सामाजिक अन्धराष्ट्रवादी वलीको छट्पटाहट

जुन गोरुको सिङ छैन उसको नाम तिखे भनेझैँ बेला–बेलामा खड्गप्रसाद शर्मा वली (केपी वली) को राष्ट्रवादको निकै चर्चा एवम् परिचर्चा हुने गर्दछ । पछिल्लोपटक नेपालको नक्सा सार्वजनिक तथा पासको विषयलाई लिएर सामाजिक अन्धराष्ट्रवादी वली अब्बल दर्जाको र अद्वितीय राष्ट्रवादी भएको निकै चर्चा चल्यो । मानौँ यसपटक वलीले भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, उजिरसिंह थापालगायतलाई पछि पारेर लिम्पियाधुरा–लिपुलेक–कालापानी कब्जा नै गरेका छन् ! उनले नेपालमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगार, अशिक्षा, गरिबीलगायतको अन्त्य गरेर अब पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानलाई नयाँ चरणमा सुरु गर्दैछन् रे ! दलाल पुँजीवादी व्यवस्थाअन्तर्गत ‘समाजवाद’ र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को भ्रम र हावादरी नारा लगाउने वलीले विश्वलाई प्रज्वलित र नेपाली आम–जनसमुदायलाई मन्त्रमुग्ध पारिरहेका छन् ! विश्वमा कहीँ–कतै यस्ता पाखण्डी एवम् धूर्तहरूको महासम्मेलन हुँदो हो त वलीले गोल्डमेडल नै पाउँथे होला । यहाँ सामाजिक अन्धराष्ट्रवादी प्रवृत्ति र हाल यसको नेतृत्व गरिरहेको पात्रका बारेमा उल्लेख गर्ने जमर्को गरिएको छ ।

क) सामाजिक अन्धराष्ट्रवादको आमविशेषता

साम्राज्यवादी प्रथम विश्वयुद्ध कालमा कार्ल काउत्स्कीले मध्यवादको आडमा सशस्त्र क्रान्ति असम्भव र मातृभूमिको रक्षाको नारा दिँदै बकबास गरिरहेको सन्दर्भमा लेनिनले उक्त दृष्टिकोण एवम् विचारलाई ‘सामाजिक अन्धराष्ट्रवाद’ को संज्ञा दिँदै विरोध एवम् प्रतिरोध गर्नुभएको थियो । त्यसैबेला रुसमा कट्टर ‘सामाजिक अन्धराष्ट्रवादी’ का रूपमा केरेन्स्की, अलेक्सान्दर (ऐसरहरू) देखापरेका थिए । ‘अमेरिकालाई महान् बनाउने’ डोनाल्ड ट्रम्पको उद्घोष र ‘भारत पहिलो’ भन्ने मोदीको नाराजस्तै ‘समाजवाद उन्मुख’ र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को डङ्का पिट्ने वलीलाई यतिबेला राष्ट्रवादीको उपमा दिँदै दोसल्ला ओढाइरहेका छन् तर कलाकारहरूका लुट्न सके लूट… गीत गुञ्जिरहेका छन् । भ्रष्टाचार, कमिसन, राष्ट्रघात, जनघात र विभिन्न काण्डहरूमा केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले नयाँ कीर्तिमान नै खडा गरिसकेको छ । आज नेपालमा ‘सामाजिक अन्धराष्ट्रवाद’ निम्नविशेषतामा अभिव्यक्त भइरहेको छ :

पहिलो, वलीले माक्र्सवाद–लेनिनवाद–माओवाद परित्याग गरेर सामाजिक दलाल पुँजीवादलाई व्यवहारतः लागू गरिरहेका छन् । दोस्रो, वैज्ञानिक समाजवाद–साम्यवादलाई तिलाञ्जली दिएर विश्वमा बदनाम एवम् असफल दलाल संसदीय व्यवस्थालाई नयाँ जलप (रङरोगन) लगाएर जनतामा लादिरहेका छन् । तेस्रो, सर्वहारा वर्गीय क्रान्तिको सिद्धान्त र मार्गलाई छोडेर दलाल पुँजीवादी व्यवस्थामा समाजवादको पुलिन्दा बाँडिरहेका छन् । चौथो, कम्युनिस्ट जीवनशैली, नैतिकता, सदाचार र आचरणबाट पतीत भएर नवधनाढ्य दलाल पुँजीपति वर्गमा बदलिएका छन् । पाँचौँ, राष्ट्रिय स्वाधीनता र मुलुकको सार्वभौमिकताका विरुद्ध साम्राज्यवाद, मूलतः भारतीय साम्राज्यवादको दलाल एवम् कठपुतली बनिरहेका छन् । छैटौँ, यो दलाल पुँजीवादबाट सामाजिक फासिवादमा पतन हँुदैछ । यो जर्मनको सिदेमान र भारतको ज्योति वसुको पथमा बेलगाम अन्धाधुन्द कुदिरहेको छ । आफ्ना जनविरोधी तथा राष्ट्रघाती हर्कतहरूको घृणा, विरोध र भन्डाफोर गर्ने सबैलाई बुट बजार्ने, सङ्गीन रोप्ने अर्थात् फासिवादी दमन गर्ने यो प्रवृत्तिको आमविशेषता हो । ‘इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि माक्र्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई माक्र्सवादको मुकुन्डो लाउन बाध्य गर्दछ’ (कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य शीर्षक लेखमा, खण्ड ५, पृष्ठ ३६०–३६७, ६ डिसेम्बर, सन् १९०१) भनेर लेनिनले उल्लेख गर्नुभएझैँ संसारभरका अवसरवादीहरू तथा संशोधनवादीहरूले कम्युनिस्ट र समाजवादको नाम धारण एवम् साइनबोर्डको प्रयोग व्यापक रूपमा गरिरहेका छन् । समाजवादको लोकप्रियता, सफलता र विजयपछि बुर्जुवा र पुँजीवादीहरूले समेत समाजवाद शब्दको प्रयोग गरिरहेका छन् । वास्तविक समाजवादीहरूका सीमा र कमजोरीका कारण पुँजीवादीहरूले इतिहासको अन्त्य, माक्र्सवादको असफताको भ्रम एवम् झूटको कोकोहोलो मच्चाइरहेका छन् । परन्तु पुँजीवादको मृत्यु र वैज्ञानिक समाजवादको विजय अवश्यम्भावी छ । लेनिनले आफ्नो रचनासङ्ग्रह खण्ड ४१, पृष्ठ २९८–३१८, युवक सङ्घहरूका कार्यहरूमा उल्लेख गर्नुभएको थियो– कम्युनिस्ट भनेको सामूहिकता हो । कम्युनिस्ट सदाचार त्यो हो– मानव समाजलाई श्रमको शोषणबाट मुक्ति दिलाउने, वर्गोपरि धारणा ग्रहण गराउने र मानव समाजमा अन्तरनिहित वर्गसङ्घर्षको हितबाट नै पैदा हुन्छ । कम्युनिस्ट नैतिकता त्यो हो श्रमजीवीहरूको शोषणका विरुद्ध सङ्घर्ष र शोषकहरूको स्वामित्वका विरुद्ध एकताबद्ध गर्नु । वली त सामाजिक दलाल पुँजीपति हुन्, कम्युनिस्टचाहिँ होइनन् । कम्युनिस्ट र समाजवाद भन्ने कुरा त उनीहरूको व्यापारिक तरिका मात्र हो । कम्युनिस्ट पार्टी र समाजवादप्रति नेपाली जनताको अगाध आस्थाका कारण कबाडी सङ्कलन केन्द्रमा थुपारिएका नक्कली सामानहरूमा नयाँ लोगोको प्रयोग गरेर आमजनतालाई पुनः विश्वासघात गर्ने, धोका दिने र ठग्ने कुचेष्टा मात्र गरिरहेका छन् ।

ख) राष्ट्रियता र राष्ट्रवाद

राष्ट्रियता कुनै पार्टी र व्यक्तिविशेषको हँुदैन तर नेपालमा दल–दलको दलाल राष्ट्रियताले राष्ट्र र जनतालाई भ्रमित बनाउन खोज्छ । काङ्ग्रेस, भनिने नेकपा (नेकपा) र अन्यको दलगत मात्रै होइन, व्यक्तिपिच्छे फरक–फरक राष्ट्रियता देखिन्छ जसको कारण राष्ट्रियताप्रति एउटै बुझाइ कायम हुन सक्दैन । यद्यपि राष्ट्रियता वर्ग, विचार र दृष्टिकोणले निर्धारण पनि गर्दछ । राष्ट्रियता र परराष्ट्रनीति एउटा हुन्छ । तल अथवा कुर्सीबाहिर एउटा, कुर्सीमा पुगेपछि अर्को हुने विडम्बना पनि छ । ‘एउटा रूख रोप्दा र निर्माणस्थलमा एक कोदालो माटो खन्दा देशभक्तिको प्रदर्शन गर्दै पसिना बगाइरहेका हुन्छौँ’ भनेर कोरियाली नेता किम जोङ इलले भनेझैँ राष्ट्रप्रेम नेपाली जनतामा पनि अभूतपूर्व छ । राष्ट्रप्रतिको आस्था एवम् राष्ट्रहितको भावना साम्राज्यवादका दलालहरूमा हुन सक्दैन । अझ सामाजिक अन्धराष्ट्रवादी कोही पनि सच्चा राष्ट्रवादी हुँदैन । यो त जनतालाई भ्रमित तुल्याउने पाखण्ड र बकबासबाहेक अरू केही होइन । आज वलीका भक्तालुजनहरूले वास्तविकतालाई ढाकछोप गर्न खोजिरहेका छन् । वली को हुन् ? उनको विगत र वर्तमान के हो ? सबैलाई विदितै छ । कुनै पनि मुलुकको राष्ट्रियता बलियो बन्नका लागि त्यसको राजनीतिक, आर्थिक, सामरिक, प्राविधिक, सैन्यलगायत सक्षमता, निर्भरताले निर्धारित हुन्छ । जनतामा अभेद्य एकता, देशभक्तिपूर्ण जागरणसहित आईसीबीएमजस्ता आणविक अस्त्रले सुसज्जित नहुँदो त अमेरिकी साम्राज्यवादले जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लाई आर्थिक नाकाबन्दी मात्र होइन, पहिल्यै सिरिया र इराक बनाइसक्थ्यो होला । भारतीय साम्राज्यवादले पाकिस्तानलाई सिक्किम बनाइछोड्थ्यो । जबसम्म नेपाल राजनीतिक रूपले स्वाधीन (मुक्त), आर्थिक रूपले समृद्ध (आत्मनिर्भर), सामाजिक–सांस्कृतिक रूपले उन्नत एवम् सभ्य, सैन्य–सामरिक रूपले शक्तिशाली, प्राविधिक रूपले सर्वश्रेष्ठ हुँदैन तबसम्म मुलुकको राष्ट्रियता, स्वाधीनता र स्वाभिमान शब्दमा मात्र सीमित हुन्छन् । ती सबैको साकारका लागि दलालतन्त्र (दलाल पुँजीवाद) को अन्त्य र वैज्ञानिक समाजवाद अपरिहार्य छ । अन्यथा साम्राज्यवादीहरूसँग बार्गेनिङ (दलाली) गर्ने र जनताको देशभक्तिपूर्ण आस्थालाई तेजोबध गर्नेबाहेक केही हुँदैन । ‘साम्राज्यवादले व्यापक मात्रामा वर्गीय अन्तरविरोधलाई तीव्र बनाएर, आमजनताको अवस्था खराब तुल्याउदै सङ्घर्षतिर धकेल्नेछ । आर्थिक क्षेत्रमा दुष्टहरूको स्थापना र महँगी, राजनीतिक क्षेत्रमा सैनिकवादको वृद्धि, युद्धहरू दोहोरिनु, प्रतिक्रियाको वृद्धि, राष्ट्रिय उत्पीडन र औपनिवेशिक लूटको सुदृढीकरण, व्यापकता आदिमा अभिव्यक्त हुन्छ’ भनेर लेनिनले (साम्राज्यवाद, समाजवाद र उत्पीडित जातिहरूको मुक्तिसम्बन्धी खण्ड २७, पृष्ठ २५२–२६६ मा) शानदार ढङ्गले उल्लेख गर्नुभएको छ । यद्यपि आज साम्राज्यवाद लेनिनको युगमा छैन । त्यतिबेला एकातिर जर्मनमा कुनोव, पार्भुस र घोर अवसरवादीहरू र बेलायतमा केही फेवियनवादीहरूले हडप नीतिको समर्थन गरिरहेका थिए । अर्कोतिर काउत्स्कीपन्थीहरूले ‘अतिसाम्राज्यवाद’ को वकालत गर्दै ‘सामाजिक अन्धराष्ट्रवाद’ को पक्षपोषण गरिरहेका थिए । आज नेपालमा केपी–प्रचण्डहरूले राष्ट्रियताको पक्षधर र राष्ट्रवादी भएको होहल्ला गर्दै सामाजिक अन्धराष्ट्रवादको नेपाली अनुहार र पोसाकमा प्रतिनिधित्व गरिरहेका छन् । एकताका सुरुङ–वारको घोषणा गर्ने प्रचण्ड–बाबुरामहरूले राष्ट्रियता र राष्ट्रवादको ‘यसरी आत्मसर्मपण गरे प्रचण्ड–बाबुरामले’ एसडी मुनीको (माओवादीलाई पहाडबाट ओह्राल्दा) लेख र बिप्पालगायत भारतसँग गरेका राष्ट्रघाती सम्झौताहरू नै पर्याप्त छन् । वली त छट्टु स्यालले चिल आयो भनेर चल्ला चोरेजस्तै भारतले मलाई हटाउन खोज्यो, षड्यन्त्र भयो भनिरहेका छन् । प्रचण्डले भारतले होइन, मैले हो भनेर, म भारत हुँ, भारत नै म हुँ भनिरहेका छन् । गोन्जालोले भनेझैँ स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोसाको खाँचो नेपालको राष्ट्रियताका लागि जरुरी छ । आज नेपालमा भारतले हिन्दुत्व, अमेरिकाले हिन्द–प्रशान्त रणनीति (एमसीसी), युरोपियनहरूले क्रिस्चियन धर्म वा धर्म परिवर्तन र चीनले बीआरआईद्वारा हस्तक्षेप गरिरहेका छन् । नेपालका दलालहरू कुनै न कुनै रूपले त्यसको पक्षपोषण, कार्यान्वयन र भरथेग गरिरहेका छन् । साम्राज्यवादी हस्तक्षेपको सामना एकीकृत जनक्रान्तिद्वारा हाम्रो मुलुकमा विद्यमान सबै शोषण, उत्पीडन, विभेद र हस्तक्षेपहरूको मूलतः दलाल पुँजीवादको अन्त्य गर्नु र स्वाधीन, शान्ति, समानता र समृद्धिमा आधारित वैज्ञानिक समाजवादको स्थापना नै हो ।

ग) वलीका ‘राष्ट्रवादी’ हर्कतहरू

१) राष्ट्रघाती महाकाली सन्धि

२०५३ साल असोज ४ को राष्ट्रघाती महाकाली सन्धिका पक्षमा संसद्मा मतदान गरेपछि नै तत्कालीन एमालेको राष्ट्रवादी मुकुन्डो धुजाधुजा भइसकेको होइन र ? वलीले एकपटक फेरि महाकाली पुगेर हिउँदमा सुख्खा खडेरी र वर्षायाममा डुबेर सास्ती बेहोरिरहेका जनतालाई सोधे हुन्छ । तपाईंको नक्कली राष्ट्रवादका बारेमा कोही पनि अपरिचित छैनन् । २०४७ सालमा काङ्ग्रेसका कृष्णप्रसाद भट्टराईले अन्तरिम प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणको बेला व्यापार तथा पारवहन सन्धि र पञ्चेश्वर परियोजनाको विषयबाट जन्मेको वलीजीहरूको राष्ट्रघाती राष्ट्रवादको मृत्यु ५ वर्षको बच्चा अवस्थामै २०५३ सालमा भएको होइन र ? …वलीले हँसाउन कति जानेको भन्ने गीतको बोलमा राष्ट्रवादी भएको होहल्ला नगरौँ । बरु राष्ट्रघाती हुँ भन्दा जनताले आममाफी दिन पनि सक्छन् । अप्ठेरोमा आहा ! के आन्नद, सजिलोमा मरे–मरे ! भन्ने छट्टु स्यालको चाल भएन र ? वलीको ।

२) वलीको होली वाइन

तपाईंले एउटा होटेलमा तीन रात बासै बसेर होली वाइन खाँदै क्रिस्चियन धर्मावलम्बीहरूसँग रमाएको, राष्ट्रवादी गीत गाएको बिर्से पनि नेपाली जनताले त बिर्सेका छैनन् । हुनत तपाईँ बिरामी मान्छे । लेनिनकै शब्दमा तपाईंलाई ‘प्रभु’ ले छुट गरेका होलान् । रुसी क्रान्तिमा प्रतिक्रियाका वर्षहरू भनेर सन् १९०७–१९१० सम्मलाई लेनिनले व्याख्या गर्दै त्यसबेला राजनीतिको ठाउँमा निराशा, नैतिक अधोगति, फुट, झगडा, विश्वासघात र अश्लीलताले तथा दार्शनिक रूपले आदर्शवादप्रति आकर्षण बढ्छ भन्नुभएको थियो । मैले त्यही भएर मन पराको… गीतजस्तै तपाईंले के गल्ती गर्नुभयो नि त ! तर तपाईको राष्ट्रवाद टाट उल्टिसकेको छ ।

३) नाकाबन्दीले जनताको नाकै बन्द

तपाईंको राष्ट्रवादी मृतआत्मले १९ वर्षपछि पुनः २०७२ सालको महाभूकम्पको बेला पनि जनतालाई निकै सास्ती दियो । जनता आक्रान्त भए र देशमा विपत्ति नै छायो । अहिलेको कोरोना महामारीले जस्तै । त्यतिबेला तपाईंले दाउरा बालौँ ! भन्नुभयो, अहिले बेसार खाऊ ! भन्नुहुन्छ, फरक यत्ति छ । तपाईंजतिको अनुभवी (झापा आन्दोलनलगायत), ‘विद्वान्’ र ‘राष्ट्रवादी’ व्यक्तिले तर कहिल्यै दलाल नबनौँ, लम्पसार नपरौँ र यो मरणासन्न व्यवस्था बदलौँ पनि कहिल्यै भन्नु हुँदैन ।

४) एमसीसी पारित गरी लागू गर्ने ?

सम्पूर्ण स्वाभिमानी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, बुद्धिजीवी, आमजनता र कम्युनिस्टहरू एकातिर, दलालहरू अर्कोतिर हुँदा पनि यो कसैले बुझेका छैनन्, पारित गरेर लागू नै गर्नुपर्छ भनेर महाराष्ट्रवादी उर्दी जारी गर्नुभयो नि हजुरले त ! इन्द्रेका बा चन्दे्रले पनि रोक्न सक्दैन पो भन्नुभयो ।

५) नक्साको राजनीति

नेपालका सबै सीमाविद्, भूगोलविद् र आमजनतालाई थाहा छ नेपालको नक्सा, सिमाना र भूगोल । तपाईंले त दुर्गम कर्णालीको डोल्पामा हात्ती नै हँुदैन अनि डोल्पामा हात्ती आएन भनेझै कथित नयाँ नक्सामा पो नक्कली राष्ट्रवादको आकृति प्रदर्शन गर्नुभयो । बहादुर पुर्खाहरू, वीर–वीराङ्गनाहरू र जनताले लडेर आर्जेको टिस्टा–कुमाउँ–अल्मोडा ४ मार्च, १८१६ को राष्ट्रघाती सुगौली सन्धिमा गुमेको भूगोल र सिमाना नसके पनि भारतीय साम्राज्यवादले अतिक्रमण गरेर हडपेको भूभाग फिर्ता गर्ने र राष्ट्रघाती सन्धिसम्झौताहरू खारेज गर्ने, नदीनाला नबेच्ने सङ्कल्प गर्नुहोस् । अनि जनताले तपाईंलाई राष्ट्रवादी मात्रै होइन, भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, उजिरसिंह थापालगायत वीर–वीराङ्गनाहरूको नामले पुरस्कृत गर्नेछन् । अन्य संसदीय दलालहरूले पनि अर्को चुनावमा भोट माग्ने नाराको रूपमा राष्ट्रियताका पक्षमा हामी सबै एकजुट भयौँ भनेर होहल्ला गरिरहेका छन् । काङ्ग्रेसी राष्ट्रियता त्रिपक्षीय दिल्ली सम्झौता, कोसी, गण्डक, टनकपुर राष्ट्रघाती सम्झौताहरू र एमसीसीसम्म र मातृकाप्रसाद कोइराला, बीपी, कृष्णप्रसाद, गिरिजा, देउवा, सुशीलजस्ता महामहिमहरूका राष्ट्रघाती हर्कतहरू आमजनतामा दिनको घाम जस्तै छर्लङ्गै छन् ।

अन्त्यमा

राष्ट्रघाती सन्धि, सम्झौता, सामाजिक अन्धराष्ट्रवाद, दलाल पुँजीवादी व्यवस्था र विश्वसाम्राज्यवाद नै राष्ट्रियताका बाधक तत्व हुन् । हाम्रो मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा, धार्मिक क्षेत्रमा दलालहरूको राज छ । तसर्थ एकीकृत जनक्रान्तिको महाअभियानद्वारा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गरेर नै हाम्रो राष्ट्रियता बलियो हुने मात्र होइन, स्वाधीन, शान्त, समानता सम्पन्न र समृद्ध राष्ट्र निर्माण हुनेछ । राष्ट्रियताका लागि राष्ट्रिय आन्दोलन मात्र होइन, एकीकृत जनक्रान्ति नै अपरिहार्य छ । दलालतन्त्रको अन्त्यपछि हामीसँग हिमाल, पहाड र तराईको भूगोल मात्र पनि होइन, खानी, पानी, बनजङ्गल, जडीबुटी, तीन करोड जनता छ । हाम्रो मुक्ति, स्वाधीनता र समृद्धिलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्नेछैन । आज विश्व कोरना महाव्याधिले मात्रै होइन, पुँजीवाद–साम्राज्यवाद) को लूट, आतङ्क, शोषण, उत्पीडनले आक्रान्त छ । नयाँ ढोका एवम् क्षितिज खुल्दैछ । नेपाल पनि हाम्रो पार्टीको विश्लेषणअनुसारको ठाउँमा पुग्दैछ । किम जोङ इलले भनेझैँ जनताको इच्छामा आकाशका तारा टिप्न र ढुङ्गामा फूल फुलाउन सकिन्छ । विजय अवश्यम्भाबी छ ।

२० असार, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :