जनप्रतिनिधिहरूको प्रपञ्चमा ४२ घरपरिवारलाई उठिबास बनाइँदै

दाङ : वर्षौंदेखि बस्दै आएका दाङ–तुलसीपुर १२ हरपौरीका ४२ घरपरिवारलाई जबरजस्ती उठिबास गर्ने गरि बिना–विकल्प उनीहरूको घरबारीमा डोजर लगाइएको छ । ४० वर्ष पहिलेदेखि जोतभोगसहित बसोबास गर्दै आएका उनीहरूलाई अन्य ठाउँमा बस्ने व्यवस्थापन नै नगरी यहाँका स्थानीय जनप्रतिनिधिहरूको प्रपञ्चमा उठिबास बनाउन खोजिँदैछ ।

आफूहरूले बस्न पाउने संविधानप्रदत्त नैसर्गिक अधिकारबाट बञ्चित हुने गरी नै डोजर लगाएर उठिबास बनाउन लागिएको भन्दै त्यहाँका बासिन्दाले अन्य बासस्थान देखाइदिन सरोकारवालासँग माग गरेका छन् ।श्री पशुपति मावि, हरपौरी विद्यालयले पहिले आफैँले उक्त जग्गामा बस्न दिएर अहिले एक्कासी कुनै विकल्प नदिएर अर्को मेट्रो कलेजलाई मैदानको लागि भाडामा दिने भन्दै तुलसीपुर उपनगरपालिकाको डोजर लगाएर भोगाधिकार गर्दै आइरहेको किसानहरूको घरबारीमा डोजर लगाइरहेको छ ।


उक्त ठाउँमा बसोबास गर्दै आइरहेको ४२ घरपरिवारले केही दिनअघि सरोकारवाला सबै निकायहरूसँग र विशेष गरी तुलसीपुर उपमहानगरपलिकासँग आफूहरूको बासस्थानको व्यवस्थाको अर्को पहलका लागि निवेदन पेस गरिसकेका छन् तर अहिले आफूहरूलाई अन्त कुनै बासस्थानको व्यवस्था नगरी जबरजस्ती डोजर लगाइएको स्थानीयहरूले बताएका छन् ।

अन्यत्र बस्ने व्यवस्था नगरी घरबारी हटाएमा आफूहरू बिचल्लीमा पर्ने भनेर पहिले नै स्थानीय प्रशासनमा निवेदन दिइसकेको र तुलसीपुरका मेयर घनश्याम पाण्डेले पनि उक्त पत्रमा सम्बन्धित वडा र विद्यालय व्यवस्थापन समितिमा छलफल गराई नियमानुसार गर्ने भनेर भनिसकेका छन् र निवेदहरूको निवेदनमा पनि लेखिसकेका छन् । तर उल्लिखितपत्रलाई समेत लत्याउँदै अहिले जबरजस्ती तुलसीपुर उपमहानगरपालिकाको डोजर लगाएर उठिबास गर्न खोजिरहेको किसानहरूले बताएका छन् ।

व्यवस्थापन नगरी वर्षौंदेखि भोगाधिकार गर्दै आइरहेको ठाउँबाट विस्थापित हुने गरी एक्कासी डोजर लगाएर आफूहरूलाई सुकुमबासी तथा भूमिहीन बनाउनुका साथै आफ्नै देशभित्र शरणार्थी बनाउन लागिएको भन्दै उनीहरूले सरोकारवाला निकायसँग बासस्थानको अर्को विकल्प देखाइदिन माग गरेका छन् ।
२०७५ असार ८ गते अपरान्ह ५ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :