नेपाली क्रान्तिका आधारहरू


१. क्रान्ति सफल हुन्छ र गर्नुपर्छ । क्रान्ति अनिवार्य छ तर निरन्तर लाग्नुपर्छ । क्रान्ति सुनिश्चित छ तर दृढ हुनुपर्छ । क्रान्ति गर्न सकिन्छ तर आँट गर्नुपर्छ । क्रान्ति जितिन्छ तर साहसपूर्वक लड्नुपर्छ ।

२. क्रान्ति सम्भव छ र यसका आधारहरू छन् । यसका प्रमुख आधारहरू हुन्– पहिलो क्रान्तिकारी पार्टी, जनताको आफ्नै सेना, जनताको समर्थन, संयुक्त मोर्चा (राष्ट्रिय र अन्तर्राष्ट्रिय मोर्चा ।

३. हामीसँग जनता छन् । जनतासँग क्रान्तिकारी पार्टी छ । पार्टीसँग क्रान्तिकारी कार्यदिशा छ । वैज्ञानिक विचार छ । युवा दस्ता (जनसेना) छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र क्रान्तिकारी पार्टी, देशभक्त, वामपन्थी र कम्युनिस्टहरूको समर्थन छ ।

४. हामी संसद्वादमा फसेनौँ, पद–पैसा–प्रलोभनमा फसेनौँ । साम्राज्यवाद, प्रतिक्रियावाद, दलाल पुँजीवादका सामु झुकेनौँ । साम्राज्यवादसामु आत्मसमर्पण गरेनौँ । संशोधनवाद–विचलनवाद–विसर्जनवाद– आत्मसमर्पणवादको भुलभुलैयामा पनि परेनौँ । साम्राज्यवाद– दलाल पुँजीवाद–सामाजिक दलाल पुँजीवादका दमन र प्रतिबन्धसामु झुकेनौँ र विचलित भएनौँ । बरु तिनीहरूका विरुद्ध दृढतापूर्वक लडिरह्यौँ । जेल–नेल, झूट्टा मुद्दा, डरधम्कीका सामु डगमगाएनौँ, बरु जनतालाई निरन्तर क्रान्तिको मार्गदर्शन गरिरह्यौँ, सत्य कुरा भनिरह्यौँ ।

५. हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा र वैदेशिक हस्तक्षेपको विरोधमा, राष्ट्रघातको विरोधमा, महँगी र भ्रष्टाचारको विरोधमा, कालोबजारी–कमिसन–तस्कर– बलात्कार–व्यभिचार–मानव तस्कर, सामाजिक विकृति र विसङ्गति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको माफियाकरण र व्यापारीकरण, भूमाफिया तथा जग्गा दलालहरूबाट जनतामा भैरहेको लुट तथा सरकारी तवरबाट भैरहेको संस्थागत भ्रष्टाचारका विरुद्ध निरन्तर सङ्घर्षरत छौँ ।

६. हाम्रो आन्दोलन र सङ्घर्षलाई देशभक्त, वामपन्थी, मध्यम वर्गीय बुद्धिजीवी, वकिल, पत्रकार, मानवअधिकारकर्मीहरूबाट भैरहेको समर्थन र सहयोग, विभिन्न पेसा, व्यवसाय र उद्योगी, व्यापारी, मजदुर, किसान, सुकुमबासी, युवा, महिला, दलित, विभिन्न उत्पीडित जाति र समुदायबाट भैरहेको स्वेच्छिक र अपार सहयोग–समर्थन, देशविदेशमा विभिन्न पेसा–व्यवसायमा रहेर काम गरिरहेका नेपाली युवा तथा श्रमिक–मजदुरहरूको सहयोग र समर्थन, अन्तर्राष्ट्रिय भाइचारा पार्टी र सर्वहारा वर्गको नैतिक र वैचारिक समर्थन प्राप्त छ ।

७. हामी ३० वर्षको पञ्चायती व्यवस्थाका विरुद्ध लड्यौँ, राजा र साम्राज्यवादी संयन्त्र संसद्वादको गठजोडमा बनेको राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्ध पनि लड्यौँ र १० वर्षको भीषण आँधीमय जनयुद्धको पनि नेतृत्व गर्यौँ, लड्यौँ खैर त्यो प्रचण्डजस्तो घोर दलाल, आत्मसमर्पणवादी नेतालाई बेलैमा चिन्न नसक्दा बीचमा धोखा खान पुग्यौँ । आज हामी यिनै अनुभवहरूको जगमा हिजो त्यही प्रचण्डहरूले नै प्रतिक्रियावादी भनेर किटान गरेको एमालेको नेतृत्वमा साम्राज्यवादी डिजाइनमा नेपालमा कथित कम्युनिस्टहरू (सामाजिक दलाल पुँजीवाद) सत्तासीन छ । तिनीहरूले साम्राज्यवादी डिजाइनमा कम्युनिस्टहरू सिध्याउने र बदनाम गराउने गरी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै दमन र हिंसा अभियान सञ्चालन गरेका छन् । यसका विरुद्ध पनि हामी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाको मार्गदर्शनमा निरन्तर सङ्घर्षत छौँ ।

८. हामीसँग माक्र्सवादी–लेनिनवादी–माओवादी विचार छ, माक्र्सवादी दर्शन छ, यसलाई कुशलतापूर्वक लागू गर्ने नेतृत्व छ, नेतृत्वको टिम छ । यसको जगमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी शिक्षा छ । दस वर्षको जनयुद्धका सफल र असफल शिक्षा तथा अनुभवहरू छन् । नेपालको इतिहास, नेपाल र नेपाली समाज तथा नेपाली जनताका सकारात्मक र नकारात्मक शिक्षाहरू छन् । आफ्नै जीवनका महान् सफलता र महान् धोकाधडी (गद्दारी) का पनि तीता–मीठा अनुभव– अनुभूतिहरू छन् ।

९. हामीसँग खासगरी तत्कालिक प्रचण्ड र किरणहरूबाट सम्बन्धविच्छेद गरिसकेपछि २०७१ प्ुसमा दाङमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन र २०७३ फागुनमा रोल्पाको थबाङमा सम्पन्न आठौँ महाधिवेशनबाट संश्लेषण गरिएको नयाँ सैद्धान्तिक र वैचारिक संश्लेषण तथा प्रस्थापनाहरू छन् । यी विश्व–कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, अहिलेको विश्व साम्राज्यवाद, अहिलेसम्मका कम्युनिस्ट नेतृत्वहरूको सफलता र असफलता, विचलन र आत्मसमर्पण, पार्टीभित्र वर्गउत्थान र वर्गविचलन आदिका गम्भीर समीक्षाका निचोडहरूद्वारा निकालिएका निष्कर्षहरू हुन् ।

१०. उपरोक्त क्रान्तिका महत्वपूर्ण आधारहरूको जगमा उभिएर गरिएको सर्वहारावर्गको मुक्ति, नेपाल र नेपाली जनताको मुक्तिका लागि गरिएका प्रतिबद्धताहरू छन् । यद्यपि कमरेड माओले भन्नुभएझैँ क्रान्ति भोजभतेर होइन । यो दालभात खाएजस्तै हुँदैन । यो त बाङ्गोटिङ्गो नागबेली बाटो हुँदै हजारौँ हन्डरठक्करहरूका बीचबाट गुज्रन्छ । यस क्रममा कतिपय सहिद हुन्छन् । कतिपय भाग्छन्, कतिपय घुँडा टेक्छन् र आत्मसमर्पण गर्छन् तर वीर क्रान्तिकारीहरू सामना गर्छन् । हो क्रान्तिको बाटो नै यस्तै हुन्छ । कायरहरू भाग्छन्, अवसरवादी दलालहरू आत्मसमर्पण गर्छन्, वीरहरू सामना गर्छन् । यो नियम सबैमा लागू हुन्छ । यो दस वर्षको जनयुद्ध यसको प्रत्यक्ष प्रमाण हो र पछिल्लो चरणमा एकीकृत जनक्रान्तिलाई नेपाली धर्तीमा कार्यान्वयन गर्ने क्रममा पनि प्रचण्डका बचेखुचेका अवशेषहरू कायर भएर क्रान्तिबाट भागेका छन् र साम्राज्यवादसामु आत्मसमर्पण गर्न पुगेका छन् । यो क्रान्तिमा निरन्तर दोहोरिइरहने प्रक्रिया हो । क्रान्ति निरन्तर अगाडि बढिरहन्छ । अवसरवादीहरू भागिरहन्छन् र आत्मसमर्पण गर्दै जान्छन् तर क्रान्तिकारीहरू यसको सामना गर्दै क्रान्तिलाई अन्तिम गन्तव्यसम्म पुर्याइछाड्छन् । यो क्रान्तिको प्रक्रिया हो ।

यी नेपाली क्रान्तिको सुनिश्चितताका आधारहरू हुन् । यसैको आधार र जगमा नेपालमा क्रान्ति हुन्छ । हामीलाई जनताको एउटै सुझाव र प्रश्न छ– तपाईंहरूले पनि प्रचण्डले जस्तै धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ ? हामी यसको जबाफ शब्द र वचनले भन्दा व्यवहारले दिनेछौँ । फेरि पनि माथि भनिएका १० आधारहरू नै धोका दिँदैनाैँ भन्ने विश्वास दिलाउने हाम्रा प्रारम्भिक आधार हुन् । सम्पूर्ण चीजको निचोडमा हामी एउटै वाक्यमा के भन्न सक्छौँ भने ‘हामी जनताको मुक्ति र नेपाली क्रान्तिका लागि बलिदान दिन तयार छौँ ।’ किनकि मान्छेको सबभन्दा प्यारो चीज ज्यान हो । ज्यान जोगाउन मान्छे दुस्मनको अगाडि झुक्छ, आत्मसमर्पण गर्छ, दलाली गर्छ, सबथोक गर्छ । प्रचण्डहरूले धोका दिनुको पछाडि एउटै कारण छ, त्यो हो ‘डर’ । डरको अर्थ हो बलिदान दिन डराउनु, कायरता । अनि छाला जोगाउन दुस्मनसामु आत्मसमर्पण गर्नु । हामी त्यो चुनौती मोलेर वा जीवनलाई देश र जनताका लागि बाजी (धरौटी) राखेर फेरि क्रान्तिमा हामफालेका छौँ । यसका लागि प्रचण्डहरू जनतालाई ढाँट्छन् र छलकपटीको राजनीति गर्छन्, हामी ढाँट्दैनौँ, सत्य बोल्छौँ, जे छ त्यो जस्ताको तस्तै जनतालाई भन्छौँ । प्रचण्डहरू र हामीमा फरक यति छ । योभन्दा अरू के ग्यारेन्टी दिन सकिन्छ र अहिले ? फेरि पनि हामी भन्न्छौँ– तपाईं साथ मात्र दिनुस्, हामी ज्यान (रगत) दिन तयार छौँ र क्रान्तिलाई पूरा गरिछाड्छौँ । यो हाम्रो निःसर्त सङ्कल्प हो ।

क्रान्ति हुन्छ तर आफैँ हुँदैन, गर्नुपर्छ । क्रान्ति गर्नुपर्छ तर कसले गर्ने ? अर्काले गरिदेला भनेर अर्काको मात्र आशा गर्नु र भर पर्नु क्रान्तिलाई पछि धकेल्नु हुन्छ, त्यसैले क्रान्ति आफैँबाट सुरु गर्नुपर्छ । हो आफैँबाट सुरु गर्नुपर्छ र एकजनाले मात्र होइन, दुईजनाले मात्र होइन, सबैसबै मिलेर किनकि क्रान्ति एकदुईजनाले मात्र गरिने चीज होइन, जनताले गर्ने कुरा हो । हो सबैसबैले आँटेर गर्नुपर्छ । लुरेतुरे ढङ्गले होइन, दृढ विश्वास र क्रान्तिकारी आँटले गर्नुपर्छ । एकले अर्कालाई विश्वास र सहयोग, सहकार्यबाट, सामूहिक प्रयास, सामूहिक टिमस्पिरिटबाट मात्र सम्पन्न गर्न सकिन्छ । क्रान्ति जादुजस्तै हुँदैन तर क्रान्ति निरन्तरता र आकस्मिकताका बीचबाट जन्मने प्रक्रिया हो । सबै आकस्मिकताहरू क्रान्ति हुँदैनन् । कतिपय आकस्मिकताहरू प्रतिक्रान्तिमा पनि देखा पर्दछन् । दस वर्षको जनयुद्ध नेपालको इतिहासको एउटा आकस्मिकता अवश्य थियो । यो नेपाली जनताले २००७ साल पहिलेदेखि राणाशासन र पञ्चायतकाल हुँदै निरन्तरतामा हुँदै आएका विभिन्न सङ्घर्ष र आन्दोलनका शृङ्खलामा देखापरेको, क्रान्तिहरूको निरन्तरतामा देखापरेको, आकस्मिकता वा क्रमभङ्ग थियो । यो क्रान्ति नै थियो तर यही क्रान्तिले पूर्णता प्राप्त नगर्दै नेतृत्वको चलाखीपूर्ण निरन्तरतामा यो जनयुद्ध शान्तिप्रक्रिया हुँदै प्रतिक्रान्तिको परिणाममा देखापर्यो । यो अर्को आकस्मिकता हो । आकस्मिकताले एकपटक जनको दिमाग सकारात्मक वा नकारात्मक रूपमा रन्थन्याइदिन्छ । भएको यति हो र यसबाट निस्केको प्रश्न हो– के ग्यारेन्टी ? भन्ने प्रश्न । के ग्यारेन्टीको जबाफ पनि आकस्मिकतामै हुन्छ । यो भोलि निकट वा सुदूर भविष्यमा कुनै एउटा घटनाविशेषले उथलपुथल बनाइदिन्छ र उलटपालट बनाइदिन्छ ।

हामी भन्छौँ वा म भन्छु– क्रान्ति सम्भव छ किनभने यसका आधारहरू छन् । कमरेड माओ भन्नुहुन्छ, ‘ जाँचपड्तान नगरी बोल्न कसैलाई अधिकार छैन ।’ यो कुरा सत्य हो तर हामीसँग क्रान्तिको सफलता र विजयका आधारहरू छन् । क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी संयुक्त मोर्चा क्रान्तिका तीन जादुगरी हतियार हुन् । यससँग जनताको समर्थन अर्को अनिवार्य सर्त हो । लेनिनले विद्रोहका लागि ४ सर्तहरू अघि सार्नुभएको छ– एक सशक्त क्रान्तिकारी पार्टीको उपस्थिति, जनता सत्ताप्रति चरम असनतुष्ट हुनुका साथै जतिखेर पनि सडकमा उत्रिन तयार हुनु, सत्ताधारी दलहरूका बीचमा तीव्र अन्तरविरोध र राज्यसत्तामा चरम सङ्कट आएको हुनुपर्छ । नेपालजस्तो देशमा क. माओले भन्नुभएजस्तै यसमा जनताको क्रान्तिकारी सेना हुन जरुरी छ ।

के यी माथिका सर्तहरू नेपालमा विद्यमान छन् ? जुनसुकै रूपमा होस् नेपाली जनताको माझमा एउटा क्रान्तिकारी पार्टी उपस्थित छ । २० हजार जनसेनालाई प्रचण्डले साम्राज्यवादका सामु भेटी चढाए । त्यही जनमुक्ति सेनाको चिहानबाट अर्को जनसेना जन्मेको छ । जनता यो राज्यसत्तासँग चरम असन्तुष्ट छन् भलै आजै सडकमा उत्रन तयार नहोलान् तर एक दिन जनता सडकमा उत्रिने वातावरण बन्छ । राज्यसत्ता सङ्कटमा छ र तिनीहरूका बीचमा अन्तरविरोध पनि तीव्र छ । यी कुराहरूले पनि क्रान्तिको सम्भावनालाई नजिक्याएको छ । यो पनि नेपाली क्रान्तिको सुनिश्चितताको एउटा आधार हो ।

यी कुराहरूलाई ध्यान दिँदै प्रचण्ड–बाबुरामहरूले जनमुक्ति सेना विघटन गरिसकेपछि हामीले त्यसको विरोध मात्र होइन, विद्रोह नै ग¥यौँ । जनमुक्ति सेनाको आवश्यकता र अनिवार्यतामा जोड दियौँ । नेपालमा फेरि एउटा क्रान्तिको आवश्यकता भएको कुरा अगाडि सार्यौँ जसको आधारमा हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गर्यौँ । सबै राजनीतिक दलहरू संसदीय निर्वाचनमा फोहोरको झिँगा भन्केझैँ झुम्मिए । कमिलाहरू गुलियोमा परेझैँ दलाल पुँजीवादले अगाडि सारेको संसदीय आहालमा डुब्न पुगे । त्यस बेला पनि मात्र हाम्रो पार्टी, हाम्रो पार्टीका नेताहरू र हाम्रो पार्टीका कार्यकर्ताहरूको नेतृत्वमा नेपालमा वैकल्पिक शक्तिका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई उभ्याउन सफल भयौँ । आज हामीसँग एक सशक्त र क्रान्तिकारी पार्टी छ । हाम्रो पार्टीसँग फेरि जनमुक्ति सेना सङ्गठित भएको छ । यसको समर्थनमा जनता आशावादी भएर उभिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हाम्रो विचार विस्तार भएको छ । क्रान्तिकारीहरू सङ्गठित हुने र धु्रवीकृत हुने प्रक्रिया तीव्र बन्दै गएको छ । भलै केही हुतिहारा र स्वार्थी, दलाल चरित्रका व्यक्तिहरू क्रान्तिबाट भाग्दै पनि छन् । यो क्रान्तिको प्रक्रियाभन्दा बाहिर छैन । यी प्रचण्डपथका लुर्कनहरू (Appedages) मात्र हुन् । प्रचण्ड आफैँले जनयुद्धकालमा यस्ता लुर्कनहरूलाई क्रान्तिका कचेराको संज्ञा दिएका थिए । आज ती कचेराहरू आफ्नै लुर्कन बनेका छन् । ती त्यही कचेरा चोइटिएका मात्र हुन् । यसले पार्टी र क्रान्तिलाई स्पातिलो, धारिलो बनाउँदैछ । यो आफैँमा एक शुद्धीकरण पनि हो । प्रतिक्रियावादीहरू दिन–प्रतिदिन सङ्कटको भुमरीमा फस्दै गएका छन् । संशोधनवादी, सामाजिक दलाल पुँजीवादीहरू नाङ्गेझार भएका छन् । क्रान्तिकारीहरूको मनोबल उच्च छ । जनता आशावादी बन्दै गएका छन् । यसले पनि क्रान्तिको सम्भावनालाई सङ्केत गर्दछ ।

अन्त्यमा हामीसँग विचार छ । पार्टी छ । बलियो आत्मविश्वास छ । आत्मबल छ । सक्षम नेतृत्व छ । उत्पीडित जनता र विश्व–सर्वहारा जनताको साथ र समर्थन छ । बुद्धिजीवी, मध्यम वर्ग, किसान, मजदुर, देशभक्त शक्तिहरूको नैतिक–भौतिक समर्थन छ । हामीसँग जनसेना छ । प्रतिक्रियावादी सत्ताधारी दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादीहरू जनताको दृष्टिमा बदनाम, असफल र नाकाम सिद्ध भएका छन् । सत्तासङ्कट चुलिँदो छ । जनता र राष्ट्रियता चरम सङ्कटमा परेको अवस्था छ । यी तमाम कुराहरूले क्रान्तिको विकल्प देखिँदैन । नेपाली जनताले राजा हेरे, पञ्चायत हेरे, बहुदल हेरे, लोकतान्त्रिक गणतन्त्र पनि हेरे । काङ्ग्रेस हेरे, एमोले हेरे । एमाले र माकेको सामाजिक दलाल पुँजीवादी कथित कम्युनिस्टको सरकार पनि हेरे । जनताले सबैलाई हेरे । राणाहरूको १०४ वर्षको शासन भोगे । पञ्चायतको ३० बर्से शासन पनि भोगे । राजतन्त्रात्मक संसदीय व्यवस्था र गणतन्त्रात्मक संसदीय व्यवस्था गरी करिब ३१ वर्षको संसदीय व्यवस्थाको असफल चर्तिकला पनि जनताले मजाले भोगे । अब वैज्ञानिक समाजवाद हेर्न बाँकी छ । विप्लव नेतृत्वको नेकपाको नेतृत्वको सत्ता र सरकार हेर्न बाँकी छ । अबको विकल्प यही बाँकी छ किनकि अहिलेका शासकहरू काङ्ग्रेस, एमाले र माकेका नेताहरू सब साम्राज्यवादका दलाल हुन् । विदेशी मालिकहरूबाट चल्नु र कमिसन लिएर खानुशिवाय यिनको खोपडीमा स्वाभिमानी गिदी छैन । रिमोट कन्ट्रोलवाला गिदीले न राष्ट्र बच्छ, न राष्ट्रियता बच्छ । न त जनता बच्छ, न त स्वाभिमान नै बच्छ । यी नेताहरू असफल साबित भइसकेका इतिहासका म्युजियमका विषयवस्तुका रूपमा बाहेक यिनको कुनै काम छैन । न त यिनले अँगालेका विचार र पद्धतिलाई लागू गर्ने नयाँ अनुहारका मान्छे नै सफल हुनेछन् । त्यसैले नयाँ प्रणाली, नयाँ व्यवस्था, नयाँ विचार, नयाँ नेतृत्व र नयाँ समृद्ध नेपल र नेपाली जनता अबको नयाँ विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :