माकेले शहिद परिवारलाई धम्क्यायो

ucpnm

दाङ: जेठ २२,  माओवादी केन्द्रले आफ्नै कार्यालयमा बोलाएर दाङ, घोराही, बर्गदीका सहिद परिवारलाई धम्क्याएको छ । जनयुद्धको समयमा एउटै गाउँका ११ जना निर्दोष किसानहरुले ज्यान गुमाएका सहिद परिवारका आफन्तीलाई आफ्नो कार्यालयमा बोलाएर माओवादीका जिम्मेवार नेताहरुले धम्क्याएको सहिद परिवारले बताएका छन् । भूमाफियाको मिलिमतोमा मोटो रकम हातपार्ने अभिप्रायले उक्त जमिन चक्लाबन्दी गरी बेचबिखन गर्न लागेका केहि माओवादी केन्द्रका नेताहरुले सहिदको रगतसँग साटिएको जग्गालाई जबरजस्ती छोड्न सहिद परिवारलाई धम्की दिएको सहिद परिवार भौनी चौधरीले बताउनुभयो । १० वर्षे महान जनयुद्धको समयमा माओवादीका २०५८ साल मंसिर १३ गते दाङ वरगद्दी स्थित खल्यानमा धान दाइरहेको अवस्थामा ११ जना किसानहरुको तत्कालिन प्रतिक्रियावादी सरकारद्वारा सामुहिक हत्या गरिएको थियो। उक्त हत्याकाण्डमा हत्या गरिएका सबै ११ जना सोही ठाँउका निर्दोष थारु समुदायका किसानहरु हुन् । त्यही हत्याकाण्डका मतियार सामन्त जमिन्दारहरुको जग्गा किसानहरुले पछि आफ्नो नियन्त्रणमा लिएका थिए। जुन जमिन अहिलेसम्म किसानहरुले नै भोगचलन गर्दै आईरहेका छन् । शान्तिकालपछि माओवादी आन्दोलनमा प्रवेश गरेको विकृति–विसंगतीसँगै अधिकांश जमिनहरु भूमाफियाहरुको मिलेमतोमा बेचिएको छ । वरगद्दीको जमिन रगतसँग साटिएको जमिन भएकाले त्यो जमिनलाई चलाउने आँट कसैसँग आएको थिएन । हाल भूमाफिया र माओवादी केन्द्रका कतिपय नेताहरु समेतको मिलेमतोमा मोटो रकम हातपार्ने अभिप्रायले उक्त जमिन चक्लाबन्दी गरि बेचविखन गर्न लागिएको कार्यप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको आपत्ती प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :