नकावधारी माक्र्सवादीहरूका विरुद्ध – श्यामबहादुर बोहरा ‘अटल’

माक्र्सवाद केवल पाण्डित्याइ गर्ने (पाठ गर्ने), खासखास उद्धरण कण्ठस्थ गरेर विद्वता प्रदर्शन गर्ने बौद्धिक विलास र सडकमा नारा लगाउने विषय मात्र कदापि होइन अपितु हाम्रो राजनीतिक जीवन, आर्थिक जीवन, सामाजिक जीवन र सांस्कृतिक जीवनमा हामी आफूलाई माक्र्सवादी भन्नेहरूले, सम्पूर्ण उत्पीडितहरूले र आमश्रमिकहरूले आफूसँगै सिङ्गो मानवजातिको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि दैनिक व्यावहारिक जीवनका पाइलापाइलामा साधना गर्ने, यसको मूल आत्माको अनुशरण गर्ने र तदनुरूप आचरण गर्ने विषय हो । केवल मुखाग्र गर्नु तर तदनुरूपको आचरण भने नगर्नु भनेको खोक्रो ढोङ र तुच्छ पाखण्ड मात्रै हो । आज यस्ता ढोङी र पाखण्डी माक्र्सवादी पण्डितहरूको बिगबिगीले नेपाल पनि आक्रान्त छ र नेपालीहरूको ठूलो हिस्सा दिग्भ्रमित छ । यो अवस्थालाई निचोरेर सत्मार्गमा हिँडाउन समयले अत्यन्तै गहन, कठोर र महान् जिम्मेवारी आज हाम्रो काँधमा जबर्जस्त सुम्पिदिएको छ । यस खाँचोको पूर्तिका लागि हामीले भीषण वैचारिक र राजनीतिक सङ्घर्षको छालमा खेल्ने सङ्कल्प लिनुपरेको छ ।

यो छोटो आलेखमा माक्र्सवादको सविस्तार व्याख्या र विश्लेषण हाम्रो आफ्नै ज्ञानको सीमा र लेखन क्षमताको न्यूनताले पनि त्यति सहज छैन । तैपनि कतिपय विषय नाङ्गै पोखिएको स्थितिमा केही अंशमै भए पनि सानो प्रयासस्वरूप यो लेख प्रस्तुत गर्दैछु । हिजोका दिनहरूमा हामीले सोच्यौँ– हाम्रो काम नेताहरूको प्रशिक्षण र भाषण सुन्ने, सुनेका कुरा जनतासँग भन्ने र इमानदार आदेशपालक बन्ने मात्र हो । सिट्टी बज्नेबित्तिकै दौडने मात्र हो । खोज, अध्ययन, अनुसन्धान, लेखनलगायत बौद्धिक कार्य गर्ने भनेको उच्च स्तरका बडेबडे नेतागणहरूको मात्र हो । त्यसैले न त साङ्गोपाङ्गो विषद् र व्यवस्थित अध्ययन गरियो, न लेख्ने कोसिस गरियो । यो काम त करिब हुँदै भएन भने पनि हुन्छ । गहन अध्ययन, अनुसन्धान र लेखन हाम्रो काम नै होइन भन्ने बुझाइ बनिसकेपछिको परिणाम आज आएर भोगिँदै छ । ठुसठुस कन्दै र कन्याउँदै भए पनि आक्कलझुक्कल पढ्ने र फाट्टफुट्ट लेख्ने कार्यमा बामे सर्न थाल्नुपर्ने नै भएको छ । कतिपयलाई आश्चर्य पनि लाग्न सक्छ– के बल्ल तातेताते गर्ने बेला हो भनेर । मेरो यो प्रयास प्राकृतिक नियमको एउटा अपवादझैँ लागे पनि खै म के भन्न सक्छु र ?

आजसम्म विश्व मानव जातिले आर्जन गरेका थुप्रै ज्ञान र विज्ञानका नवीनतम शिक्षाहरूमध्ये सर्वोत्तम शिक्षा माक्र्सवादलाई नै मानिन्छ । सैद्धान्तिक, राजनीतिक, दार्शनिक र विचारधारात्मक क्षेत्रमा मात्र नभएर सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्र पनि माक्र्सवादको खोज र संश्लेषण हालसम्म सर्वोकृष्ट विज्ञानका रूपमा स्थापित छ । यसले श्रमिकहरूलाई ब्युँझाएको छ, हिँडाएको छ र दौडाएको छ । महान् लेनिनले लेख्नुभएको छ– ‘सङ्क्षिप्तमा भन्दा माक्र्स र एङ्गेल्सका देनहरूलाई यसप्रकार व्याख्या गर्न सकिन्छ, उहाँहरूले मजदुरहरूलाई आत्मबोधी र स्वचेतन हुन सिकाउनुभयो’ र कल्पनाको ठाउँमा विज्ञानलाई पुनस्र्थापित गर्नुभयो । त्यसैले हामी पनि आत्मबोधी र स्वचेतन हुँदैछौँ र झूट, भ्रम, पाखण्ड, बेइमानी, त्रास र कल्पनाको स्थानमा सत्य, यथार्थ, इमान, साहस, त्याग र विज्ञानलाई पछ्याउने यात्रामा सरिक छौँ । त्यसैले जीवनले भोगेको कुरा भन्न र लेख्न खोज्दैछौँ । माक्र्सवादको चहकिलो र स्वर्णिम सिद्धान्तलाई आज यतिविधि विकृत पारिएको छ, सभ्य समाजका कलङ्क बनेका ठग, तस्कर, श्रमचोर, लुटेरा, शोषक, सामन्ती, दलाल, पुँजीपति, डाँका, गुन्डा, भ्रष्टाचारी, कमिसनखोर, माफियादेखि लिएर सबैखाले कृतघ्न अपराधीबाट कमिसन र चन्दाको मोटो रकम बुझेर चोख्याउँदै माक्र्सवादको दोसल्ला ओढाएर माक्र्सवादी कित्ताभित्र हुल्ने काम आफूलाई सुविख्यात माक्र्सवादी भन्न रुचाउने पण्डाहरूले बेहिच्किचाहट नै गरिरहेका छन् र राज्यका नीति निर्माण तहसम्म पु¥याइरहेका छन् । संसदीय सत्तासीन ती पण्डितहरूले आज यस्तो लज्जाजनक कार्यमा ठूलै छलाङ मारिसकेको स्थिति छ जसले गर्दा वास्तविक माक्र्सवादीहरू लज्जित र अपमानित भएर हीनताबोधको रहमा डुब्ने अवस्था बनेको छ । अग्रगमनका लागि कुनै सर्त पालना गर्नु नपर्ने, सभ्य समाज व्यवस्था निर्माणका लागि फोहोर बिटुलोबाट रूपान्तरण पनि हुनु नपर्ने, आन्दोलनमा कतै कुनै योगदान गरेको पनि हुनु नपर्ने, राष्ट्र र समाजका लागि कुनै त्याग गर्नु नपर्ने र उनको धन्दामा कुनै ठेस पनि नलाग्ने बरु झन् फस्टाउने भएपछि त जस्तोसुकै लोभी (पापी र निकृष्ट व्यक्ति पनि सारा पाप र अपराध छोप्नका लागि माक्र्सवादी पङ्क्तिको पछि लाग्ने भै नै हाल्यो । यो कार्य विश्वसाम्राज्यवादको सचेत योजनाअन्तर्गत नै भैरहेको कुरामा द्विविधा छैन । यो खेलअन्तर्गत माक्र्सवादलाई विकृत र बदनाम गर्ने मात्रै होइन, पूरै ध्वस्त खरानी पार्ने भयानक षड्यन्त्रअनुरूप नै भैरहेको छ । दलाल पुँजीवादी संसदीय सत्तामा रहेको आफूलाई माक्र्सवादी भन्ने पार्टीको नेतृत्व तहका धेरैजसो ठालुहरूको मुखमा मात्रै माक्र्सवाद छ । तर मन र मस्तिकमा भने ठीक उल्टो पुरातन सामन्तवादी चिन्तन र दृष्टिकोणको पर्खाल छ । निम्नपुँजीवादको जलप छ । त्यहाँ माक्र्सवादको कुनै गुन्जायस छैन । पूराका पूरा सामन्तवाद, निम्नपँुजीवाद र दलाल पुँजीवाद अभेद्य रूपले चुलिएको स्पष्ट देख्न सकिन्छ । तिनीहरूले कुरा माक्र्सवादको, सर्वहारा, उत्पीडित र श्रमिकको गर्दै आएका छन् तर काम भने पुँजीवाद, दलाल पुँजीवादको, माफियाको अथवा उच्च सम्पन्न वर्गका पक्षमा गरिरहेका छन् । गीत जनताको गाउँछन्, सेवा भने जनविरोधी, भ्रष्ट, ठग र फटाहाहरूको गर्दैछन् । तिनीहरूका पक्षमा, जनताका विपक्षमा युद्धमा ओर्लने आँट गरेको जस्तो पनि देखिँदैछ । जनस्तरवाट फटाहाहरूका विरुद्ध औँला उठेको बेला, तिनका विरुद्ध प्रहार भएको बेला सबभन्दा पहिले तिनै किन तर्सन्छन् ? तिनैलाई दुखेको हुन्छ किन ? हिजोका दिनमा हामीबाट हाम्रो आफ्नो पैतृक सम्पत्तिबाट पार्टीकरण, कम्युनीकरण र सर्वहाराकरणका नाममा धनराशि जम्मा गरे । बहाना जनयुद्धका लागि भन्ने छँदै थियो । हामीलाई सधैँ त्याग, समर्पण र बलिदानको उपदेश दिई नै रहे । हामी त्यसैमा प्रफुल्ल बन्दै कुदी नै रह्यौँ । यसको बयान गरेर सकिँदैसकिँदैन । के भोगियो, के भोगिएन, त्यसको परिणाम आज अति जर्जर, भयानक कष्टकर र अभावग्रस्त पीडादायी जीवन जिउन हामी विवश छौँ । आज नेतृत्व तहका सीमित चङ्खे, चतुरे, बेइमान, पाखण्डी र षड्यन्त्रकारीहरूको जीवन भने पूराका पूरा बदलिएको छ । नवधनाढ्य, उच्च सम्भ्रान्त कम्युनिस्ट वर्गमा छलाङ लगाएका छन् । सानसौकातपूर्ण विलासी जीवनको रसमा रमेका छन् । तिनका लागि आज के छैन ? राष्ट्रको ढुकुटीदेखि विलासी चिल्ला कार, विभिन्न कम्पनीमा लगानी, विकासका नाममा बजेट परेबापत समिति, प्राविधिक र ठेकेदारबाट कमिसन, रोजगारी, सरुवाबढुवाबापत कमिसन र घूस, एयर एम्बुलेन्स, साउदी, कतार, बेलारुसका कम्पनीहरूमा पनि सेयर, विदेशी बैङ्कमा खाता, ओहो ! क्या मालामाल ! यो ब्रह्मलुट देख्दा कुन स्वाभिमानी र सज्जन मानिसको रगत उम्लँदैन ? त्यस्तो अजीव र कठोर प्राणी को होला छातीमा घृणाको लप्का नउठ्ने ? त्यागजति सधैँभरि इमानदारले मात्र गर्नुपर्ने, शाश्वत् नियतिजस्तै ! अवसरजति सबै सधैँभरि बेइमानले मात्रै सोहोर्नुपर्ने आजीवन ठेक्काजस्तै ! सकेसम्म श्रीमतीसहित, त्यो नभए आलोपालो अनि तिनका छोराछोरी, दाजुभाइ, दिदीबहिनी नै अवसरका पहिलो हकदार ! तिनका लागि यो नै समानुपातिक र समावेशीको मर्म हो । राजनीतिको निष्ठाभाव हो । अनि बाँकी ठग व्यापारी, नामुद ठेकेदार, उद्योगपति, माफिया, गुन्डा र अवकाशप्राप्त नोकरशाहहरूलाई करोडौँ रकममा बेचेका दर्जनौँ उदारहणहरू जीवितै छन् । अब त बिस्तारै तिनका तलुवा चाट्ने पिछलग्गु चाकडीबाजहरू, तिनका अन्धभक्त हनुमानहरू पनि खुस्किने सङ्केतहरू देखिइरहेका छन् । यति भएपछि यो निरङ्कुश जहानियाँ राणाशाषनभन्दा भिन्न कहाँनेर छ ? सामन्ती राजतन्त्रको परम्पराभन्दा फरक के छ ? यो संस्कृति सामन्ती संस्कृतिकै जारी रूप नभएर के हो ? खै कहाँ छ त लोकतान्त्रिक गणतन्त्र ? अब मौजुदा सत्तासीन पार्टी जो छ त्यो कसरी माक्र्सवादी पार्टी हुन सक्छ ? अनि त्यस्को नेतृत्व कहाँको माक्र्सवादी हुन सक्छ ? कदापि हुन सक्दैन । तिनीहरू माक्र्सवादको नकाव लगाएका आधुनिक वादशाहरू नै हुन् भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । जनस्तरबाट तिनलाई बेनकाव पार्न अग्रसर नहुनुपर्ने पनि कुनै कारण छैन । तिनीहरू पुँजीपतिहरूका ब्रान्डेड बिकाउ माल बनिएका छन् भन्ने कुरा घट्नाक्रमहरूले पटकपटक प्रमाणित गरेका छन् ।

माक्र्सवाद विश्वमानव जातिको सुन्दर समाज निर्माणको सर्जक हो । वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषाका सारा विभेद र असमानताका पर्खाल तोडेर आर्थिक, सामाजिक, सांस्कृतिक, मूल्यहरूको समान उपयोग एवम् समुन्नत समाज निर्माणको महान् आन्दोलन हो । समाज विकासक्रमको प्रक्रियालाई एउटा नियममा कुदाउने रेल इन्जिन हो र अपरिहार्य विज्ञान हो । हाम्रो कार्यको पथप्रदर्शक हो । माक्र्सवादका आधारभूत सिद्धान्तहरू कहिल्यै पनि पुराना र असान्दर्भिक हुन सक्दैनन् । बदलिएको परिस्थितिमा केही विकसित गर्नुपर्ने भने हुन्छ । त्यसो हुँदो हो त ती सिद्धान्तलाई आधारभूत भनिने नै थिएन । नकावधारी माक्र्सवादीहरूले माक्र्सवादका आधारभूत सिद्धान्तलाई पुराना र असान्दर्भिक भनेर बकबास गरिरहेका छन् । इतिहासमा जहिले पनि र जहाँ पनि अवसरवादीहरूले, निम्नपुँजीवादी संशोधनवादीहरूले बदलिएको परिस्थितिमा माक्र्सवादको ‘सिर्जनात्मक प्रयोग र विकास’ भन्दै माक्र्सवादलाई तोडमोड गरेर त्यसको गला रेट्ने कार्य गर्दै आएका छन् र आज नेपालमा पनि ठीक त्यसै गरिरहेका छन् । त्यसैले तिनीहरूलाई हामी नकावधारी माक्र्सवादी भन्न बाध्य छौँ । तिनीहरू जे हुन् त्यही रूपमा उदाङ्गो पार्न आमजनसमुदायलाई हामी अपिल गर्दछौँ । यो हाम्रो बुझाइप्रति कोही सहमत बनोस् वा नबनोस् । कसैले हामीलाई कुण्ठा, व्यक्तिविशेषप्रतिको प्रतिशोध र इगो पनि भन्न सक्ला, त्यो उनीहरूको कुरा हो । कूपमण्डुकतावादी, सामन्ती सङ्कीर्णतावादी र निम्नपुँजीवादी व्यक्तिवादीहरूलाई पनि त्यस्तो लाग्न सक्छ । त्यो पनि उनीहरूकै कुरा हो । त्यसमा हामीलाई कुनै परबाह छैन । यो दृष्टिकोण, विचार र सिद्धान्तको विषय हुनुको कारणले यसमा हामी अटल आस्था र निष्ठाका साथ दृढ भएर उभिन्छौँ र निर्भीक भएर अगाडि बढ्छौँ ।
२०७५ भदौ १६ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :