कोसी ब्यारेज आसपासका बासिन्दा राम्रोसँग निदाउँदैनन्

काठमाडौँ : वर्षाको सुरुआतसँगै कोसी नदीमा आउने बाढीले ठूलो मात्रामा धनजनको क्षति गर्ने गरेका कारण कोसी आसपासका जनता रातमा राम्रोसँग निदाउन सक्तैनन् । सोमबार साँझदेखि भएको अविरल वर्षापछि कोसीमा आएको बाढी बस्तीमा पसेपछि सप्तरीको हनुमानपुरवरपरका बासिन्दा निकै त्रसित बनेका छन् । यसपटक पनि लगातारको वर्षापछि कोसीको बाँधभन्दा तलतिर पर्ने बस्तीहरू डुबानमा परेका छन् ।

भारत सरकारको कोसी योजनाले यस वर्ष ब्यारेजभन्दा तल कोसीको मूल धारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि हनुमाननगरका तीन सयभन्दा बढि घरमा पानी पसेको हो । यस वर्ष भारतीय कोसी योजनाका अधिकारीहरू र भारतीय ठेकेदारहरूले आफूखुसी कोसीको बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि कोसीको बहाब पश्चिमी तटबन्धतिर मोडिँदा नेपाली भूमिको बस्ती डुबानमा परेको हो । भारतीय कोसी योजनाका अधिकारीहरूले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी पानीको बहावलाई पश्चिमतर्फ मोडेका छन् ।

यस्तै वर्षापछि राप्ती नदीमा पानीको बहाव बढेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । उता महाकाली र बबई नदीआसपासका जनता पनि नदीमा पानीको बहाव बढेसँगै त्रसित बनेका छन् । यस्तै ठाउँठाउँमा खसेको पहिरोले पनि पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रका जनता बाढी र डुबानबाट प्रभावित भएका छन् भने पहाडमा वर्षापछि खसेको पहिरोले प्रभावित भएका छन् ।
२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :