सहिद रामवृक्ष यादवलाई सम्झिँदै महासचिव विप्लवले भने

नयाँ विकल्पका रूपमा क्रान्ति अघि बढिरहेको छ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै यादव तानाशाही राज्यव्यवस्थाका लागि आतङ्क र आम–श्रमिक जनसमुदायका निम्ति प्रेरणास्रोत रहेको भन्दै पार्टीका तर्फबाट सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी महासचिव विप्लवले पञ्चायती र बहुदलीय कालमा समेत अनेकौँपटक गिरफ्तारी, जेल र यातनाहरूले उहाँलाई गलाउन नसकेको भन्दै कम्युनिस्ट आन्दोलनका विभिन्न निर्मम अन्तरसङ्घर्षका क्रममा जहिल्यै क्रान्तिकारी विचार र पक्षमा स्पष्ट र दृढतापूर्वक उभिएको बताएका छन् ।

विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘२००३ सालमा धनुषाको बर्मझियामा जन्मनुभएका कमरेड यादव २०२५ सालमा शिक्षक पेसामा संलग्न रहँदै समाजमा विद्यमान शोषण, उत्पीडन, विशेषगरी किसानमाथि सामन्त जमिनदारहरूको उत्पीडन र थिचोमिचोका विरुद्ध सङ्घर्षका दौरानमा आम–जनसमुदायमा माड्साबका रूपमा स्थापित हुनुहुन्थ्यो । निरङ्कुश पञ्चायती शासन र बहुदलीय कालमा समेत अनेकौँपटक गिरफ्तारी, जेल र यातनाहरूले उहाँलाई कहिल्यै गलाउन सकेनन् । २०२९ सालमा नेकपा (चौम) बाट राजनीतिक जीवनमा सक्रिय हुनुभएका उहाँ कम्युनिस्ट आन्दोलनका विभिन्न निर्मम अन्तरसङ्घर्षका क्रममा जहिल्यै क्रान्तिकारी विचार र पक्षमा स्पष्ट र दृढतापूर्वक उभिनुभयो । यसरी उहाँ मधेस मात्र नभई राष्ट्रिय रूपमै क्रान्तिकारी नेताका रूपमा सुपरिचित हुनुहुन्थ्यो ।’

महासचिव विप्लवले सर्वहारा वर्गीय सिद्धान्त र जीवन–व्यवहारबीच एकरूपता, सरल जीवन र महान् लक्ष्य नै रामवृक्षको पहिचान भएको भन्दै क्रान्तिकारी निष्ठा, आशावाद, अथक साहस र निरन्तर सङ्घर्ष उहाँका अनुकरणीय पक्ष भएको र त्यो उहाँले जीवनको अन्तिम घडीसम्म कायम राखेको भन्दै प्रशंसा गरेका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘२०५१ साल भदौ २ गते तत्कालीन फासिवादी सरकारको निर्देशनमा स्थानीय गुन्डाहरूले आक्रमण गरी कमरेड रामवृक्ष यादको निर्मम हत्या गरेका थिए । उहाँ तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य हुनुहुन्थ्यो । महान् जनयुद्ध तयारीको तीव्र प्रक्रियामा तराई–मधेसमा वर्गसङ्घर्षको उच्चतम् आधार तयार गर्न उहाँको योगदान विशेष स्मरणीय छ । सर्वहारा वर्गीय सिद्धान्त र जीवन–व्यवहारबीच एकरूपता, सरल जीवन र महान् लक्ष्य उहाँको पहिचान हो । क्रान्तिकारी निष्ठा, आशावाद, अथक साहस र निरन्तर सङ्घर्ष उहाँका अनुकरणीय पक्ष हुन् जुन उहाँले जीवनको अन्तिम घडीसम्म कायम राख्नुभयो । कमरेड रामवृक्षले नेपाली, मैथिली र भोजपुरी भाषामा सिर्जना गर्नुभएका क्रान्तिकारी गीत, कविता आदि सांस्कृतिक रचनाहरूले उहाँको बहुआयामिक व्यक्तित्वको उजागार गर्दछन् ।’

सहिद रामवृक्षलगायत हजारौँ सपूतहरूको रगतपसिनाबाट सिञ्चित जनयुद्धको नेतृत्वले आत्मसमर्पण गरे पनि नयाँ परिस्थितिको नयाँ विकल्पस्वरूप एकीकृत जनक्रान्तिका रूपमा नेपाली क्रान्ति अघि बढिरहेको भन्दै महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाको कम्युनिस्ट नामधारी सरकारी दमन, राज्यआतङ्ंकविरुद्धको सङ्घर्ष र क्रान्तिको निरन्तर विकासका क्रममा कमरेड रामवृक्ष यादव एक ऐतिहासिक प्रेरणास्रोत बनिरहने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज उहाँलगायत हजारौँ सपूतहरूको रगत–पसिना सिञ्चित महान् जनयुद्ध नेतृत्वको आत्मसमर्पणमा तुङ्गिए पनि नयाँ परिस्थितिको नयाँ विकल्पस्वरूप एकीकृत जनक्रान्तिका रूपमा नेपाली क्रान्ति अघि बढिरहेको छ । दलाल संसदीय व्यवस्थाको कम्युनिस्ट नामधारी सरकारी दमन, राज्यआतङ्ंकविरुद्धको सङ्घर्ष र क्रान्तिको निरन्तर विकासका क्रममा कमरेड रामवृक्ष यादव एक ऐतिहासिक प्रेरणास्रोत बनिरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ । विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :