दाङमा माओवादी केन्द्रका तीन दर्जन कार्यकर्ता नेकपामा प्रवेश

दाङ : दाङमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ध्रुवीकरण अभियान निरन्तर चलिरहेको छ । माओवादी केन्द्र एमालेमा विलय भएपछि असन्तुष्ट भएका माओवादी केन्द्रका कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने अभियान जारी रहेको छ । यसै अन्तर्गत दाङको राजपुरमा फेरि ३९ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । राजपुर ४ मोतिपुरका राजेन्द्र यादवको नेतृत्वमा युवाहरुको समुह र फुलमति यादवको नेतृत्वमा महिलाहरुको समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।

नवप्रवेशीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा प्रवेश गराइएको नेकपा दाङले जनाएको छ । साथै राजेन्द्र यादवको अध्यक्षतामा ११ सदस्यीय टोल इकाई युवा संगठन र फुलमति यादवको नेतृत्वमा अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल इकाई समिति गठन गरिएको छ । उनीहरुले माओवादी केन्द्र एमालेमा विलय भएको कारण असन्तुष्टि व्यक्त गर्दै माके परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले क्रान्तिमा निरन्तर समाहित हुने संकल्पका साथ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिएको समेत जानकारी गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी विक्रम, राजपुर सेक्रेटरी सुर्य यादव, योङ रेड फोर्सका जिल्ला सदस्य हरि यादव लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको थियो । यसअघि दाङकै राजपुरमा ५० जना र घोराही ८ बुधौरामा ३० जना नेकपामा प्रवेश गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङको आह्वानमा क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुवीकरण अभियान जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा संचालन भइरहेको छ ।
२०७५ असार २ गते शनिबार अपरान्ह ५ :३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :