नवलपरासीमा प्रलेसको प्रथम भेला

काठमाडौं : प्रगतिशील लेखक सङ्घ, नेपाल नवलपरासी शाखाको प्रथम भेला बर्दघाटमा सम्पन्न भएको छ । भेलाले संस्कृतिकर्मी रेम रानाको संयोजकत्वमा ४ जना सदस्य पछि थप गर्ने गरि १५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । जिल्ला तदर्थ समितिका सदस्यहरुमा डा. शिवशंकर बस्याल, ताराप्रसाद श्रेष्ठ, शिव रोका, उत्तमध्वज केसी, शोभाकान्त लामिछाने, दुर्गा पाण्डे, शान्ति चौधरी, रोहन पृथक, उपेन्द्र प्रधान, कृष्णमणिदास कटेल रहनु भएको छ ।
भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै प्रलेस केन्द्रीय पार्षद एवं प्रदेश नं. ५ सचिवालय सदस्य खोमा तरामु मगरले उपभोक्तावादमा आधारित पुँजीवादले प्रगतिशील एवं प्रगतिवादी सांस्कृतिक आन्दोलनको सौन्दर्यचिन्तन माथि प्रहार गरिरहेको भन्दै यसका विरुद्ध सिर्जनात्मक हस्तक्षेप आवश्यक भएको बताए । उनले कला, साहित्य र संस्कृतिमा देखिएको बजारिकरण र त्यसले फैलाएको सांस्कृतिक अराजकता विरुद्ध प्रगतिशील स्रष्टाहरुले निरन्तर कलम चलाउनु पर्ने बताए ।
राष्ट्रिय परिषद् सदस्य एवं प्रदेश नं. ५ का सदस्य मीन रानाले प्रगतिशील आन्दोलनमा देखिएको वैचारिक विचलन विरुद्ध सवै सचेत हुनुपर्ने बताए । उनले प्रगतिशीलताको नाममा गैरप्रगतिशील चिन्तन र गतिविधिले प्रगतिशील आन्दोलनलाई कमजोर बनाउन खोजेको बताए ।
रक्तिम सांस्कृतिक परिवारका पूर्व महासचिव एवं संस्कृतिकर्मी रेम रानाले जनताको जीवनसंग जोडिएर प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताए । देशमा विस्तारवादी सांस्कृतिक हस्तक्षेप तीव्र भएको बताउँदै रानाले यसका विरुद्ध स्वाधिन र राष्ट्रिय संस्कृतिको पक्षमा एकजुट हुनुपर्ने बताए । भेलापछिको प्रथम बैठकले संस्कृतिकर्मी रेम रानालाई संयोजक तोक्दै आगामी मंसिरभित्र सदस्यता वितरण, विभिन्न विचार–गोष्ठी एवं सिर्जनात्मक कार्यक्रम र जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । प्रलेसको ५ नं. प्रदेश भेला बैशाख २९ गते दाङमा सम्पन्न भइसकेको छ भने प्रदेशमा बाँकी रहेका जिल्लाहरुमा भेला÷सम्मेलन गरिरहेको छ । आगामी मंसिरभित्र प्रदेश सम्मेलन गर्ने निर्णय दाङ भेलाले गरिसकेको छ ।
२०७५ असार २ गते शनिबार बेलुका ९ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :