जनगणतन्त्र कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक रहेको अमेरिकाको स्वीकारोक्ति

कोरियासँग ६० वटासम्म परमाणु बम र ५ हजार टन रासायनिक हतियार रहेको अमेरिकी दाबी

काठमाडौँ : संसारबाटै कम्युनिस्ट विचार र सत्तालाई ध्वस्त बनाउने लक्ष्य लिएर प्रतिक्रान्तिकारी युद्ध लाद्दै आएको साम्राज्यवादी मुलुक अमेरिकाले पहिलोपटक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लाई पारमाणविक शस्त्रास्त्र सम्पन्न मुलुकका रुपमा स्वीकार गरेको छ । अमेरिकाले यसअघि यो कुरा स्वीकार नगरी निर्मित शस्त्रास्त्र ध्वंश गराउन हरेक चालबाजी गरिरहेको थियो । जनगणतन्त्र कोरियाले अमेरिकाका कुनै पनि सहरसम्म मार हान्नसक्ने लामो दूरीका पारमाणिक क्षेप्यास्त्र निर्माण गरेर परीक्षण गरेपछि झस्किएको अमेरिकाका राष्ट्रपति डानोल्ड ट्रम्पले कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनलाई तीनपटक भेटेर वार्ता गरिसकेका छन् तर कोरियाले आफूमाथि ७० वर्षदेखि लगाइएको नाकाबन्दी फुकुवा नगरेसम्म अरू कुनै विषयमा वार्ता हुन नसक्ने बताउँदै आएको छ ।

अमेरिकी सेनाले जनगणतन्त्र कोरियासँग २० देखि ६० वटासम्म परमाणु बम रहेको दाबी गरेको छ । अमेरिकी सेनाको रिपोर्टमा नर्थ कोरियन ट्याक्टिस शीर्षकमा योनहाप न्युज एजेन्सीमा छापिएको समाचारअनुसार उत्तरकोरियासँग ५ हजार टन रासायनिक हतियारसमेत रहेको छ । यी बम र हतियार जनगणतन्त्र कोरियाले दक्षिणकोरिया, जापान र अमेरिकाविरुद्ध प्रयोग गर्नसक्ने पनि दाबी अमेरिकी सैनिकको छ । अमेरिकी साम्रज्यवादले जनगणतन्त्र कोरियासँग पारमाणिक शस्त्रास्त्र भएको सार्वजनिक गरेर यसका विरुद्ध जनमत बटुल्ने षड्यन्त्र गरिरहेको हुनसक्ने आँकलन पनि गरिएको छ ।

अमेरिकी सेनाको रिपोर्टमा प्रत्येक वर्ष जनगणतन्त्र कोरियासँग ६ वटासम्म परमाणु बम बनाउने क्षमतासमेत रहेको दाबी गरिएको छ । एन्थ्रोक्स, चेचकजस्ता जैविक हतियार बनाएको जनगणतन्त्र कोरियाले प्रहार गर्ने एक किलो एन्थ्रोक्सले दक्षिणकोरियाको सियोलमा ५० हजार मानिसको ज्यान लिनसक्ने दाबी उक्त समाचारमा गरिएको छ । उसले तोपहरूमा यस्तो हतियार प्रयोग गर्ने अमेरिकाको दाबी छ ।

साथै साइबर हमला गर्नसक्ने क्षमता पनि जनगणतन्त्र कोरियाले विकास गरेको र विश्वभर जनगणतन्त्र कोरियाका ६ हजार ह्याकर्स सक्रिय रहेको अमेरिकी सेनाको दाबी छ ।

जनगणतन्त्र कोरियाको परमाणु निःशस्त्रीकरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ उनबीच २०१९ को १२ जुनमा सिंहापुरमा र २८ फेब्रुअरीमा भियतनाममा वार्ता भएको थियो भने ३० जुनमा जनगणतन्त्र कोरियाको असैनिक क्षेत्रमा सङ्क्षिप्त भेट भएको थियो तर कुनै ठोस सहमति भने भएको थिएन ।

यसैबीच दक्षिणकोरिया र अमेरिकाले फेरि संयुक्त सैन्य अभ्यास सुरु गरेर जनगणतन्त्र कोरियालाई आक्रोशित बनाउन सुरु गरेका छन् । यो अभ्यास अगस्ट २८ सम्म जारी रहने जनाइएको छ । यसअघि यस किसिमका संयुक्त अभ्यास सुरु हुनासाथ जनगणतन्त्र कोरियाले नयाँ क्षेप्यास्त्रको परीक्षण गरी अमेरिका र दक्षिणकोरियालाई सावधान गराउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :