तीनबुँदे सहमति कार्यान्वयन सम्बन्धी गम्भीर समीक्षा भयो : प्रकाण्ड

तीनबुँदे सहमति कार्यान्वयन सम्बन्धी गम्भीर समीक्षा भयो : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सरकार र आफ्नो पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति छिटो भन्दा छिटो कार्यान्वयन गर्न र विद्यमान समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तापछि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले तीनबुँदे सहमति कार्यान्वयनबारे गम्भीरतापूर्वक समीक्षा भएको र अबको १० दिनभित्र कार्यान्वयनको प्रक्रिया पूरा गर्न सरकार सकारात्मक भएको जानकारी दिए । अहिलेसम्म बन्दी बनाइएका आफ्नो पार्टीका नेताकार्यकर्ताहरू रिहा गर्न भइरहेको ढिलाई, नेपालको राष्ट्रिय राजनीतिक सङ्कट र विद्यमान समस्याको समाधान गर्नेबारे सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता प्रकाण्डले जानकारी गराए ।

वर्तमान राजनीतिक सङ्कट तथा घटनाक्रम समाधान गर्न अहिले राजनीतिक व्यवस्था परिवर्तन गर्न अनिवार्य भएको बताउँदै उनले भने–‘त्यो व्यवस्था फैसला गर्ने जिम्मा जनतालाई दिनुपर्छ, त्यसका लागि हामीले जनमत सङ्ग्रह भनेका छौँ । इतिहासको आवश्यकताले अब जनताको चाहना अनुसार व्यवस्था परिवर्तन हुनुपर्छ, नेपाललाई शान्तिपूर्ण ढङ्गले अग्रगामी परिवर्तन गर्नुपर्छ र परिवर्तन गर्न सम्भव छ भनेर हामी यो प्रक्रियामा आएका हौँ ।’

अर्को विषयमा कुरा गर्दै प्रवक्ता प्रकाण्डले अहिले कोरोनाले देशलाई जसरी प्रभावित बनाएको छ त्यसको समाधानका लागि सबै जनतालाई भ्याक्सिनको व्यवस्था गर्न, प्रकृतिजन्य प्रकोप वाढीपहिरोबाट प्रभावित जनतालाई उपयुक्त राहतको व्यवस्था गर्न, नेपालमा भइरहेको जातीय छुवाछुत जस्ता जघन्य अपराध बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताए ।

सोमबार विहान मात्रै प्रधानमन्त्री केपी ओली र नेकपाका प्रवक्ता एवम् वार्ता टोलीका प्रमुख प्रकाण्ड तथा नेकपाका सचिवालय सदस्य कञ्चनबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरूमाथि लगाइएको मुद्दा खारेजी, कोरोनाका कारण जारी बन्दाबन्दी र वर्तमान राजनीतिक सङ्कटका बिषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :