाको योजनामा उक्त कुख्यात हत्याकाण्ड मच्चाइएको थियो । पञ्चायती शासनसत्ता टिकाउन खोकु छिन्ताङमा नरसंहार गर्ने थापालाई नै उक्त हत्याकाण्डका लागि असल पात्रका रूपमा अघि सारिएको बुझ्न कुनै कठिनाइ पर्दैन । अन्तर्राष्ट्रिय रूपमै कुख्यात अपराधका रूपमा बदनाम उक्त हत्याकाण्डको १७ वर्ष बितिसक्दा पनि अपराधीहरूमाथि कारबाही हुनु त परै जाओस्, उल्टै तिनलाई प्रोत्साहन गरिएको छ । विडम्बनाको कुरा त के छ भने त्यतिबेला जनयुद्ध सञ्चालन गर्ने मुख्य कमान्डर पुष्पकमल दाहाल नै दुई तिहाइनजिकको कथित कम्युनिस्ट सरकारका ठेकेदार छन् । जनयुद्धका अधुरा सपनाहरू पूरा गर्न नेकपाले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा लामबद्ध योद्धाहरूलाई दाहाल नै सत्ता र सरकारको पनि हर्ताकर्ता भएको समयमा दोरम्बा हत्याकाण्डकै शैलीमा हत्या गर्ने फासिवादी हर्कतको पुनरावृत्ति भएको छ । यो घोर निन्दनीय कार्य हो । हिजो दोरम्बालगायत देशैभर गैरन्यायिक हत्या गर्ने अपराधीहरू र आज सर्लाही, खोटाङ, भोजपुरलगायत स्थानमा गैरन्यायिक हत्या गर्ने अपराधी सबैलाई कारबाही हुनुपर्छ र सहिदका सपना लत्याएर दुस्मन क्याम्पमा जीवनको भिक मागेर मुन्टो लुकाउन पुगेका आत्मसमर्पणवादी, कायर र हुतिहाराहरूमाथि उचित दण्ड दिइनुपर्छ । यो जारी क्रान्तिको कार्यभार हो । अन्यथा इतिहासले कसैलाई माफी गर्नेछैन ।

कुख्यात दोरम्बा हत्याकाण्डको समयमा नेकपा (माओवादी) र तत्कालीन शाहीसत्ताका बीचमा घमासान लडाइँ थियो । शाहीसत्ताका मतियारहरू अर्थात् तत्कालीन दरबारिया शक्तिहरू, राप्रपा, एमाले र नेपाली काङ्ग्रेसहरू कुनै न कुनै नामको राजतन्त्र टिकाएर नेपाली जनतामाथि शासन गरिरहन चाहन्थे । उनीहरूको उद्देश्य सत्तामा राजतन्त्र नै रहिरहोस् तर आफू सरकारमा पुग्नुपर्छ भन्ने थियो भने जनयुद्धरत नेकपा (माओवादी) जनयुद्धको बलमा न्यूनतम् संविधानसभाको चुनाव गराएर राजतन्त्रको अन्त्य गर्न चाहन्थ्यो । राजतन्त्रको अन्त्यसँगै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा फड्को मार्न चाहन्थ्यो तर तत्कालीन शासकहरू माओवादीलाई आतङ्ककारी करार गरिरहेका थिए । जनयुद्धको बलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै पराजित भइसकेपछि शाहीसत्ताले राज्यको सुरक्षाका लागि स्थापित भनिएको सेनालाई माओवादीविरुद्ध दुरुपयोग गरेको थियो । देशभर जनमुक्ति सेना र शाहीसेनाका बीच घमासान लडाइँ भएको र माओवादीको विजयशृङ्खला अद्भुत रूपले अघि बढिरहेको अवस्था थियो । शाहीसेना पनि पराजयको अन्तिम अवस्थातिर पुगेपछि अमेरिकी साम्राज्यवादको योजना र उपस्थितिमा शाहीसेनाको नयाँ किल्लाबन्दी (फोर्टिफिकेसन) गरिएको थियो । युद्धको चाप र माओवादीको विजयअभियानकै बीचमा शाही सरकार वार्ताका लागि बाध्य भएको थियो भने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिक्रान्तिकारी, प्रतिगामी र यथास्थितिवादी शक्तिहरू कसैगरी पनि माओवादीलाई जित्न दिनु नहुने, बरु युद्ध भड्काउनुपर्ने षड्यन्त्रमा थिए । दाङको हापुरेमा वार्ता भइरहेको समयमा दोरम्बामा निहत्था अवस्थामा एरिया पार्टीको बैठक बस्ने तयारी गरिरहेका नेकपा माओवादीका क्षेत्रीय स्तरका २१ जना नेताहरूलाई मेजर राममणि पोखरेल नेतृत्वको शाहीफौजले घेराबन्दी गरी दोरम्बा बजारबाट डाँडाकटेरीमा पुर्याएर लाम लगाई क्रूर ढङ्गले बीभत्स रूपमा हत्या गरेको थियो । संविधानसभासम्म दिन नमान्ने सत्ता पक्ष र संविधानसभासम्म पनि जान तयार नहुने संसदीय दलहरूको अकर्मण्यता, षड्यन्त्र र योजनाका कारण दोरम्बाको कुख्यात हत्याकाण्ड मच्चाइएको थियो । उक्त हत्याकाण्डपछि माओवादी वार्ता भङ्ग गरेर युद्ध सञ्चालन गर्नुपर्ने बाध्यतामा पुगेको थियो । तत्कालीन राष्ट्रिय मानवअधिकार आयोगले समेत उक्त हत्याकाण्ड नियोजित भएको ठहर गर्दै दोषीमाथि कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो तर तत्कालीन शाही सरकार त परै जाओस्, २०६२/०६३ पछि गठित आफूलाई लोकतान्त्रिक भन्न रुचाउने सरकारहरूले समेत हत्याराहरूलाई कारबाही गर्नतिर कुनै चासो दिएनन् र सत्ताको हत्यासंस्कृतिलाई प्रोत्साहन दिइराखे । विडम्बनाको कुरा ! जनयुद्ध सञ्चालन गर्ने पुष्पकमल दहाल र बाबुराम भट्टराई नै प्रधानमन्त्री हुँदा पनि जनयुद्धकालका कुनै अपराधीमाथि कारबाही भएन । जनयुद्धका नायकहरू र केपी वलीहरूकै अकर्मण्यताका कारण आजसम्म सत्ता, सत्ताको चरित्र फासिवादी नै रहेको छ, तात्विक रूपले भिन्न हुनसकेको छैन ।

यसैगरी भदौ २ गते तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस हो । यादवलाई तत्कालीन शेरबहादुर देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका थिए । २०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए ।

नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्या भएको आज २६ वर्ष पुगिसकेको छ । महान् क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान् नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ । तराई क्षेत्रमा सामन्त जमिनदारहरूले गाउँका जनतामाथि गरेको थिचोमिचो, अन्याय–अत्याचार देखेर त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामवृक्ष यादव होनहार इमानदार र कर्मठ योद्धा थिए । यादव आफ्नो वर्गप्रतिको इमानदारी र क्रान्तिप्रतिको निष्ठाभावले भरिएका व्यक्ति थिए । उनी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनेछन् ।

यसरी आज क्रान्तिकारीहरूले विभिन्न नामका फासिवादी सत्ताद्वारा हत्या गरिएका महान् योद्धाहरूका सपना साकार पार्न जारी जनक्रान्ति उचाइ र सफलतामा पु¥याउनु अत्यावश्यक बनेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :