न्यायको खोजी

कोसँग न्यायको भिक मागौँ ?
सर्वोच्चले न्याय दिन्छ
तर सरकार मान्दैन ।
बन्दुकको भाषा बोल्छ सरकार
यो हो ‘जनताको सरकार’
तर जनताको कुरा सुन्दैन ।
भजनमण्डलीहरू आफ्नै भजन गाउँछन् ।
आफ्नै सुरताल छ
बेताल छ
स्वार्थ छ
निपात–उत्पात छ ।
व्यापार अपार छ ।
निर्मला पन्तको दर्दनाक छ
तर खै ? तिम्रो हैसियत
निःशब्द निःसृत कायरहरू
एक शब्द फुटेन मुखबाट
न्यायको शब्द
जति सीमा मिचियोस्
जति मान्छे मारिऊन्
यस्तो पनि के जिन्दगी ?
दास भएर बाँच्नुपर्ने
के जिन्दगी ?
टीठ लाग्छ एउटा निरीह जिन्दगी ।
हनुमानचालिसा बल्झेको जिन्दगी ।
के लोकतन्त्र ? के प्रजातन्त्र ?
सत्ताको संयन्त्रमा तिम्रो लोकतन्त्र
जनता परतन्त्र ?
केको भौतिकवाद ? केको मानवतावाद ?
गन्तव्य छोडेका विगतका लुटेराहरू
जनतालाई धोकैधोका
बाटो बिराएका हत्याराहरू ।
जनता त आफ्नै बाटोमा छ ।
तिमीले साथ छाडे पनि
निर्मला र सन्नी खुनाको न्यायमा
जनसागर उठ्दा पनि
संवेदनाहीन मियोमा बाँधिएका तिमी
महिला हिंसाविरुद्ध एक शब्द खुलेन ।
बलात्कारपछि फ्याँकिएका
चेलीहरूको अस्मिता र जीवन लुटिँदा
न्याय माग्न गएका बालकले
गोली खाँदा पनि
अहँ तिम्रो आँखा रसाएन ।
तिम्रो व्यर्थको जिन्दगी के जिन्दगी ?
कुनैले त पत्रकार भन्छौ
साझा पत्रकार कि पार्टी पत्रकार ?
चेलीको अस्मिता लुटिँदा पनि
चोर दुलाबाट चियाउने
आखिर कसको पत्रकार ?
पार्टीको पत्रकार कि साझा पत्रकार ?
नेविसङ्घले साथ दियो त न्यायलाई दियो ।
न्याय माग्नेहरू भँडुवा हुन् ?
स्वतन्त्र पत्रकारिताको माग राख्नेहरू
जनता भड्काउने हुन् ?
वा जनता उठाउने ?
कति डर र त्रास बाँच्नका लागि ?
पद र प्रतिष्ठाको डर
नोकरी र व्यवसायमा डर
तस्कर र भ्रष्टाचारीलाई पार्टीको आड चाहिन्छ
यसले पार्टीलाई सघाउँछ
तर अन्त्यमा सडाउँछ पनि
आत्मसमर्पणवादीहरू होसियार
एक दिन अवश्य नयाँ बिहानी आउँछ ।
जनता जागे के लाग्छ ?
सधैँ पैसाको खोलो बगाएर हुन्छ ?
दलाल समाजवाद होइन
जनता उठे नयाँ जनवाद आउँछ
वैज्ञानिक समाजवादको बिहानी आउँछ ।
कथित कम्युनिस्टको खोल
देशमा छ भद्रगोल
हजारौँ बलात्कारका घटना
धान खाने मुसा, चोट पाउने भ्यागुता
न्याय माग्दा गोली जयभोलि ।

२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :