कोरोना सङ्कटले पनि नयाँ विश्व–व्यवस्थाको माग गरेको छ : सुदर्शन

जेलमा मनाइयो पार्टी स्थापना दिवस र लेनिनजयन्ती

काठमाडौँ : आस्थाका बन्दीहरूले जेलभित्रै नेकपाको स्थापना दिवस र लेनिन जयन्ती मनाएका छन् । ललितपुर नख्खु कारागारमा रहेका राजनीतिक बन्दीहरूले पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती मनाएका हुन् ।

केही ढिला गरी प्राप्त समाचारअनुसार कारागारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद भएकाले नयाँ विकल्प आवश्यक रहेको बताए । ‘लेनिनलाई सम्झनु भनेको ठोस वस्तुको ठोस विश्लेषणका आधारमा नयाँ क्रान्ति गर्नु हो’, उनले भने ।

लेनिनका बारेमा संश्लेषण गर्दै सुदर्शनले भने, ‘लेनिनले आफ्नो समयमा पुँजीवाद साम्राज्यवादमा विकास भएको विश्लेषण गरेर क्रान्ति गुर्नभएको थियो । हामीले साम्राज्यवाद अति केन्द्रीकृत र अति एकाधिकारवादी भएकाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशासहितको नयाँ क्रान्ति आवश्यक भएको बताएका छौँ ।’

नेकपाका नेता सुदर्शनले विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिरहेको कोरोना भाइरस र राजनीतिक व्यवस्थाका बारेमा बारेमा सामञ्जस्य रहेको चर्चा गर्दै भने, ‘मूलतः नयाँनयाँ भाइरसहरू उत्पन्न हुनुको कारण पुँजीवादी व्यवस्थाले वातावरण र प्रकृतिमाथि गरेको विनाश हो । यसले प्रकृतिमा खलल पु¥याउँछ र मानिसमा त्यसको असर पर्दछ । मानिसहरूको रोग प्रतिरोधात्मक क्षमतामा फरक असर र परिवर्तन गर्ने कारणले स्वास्थ्य सङ्कट उत्पन्न हुने गर्दछ ।’

उनले अगाडि भने, ‘कोरोना सङ्कटले पनि नयाँ विश्व व्यवस्थाको माग गरेको छ । यस्ता सङ्कटहरू बेलाबेलामा आउने गरेकाले यस्ता सङ्कटहरूको समाधान कसरी गर्ने भन्ने विषयमा नयाँ परिस्थितिको विश्लेषणको आवश्यकता पर्दछ । पुँजीवादी एकाधिकारको अन्त्य गर्न विश्वमा वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने महसुस गराएको छ ।’

सूर्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उमेश खत्रीले गरेका थिए भने टीकाप्रसाद तिमिल्सिनाले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :