कोरोनापछि विद्रोही नेकपाले गरिहाल्नुपर्ने पाँच काम

नेपालको राजनीतिमा ओली र प्रचण्डलाई सरापेर आफ्नो राजनीति सपार्ने दिन अब सिद्धियो । ओली सरकारले नेपालको राजनीतिक इतिहासमा सर्वाधिक भ्रष्टाचार, आतङ्क, हत्या, कुशासन, अनियमिततालाई बढावा मात्र दियो । अध्यादेश र सांसद अपहरण प्रकरणसम्म आइपुग्दा धेरै कुरा छर्लङ्ग भएको छ । एक महिनामै सिध्याउँछु भनेर विद्रोही नेकपालाई प्रतिबन्ध लगाउने पनि यही ओली सरकार थियो । यो सरकार आफ्नो ब्रह्मलुटको रक्षार्थ उत्पीडित तथा श्रमजीवी जनतामाथि निरन्तर खनिँदै आएको छ । नेपालमा श्रमजीवी जनता र फासिवादी शासकका बिचमा अन्तरविरोध चुलिएको छ । राजनीति भनेको अन्तर्विरोधहरूको समाधान हो । अन्तर्विरोधहरूको समाधानको मुख्य विधि वर्गसङ्घर्ष हो । कोरोनाले अबको वर्गसङ्घर्षको रूप फेर्ने सम्भावना पनि उत्तिकै छ । दोस्रो विश्वयुद्धपछि विश्व नयाँ चरणमा उभिएको र अब विश्व–व्यवस्थाको नयाँ संरचना गर्नुपर्छ भन्ने बहस सुरु भइसकेको छ । नेपालमा एकीकृत जनक्रान्ति भइरहेको अवस्थामा सामना गर्नुपरेको कोरोना भाइरस ‘कोभिड १९’ ले नेपालका शासकहरूका हविगत पनि छर्लङ्ग भएको छ । नेपाल र नेपाली जनता अब एकछिन पनि यथास्थितिको पक्षमा छैनन् । जनताले फासिवादी ओली सरकारलाई एक मिनेट पनि सत्ता बसेको देख्न चाहँदैनन् । यस्तो बेला सबैको ध्यान विद्रोही नेपाल कम्युनिस्ट पार्टीतर्फ सोझिएको छ– अब विद्रोही नेकपाले के गर्छ ? नेपाल जनताले अत्यन्त नजिकबाट आशातीत नजरले हेरिरहेको यतिबेला उक्त पार्टीले कोरोनापछि तत्काल गर्नुपर्ने कामबारे चर्चा गर्न आवश्यक छ ।

१. बृहत् राजनीतिक धु्रवीकरण

कोरोनापछि विद्रोही नेकपाले तत्काल गर्नुपर्ने पहिलो काम हो– बृहत् राजनीतिक ध्रुवीकरण गर्नु । नेपालमा सङ्गठित वा असङ्गठित रूपमा रहेका क्रान्तिकारीहरूको सङ्ख्या ठूलो छ । सामान्यतया ती सबै आ–आफ्नो सापेक्षता गतिशील पनि छन् तर त्यस्तो गतिशीलताले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको कार्यभार पूरा हुँदैन । नयाँ व्यवस्था ल्याउन सबैले नयाँ उचाइमा उठ्न जरुरी हुन्छ । त्यसैले विभिन्न तहमा रहेका क्रान्तिकारीहरूलाई यथासम्भव पार्टी एकता गर्नुपर्दछ । पार्टी एकता सम्भव हुँदैन भने परिभाषित भूमिकासहित विभिन्न सङ्गठनात्मक संरचनाका माध्यमबाट क्रान्तिकारी शिविरमा ध्रुबीकृत गरिहाल्नुपर्दछ । ध्रुवीकरणले वैचारिकी शक्तिलाई भौतिकी शक्तिमा फेर्दछ । हामीले आफू मात्र होइन, अरू पनि क्रान्तिकारी छन् भन्ने कुरालाई आत्मसात् गर्न आवश्यक छ । आफूभित्र अरूहरू छन् र अरूभित्र आफूहरू पनि भएको तथ्यलाई आत्मसात् गर्न आवश्यक छ । हरेक पार्टीमा रहेका सरकारी प्रतिनिधिहरू (सूचक) लाई तिनका आ–आफ्नो ठाउँतिर लघारिदिनुपर्दछ । रूपान्तरणको विधिलाई अलि जोड लगाउनुपर्दछ । स्पष्ट लक्ष्यका साथ आत्मसम्मान र सहअस्तित्वका आधारमा क्रान्तिकारी ध्रुवीकरणलाई व्यापक बनाउन सकिन्छ । यो दलाल संसदीय व्यवस्थाको युग नै होइन । साथै, दलाल तथा फासिवादी सत्ताका विरुद्ध जनताको असन्तोष र आक्रोश चुलिएको यतिबेला क्रान्तिकारी राजनीतिक ध्रुवीकरणका लागि उपयुक्त र अनुकूल समय बनेको छ ।

२. संयुक्त राजनीतिक जनसङ्घर्ष

कोरोनापछि विद्रोही नेकपाले तत्काल गर्नुपर्ने दोस्रो काम हो– संयुक्त राजनीतिक जनसङ्घर्षको उठान गर्नु । नेपालको हरेक आन्दोलनको एउटा विशेषता के रहिआएको छ भने संयुक्त पहल र संयुक्त सङ्घर्षको सफलता । नेपालमा भएका सबै आन्दोलनमा यो कुरा देखिन्छ । नेकपाका संस्थापक महासचिव पुष्पलालले संयुक्त मोर्चाको आवश्यकतालाई बारम्बार जोड दिनुभएको हामी पाउँछौँ । नेपालमा संयुक्त राजनीतिक आन्दोलन सफल हुने तर उपलब्धिलाई पुँजीकृत गर्न नेतृत्व असफल हुँदै आएको सन्दर्भ पनि हाम्रा लागि विशेष मननीय छन् । संयुक्त राजनीतिक जनसङ्घर्षमा एकचरण लोकतान्त्रिक शक्तिलाई पनि साथ लिनु उपयुक्त हुन्छ । निश्चय पनि लोकतान्त्रिक शक्तिहरू कम्युनिस्टहरूसित लामो यात्रा गर्न सक्तैनन् । उनीहरूको यात्रा छोटो नै हुन्छ । उनीहरूको विशेषताचाहिँ यथास्थितिवादी नै हो तर पनि कहिलेकाहीँ उनीहरू आंशिक सुधारसम्म पनि जान सक्तछन् । उदाहरणार्थ नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणालाई लिन सकिन्छ । नेपाली समाजमा लोकतान्त्रिक शक्तिको प्रभाव र क्षमतालाई क्रान्तिकारीहरूले उपयोग गर्न जान्नुपर्दछ । क्रान्तिकारी शक्तिले जनतालाई जगाउने, उठाउने र क्रान्तिमा जोड्ने कुरामा नै जोड दिनुपर्दछ । नेपालमा यतिबेला प्रतिगामी शक्तिले पनि उपयुक्त अवसर ढुकेर बसिरहेको छ । नेपालमा क्रान्तिकारीहरूको लडाइँ त प्रतिगामीहरूसित पनि चर्कै पर्ने देखिन्छ । समकालीन नेपाली राजनीतिमा ओलीको ज्यादतीका विरुद्ध सबै उठ्ने, जुट्ने अवस्था सिर्जना भएको छ । यसलाई एउटा वैज्ञानिक सङ्गठनात्मक संरचनामा सङ्केन्द्रित गरेर संयुक्त राजनीतिक जनसङ्घर्षको उठान गरिहाल्नुपर्दछ । संयुक्त राजनीतिक जनसङ्घर्षको आयामलाई केन्द्रदेखि स्थानीय तहसम्म व्यापक बनाउनपर्दछ । संयुक्त राजनीतिक जनसङ्घर्षमा मध्यमवर्गलाई अनिवार्य रूपमा सहभागी गराइनुपर्दछ, नयाँ श्रमिक वर्गलाई जोड्नैपर्दछ ।

३. वैधानिक र अवैधानिक सङ्घर्षमा तालमेल

कोरोनापछि विद्रोही नेकपाले तत्काल गर्नुपर्ने तेस्रो काम हो– वैधानिक तथा अवैधानिक सङ्घर्षको उचित तालमेल मिलाउनु । माओले भन्नुभएको छ– सत्ता बन्दुकको नालबाट निस्कन्छ । बन्दुकको आडमा टिकेको सत्तालाई बन्दुकले नै ध्वस्त पार्ने सैद्धान्तिक मान्यता हो । फासिवादी सत्ताले नै लेखक–साहित्यकारलाई समेत भयानक मिसाइल देखिरहेको यतिबेला नारा र जुलुसको भरमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना होला जस्तो लाग्दैन । बन्दुक साधन हो, यसलाई विचार–राजनीतिले निर्देशन र नियन्त्रण गरिरहेको हुन्छ, यद्यपि बन्दुकको कुरा युद्धको वस्तुगत अवस्थाले पनि निर्धारण गर्दछ । साथै, ओली सरकारले प्रतिबन्ध लगाएपछि पार्टीभन्दा पहिला जवस–मोर्चा भूमिगत हुनु र नेताहरूको भागदौड मच्चिनुमा यही वैधानिक र अवैधानिक सङ्घर्षको तालमेल नमिल्नुको परिणाम थियो । नेपालमा यतिबेला वैधानिक सङ्घर्षका अनेकौँ विस्तारित आयाम छन् । नेपालमा फासिवादी ओली सरकारले वैधानिक सङ्घर्षको आधारलाई निकै उर्बर बनाइदिएको छ । ती सबैलाई वैधानिक सङ्घर्षको एकीकृत मोर्चामा बदलिदिनुपर्छ । आन्दोलनमा स–साना घटनाबाट आतङ्कित भइहाल्ने र अलिकति सहज अवस्थामा हौसिइहाल्ने कुरा घातक हुन्छ । वैधानिक सङ्घर्ष अवैधानिक सङ्घर्षमा जोडिने राजनीतिक संयन्त्रको विकास गरिनुपर्छ । यसलाई होराइजेन्टल र भर्टिकल दुवै शृङ्खलामा बढाउनुपर्दछ । यो तरिकाबाट सङ्घर्ष अघि बढाउँदा आधारभूत रूपमा प्रायः सबै आन्दोलनकारी शक्ति समेटिनेछन् ।

४. अन्तर्राष्ट्रिय सहयोग र समर्थनमा व्यापकता

कोरोनापछि विद्रोही नेकपाले तत्काल गर्नुपर्ने चौथो काम हो– अन्तर्राष्ट्रिय जगत सहयोग र व्यापक समर्थन लिनु । आजको भूमण्डलीकरणको युगमा सूचना–सञ्चार र प्रविधिको उच्चतम विकासले सिङ्गाे विश्व नै एउटा गाउँमा बदलिएको छ । यस्तो बेला हामीलाई अन्तर्राष्ट्रिय सहयोग र समर्थनको ठूलो आवश्यकता हुन्छ । हाम्रा दुई ठुला छिमेकी देश चीन र भारत रहेका छन् । यसलाई अलि बढी मिहिनेत गर्नुपर्दछ । कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन पनि भएकोले हामीले यसमा अन्तर्राष्ट्रिय कडी जोड्नैपर्दछ । समाजवादी क्रान्ति सम्पन्न भएका कैयौँ देशका इतिहासको अध्ययन ग¥यौँ भने पनि हामी अन्तर्राष्ट्रिय जगत्को सहयोग र समर्थनको महत्व बुझ्न सक्तछौँ । नेपालमा हुने जनसङ्घर्षको समर्थनमा चीन, रुस, उत्तर कोरिया, क्युबा आदि देशहरू तुरुन्त बोल्ने स्थिति बनाउनुपर्दछ । नेपालको जनसङ्घर्षको समर्थनमा ती देशका सडकमा विशाल जुलुस हुने वातावरण बनाउनुपर्दछ । अन्तर्राष्ट्रिय भाइचारालाइ्र्र एकढिक्का बनाउँदा नेपाली क्रान्ति मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलन पनि लाभान्वित हुन पुग्दछ । कुनै पनि देशको कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक टुकडी हो भन्ने कुरालाई हामीले भुल्नुहुँदैन ।

५. वैज्ञानिक समाजवादी व्यवस्थाबारे सुस्पष्ट व्याख्या

कोरोनापछि विद्रोही नेकपाले तत्काल गर्नुपर्ने पाँचौँ काम हो– वैज्ञानिक समाजवादी व्यवस्थाबारे स्पष्ट व्याख्या गर्नु । समकालीन जनताको मनोविज्ञान मुखले भन्दैमा मानिहाल्ने पक्षमा देखिँदैनन् । उनीहरूले हरेक कुराको वैज्ञानिक आधार खोज्न थालेका छन्, विश्वासिलो आधार खोज्न थालेका छन् । समकालीन विश्वका मूल चरित्र समाजवाद नै हो भन्ने कुरामा कुनै शङ्का भएन । तर पनि, कस्तो समाजवाद भन्ने कुरामा चाहिँ बहसमा छ । आजको साम्राज्यवाद समाजवादी मुटुको भरमा बाँचिरहेको छ, त्यो झिक्नेवित्तिकै साम्राज्यवाद मरिहाल्ने अवस्था छ । कोरोनासितको लडाइँमा साम्राज्यवादीहरूका तुलनामा ‘समाजवादी’ देशहरू तुलनात्मक रूपमा सफल भएको पनि देखिएको छ । फेरि, हामी कम्युनिस्टहरूले भन्ने गरेको नै यही वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद प्राप्त भएको भोलिपल्ट मजदुरले के पाउने, किसानले के पाउने, शिक्षा कस्तो हुने ? विद्यार्थीले के र कस्तो पुस्तक पढ्ने, देशको समग्र अवस्था कस्तो हुने ? नेता, कार्यता र जनताको आर्थिक नीति कस्तो हुने, सामाजिक तथा सांस्कृतिक मूल्यहरू कस्तो हुने ? पुराना संस्कृति के हुने ? नयाँ कसरी स्थापित गर्ने ? धर्म–चाडपर्व के हुने, लेखक–साहित्यकारहरूले के पाउने आदि कुराबारे सुपष्ट व्याख्या हुनुपर्दछ । वैज्ञानिक समाजवादी व्यवस्थाको स्पष्ट चित्र नेताको दिमागमा मात्र होइन, जनताका मन–मस्तिष्कमा हुनुपर्दछ । त्यसलाई जनताका बिचमा श्वेतपत्र जारी गर्नुपर्दछ । त्यसलाई ठुला ठुला पोस्टर बनाएर देशभर टाँसिनुपर्दछ, चिनियाँ सांस्कृतिक क्रान्तिकालमा ठुला ठुला पोस्टर टाँसेझैँ ।

अन्तमा, कोरोना भाइरस ‘कोभिड १९’ ले विश्व–मानवतावादलाई मुखरित गरिदिएको कुरामा कुनै शङ्का छैन । अध्यक्ष माओ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका बिचमा विश्व–मानवताका पक्षमा उभिन भएको सहमति यतिखेर अध्ययन गर्न लायक विषय बनेको छ । कोरोनापछि विश्वभर चीनको प्रभाव बढ्ने विश्लेषण हुँदै गर्दा आजसम्म अमेरिकाबारे गरिँदै आएको राजनीतिक विश्लेषणमा पनि बदलाव आउन पनि सक्नेछ । आजको भूमण्डलीकृत राजनीतिक तथा सांस्कृतिक साम्राज्यवादको स्थानान्तरण पनि हुन सक्नेछ । विश्वभर जन्मने नयाँ राष्ट्रवादका कारण अनेक समस्या पैदा हुने आशङ्का पनि गरिँदै छ । विश्वस्तरमा कोरोनापछि पुराना मान्यता हट्ने बहस भइरहँदा नेपालको सामाजिक जीवन र मौलिक सभ्यताप्रति जिज्ञासा बढ्न थालेका छन् । समग्र विश्व–व्यवस्था नै सिफ्ट हुने सम्भावनाबारे पनि चन्तकहरू घोत्लिन थालेका छन् । कोरोनापछि आर्थिक क्षति, सामाजिक विषमता र जनताको चरम सङ्कट सतहमा आउँदै छ । कोरोनाले फाईभजी, अमेरिकी र चिनियाँ सेना एवम् यहुदीसम्मलाई बहसमा उतारेकै छ । इतिहासमा महामारीले धार्मिक प्रचार, धर्मप्रति अनास्था, विशाल मजदुर आन्दोलन, नयाँ नायकहरू, नयाँ व्यवस्थालाई जन्म दिएको कुुरा पढ्न पाइन्छ । कोरोनाले विश्वको शक्ति सन्तुलनमा नयाँ आधारको खोजी गरेकै छ । कोरोनाले अधिकारको मात्र बोध गराएको छैन, कर्तव्य पनि सिकाएको छ । यसले समानता, न्याय र अधिकारबारे थप झकझाएको छ । यसले अत्याधुनिक प्रविधिको एकलौटी उपयोगलाई अलग–थलग बनाइदिएको छ । यतिबेला नेपालको फासिवादी दलाल सत्ता घिटघिटी अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाल गम्भीर मोडमा पुगेको छ । क्रान्तिका लागि राष्ट्रिय एवमु अन्तर्राष्ट्रिय अवस्था अनुकूल बन्दै गएको छ । यो अनुकूलतालाई क्रान्तिकारीहरूले अधिकतम उपयोग गर्नुपर्दछ । नेपालमा एकीकृत जनक्रान्तिको सफलता सन्निकट उभिएको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको राप, ताप र प्रकाश देखा पर्न थालिसकेको छ । त्यसैले आउनुहोस्, एकपटक समवेत स्वरमा भनौँ– वैज्ञानिक समाजवाद जिन्दावाद !

१४ वैशाख, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :