जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

आरम्भ
नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा संस्मरण विधा शक्तिशाली बनेर स्थापित भएको छ । जनयुद्ध यसको प्रमुख कारण हो । जनयुद्धले निर्माण गरेकी स्रष्टा सीता विक सम्झनाको युद्धभित्रका संस्मरण जनमुक्ति सेनाभित्रबाट महिलाले लेखेको पलिो उच्चस्तरीय र शक्तिशाली सिर्जना हो । यो रगत र बारुदले लेखिएको जनयुद्धको दस्ताबेज हो । संसारमै वर्गसङ्घर्ष मुर्झाइरहेको भान परेको समयमा र पछिल्लोपटक उत्कर्षमा पुगेको पेरुको जनयुद्धले धक्का खाँदै गरेको अवस्थामा नेपालमा जनयुद्ध आरम्भ भएको थियो । जनयुद्धले नेपालमा मात्र नभएर संसारकै उत्पीडित सर्वहारावर्ग र क्रान्तिकारीहरूमा एउटा नवीन लहर र आशा जगाइदियो । देशभित्र गाउँ र कुनाकन्दरासम्म शक्तिशाली बनेर रहेको सामन्तवाद र त्यसका सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक र वैचारिक सम्बन्ध र रूपहरूलाई ध्वस्त पार्दै नेपालको महान् जनयुद्धले करिब ११ वर्षको अवधिमा हजारौँ लडाइँहरू लड्यो र करिब १५ हजार क्रान्तिकारीको बलिदान, हजारौँको बेपत्ता र लाखौँको अङ्गभङ्गपछि राजतन्त्र ढल्यो । राजतन्त्र ढाल्न, नवीन विचार प्रवाह गर्न, पुरातन यथार्थ नष्ट पार्दै नयाँ यथार्थ सिर्जना गर्न र राजनीति, कला, संस्कृति र साहित्यमा जनपक्षीेय लदाबदी सिर्जना गर्न जनयुद्धको उच्चतम भूमिका छ ।

जनयुद्धले सामन्ती राजतन्त्र अर्थात् खलनायकीलाई मात्र परास्त गरेन, नवीन नायकहरू पनि जन्मायो । वर्तमानका हिजोका कतिपय नायकहरू खलनायकका पतीत बने पनि हिजो ती नायककै रूपमा थिए । ती नायकहरू राजनीतिक, सांस्कृतिक र सैन्य क्षेत्रमा मात्र नभएर साहित्यिक क्षेत्रमा पनि उदाए । तिनले जनयुद्धले सूत्रपात गरेको नवीन यथार्थलाई सिर्जना मार्फत, जीवनको उदात्तता, त्याग, शौर्य र बलिदानमार्फत स्थापित गरे । जसरी जनयुद्धलाई बन्दुक, मादल र कलमको फ्युजनका रूपमा परिभाषित गरियो, जनयुद्धले जन्माएका नायकहरूले शब्द र कर्मका माध्यमले त्यो महान् विचार र त्यसको कार्यान्वयनका क्रममा युद्धमा उच्च बलिदान गर्ने नायकहरूको नायकीलाई सिर्जनाका माध्यमद्वारा अभिव्यक्त गरे । कविता, कथा, गीत, उपन्यास, निबन्धहरूमा जनयुद्धले पाइन थप्यो भने संस्मरण, शब्दचित्र, अपेरा, समालोचनालगायतका विधाहरूको विकास र प्रयोग व्यापक मात्रामा बढ्यो । त्यसैले नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनको इतिहासमा जनयुद्धकाललाई स्वर्णकाल भने पनि हुन्छ किनकि विभिन्न विधामार्फत मुक्तिका लागि युद्धमा लामबद्ध देश र जनताका महान् गाथाहरूको अभिव्यक्तिको उहापोह यही समयमा भएको छ र त्यसपछि पनि स्रष्टाहरूलाई त्यही समयमा विकसित विचार र घटित परिघटनाहरूले ऊर्जा दिइरहेको छ । साहित्यका अन्य विधाहरूझैँ संस्मरण विधा पनि जनयुद्धले विकास गरेको महत्वपूर्ण हो । यस टिप्पणीमा जनयुद्धले निर्माण, विकास र स्थापित गरेको संस्मरण विधा, यसको सङ्क्षिप्त इतिहास र कमरेड सीता विक सम्झनाको युद्धभित्रका संस्मरणको चर्चा गरिएको छ ।

प्रगतिवादी अर्थात् जनयुद्धले विकास गरेको नयाँ यथार्थवादी धरातलमा सिर्जिएका संस्मरणका बारेमा माक्र्सवादी समालोचकहरूले विभिन्न कोणबाट परिभाषा, समालोचना टिप्पणी गरेका छन् । वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य संस्मरणमा इतिहास, राजनीति, विचार, आख्यान र कलाको कुशल संयोजन आवश्यकता पर्ने बताउनुभएको छ । संस्मरण, चित्रात्मक आलेख र आख्यानलाई मिसाएर शब्दचित्रमा विकास गर्ने डा. बरालले पनि संस्मरणलाई अनुभूति र विचारको तीव्रतामा अभिव्यक्त कलात्मक सिर्जनाका रूपमा व्यक्त गर्नुभएको छ । त्यस्तै डा. गोपीन्द्र पौडेलले संस्मरणलाई सबैखाले प्रभावकारी स्मृतिहरूको सुसङ्गठित कलात्मक अभिव्यक्तका रूपमा व्याख्या गर्नुभएको छ ।

संस्मरण विगतका जीवनभोगाइ, प्रतिनिधि घटनाहरूको सिलसिलेवार प्रभावशाली स्मृतिपरक अभिव्यक्ति हो । यसमा सर्वाधिक महत्वपूर्ण, प्रतिनिधि भोगाइ वा घटनाहरूलाई विचारमा घोलेर कलात्मक रूपमा सामान्यीकरण गरिन्छ । गद्य साहित्यको पठनीय विधा संस्मरणका अभिव्यक्तिका माध्यमहरू डेली डायरीका स्फुट रचनादेखि स्थुल पुस्तकसम्मको आकारसम्ममा पाइन्छ । पछिल्लो समयमा आएका संस्मरणमा जनयुद्धकालीन समय, जनयुद्धका विशेष घटना, जनताले युद्धमा गरेको प्रतिरोध, मोर्चा, लडाइँका योजना, युद्धकला, त्याग, शौर्य, वीरता र बलिदान, युद्धकौशल, साहस र चातुर्य विषय बन्ने गरेका छन् । विचार त्यसको केन्द्रमा रहेको पाइन्छ ।

संस्मरणका लागि विचार, विषय, घटना प्रसङ्ग, भोगाइ, अनुभूति वा संवेदनशीलता, स्मृति, घटनाको तथ्य र सत्यता, विचार, पात्र, आख्यान, परिवेश, भाषाशैली, वातावरण, जीवनबोध, सौन्दर्यचेत र अभिव्यक्त कौशल, स्रष्टाको इमानदारी, सत्य बोल्न सक्ने क्षमता र निडरपन संस्मरण लेखनका आधारभूत तथ्यहरू हुन् ।

उठान

नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको पछिल्लो प्राप्तिका रूपमा जनयुद्धले उद्घाटन गरेको नयाँ यथार्थ स्थापित गर्ने संस्मरण विधा यतिबेलाको पठनीय विधा हो । महान् जनयुद्धका जटिल चुनौतीपूर्ण रोमाञ्चक घटना, विचार, पात्र, प्रवृत्तिहरूलाई संस्मरणका माध्यमबाट साहित्यमा उतार्ने क्रमको आरम्भ जनयुद्धको पहिलो सफल कारबाहीकै आसपासबाट भएको पाइन्छ । बेथानको वीरता, बलिदान र सफलताको कथालाई त्यो मोर्चाको राजनीतिक कमिसार यानप्रसाद गौतम ‘आलोक’ ले सुन्दर ढङ्गबाट लिपिबद्ध गरेका छन् । उक्त मोर्चामा कमान्डर तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनको बलिदान भएको थियो भने मोर्चा पूरै जितिएको थियो ।

जनयुद्धका स्संस्मरण लेख्नेक्रम जनयुद्धमा आबद्ध राजनीतिक नेता, कार्यकर्ता, छापामार दलका सदस्यदेखि कमान्डर, विभिन्न जनवर्गीय सङ्गठन, जातीय मोर्चा, कलाकार, विद्यार्थी, महिला, मजदुर, किसान सबैसबैले अघि बढाएका छन् । जनयुद्ध जति तीव्रतामा, जति व्यापकतामा, जति उचाइमा अघि बढ्यो, राज्यसत्ताको दमन, षड्यन्त्र, अत्याचार, यातना र हत्या शृङ्खलाहरू पनि त्यत्ति नै भीषण बन्दै गएको र क्रान्तिकारीहरूलाई आततायी राज्यसत्ताले दिएको उपहार मृत्यु र यातनाका साक्षात कथाहरूलाई मार्मिक ढङ्गले जीवन्त र सचित्र उतार्ने विधाका रूपमा आम भुक्तभोगीहरूले संस्मरणलाई नै रोजेको पाइन्छ । जनयुद्धको आरम्भदेखि उत्कर्ष हँुदै शान्तिका नाममा विसर्जन गरिएको २०६३ सालको अवधिसम्म अधिकांशतः फुटकर लेखका रूपमा र त्यसपछि क्रमशः सङ्ग्रहका रूपमा संस्मरण विधा फस्टाएको पाइन्छ ।

यस अवधिका अन्य सङ्ग्रहहरूको सरसर्ती अध्ययन र फुटकर वा पुस्तकाकार संस्मरणहरूको प्र्रकृति हेर्दा अधिकाङ्श संस्मरण फौजी मोर्चा प्रधान पाइन्छन् । यसप्रकारका संस्मरणमा लेखकले कुनै खास मोर्चामा जानुअघि गरेको तयारी, मोर्चामा भएको त्याग र बलिदान, प्रक्रिया, मोर्चा लड्दाका अनुभूति, मोर्चाको सफलता वा असफलताबाट सिकेको पाठलाई उल्लेख गरेको पाइन्छ । पुस्तकाकार रूपमा आउँदा शृङ्खलाबद्ध बनेको पाइए पनि धेरैजसो संस्मरणहरू एकएकवटा मोर्चा वा अनुभूतिको शृङ्खलामा उनिएको पाइन्छ । कमरेड सीता विक सम्झनोका युद्धभित्रको संस्मरण पनि विभिन्न किसिमका युद्धअनुभूतिहरूका स्मृति समेटिएको महाख्यान हो ।

जनयुद्धको प्रक्रिया अघि बढ्दै जाँदा दुस्मनको पन्जामा परेर जेल वा हिरासतमा बस्दा भोगेका अनुभूतिहरूलाई कतिपय स्रष्टाले जेल डायरीका रूपमा लिपिबद्ध गरेको पाइन्छ । त्यसमा जेल वा हिरासतको जीवन, त्यसभित्रको वातावरण, त्यहाँभित्र क्रान्तिकारीहरूमाथि गरिने व्यवहार, विशेषगरी चरम यातना र दुव्र्यवहार, सेना वा पुलिसका हाकिमहरूले सानो तहका कर्मचारीमाथि गर्ने हेपाहा व्यवहार, जेलभित्र क्रान्तिकारीहरूले. बनाएका योजना र आन्दोलनका क्षणहरूको वर्णन गरेको पाइन्छ । त्यसैगरी सांस्कृतिक अभियान÷मोर्चा, राजनीतिक जीवन, पत्रकारिता जीवन, सैन्य जीवन र अभियानहरूलाई पनि स्रष्टाहरूले संस्मरणमा उनेको पाइन्छ । कयौँ स्रष्टाले फुटकर लेखका माध्यमबाट संस्मरणहरू लेखेका छन् । फुटकर संस्मरणहरू पनि कुनै एउटा मोर्चा, घटना, पात्र, यात्रा वा परिवेश विशेषलाई लिएर लेखेको देखिन्छ । यद्यपि जनयुद्ध विषयमा संस्मरण वा साहित्यका अन्य विधामा कलम चलाउनेहरू सबै आन्दोलनमा टिक्न र खारिन सकेनन्÷सकेका छ्रैनन् । विचारलाई केन्द्रमा राख्न नसकेपछि बन्न र भत्किन कुनै बेर लाग्दो रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । ओनसरी घर्ती, देवी खड्का, सङ्गीता, राजु, मनऋषिलगायतको अवस्था यही हो ।

व्यापकता

जनयुद्ध उत्पीडित सर्वहारावर्गका लागि आनन्द र उत्पीडक सामन्तवाद र पुँजीवादी शासकका लागि आतङ्क थियो । पलपल जोखिमपूर्ण मृत्युभित्र महान् विजयका सपनाहरू साँच्दै नेपाली सर्वहारावर्गले नित्य ११ वर्षसम्म लडेको महान् जनयुद्ध समग्र युद्ध थियो । यसले पुरातन चेतनाका पहाडहरू भत्काइदियो र त्यसको जगमा नयाँ विजयका आधारहरू निर्माण गरिदियो । त्यही नयाँ निर्माण मानिसका पुरातन चेतना र अवस्थितिहरू पनि भत्किएर नवीन बने । शासनसत्ताले हजारौँ वर्षदेखि वर्ग, जात, रङ, क्षेत्र, लिङ्ग आदिका नाममा विभाजित गरेर शोष गरेका श्रमजीवी सर्वहारावर्ग शोषणप्रधान राज्यसत्ताको अन्त्य गर्न मालेमावादको आलोकमा सम्पूर्ण रूपमा झोकिएको समय थियो त्यो । सन्तान जन्माएर र सिँगाने बच्चाहरू स्याहारेर पुरुषको दासीका रूपमा घरधन्दा र चुलोचौकोमा जीवन गुजारिरहेका महिलादेखि हिन्दु अहङ्कारवादी राज्यसत्ताले श्रम÷सीप चुसेर दलित भनी अपमान गरेका श्रमजीवीसम्म, जीवनभर अर्काको काम गरेर पनि भरपेट खान नपाएका मजदुरकिसानदेखि मधेस र कर्णालीसम्मका जनता अत्याचारी राज्यसत्ताको हतियार खोसेर जनताको राज्यसत्ता निर्माण गर्दै अघि बढेको समय हो । जनताले आफूले लडेका र जितेका लडाइँहरूको खुसीयाली कहिले संस्मरण र कवितामार्फत त कहिले दैनिकी र कथामार्फत अभिव्यक्त गरे । कहिले दुस्मनको जेलभित्र कोचिएर त कहिले युद्धमैदानमै बसेर आफ्ना अनुभूतिहरूलाई लिपिमा उतारे । दैनिकी वा डायरी साहित्य जनयुद्धको यसै महान् अवसरमा लिपिबद्ध भयो ।

दुस्मनका कालकोठरीहरूमा बिताएका कठोर पलहरूलाई जनयुद्ध लड्ने योद्धाहरूले लिपिमा उतारेका छन् । कतिपय संस्मरणहरू दैनिकीकै रूपमा आएका छन् । महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ ले आफूलाई दुस्मनले कब्जा गरेका अनुभूतिहरूलाई दैनिकी र संस्मरणका माध्यमबाट सिर्जनामा रूपान्तरण गरेका छन् । त्यसैगरी ऐतिहासिक गोरखा जेल ब्रेककी कमान्डर उमा भुजेल शिलुदेखि सुर्खेत जेल र गजुरी ब्यारेक ब्रेकका कमान्डरसम्मले दुस्मनको कब्जामा रहँदा र तिनकै हतियार खोसेर मुक्त हुँदासम्मका पलहरूलाई दैनिकी र संस्मरणमा उतारेका छन् । जनयुद्धको समयमा दुस्मनका किल्लाहरू कब्जा गर्न जाने योद्धाहरूले अधिकांश फुटकर संस्मरण दैनिकीकै शैलीमा लेखेका छन् । माओवादी नभएर पनि माओवादीको आरोपमा कठोर सैनिक हिरासत भोगेका जितमान बस्नेतलगायत कतिपय स्रष्टाले भने कुल दिनको हिसाब गरेर दैनिकी शैलीमा संस्मरण लेखेका Êछन् ।

महान् जनयुद्धमा लामबद्ध महिला योद्धाहरूले बन्दुक मात्र नभएर कलम पनि चलाए । बन्दुकमा बारुद र गोली भर्दाभर्दै र दुस्मनलाई निशाना साँध्दासाँध्दै उनीहरूले कलममा मसी भर्न र कलमको मोर्चाबाट दुस्मनलाई ललकार्न सिकेका हुन् । संस्मरणका माध्यमबाट महिलाहरूले महान् जनयुद्ध र त्यसमा महिलाको भूमिकालाई राम्रोसँग उजागर गर्न सकेका छन् । महिलाले लेखेका संस्मरणहरूको साझा पुस्तक पीडाभित्रको आक्रोशको अध्ययन गर्दा महिला कुनै पनि मोर्चामा पुरुषभन्दा पछि थिएनन्÷छैनन् भन्ने प्रमाणित हुन्छ । सीता विक सम्झनाको युद्धभित्रको संस्मरण यसको पछिल्लो ज्वलन्त उदाहरण हो । यसको सिलसिलाका रूपमा महान् सांस्कृतिक सहिद चुनु गुरुङका केही शब्द उद्धरण गर्नु उचित हुन्छ ः

विवाह भएको मात्र ३१ दिन भएको थियो । आजै सदाका लागि उहाँ मबाट टाढा भइसक्नुभएको खबर पाएकी छु । मनलाई छियाछिया पारेको छ तर विवाहको शुभकामना दिने लहर अझै टुङ्गिएको छैन । साथीहरूलाई पहिलो भेटमै बधाई दिने आतुरी भइरहेछ तर मैले मेरो योद्धालाई गुमाइसकेकी छु । कति दुर्भाग्य हो ! यो हर्ष र बिस्मात्को दोसाँधमा बधाई दिने मित्रहरू ! त्यो बधाई म कसरी स्वीकार गरूँ ? हो, मैले मृत्युलाई चिनेकी छु तर यति चाँडै यी दिनहरू मेरानिम्ति अभिशाप बनिदेलान् भन्ने मलाई के थाहा ? अब म अतीत सम्झेर एकान्तमा रमाउन सक्तिनँ, मलाई सामूहिकता चाहिन्छ । मलाई कार्यक्रमका नयाँ योजना चाहिन्छ… ।

सहिद चुनु गुरुङको ‘कस्तो हुन्छ मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी’ शीर्षक संस्मरणको अंश हो यो । साँच्चै महान् जनयुद्ध एकैसाथ कति पीडा र हर्ष लिएर आएको थियो ! सँगै युद्ध लडिरहेको जीवनसाथीको महान् मृत्युलाई पनि सरल र सहजतापूर्वक स्वीकार्दै पीडालाई बाँकी यात्राका लागि आक्रोशमा रूपान्तरण गरेर अघि बढ्नुपर्ने कठोर समय ! महिलाद्वारा लिखित संस्मरणकै सिलसिलाको अर्को खुड्किलाका रूपमा जनयुद्धकी एक नेत्री जयपुरीको संस्मणको यो अंश उद्धृत गर्नु सान्दर्भिक देखेको छु । उनी युद्धको कोटा चुक्ता गरेका आफ्ना सहयोद्धा÷जीवनसाथी सहिद विवेकलाई यसरी सम्झिन्छिन् :

क. विवेक, लामो सयम भयो । तपाईंका ती महान् र सगरमाथा चुम्नसक्ने क्षमता, हिम्मत र साहसको मैले कापीको पानामा कोर्न धेरै गाह्रो भयो । जीवनसाथी भनेर पत्र कोर्न यो हातले ‘आदरणीय सहिद कमरेड विवेक’ भनेर लेख्न खोज्दा हातका औँलाहरू चलेनन् । कापीका पानाहरू सुक्खा रहन सकेनन् । लाग्छ, आजको दिनदेखि मैले ‘आत्मीय जीवनसाथी विवेक’ लेख्ने मेरो अधिकार छैन । मैले लेख्नैपर्नेछ ‘आदरणीय सहिद क. विवेक !’ तपाईंले पत्र लेख्दा ‘आत्मीय जीवनसाथी जयपुरी’ भनेर लेखेको पत्र कहिल्यै प्राप्त गर्नसक्नेछैन । छोरीले ‘बाबालाई पत्र’ भनेर साना क, ख लेखेका कागजका टुक्राहरू पठाउन पनि पाउनेछैन । भौतिक रूपमा स्पर्श गर्न पाउने पनि छैन । मात्र यो गर्न पाउनेछौँ, तपाईंलगायत सम्पूर्ण सहिदले देखाएको बाटोमा दृढतापूर्वक हिँड्न र तपाईंहरूका अधुरा सपना पूरा गर्न मालेमावादको वैचारिक हतियारलाई बलियो गरी पकड्दै तपाईंहरूले देखाएको बाटोलाई पछ्याउँदै हजारौँ मजस्तै जीवनसाथी गुमाएका सहयोद्धाहरू, छोराछोरी, दाजुभाइ, बुबाआमाहरू, बुबाआमा गुमाएका दिदीबहिनी, दाजुभाइ र छोराछोरीसँग सिङ्गो पार्टी र जनतासँग काँधमा काँध मिलाएर दुस्मनको खुनी सत्ता चाँडै भत्काउन अगाडि बढ्नेछु… ।

सीता विक सम्झनाको युद्धभित्रका संस्मरण यसै सिलसिलाको उत्कर्ष र नयाँ प्राप्ति हो । खाराको मोर्चा लड्दै गर्दा दुस्मनले प्रहार गरेको टु इन्च मोर्टारले लागेर सहयोद्धाहरूसँगै घायल बनेकी सपना आफ्नो जीवनसाथी जलनले बलिदान गरेको पललाई यसरी सम्झिन्छिन् :

‘…केही समयपछि होसमा आउँदा घाइते साथीहरूको करुणादायी चिच्याहट मेरो कानमा गुन्जिन पुग्यो । मेरो नसानसामा रगत उम्लिरहेको थियो । फेरि युद्धमोर्चामै पुगेर लड्ने मनोकाङ्क्षा जाग्यो मभित्र । तर हातखुट्टा शिथिल भइसकेका थिए । स्वास्थ्यकर्मी कमरेडहरू हामीलाई छिट्टै हिँड्न भन्दै हुनुहुन्थ्यो । गरुङ्गो मन लिएर एकजना साथीको सहारामा बिस्तारै आरभीतिर हिँड्न सुरु गरेँ म । तर लडाइँ हार वा जित के भएको थियो, थाहा थिएन । म त्यही जान्न चाहिरहेकी थिएँ । मैले लड्न नसके पनि मेरो जीवनसाथीलगायत सबै योद्धाहरूले बदला लिनुहुन्छ भन्ने कल्पना गर्दै म फर्कंदै थिएँ । तर मलाई थाहा थिएन, म घायल हुनुभन्दा पहिले नै मेरो जीवनसाथी बदला लिने निर्देशन दिएर सदाका लागि बिदा भइसक्नुभएको रहेछ । क्षितिजपारिबाट उदाउने घाम बनिसक्नुभएको रहेछ । टुक्रिएको मुटु थाम्दै म आरभी प्वाइन्टमा पुगेँ । आतुर थिएँ म युद्धस्थलको हालखबर बुभ्mन र कमरेड जलनको अवस्था थाहा पाउन । घाइते शिविरमा थियौँ हामी । मलाई भने निकै छट्पटी भइरहेको थियो । युद्धको हालखबर बुभ्mन नपाइरहेको बेला एकजना स्वास्थ्यकर्मी आइपुग्नुभयो । मेरो मनमा उकुसमुकुसिएका प्रश्नहरूलाई उहाँको अगाडि पस्किएँ । उहाँको अनुहार मलीन थियो र त्यसले सङ्कोचभाव प्रकट गरिरहेको थियो । उहाँको मौनतामा केही छ भन्ने कुरा मैले शङ्का गरेँ । तर फेरि आँट गरेँ कमरेड जलनको घायल वा सहादतको खबर सुन्ने । आखिर जे अनिष्ट कल्पना गरेकी थिएँ, त्यही भएको रहेछ । यता आफ्नो घाइते अवस्था, उता जीवनसाथीको प्रत्यक्ष सहयोगदेखि सदाका लागि भौतिक रूपमा टाढा भएको खबर ! जीवनमा कहिल्यै नभएको अनुभूति र पीडा भयो । दौडिएर रणभूमिमा गएर पड्कौँजस्तो लाग्यो । सपना हो वा विपना, स्वीकार्नै सकिनँ । आँखाका आँसु थामिन मानेनन्, बगिरहन थाले । आफ्नै जीवनप्रिय मान्छेको मृत्युको खबरलाई स्वीकारौँ कसरी ? तर युद्धको भीषण अवस्थाले उहाँको बलिदानीपूर्ण सहादतलाई पुष्टि गरिसकेको थियो । नचाहेरै पनि बिस्तारै भावनाको तरङ्गबाट यथार्थको धरातलमा आफूलाई उभ्याउने कोसिस गरेँ । … आदरणीय कमरेडहरूका अगाडि आवश्यकतामा बलिदान दिनसमेत पछि नपर्ने प्रतिबद्धता जाहेर गरेर हामीले विवाह गरेका थियौँ । विवाह गरेको ८ महिना नपुग्दै इतिहासले त्यो कुरा पुष्टि ग¥यो ।’
(रणमैदानबाट मुुट टुक्रिँदाको त्यो क्षण, पृ.११२–११३)
युद्धभूमिबाट जीवन, जगत्, वर्गसङ्घर्ष र स्वयम् युद्ध लडिरहेको समाजको व्याख्या र संश्लेषण गर्दै संस्मरण लेख्ने सीमित स्थापित महिलाहरूको अग्रपङ्क्तिमा आउने नाम हो– सीता विक सम्झना । उनै सम्झनाको संस्मरणसङ्ग्रह हो– युद्धभित्रका संस्मरण ।

‘युद्धभित्रका संस्मरण’ सम्झना नेकपा (माओवादी) प्रति आकर्षित भएर घरबाट विद्रोह गरी महान् मुक्ति आन्दोलनमा लामबद्ध भएको समय २०५५ सालदेखि एकीकृत नेकपा (माओवादी) को पालुङटारमा सम्पन्न केन्द्रीय समितिको बैठकसम्मका १२ वर्षको नेपाली समाज र वर्गसङ्घर्षको दस्ताबेज हो । प्युठानको गोठीबाङमा एउटा विपन्न दलित परिवारमा जन्मिएकी सीता विश्वकर्माले वर्गसङ्घर्षको भट्टीमा खारिँदै जनमुक्ति सेनाको बटालियन कमान्डरजस्तो गौरवशाली पदको जिम्मेवारी समालेर दुस्मनविरुद्धका सयौँ मोर्चा लड्ने कमरेड सम्झना र हजारौँ सीताहरू कमरेड सम्झना बनेको सत्यकथा हो युद्धभित्रका संस्मरण । वास्तवमै जनयुद्ध हजारौँ र अझ लाखौँको सङ्ख्यामा अविकसित, परम्परावादी पुरुषप्रधान शोषित–उत्पीडित महिला, दलित, किसान मजदुर, उपेक्षित वर्ग र समुदायलाई विद्रोहमा उतार्ने र दासबाट नायक बनाउने महान् अभियान थियो । सोही अभियानमा लामबद्ध भएर गाउँकी एउटी दलित ‘केटी’ मालेमाको विचार, दर्शन र जनयुद्धको रापताप र भट्टीमा खारिएर नायक बनेको महाख्यान हो यो । विपन्न, दलित अनि महिला हुनु सीता विकलाई कमरेड सम्झना बनाउने सबल पक्षहरू थिए– शोषणमूलक पुरुषप्रधान समाजले भिराइदिएका यी पगरीहरू । अझ युद्धमोर्चाका कहालीलाग्दा र त्रासदीपूर्ण अनुभवहरू, हाँसो र खुसीकै बीच वियोगका दुर्दान्त घटनाहरू पचाएर आएकी सम्झनाको यो पुस्तक नयाँ यथार्थको सुन्दर नमुना बनेको छ ।

युद्धभित्रका संस्मरणमा युद्धदेखि शान्तिकालसम्मका २३ वटा संस्मरण सङ्गृहीत छन् । ‘परिवारमा विद्रोह र जनयुद्धमा लाग्दाको क्षण’, ‘फौजी कारबाहीको पहिलो अनुभव’, ‘दलित भएकै कारण चिसोमा सुत्नु परेको त्यो रात’, ‘दूधे बालक छोडेकी आमाको साथमा’, ‘शीतलपाटी चौकी आक्रमण र कमरेड विकल्पको सहादत’, ‘लमही बजार गुन्जायमान बनाउँदै’, ‘मेरो स्मरणमा लिस्ने पहाड’, ‘गाम मोर्चाको सम्झना’, ‘युद्धकालको सङ्ग्रामी यात्रा ः थबाङदेखि सिन्धुलीसम्म’, ‘पूर्वमा बितेका दिन र मोर्चाहरू’, ‘पूर्वबाट पश्चिम फर्किंदा बिदाइको त्यो क्षण’, ‘त्यो दिन बोलेको वाक्य नै अन्तिम भयो’, ‘एसटीएफ बटालियन कमिसार कमरेड विवेकको सहादत’, ‘बेनी युद्धको पेचिलो मोर्चा’, ‘मथुरा डाँडा फौजी कारबाही ः एक झलक’, ‘एम्बुस बस्न जङ्गली खोला हुँदै रिहारसम्म’, ‘रणमैदानमा मुटु टुक्रिँदाको त्यो क्षण’, ‘लडाइँको मैदानबाट घाइते शरीर लिएर फर्किंदा’, ‘डिभिजन गठनलगत्तै डिभिजन शोकाकूल भएको त्यो क्षण’, ‘ढाडमा टेकेर टाउकोमा हान्ने अभियानमा दुम्लादेखि तौलिहवासम्म’, ‘क्यान्टोनमेन्टदेखि सिंहदरबारसम्म’, ‘कमरेड जलनको सहादत र दोस्रो बिहे’ र ‘खरीपाटी र पालुङटारको सङ्घर्ष’ यस सङ्ग्रहमा समेटिएका संस्मरणहरू हुन् ।

अधिकांश विषयवस्तु शीर्षकले नै प्रस्ट पार्छन् । सम्झना छापामार र स्क्वायडदेखि सयौँ युद्धमोर्चा लड्दै बटालियन कमान्डरसम्म बनेकी योद्धा हुन् । उनले दुस्मन पराजित गर्ने अभियानमा दुस्मनको मात्र होइन, सहयोद्धा र कमान्डरहरूको पनि रगत बगेको देखेकी छिन् । देखेकी मात्र होइन, कयौँपटक आफैँ घाइते र बेहोस हुँदै पर्याप्त रगत बगाएकी छिन् । दुस्मनका क्याम्प कब्जा गरेकी छिन् र जनतासँग दुःखसुख साटेकी छिन् । कमै मात्र योद्धाले भोग्न पाउने जीवनसाथीको बलिदान भोगेर उनी महान् सहिद परिवार बनेकी छिन् । २०६१ साल भदौ २३ गते रोल्पाको बाङ्गेतालमा माक्र्सवादी (जनवादी) विवाह गरेकी सम्झनाले सँगै लड्न गएका सहयोद्धा जीवनसाथी जलनलाई खारा मोर्चामा गुमाइन् । जीवनसाथीको बलिदानपछि पनि उनी विचलित भइनन् । झन् स्पातिलो हुँदै अरू दर्जनौँ मोर्चा लडिन् ।

महान् जनयुद्धका क्रममा पनि नातावाद र कृपावाद चल्थ्यो । प्रचण्ड र बाबुरामका छोराछोरीहरू कोही राजनीतिबाट अलग थिए त कोही राजकुमार–राजकुमारीझैँ ऐसआराम र सुखसयलको जीवन बिताइरहेका थिए तर त्यति नै बेला कमरेड जलन सम्झनालाई भनिरहेका थिए, ‘सम्झना, मोर्चामा राम्रोसँग लड्नू है ?’ युद्धकालको विवाह युद्धलाई विजयमा टुङ्ग्याउनका लागि, त्याग, बलिदान र शौर्यका लागि ऊर्जा बन्थ्यो । तर यो अवसर कायरहरूले कहाँ पाउँछन् क्रान्तिकारीहरूका लागि आफ्नो घाइतेपन र सहयोद्धाहरूको बलिदान पनि अर्को मोर्चा लड्ने ऊर्जा बन्थ्यो ।

आफ्नो जीवनसाथीको गौरवपूर्ण बलिदानमा मात्र होइन, सम्झनाले भीषण लडाइँका मोर्चामा आफ्ना अग्रज, होनहार सहयोद्धाहरूसँगको वियोगका पलहरूलाई यस्तै शक्तिशाली विचार र कलाका माध्यमबाट अभिव्यक्त गरेकी छिन् र त्यो पीडा, वियोग र बिछोडबाट शक्ति आर्जन गर्दै अघि बढ्ने अठोट गरेकी छिन् । गरिरहेकी छिन् । पुस्तक प्रकाशन भएको एक वर्षपछि पार्टी महाधिवेशनमा प्रतिनिधिका रूपमा छानिएकी थिइन् उनी । त्यसै बेला उनलाई पुस्तकको महत्ताबारे केही सुझाउने अवसर प्राप्त भएको थियो । फलस्वरूप पन्ध्रौँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा उनको पुस्तक लोकार्पण गराइयो र परिचर्चा पनि । समालोचकहरूले उनको पुस्तकमा महाख्यान रहेकाले औपन्यासिकता दिन आह्वान गरेका छन् । जनयुद्धले नायकका रूपमा जन्माएका सीता विकजस्ता स्रष्टाका हृदयका अटेसमटेस भावना र अनुभवहरू अब उपन्यास र कथाहरूको माध्यमबाट विस्फोट हुनु जरुरी छ ।

यतिबेला एकथरी कायरहरू महान् जनयुद्धका उपलब्धिहरूलाई रछ्यानमा फ्याँक्दै क्रान्तिको झन्डा धुलोमा लतारेर कुहीगन्धे संसदीय सत्तामा रूपान्तरित भइरहेका छन् । हजारौँ महान् सहिद र तिनको रगत अनि सपनासँग साटिएका हतियार, जनमुक्ति सेना, आधारइलाका र जनसत्ताहरू दुस्मनलाई बुझाएर उनीहरू विस्तारवाद र साम्राज्यवादसँग सत्ता र जीवनको भीख मागिरहेका छन् । हजारौँ जलनहरूले महान् जनयुद्धका क्रममा रगत रोपेर क्रान्तिलाई विजयसम्म पु¥याउने शपथ खाएका थिए र हजारौँ सम्झनाहरू आफ्नो क्षतविक्षत घाइते शरीर लिएर अझै जनताको मुक्तिका लागि क्रान्तिको महान् अभियानमा लामबद्ध छन् । कमरेड सम्झना क्रान्तिको निरन्तरतामा लामबद्ध बन्दै लालगद्दारहरूलाई पिच्चपिच्च थुकिरहेकी छिन् । त्यो संस्मरणमा र उनको जीवनमा पनि प्रस्ट देख्न सकिन्छ ।

कायर र गद्दारहरूलाई क्रान्तिकारी इतिहासले कहिल्यै माफ दिनेछैन । क्रान्ति ओझेलमा प¥यो भने तिनलाई दुस्मनले सिध्याउनेछन् । क्रान्ति अघि बढेपछि ती क्रान्तिकारी र जनताको तारो बन्नेछन् । पछिल्लो समयमा प्रचण्ड, अनन्त, महरा, रामबहादुर थापाहरूका गत हर्कत, बर्बराहटबाट पनि गद्दारहरूको पछिल्लो आतङ्कित मनस्थिति बुझ्न सकिन्छ । वर्तमान कायरता र विद्रोह, आत्मसमर्पण र स्वाभिमानपूर्ण सङ्घर्ष, गौरवशाली इतिहासको समाप्ति र नवीन प्राप्ति यिनै विषयहरूको सङ्घर्षमा अघि बढिरहेछ । सम्झनालगायतका जनयुद्धले इस्पात बनाएका असली क्रान्तिकारीहरू जीवनव्यवहारलाई आदर्शमा, नवीन यथार्थमा रूपान्तरण गरिरहेका छन् । क्रान्ति यिनको एक मात्र आदर्श बनेको छ र मुक्ति एक मात्र सपना बनेको छ । यिनीहरूको विगतको अनुभव र चेतनाको उचाइलाई प्रयोग गर्दै अर्को लडाइँ÷एकीकृत जनक्रान्तिको बाटोमा हिँडिरहेका छन् । गौरवशाली इतिहासलाई नै एकमुष्ट रूपमा प्रतिक्रान्तिमा समाप्त पार्ने योजना र षड्यन्त्रमा लागेका दक्षिणपन्थी नवसंशोधनवादीहरू रातारात दलाल, पतीत र भ्रष्ट बनिरहेका छन् । तिनले खराब इतिहास दोहो¥याउँदै आफ्नो गुट र सत्ता जोगाउन जनघात र राष्ट्रघात गरिरहेका छन् । इतिहासले बेलैमा दलाल र क्रान्तकारीहरूबीच स्पष्ट सीमारेखा कोरिदिएको छ । वर्गघाती र स्वाभिमानीहरूका बीच समयमै कित्ताकाट गरिदिएको छ ।

सारमा, सम्झनाको ‘युद्धभित्रका संस्मरण’ नेपाली क्रान्तिमा इमानदार क्रान्तिकारीहरूले झन्डै ११ वर्षसम्म नेपाली उत्पीडित श्रमजीवी र विश्व सर्वहारावर्गको मुक्तिका पक्षमा लडेका क्रान्तिकारीहरूको बहादुरीको गौरवशाली इतिहास हो । अझ दोस्रो दर्जाका नागरिकका रूपमा बाँचिरहेका महिला, अमानुषको अपमानपूर्ण व्यवहार झेलिरहेका दलित, वर्गमुक्तिका लागि लड्दालड्दै जीवन उत्सर्ग गर्ने महान् सहिद परिवार, युद्धमा रगत बगाएकी घाइते योद्धा अनि युद्धमोर्चाबाट खारिएर खसीको टाउको झुन्ड्याएर कुकरको मासु बिक्री गर्ने कसाईखानाका रूपमा स्थापित संसद्सम्म भोगिसकेकी जनमुक्ति सेनाकी बटालियन कमान्डरले वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका तीक्ष्ण अनुभूति अभिव्यक्त गरेको कलात्मक सिर्जना हो र नेपाली राजनीतिको एक दस्ताबेज पनि । यसले राजनीतिक रूपमा त नेपाली जनयुद्धमा उत्पीडित नेपाली जनताले निर्वाह गरेको उच्च भूमिकाका बरोमा यथार्थ प्रस्तुत गर्ने नै छ, महान् जनयुद्धले युद्धमा लामबद्ध हुने पठित–अपठित, साक्षर–असाक्षर सबैलाई उच्च कोटीको स्रष्टा–संस्कृतिकर्मी बनाइदिएको उदात्त परिघटनाको पनि गतिलो प्रमाण पेस गरेको छ । युद्धभित्रका संस्मरण उच्च कोटीको प्रगतिवादी सिर्जना हो । सम्झनामा भएको क्रान्तिचेत र सिर्जनाचेत एकसाथ अघि बढिरहने र विद्रोहका नवीन ज्वारभाटाहरूसँगै सिर्जनाका नवीन दस्ताबेजहरू तयार हुने अपेक्षा गर्नु यतिबेला अनुचित नठहर्ला ।

निष्कर्ष

जनयुद्धमा हजारौँ योद्धाको सहादत भयो । कयौँले अत्यन्त ठूलो त्याग र पौरख देखाएका छन् । जीवनलाई दाउमा राखेर ठूल्ठूला मोर्चा लडेका छन् । लड्नेहरूले कयौँ मोर्चा जितेका पनि छन् । सबैले लडाइँमा भएको त्याग र त्यसका उपलब्धिहरूको रक्षा गर्न सक्छन् भन्ने पनि छैन । मानिसहरू लामो र कठिन यात्रामा सधैँ सँगै नरहन सक्छन् । हार्न, थाक्न र भाग्न सक्छन्, जसरी पछिल्लो चरणमा वर्गसङ्घर्षबाट देवी खड्का र ओनसरी घर्तीहरू भागेका छन् । संस्मरण पढ्दा देवी र ओनसरीका संस्मरणले पनि मन झङ्कृत बनाउँछ । व्यक्तिको जीवन र सिर्जनाका बीच तादात्म्य नभएपछि सिर्जनाहरू पनि फिक्का हँुदै जाँदा रहेछन् । रचनाहरूले मात्र मानिस अब्बल हुन्थ्यो भने कयौँ क्रान्तिकारी स्रष्टाले प्रतिक्रान्ति र प्रतिगमनको बाटो रोज्ने थिएनन् । तर त्यो त यथार्थ रहेछ । कृष्ण सेन ‘इच्छुक’ हरू मरेर पनि बाँचिरहने र कतिपय स्रष्टा र योद्धाहरू बाँचेर पनि मरेसरह हुने अवस्था आस्था, सिर्जना र व्यवहारकै कारण उत्पन्न भएको हो । तर आज बाबुराम–प्रचण्डमण्डलीले गद्दारी गरेर जनयुद्धका सम्पूर्ण उपलब्धिहरू दुस्मनसमक्ष बुझाएर देश र जनतामाथि नै बलात्कार गर्दा देवी र ओनसरीहरू त्यसका मतियार र फड्के किनाराका साक्षी बनिरहेछन् । जनताको रगतबाट सिर्जिएको जनसेनाको बर्दीसमेत फुकालेर दुस्मनका सामु नाङ्गेझार पारेर हुर्मत लिँदा उनीहरू मुखमा पाड्को ठोकेर बसे । राष्ट्रघाती बिप्पा, सुपुर्दगी, जलस्रोत र एअरपोर्ट सन्धिसम्झौता गर्दै प्रचण्ड–बाबुराम भारतीय विस्तारवादको दलाल बन्दा निरीह बनेर सही थापिरहे । मोदीको सुरक्षाका नाममा नेपाली भूमिमा भारतीय सैनिकहरू परेड खेल्दा उनीहरु त्यसलाई स्वाभाविक र अनिवार्य ठानिरहेका छन् । यो अवस्थाले उनीहरूको हिजोको जीवनशैली र लेखनले उनीहरूलाई नै गिज्याइरहेको अनुभूति हुन्छ । यो सन्दर्भमा कमरेड सीता विक सम्झनाको युद्धभित्रका संस्मरणले धेरै माथिल्लो स्तरको उचाइ छोएको छ । उनको क्रान्तिकारी जीवन र क्रान्तिकारी लेखनको निरन्तरताको कामना 

२०७५ भदौ १५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :