अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरूद्ध अन्तरक्रिया


नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपुरले शुल्क असुलीविरुद्ध अन्तरक्रिया सम्पन्न गरेको छ । कोरोना महामारी र शैक्षिक सङ्कट विषयमा नवलपुरको देवचुली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अतिथिहरू युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, अखिल नेपाल शिक्षक सङ्गठन नवलपुरका अध्यक्ष रामप्रसाद गौतम, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष नरदेव न्यौपाने, प्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र पौडेल र जगतप्रसाद भट्टराई, प्याब्सन नवलपुरका कार्यवाहक अध्यक्ष दीपक रावत, नेपाल अभिभावक महासङ्घका जिल्ला अध्यक्ष श्याम शर्मा भुसाल, पत्रकार जगन्नाथ खनाल, विभिन्न शिक्षक सङ्गठनका प्रतिनिधि, शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको समाचारमा जनाइएको छ ।

कार्यक्रममा दुई दर्जनभन्दा बढी सरोकारवालाको सहभागिता रहेको थियो । बन्दाबन्दीको समयमा अभिभावक र विद्यार्थीको रोजीरोटी खोसिएको समयमा निजी विद्यालयहरूले शुल्क असुल गर्न नहुनेमा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जोड दिएका थिए । उनले लामो समयसम्म सञ्चालनमा रहेका निजी विद्यालयले सङ्कटको समयमा शिक्षकलाई तीन महिनाको तलब पनि उपलब्ध गराउन नसक्ने भनी आश्चर्य व्यक्त गर्दै यसलाई अभिभावकको टाउकोमा थोपार्नुभन्दा राज्यसँग माग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरूले बन्दाबन्दीको समयमा शुल्क नलिने र यसका बारेमा राज्यले ध्यान पुर्याउनुपर्ने धारणा राखेका थिए । बन्दाबन्दीको अवधिमा प्रविधिको उच्चतम् प्रयोग गरी अनलाइन शिक्षा प्रदान गर्नुपर्ने भए पनि सबैको पहुँचमा यो नरहेकाले यसमा पनि राज्यले सबैलाई समेट्ने गरी कार्यक्रमहरू ल्याउनुपर्ने र यो समयमा विद्यार्थीहरूलाई सामाजिक र नैतिक रूपमा उत्प्रेरित गर्ने किसिमले सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुराहरू राखेका थिए ।

कार्यक्रम अखिल क्रान्तिकारीका नवलपुर जिल्ला अध्यक्ष रूपा बुढामगरको अध्यक्षता र जिल्ला उपाध्यक्ष श्रीराम बस्यालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :