रुकुम घटना र कथित जातप्रथा

२०७७ जेठ १० गते पश्चिमरुकुम चौरजहारीमा सिङ्गो सामाजिक चरित्रहरूलाई उदाङ्गो पार्ने एउटा हत्याकाण्डको घटना भयो । त्यसले यो देशको सामाजिक दलाल पुँजीवादीहरूले नेतृत्व गरेको दलाल पुँजीवादी सत्ताको कथित समाजवादउन्मुख शासनप्रणालीको धज्जी उडाएको छ । कथित उच्च जातकी केटी र दलित केटाबीचको प्रेमका कारण केटी लिन गएका केटा पक्षमाथि साङ्घातिक आक्रमण हुँदा केटा पक्षका ६ जनाको ज्यान गयो र अरूले भागेर ज्यान बचाए । यो घटनाको सर्वत्र निन्दा र विरोध भइरहेको छ । सत्ता पक्ष र प्रतिपक्षबाट यस घटनाबारे विभिन्न क्रिया–प्रतिक्रियाहरू बाहिर आएका छन् । सरकारले यो घटनामा विगतमा झैँ आयोग गठन गरी औपचारिकता देखाएको छ । सरकारको यो कदमलाई निर्मला पन्तको घटनामा जस्तै थामथुम पारेर जिम्मेवारीबाट उम्किने प्रयासभन्दा बाहिरबाट हेरिएको छैन किनकि यो घटना नेपालमा पहिलो र नयाँ होइन । यस्ता कयौँ क्रूरतम घटनाहरू छन् जो कति सार्वजनिक छन् र कति गुमनाम छन् । किन हुन्छन् र गराइन्छन् यस्ता घटनाहरू ? यसबारे थोरै चर्चा गरौँ ।

जातप्रथा नेपाली समाजको एउटा जटिल सामाजिक समस्या हो । आजको २१ औँ शताब्दी र वैज्ञानिक युगमा आउँदा पनि जातप्रथाका कारण यस्ता घटनाहरू भइरहनुलाई राज्य र समाजको दुर्दशाका रूपमा हेर्न सकिन्छ । बर्सेनि भइरहने यस्ता सयौँ घटनाहरूले हामीलाई अन्तर्राष्ट्रिय बेइज्जती गरिरहेको छ । जातपातमा आधारित यो प्रथा दक्षिणएसिया, विशेषतः नेपाल र भारतमा व्याप्त छ । कथित जातप्रथाका नाममा मानिसमाथि मानिसद्वारा गरिने यस्ता घटनाहरू मानव समाजका कलङ्क हुन् तर समाजको यथार्थ यही हो । यस्ता घटनाहरूको जति विरोध र भत्र्सना गरे पनि कमै हुन्छ, जति गरे पनि घटनाहरू भइरहेकै छन्, रोकिँदैनन् किन ?

राज्यसत्ता कस्तो छ र कसको हातमा छ भन्ने कुराले सामाजिक–सांस्कृतिक मूल्य–मान्यताहरू निर्धारण गर्दछ । अहिलेसम्म नेपालको राज्यसत्ता कथित उच्च जात भनिनेहरू र सामन्त, दलाल पुँजीपति वर्गको हातमा केन्द्रित छ । हिजो राजतन्त्र रहँदासम्म राज्यसत्ता सामन्त राजा–महाराजाहरूको हातमा थियो । आज दलाल, सामन्त वर्गको हातमा छ । आजसम्म आउँदा व्यवस्था र मान्छे फेरिए तर सोचाइ, चिन्तन र संस्कृति फेरिएन । राज्यसत्ताको चरित्र आज पनि प्रतिक्रियावादी छ । त्यसैले जातप्रथा पनि कायमै छ । शताब्दीयौँदेखि अहिलेसम्म शासनसत्ता उनै कथित उच्च जात भनिनेहरूले चलाउँदै आएकाले यस्ता मानव कलङ्कहरूले प्रश्रय पाएका छन् । शासन र शासक फेरिए, सत्ता फेरिएन । सामाजिक मूल्य–मान्यता पुरानै छ । लोकतान्त्रिक गणतन्त्रमा आउँदा पनि बोतल फेरियो, रक्सी पुरानै छ ।

दलित समस्या वर्गीय उत्पीडनको एक रूप हो । नेपालमा उत्पीडनको चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक र दलाल पुँजीवादी चरित्रको छ । यो जातीय, क्षेत्रीय, लैङ्गिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा जटिल रूपले जेलिएको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि पनि हिजोका ती उत्पीडनहरू जस्ताको तस्तै छन् र त्यो झन् जेलिएर आएको छ । दलाल पुँजीवादी सत्ताले यसमा धर्म राजनीति र एनजीओ राजनीति थपेको छ । दलित समुदायमा यो अझ जटिल रूपमा घुसेको छ । यसले समस्याको निराकरणभन्दा झन् झाँगिँदै र जेलिँदै आएको छ जसले थाहै नपाउने गरी उत्पीडित समुदायलाई निल्दैछ ।

दलित उत्पीडन सामाजिक–सांस्कृतिक–धार्मिक रूपबाट गरिने नितान्त गैरमानवीय उत्पीडन हो । यसले दासयुगको झझल्को दिन्छ । नेपालमा युरोप र अमेरिकाको जस्तै दासयुग त आएन तर भिन्नै चरित्रको दासयुगका अवशेषहरू विद्यमान छन् । तीमध्ये दलित समस्या पनि एक हो । नेपालमा दलित समस्याबारे धेरैले धेरै लेखेका र भनेका छन् तर लेख लेखमै र बोली बोलीमै सीमित छ । यो केवल औपचारिकता, लोकाचार, षड्यन्त्र र छलछाममा व्यक्त भइरहेको छ । पौराणिक तथा हिन्दु धार्मिक कथनअनुसार ब्रह्माले मानवको सृष्टि गर्दा शिरबाट ब्रह्माण, वक्षस्थल (छाती) बाट क्षेत्री, पेट (उदर) बाट वैश्य र पाउ (पैताला) बाट शुद्रको उत्पत्ति भएको भनेर चार जात विभाजन गरी जातप्रथाको सिर्जना गरे जो अद्यापि कायम छ । यही नै शासक वर्गको चिन्तन र संस्कृतिको स्रोत हो । वास्तवमा यो कुनै भगवान्को खेल होइन, मान्छेले मान्छेमाथि शासन गर्न बनाएको कुप्रथा हो । यसले नेपाली समाजलाई नै जर्जर र कुरूप बनाएको छ ।

जातप्रथाका कारण दलितहरू धर्म परिवर्तन गरिरहेका छन् । यसैका कारण आज लाखौँ दलितहरू क्रिस्चियन धर्म अँगाल्न पुगेका छन् तर धर्म परिवर्तन पनि दलित समस्याबाट मुक्त हुने उपाय होइन । चाहे जुनसुकै नामको धर्म होस्, सबै धर्मको सार एउटै हुन्छ– भगवान् (God) जसले स्वर्ग, नर्क, पाप, पुण्य, भाग्य–कर्ममा विश्वास गर्दछ । धर्मले भगवान्का नाममा उत्पीडन, विभेद र असमानताहरू बढाउँछ, संरक्षण गर्दछ र प्रश्रय दिन्छ । हरेक धर्मको काम मान्छे वा समाजलाई वैज्ञानिक र वस्तुगत चेतनाबाट काल्पनिक दुनियाँतिर डोर्याउनु हो । सबै धर्मको कर्म यही हो । मानिस गरिब भाग्यले होइन, श्रमको शोषणले भएको हो र दलित यसैको कारण उत्पन्न सांस्कृतिक विकृति हो । हिन्दुबाट क्रिस्चियन वा कुनै पनि धर्म परिवर्तन गर्नु ‘तावाबाट उफ्रेको माछो भुङ्ग्रोमा’ परेजस्तै हो । किनकि सबै उत्पीडनहरूको स्रोत धर्म हो, मात्र देशअनुसार धर्मका रूपहरू फरक छन् । जस्तै नेपालमा २०७७ जेठ १० गतेको चौरजहारी घटना र अमेरिकामा जेठ १३ को काला जातिका ‘जोन ºलोइड’ को हत्याको घटना फरक समय र स्थान तर उस्तै प्रकृतिका घटना हुन् । यी दुई घटनाहरू कथित जातप्रथाकै कारण भएका छन् । यसले के तथ्य उजागर गर्दछ भने चाहे क्रिस्चियन धर्मप्रभावित विकसित मुलुक होस् वा नेपालजस्ता अविकसित हिन्दु धर्म प्रभावित मुलुक, रूपमा फरक तर सार एउटै बोकेका दुई घटनाहरूले धर्म परिवर्तनबाट कथित जातपात र रङ्गभेदको उन्मूलन गर्दैन भन्ने स्पष्ट हन्छ ।

कथित जातप्रथाको उन्मूलन कानुनी उपचारबाट हुँदैन भन्ने कुरा निम्नतथ्यहरूबाट पुष्टि हुन्छ :

पहिलो, २०२० सालमा राजा महेन्द्रले छुवाछूतको अन्त्य गर्ने कानुन ल्याए । त्यसपछिका राजनीतिक घटनाक्रमहरू फेरिए तर प्रत्येकपटकका संविधान र कानुनहरू बन्दा धारा र उपधाराहरू रङ्गिए तर जातप्रथा हटेन । दलितहरूमाथिको उत्पीडन कथित बोक्सीको आरोपमा, बलात्कार, धारा, पँधेरो, मठमन्दिरहरूमा कथित छुवाछूतका नाममा गरिने कुटपिट र बेइज्जतीका घटनाहरू, तराईमा दाइजोप्रथामा मारिने घटनाहरू दिनहुँ भइरहेकै छन् । ०७, १७, ३६, ४६, ६२/६३ र ७३ साल आयो । थुुप्रै संविधान र कानुनहरू फेरिए तर समस्या उही ठाउँमा छ भनेपछि कानुन र संविधानमा लेखेर कथित जातप्रथाको उन्मूलन हुँदैन । अहिलेसम्मका कानुन र संविधानहरूले यही तथ्यलाई पुष्टि गर्दछन् ।

दोस्रो, समानुपातिक, समावेशी कोटामा एकाध दलित, जनजातिहरू सरकारमा जाँदैमा र मन्त्री बन्दैमा यो समस्या हल हुँदैन । पञ्चायत कालदेखि राजा महेन्द्रले समावेशी र कोटामा दलित तथा जनजातिहरूलाई माननीय र मन्त्री नबनाएको होइन । अहिले पनि समानुपातिक र समावेशी कोटामा एकाधजनालाई माननीय, सांसद, मन्त्री नबनाइएको होइन तर समस्या उही ठाउँमा छ । यही सन्दर्भमा पञ्चायतकालको एउटा यथार्थ घटना स्मरण गराऔँ :

एकपटक राजा वीरेन्द्रको मध्यपश्चिम भ्रमणका क्रममा सुर्खेत जाँदा तत्कालीन शिक्षामन्त्री हीरालाल विश्वकर्मालाई पनि सँगै लिएर गए । तत्कालीन पञ्चहरूको ठूलै जमघट भयो । भोजमा मन्त्री हीरालाल विश्वकर्माले राजाको आदेशअनुसार सबैलाई खानापिना आफ्नै बाहुलीबाट दिए । सबै पञ्चहरूले राजाको अगाडि नखाने कुरा आएन, मजाले खाए । तर राजा फिर्ता भएपछि मन्त्री हीरालाल विश्वकर्माको हातबाट खाना खाएकोमा त्यहाँ सहभागी बाहुन जातका पञ्चहरूले जातै डुबेको ठानेर राजा र पञ्चायती व्यवस्थालाई सराप्दै दलितको हातबाट खाना खाएको पापमोचन गर्न नजिकैको देउती बज्यैको मन्दिरमा पूजापाठ गरे । राजा वीरेन्द्रको कानुनी र सामन्ती व्यवहारद्वारा दलितमाथिको भेदभावको अन्त्य गर्न खोज्नुको परिणाम सुर्खेतका सबै पञ्चहरूले २०३७ सालको जनमतसङ्ग्रहमा अत्यधिक मत बहुदलमा दिए । यसले राजनीतिक रूपले आमूल परिवर्तन नगरी कानुनी रूपले र मन्त्री, माननीय, सांसद बन्दैमा दलित समस्या हट्दैन भन्ने पुष्टि हुन्छ ।

तेस्रो, आयोगकै कुरा गरौँ— सरकारले हरेक घटनाहरूमा आयोग बनाउँछ तर आयोग बनाएर समस्या हल भएको देखिन्न । जस्तै निर्मला पन्तकाण्ड छानबिन गर्न बनेको आयोग अझै गुमनाम छ । मदन भण्डारी, राजा वीरेन्द्रको हत्याबारे बनेका आयोगहरू, कयौँ भ्रष्टाचार र काण्डहरू तथा चौरजहारीजस्ता कयौँ घटनाहरूमा आयोग बनेका छन् तर ती गुमनाम छन् वा औपचारिकतामा टालटुल गरिएका छन् । आयोगले गर्ने भनेको ‘मरेका हुन् वा मारिएका, आकस्मिक हो वा योजनाबद्ध, आपराधिक हो वा होइन, कोको सहभागी थिए, कोको मारिए, दण्डसजाय दिने वा राहत दिने’ आदिबारे रिपोर्ट र सुझावहरू सरकारलाई दिने हो र ‘अपराधी ठहरेमा कानुनबमोजिम कारबाही गर्नू’ भनी अदालतले आदेश दिने हो । योभन्दा आयोगले गर्ने केही होइन । बढीमा कानुनअनुसार अपराधीलाई २/४ वर्ष थुन्ने वा २/४ लाख जरिबाना तिरेर उम्किने हुन् । मर्नेहरूको परिवारलाई जनही २÷४ लाख राहत दिएर चित्त बुझाउने हुन् तर यति गरेर पनि दलित समस्या वा जातप्रथा उन्मूलन हुँदैन । यसरी आयोगले पनि समस्या हल गर्दैन भन्ने प्रमाण हुन् यी । त्यसैले कानुनी उपचार म्याद सकिएको औषधीजस्तै मात्र हो ।

पृथ्वीका सबै प्राणीमा दुई जाति छन् : एउटा मानिस जाति र अर्को पशु जाति । मानिस जाति सबै एउटै मानव पुर्खाका सन्तान हुन् । चेतना भएको मान्छे र नभएको पशु । चेतनाको कुरा गर्दा एउटा पश्चिमा लेखक हरारी (Yuval Noah Harari) ले ‘पशुमा पनि चेतना हुन्छ, कमबेसीको कुरा मात्र हो’ भनेका छन् । मान्छेले मान्छेमाथि यसरी विभेद र पशुवत् व्यवहार गर्छ भने त्यो एउटा पशुभन्दा कति फरक भयो र ?

एङ्गेल्सले मानिस एक खालको बाँदर जातिबाट विकसित भएको चेतनशील प्राणी हो भन्नुभएको छ । राहुल सांकृत्यायन लेख्छन्– मानव जातिले बाँदरबाट मानिसको यो अवस्थामा आउन २० लाख वर्षहरू पार गर्नु पर्यो र यी कालखण्डहरूमा पृथ्वीमा चार मानव पुर्खाहरूको उदय भयो, ती मध्ये पृथ्वीमा सुरुमा देखापरेको मानव पुर्खा निअनडरथल, दोस्रो र तेस्रो मानव पुर्खाहरू ग्रिमाल्दी र क्रोमेग्नन थिए जुन दसदेखि १५ लाख वर्षका कालखण्डहरूमा आएका ४ ठूला हिमयुगहरूमा लोप भए वा समाप्त भए । पछिल्लो वा चौथो हिमयुग समाप्त भएपछि पृथ्वीमा देखापरेको चौथो मानव पुर्खा होमो सेपियन हो । अहिले पृथ्वीमा भएका सबै मानव जाति वा मान्छेहरू तिनै होमो सेपियनका सन्तान भएको उनले बताएका छन् । यसले पछि मात्र जातपात प्रथा निर्माण गरेर कथित जातप्रथा र दलित समस्या उत्पन्न गरियो । दास र सामन्ती कालमा सिर्जित यी मानव कलङ्कहरू अहिले पनि जिउँदा छन् ।

संस्कृति मानवसभ्यताको परिचय पनि हो । तर यो राज्यसत्ता प्रभावित हुन्छ । राज्यको संस्कृति नै जनताको संस्कृति हुने गर्दछ किनकि संस्कृति र संस्कारहरू राज्य नियन्त्रित हुन्छन् । राज्यले जुन संस्कार र संस्कृति प्रवाहित गर्दछ जनताले त्यसैलाई आफ्नो संस्कार–संस्कृतिका रूपमा अवलम्बन गर्दछन् । राज्यलाई प्रतिकूल हुने कुनै पनि संस्कार–संस्कृतिलाई राज्यले मान्यता दिँदैन । त्यसैले राज्यले जुन धर्म–संस्कृतिको संरक्षण गर्दछ तिनै जिउँदो रहन्छन् । राज्यबाट संरक्षण नपाएका धर्म, संस्कार–संस्कृतिहरूबाट जातप्रथा संरक्षित रहने भएकाले राज्यसत्ताको परिवर्तन नै दलितप्रथाको पनि पहिलो सर्त हो ।

संस्कृति राज्यसत्ताको उपरिसंरचना हो र यसले राज्यसत्ताको पक्षपोषण गरिरहेको हुन्छ । हिजो सामन्ती सत्ता थियो । त्यसैले जनता र समग्र क्षेत्रमा सामन्ती संस्कृति मौलाएको थियो । आज दलाल पुँजीवादी राज्यसत्ता छ । त्यसैले हरेक क्षेत्रमा दलाल संस्कृति मौलाएको छ । आत्मसमर्पण, भ्रष्टाचार, परनिर्भर तथा अर्काको मुख ताक्ने संस्कृति, तस्करी तथा कालोबजारी, मुनाफाखोर, सुदखोर, समन्वयवादी, डोलायमान, दुईजिब्रे तथा छेपारे, घुसपैठिया संस्कार–संस्कृति समाजका हरेक क्षेत्रमा मौलाउनुको कारण राज्यसत्ताको चरित्रले गर्दा हो । यो दलाल पुँजीवादी संस्कृति हो । यसले ‘दलित’ समस्यालाई अझ मलजल गरिरहेको छ । चौरजहारी घटना यसको ज्वलन्त उदाहरण हो । त्यसैले संस्कार र संस्कृति राज्यसत्ताकै एक अङ्ग भएकाले सत्तामा आमूल परिवर्तन नगरीकन संस्कार–संस्कृति बदलिँदैनन् । संस्कार–संस्कृति बदल्ने कुरा कति जटिल छ भने राजनीतिक परिवर्तन नगरी यो सम्भव छैन । संस्कृति राज्य प्रभावित र राज्यसत्ताबाट प्रवाहित हुने भएकाले पहिलो सर्त राज्यसत्ताको परिवर्तन हो । राज्यसत्ताको अनुहार फेर्नु भनेको उसको सम्पूर्ण रूपले संस्कृति र संस्कार बदल्नु हो । यसले राज्यसत्ताको अनुहार प्रतिबिम्बित गर्दछ । त्यसैले संस्कृतिलाई राज्यसत्ताको ऐना पनि भनिन्छ । अहिलेको समाजवाद उन्मुख कथित लोकतान्त्रिक गणतान्त्रिक सरकारको अनुहार उसको भ्रष्टाचारी, कालोबजारी, तस्करी, जातप्रथा, दलित समस्या, निर्मला काण्डलगायत काण्डैकाण्डहरू र कम्युनिस्टहरूमाथिको प्रतिबन्ध, दमन, हत्या–हिंसा, राष्ट्रघाती, दलाल संस्कृतिले प्रतिबिम्बित गरिरहेको छ ।

जहाँसम्म प्रेमविवाहको प्रसङ्ग छ यो प्राणीजगत्मा हुने प्राकृतिक र वैयक्तिक गुण हो । प्रेम मान्छेमा मात्र होइन, योे पशुपन्छीमा पनि चल्छ । प्राणीजगत्मा यो अनिवार्य रूपमा हुने प्राकृतिक गुण हो । त्यसमा पनि चेतनशील प्राणीको नाताले उमेर पुगेको केटा र केटीमा, विपरीत लिङ्गमा हुने आकर्षण व्यक्तिगत चाहना, मनोवैज्ञानिक र भावनात्मक आशक्तता र प्रेमसम्बन्ध स्वेच्छिक र अनिवार्य प्राकृतिक कुरा हो । यसले जातपात मान्दैन । यो स्वतन्त्र हुन्छ, दबाबमा हुनु हुँदैन । दबाबमा प्रेम कुण्ठित हुन्छ । कुण्ठित प्रेमले सच्चा प्रेम, मानवीय प्रेमको उच्चता ग्रहण गर्न सक्दैन । प्रेम र प्रेमपछि विवाह उमेर पुगेका केटाकेटीमा स्वभावैले हुने मानवीय गुण हो । व्यक्तिगत चाहनाविपरीत दबाबमा गरिने यस्ता विवाहहरूले कयौँ बिछोड, आत्महत्या र चौरजहारीजस्तै घटनाहरू निम्त्याउँछ । यो घटना त्यसैको पुनरावृत्ति हो । यो घटना प्राकृतिक रूपले पैदा हुने प्रेम र सामाजिक बन्धनका रूपमा रहेको कथित जातप्रथाका बीचको अन्तरविरोधको परिणाम हो ।

नेपालको इतिहासमा दस वर्षको जनयुद्ध नै यस्तो समय थियो जहाँ जनयुद्ध प्रभावित क्षेत्रहरू र पार्टी र सेनामा यस्ता कथित जातपात प्रथाको करिब अन्त्य भएको थियो । हजारौँ–लाखौँको सङ्ख्यामा पार्टी, क्रान्तिमा लागेका नेता–कार्यकर्ताहरूमा त कथित जातप्रथालगायत सबै कुरीति र कुप्रथाहरूको अन्त्य भएको अवस्था थियो । समाजमा पनि जनयुद्ध प्रभावित क्षेत्रहरूमा ७५ प्रतिशत कुरीतिहरूको अन्त्य भइसकेको थियो । कम्युनिस्ट मान्यतामा इच्छाअनुसार केटाकेटीबीच स्वच्छ प्रेमविवाह हुन्थ्यो । केटीलाई १८ वर्ष र केटालाई २० वर्षमुनि विवाह बर्जित थियो तर एकनिष्ट प्रेममा स्वतन्त्र थिए । समाजमा जुवा–तास, रण्डीबाजी, लागूपदार्थ नियन्त्रित थियो भने जाँड, रक्सी, गलत संस्कार–संस्कृति, चोरी, डकैती र आपराधिक कार्यहरू र सामाजिक विकृति र विसङ्गतिहरू नियमन र नियन्त्रणभित्र आइसकेका थिए । पुरानो पिँढीका नागरिकहरू नियन्त्रित र नयाँ युवा पुस्ता फ्रेस अवस्थामा आएको अवस्था थियो । सिङ्गो समाज रूपान्तरणको सँघारमा थियो । सिङ्गो समाजले नयाँ आकार लिँदै थियो । तर मुख्य नेता र नेतृत्वको दिमागमा नै प्रतिक्रान्तिको कीरो परेपछि पार्टी, सत्ता र समाजमा पनि यसको प्रभाव नपरिरहन सकेन । प्रचण्ड, बाबुराममा राजनीतिक र वैचारिक रूपमा आएको विचलनले प्रतिक्रान्तिलाई जन्म दियो । शान्तिप्रक्रियापछि देखापरेको प्रतिक्रान्तिको कारण ‘दलित’ समस्या बल्झेर आयो । जनयुद्धकालमा गरेका सबै अन्तरजातीय विवाहहरू भत्किए । धर्म बल्झेर आयो । जाँड, रक्सी, जुवा–तास, रण्डीबाजी, चोरी, डकैती सबै उल्टिएर आयो । जनयुद्धकालीन जनसत्ता, जनकम्युन, जनसहकारी, मोडेल स्कुल, अस्पताल, कृषि, उद्योग आदि सबैको विघटन भयो । बन्दै गरेको जनसंस्कृति र जनवादी संस्कृतिहरू सब प्रतिक्रान्तिमा परिणत भए । त्यसैको परिणाम नै आजको ‘चौरजहारी घटना’ हरू भइरहेका छन् ।

त्यसैले दलित समस्या समाधान गर्न–

१. ‘दलित’ समस्या जातप्रथाले निम्त्याएको समस्या हो । यो राज्यसत्ता संरक्षित भएकाले विद्यमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य गर्नु पहिलो सर्त हो । यसको अन्त्य क्रान्तिले मात्र गर्न सक्छ । अतः यसको पहिलो सर्त क्रान्ति बन्नुपर्छ । नेपालमा विद्यमान दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना यसको मुख्य सर्त हो ।
२. यो वर्गीय समस्या पनि भएकाले वर्गीय समस्याको समाधानसँगै यसको पनि समाधान हुन्छ । यसका लागि जति सकिन्छ वर्गसङ्घर्षबाट यसको अन्त्य गर्ने प्रक्रियालाई तीव्रता दिनु पर्दछ ।
३. क्रान्ति भनेपछि सबैले रक्तपात र हिंसा भनेर बुझ्ने गर्दछन् तर सबै हिंसाहरू क्रान्ति हुँदैनन् र सबै क्रान्तिहरूमा हिंसा हुनै पर्दछ भन्ने पनि छैन तर राज्यसत्ताको चरित्र कस्तो छ भन्ने कुराले हिंसात्मक गतिविधिलाई निर्धारण गर्दछ । राज्यसत्ताको चरित्र प्रतिक्रियावादी र हिंसात्मक छ भने त्यसले निम्त्याउने क्रान्ति हिंसात्मक र रक्तपातसहितको हुनसक्छ । तर नयाँ जनवादी राज्यसत्ताबाट समाजवादमा र वैज्ञानिक समाजवादबाट साम्यवादमा जाने बाटो अहिंसात्मक अर्थात् शान्तिपूर्ण हुुन्छ । त्यो पनि एक प्रकारको क्रान्ति नै हो । यसलाई शान्तिपूर्ण सङ्क्रमण पनि भन्ने गरिन्छ तर क्रान्ति एक अनिवार्य सामाजिक, राजनीतिक प्रक्रिया हो । क्रान्तिको सन्दर्भमा माक्र्सवादले वर्गसङ्घर्ष, बलप्रयोग र अधिनायकत्वको प्रश्नलाई क्रान्तिको आधारभूत सर्तका रूपमा मान्दछ ।
४. सम्पूर्ण दलित समस्या वा जातप्रथाको उन्मूलन गर्न सम्पूर्ण उत्पीडित समुदायहरू कम्युनिस्ट अभियान सञ्चालन गर्नुपर्छ । कम्युनिस्ट बनेर मात्र सम्पूर्ण उत्पीडन र दासत्वबाट मुक्त हुन सकिन्छ ।
५. ‘दलित’ भनेर जुन पदावलीको प्रयोग गरिएको छ यो पनि दलितप्रथा हटाउने उपाय होइन, यो पनि समानुपातिक–समावेशी वा कोटा प्रणालीमा युगौँयुग जारी राख्ने कसौटी मात्र हो । राम्रो उपाय भनेको कथित दलित भन्ने शब्द÷पदावली पूर्ण खारेज गर्नुपर्दछ जसले मानिसलाई सधैँ ‘दलित’ गराइरहन्छ र ‘दलित’ परिचय दिइरहन्छ । वास्तवमा कथित ‘दलित’ भनिने समुदाय ‘दलित’ होइनन् कथित उच्च जात भनिने आर्य जातिकै एक नश्लीय हिस्सा हो । यसलाई ‘दलित’ भनेर झन् अर्को समुदाय बनाउने यो पदावली प्रयोग पनि सही छैन । निश्चित रूपमा यो पदावली प्रयोगमा ल्याउने भारतीय दलित नेता भीमराव रन्जी अम्बेडकरले यो ‘दलित’ पदावलीको आविष्कार त गरे । यसले सयौँ समूहमा टुक्रिएका कथित अछूत समुदायलाई ‘दलित’ पदावलीमा एकगठ गर्ने काम गर्नुलाई एक कदम प्रगतिशील मान्न सकिन्छ तर यो दासत्वबाट मुक्त हुने उपाय भने होइन । बरु कथित दलितप्रथालाई निरन्तता दिने र ‘दलित पहिचान’ लाई युगौँसम्म बचाइराख्नेछ । त्यसैले ‘दलित’ समुदायले यसबारे गम्भीर रूपले सोच्न जरुरी छ ।
६. दलित समस्या धर्म परिवर्तन गरेर हुँदैन । अधिकांश दलित समुदायहरू कम्युनिस्ट बन्नुको सट्टा क्रिस्चियन धर्मतिर लहसिनुले झन् दलित समस्यालाई मलजल गरिरहेको छ । क्रिस्चियन धर्म भनेको साम्राज्यवाद प्रवाहित धर्म हो । यसले पहिलो लाखौँको सङ्ख्यामा रहेका ‘दलित समुदाय’ लाई क्रान्तिबाट बिमुख बनाएर क्रान्ति कमजोर बनाउन चाहन्छ । दोस्रो कम्युनिस्ट र क्रिस्चियन धर्म उस्तैउस्तै हो वा एउटै हो भनेर भ्रम दिइरहेको छ । यसको पछाडिको गम्भीर षड्यन्त्रलाई बेलैमा बुझ्नुपर्छ किनकि यो पनि एक प्रकारको दासत्व हो । यसबाट मुक्त हुन क्रान्ति जरुरी छ ।
७. जब दलितहरूमाथि विभिन्न घटनाहरू हुन्छन्, त्यसलाई नियम, कानुन, संविधान, जेल, दण्ड–सजाय र आयोगहरू बनाएर टालटुल पार्ने गरिन्छ । यसले पनि क्रान्तिको सोचाइबाट मान्छेलाई पछि हट्न र आसैआसमा झुन्ड्याइरहने षड्यन्त्र मात्र हो । माथि भनिएझैँ यो मिति सकिएको औषधिजस्तै हो । यसको विकल्प संस्कार र संस्कृति बदल्नु हो ।
८. अन्तिम अर्थमा क्रान्ति नै सम्पूर्ण समस्याहरूको समाधानको एक मात्र उपाय हो ।

अन्त्यमा एकजना पश्चिमा बुर्जुवा लेखक सेम्युल पी हङ्टिङ्टनको विसं २०२०/२१ (सन् 1964 /65 तिर प्रकाशित पुस्तक Political order in changing societies मा उल्लिखित क्रान्तिको परिभाषाको एक अंश यहाँ उद्धृृत गर्न सान्दर्भिक ठानेको छु ।

Revolution is arepid fundamental and violent domestic change in the dominant values and myths of society in itÚs political institutions, social structure, leadership and government activity and politics.

‘क्रान्ति भनेको समाजको राजनीतिक संस्थाहरू, सामाजिक संरचना, नेतृत्व र सरकारका गतिविधिहरू, राजनीतिक क्षेत्रमा प्रभुत्व जमाएका मूल्य–मान्यताहरू र समाजका रहस्यहरूमा तीव्र, आधारभूत परिवर्तन हो ।’

उपर्युक्त कथनबाट पनि के स्पष्ट हुन्छ भने क्रान्तिको चरित्र हिंसात्मक हुन्छ । त्यो तीव्र परिवर्तनशील हुन्छ र परिवार वा स्थानीयदेखि सिङ्गो राज्यव्यवस्थाको केन्द्रसम्म राज्यसत्ताको चरित्र, संस्कार–संंस्कृति र सम्पूर्ण क्रियाकलापहरूको आमूल परिवर्तन नै क्रान्ति हो जसले मात्र समाजमा रहेका रहस्यमय संस्कार–संस्कृति, सरकार र राजनीतिक सत्ताका सम्पूर्ण गतिविधि र सामाजिक मूल्य–मान्यताहरूलाई पूर्ण रूपमा अन्त्य गरी नयाँमा रूपान्तरण गर्दछ । माथिका सबै इतिवृत्तान्तहरूलाई यही भनाइले पनि पुष्टि गर्दछ क्रान्ति नै सम्पूर्ण समस्या समाधानको एक मात्र विकल्प हो । क्रान्तिलाई नसमाउने हो भने सयौँ चौरजहारी र जर्ज फ्लोइडका घटनाहरू दोहोरिइरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :