जनयुद्ध दिवसको रौनक

नेपाल कम्युनिस्ट पार्टीले देशभित्र र बाहिर, जेल, हिरासत र खुला रूपमा २५ औँ जनयुद्ध दिवस मनाएर देशलाई नै जनयुद्ध दिवसमय बनाइदिएको छ । जनयुद्ध दिवसले अरू धेरै कुराको सङ्केत त गरेकै छ तर एउटा कुरा भने देखिने गरी, बुझिने गरी र गहिराइसम्म अनुभूति हुने गरी प्रस्ट्याइदिएको छ, त्यो हो अब जनयुद्धको प्रक्रियाबाट आएका कम्युनिस्ट नाम गरेका पार्टीहरूमध्ये जनयुद्धको मूल नेतृत्व अर्थात् जनयुद्धलाई बीचैमा धोका दिएर एमालेमा लम्पसार पर्न पुगेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले जनयुद्धलाई बिर्सिएको मात्र छैन, घोर अपमान गरेको छ र जनयुद्धको मूल भाव, गति र स्पिरिटलाई विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले नै समातेको प्रमाणित गरेको छ ।

नेपाली श्रमिक–सर्वहारा वर्गले गौरव गर्नुपर्ने गरी नेकपाका महासचिव विप्लवले जनमुक्ति सेनाको परेड हेर्दै र सलामी लिँदै २५ औँ जनयुद्ध मनाएको समाचारले श्रमिक जनता र क्रान्तिमा अविराम लामबद्ध भित्री जेल र खुला जेलमा रहेका सबै क्रान्तिकारीहरूलाई खुसी मात्र होइन, गौरवान्वित नै बनाएको छ । अझ पार्टी हेडक्वार्टरमा आयोजित २५ औँ जनयुद्ध दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले सहिदका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनयुद्धका अधुरा सपना पूरा गर्ने अर्थात् नेपालमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाज निर्माण तीव्र गतिले अघि बढेकोमा विश्वस्त बनाएका छन् ।

जनयुद्धकै प्रक्रियाबाट आएका केही पात्रहरूको सहयोगमा पूर्वएमालेसहितको सरकारका प्रधानमन्त्री केपी शर्मा वलीले जनयुद्ध दिवसका दिन सरकारी पार्टीले आयोजना गरेका सबै कार्यक्रम बहिष्कार गर्नु, प्रचण्ड समूहले जनयुद्ध दिवसको नाउँ लिन नसकेर जनआन्दोलनका सहिदहरूको स्मृति भन्दै कार्यक्रम आयोजना गर्नुले प्रचण्डहरूले जनता, सहिद र बेपत्ता परिवार तथा घाइते–अपाङ्ग योद्धाहरूलाई झुक्याउँदै आएको अन्तिम अस्त्र पनि समाप्त भएको छ । महान् जनयुद्धप्रति पश्चाताप गर्ने शैलीमा केही दिनअघि प्रचण्डले एउटा खुला कार्यक्रममा भनेका थिए, म त्यतिबेला मारिएका पाँच हजारजनाको मात्र जिम्मा लिन्छु, अरूको लिन सक्तिनँ । यसको अर्थ उनी क्रमैसँग जनयुद्धको ‘धङधङी’ बाटसमेत भागिरहेका छन् र पश्चाताप गर्ने एउटा खास बिन्दु कुरेर बसेका छन् तर यता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भने सानदार रूपमा आफू अर्थात् आफ्नो पार्टीलाई जनयुद्धको उत्तराधिकारी घोषणा गर्दै जनमुक्ति सेनाको परेड र सलामीका बीच गर्वसाथ जनयुद्ध दिवस मनाएका छन् । यसको स्पष्ट सन्देश हो– अब नेपालमा जनयुद्धको विरासत र जनयुद्धका बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने जिम्मा नेकपाले लिइसकेको छ र ऊ त्यसै दिशामा तीव्रतामा अघि बढिरहेको छ ।

जनयुद्ध दिवस उल्लासमय शैलीमा मनाइएको छ । वली–प्रचण्ड–रामबहादुरहरूले नेकपालाई प्रतिबन्ध लगाएका छन् तर उनीहरूले नै थुनामा राखेका आस्थाका बन्दीहरूले जेलभित्रै र हिरासतभित्रै जनयुद्ध दिवस मनाएका छन् । प्रतिबन्धलाई तिरस्कार गर्दै नेकपाले मुलुकका सयौँ ठाउँमा भव्यतासाथ जनयुद्ध दिवस मनाएको छ । देशबाहिर पनि उल्लासका साथ जनयुद्ध दिवस मनाइएको छ । प्रचण्ड समूह अब जनयुद्धका सबै प्रक्रियाबाट बाहिरिएको छ भने नेकपाले जनयुद्धका सबै बाँकी काम पूरा गर्ने प्रतिबद्धतासाथ असली उत्तराधिकारीका रूपमा आत्मसाथ गरेको छ ।

केपी वली र प्रचण्डहरूले जनयुद्धलाई तिरस्कार मात्र गरेका छैनन्, जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता बोकेर राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, व्यभिचारको अन्त्य, समानतामूलक वैज्ञानिक समाजवादी समाज निर्माणको लक्ष्य बोकेर क्रान्तिमा लामबद्ध भएका र सही रूपमा जनयुद्ध दिवस मनाउँदै गरेका नेकपाका नेता–कार्यकर्तालाई ठाउँठाउँबाटै गिरफ्तार गरेर हिरासतमा पुर्याएका छन् । सरकारको यो रबैयाले पञ्चायती कालरात्री र शाहीकालीन बर्बरतालाई सम्झाएको छ । जनयुद्धको प्रक्रियाबाट आएका र जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्ने स्थानबाट क्रान्तिकारीहरूलाई गिरफ्तार गर्नु र हिरासतमा पुर्याउनु भनेको फासिवादको ज्वलन्त नमुना हो । नेकपाका नेता र कार्यकर्ताले जनयुद्ध दिवस मनाउँदै गर्दा अमेरिकी परियोजना एमसीसीको विरोधमा बोल्लान्, भारतीय साम्राज्यवादले कब्जा गरेका कालापानी, लिपुलेक, लिम्पियाधुराका मुद्दा उठाउनलान् र एकीकृत जनक्रान्तिको माध्यमबाट देश र जनतालाई मुक्त पार्ने सपना बाँड्लान् भनेर तर्सिएको सरकारले क्रान्तिकारीहरूलाई गिरफ्तार गरेर मात्र चित्त बुझाएन, पर्चा र पोस्टरसमेत जफत गर्यो । सरकारको योभन्दा बढी नालायकी र बर्बरता अरू के हुन्छ ? सरकारले जनयुद्ध दिवस मनाउँदै गरेका क्रान्तिकारीहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जनयुद्ध शब्द उच्चारण गर्न र सहिदको नाउँ लिन पाइँदैन भन्ने खराब सन्देश प्रवाह गरेको छ र आफूहरूले समाप्त पार्न लागेर पनि नसकेको जनयुद्धको इतिहास मेट्ने षड्यन्त्र गरेको छ । यो घोर निन्दनीय छ ।

जनयुद्ध दिवस अब फेरि एउटा आन्दोलनको झोक्का भएर खडा भएको छ । यसले एकीकृत जनक्रान्तिलाई ठूलो टेवा दिएको छ । क्रान्तिकारीहरूमा क्रान्तिकारी आशावादको ऊर्जा थपिएको छ भने प्रतिक्रान्तिकारीहरू र भगौडाहरूलाई यो एउटा ‘तर्साउने भूत’ बनेर अगाडि आएको छ । एकातिर जनयुद्ध दिवसमा शुभकामना आदानप्रदान, अबिर साटासाट, मिठाइ र चकलेट वितरण गरी जनयुद्धकालीन बिदाइ र मिलनका दिनहरूको सम्झना गराउँदै मनाइएको छ भने अर्कातिर जनयुद्धलाई तथानाम गाली गर्दै, उपहास गर्दै र कार्यक्रम नै बहिष्कार गरी क्रान्तिकारीहरूलाई थुनेर मनाइएको छ । यसरी २५ औँ जनयुद्ध दिवसले श्रमिक नेपाली जनतामा नयाँ रौनक, नयाँ उमङ्ग, नयाँ खुसी र नयाँ लहर ल्याएको छ भने सरकारी पार्टीहरूमा घृणा, वितृष्णा र दिक्दारी ल्याइदिएको छ । यसपटकको जनयुद्ध दिवसका दुई पृथक विशेषता यिनै भएका छन् । आउँदै गरेको सहिद सप्ताहले पनि यस्तै प्रकारका सन्देश प्रवाह गर्नेमा द्विविधा राख्नुपर्ने ठाउँ छैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :