कोरोना गीत

हे कोरोना किन आइस् थप्दै महामारी
कष्ट, कहर, पीडा दिइस्, दिइस् दुःख भारी ।

सहर बसौँ छैन काम, बन्द भयो माम
घरधनीले बस्न देन, छैन सुको–दाम ।


किन बसूँ धेरै टाढा घरपरिवारबाट
सँगै बस्छु, सँगै मर्छु छोड्दिनँ नि साथ ।

आँधीले नि भेट्यो आमा, हुरीले नि भेट्यो
मेघ–गर्जनसँगै आको असिनाले चुट्यो ।


कोरोनाले पिट्यो आमा, सरकारले नि लुट्यो
घर आउन बाटो लाग्दा पुलिसले नि चुट्यो ।

भोक लाग्यो, खुट्टा गले थाकेँ–गलेँ आमा
साता दिन कटिसक्यो पेट्मा छैन माम ।


घरमा पुन्टी रुँदै होली, काली खोज्दै होली
मर्नै परे सँगै मरौँ भन्दै रुँदै होली ।

आजसम्म धिक्कार्दथेँ पुर्पुरो हो दोषी
पुर्पुरोले होइन रैछ, शासन रैछ दोषी ।


घर आइपुगेँ भने बस्छु अब साथमै
हाम्लाई सास्ती कटाउनेलाई छोड्दिनँ म साँच्चै ।

कोरोना त आउला–जाला केही दुःख देला
सधैँ दुःख थोपर्नेलाई कसले बचाइदेला !


भोट माग्ने नेता–मन्त्री, साहूजत्ति सबलाई
घेर्छौं, ठोक्छौँ, सेक्छौँ आमा बाँच्न दिन्नौँ तिनलाई ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :