अनुभूतिपरक पुस्तक परिचय : युगको आवाज : आँधी–हुरी

आफ्ना अग्रजहरू र अझ विशेषगरी यो दलाल संसद्वाद र बजारिया उपभोक्तावादले सन्तान जन्माउने र विलासका लागि उपभोग गर्ने साधनका रूपमा दोस्रो दर्जाकी नागरिक बनाइएकी महिला र तिनै महिलासमेत जन्माउने आमाका बारेमा गजल लेखेर सङ्ग्रहको आरम्भ गरेका गजलकार कमरेड बीपी विद्रोहीलाई ‘हुने बिरुवाको चिल्लो पात’ भन्दा अत्युक्ति हुँदैन भन्ने मेरो विश्वास छ । आँधी–हुरी शीर्षकको आफ्नो पहिलो गजलसङ्ग्रह प्रकाशन गरेका नवोदित प्रगतिशील स्रष्टा विद्रोहीलाई सर्वप्रथमतः प्रगतिवादी सांस्कृतिक जीवनको आरम्भको यो समयमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आमालाई सम्बोधन गरिएको विद्रोहीको गजलको आरम्भ यस्तो छ ः
आमा जसले क देखि ज्ञ सम्म पढ्न सिकाउनुभो
दुःख अनि कष्टसँग लड्न सिकाउनुभो
भागेर छिटो बोलेर बाठो भइँदैन बाबु भन्दै
तातेताते गर्दै अघि बढ्न सिकाउनुभो
कहिले चिप्लिएर लड्थेँ त कहिले लतारिन्थेँ
आमा जसले निर्भीक भई सधैँ अड्न सिकाउनुभो
यात्राबाट कहिले भाग्न खोज्थेँ त कहिले फर्किन
आमा जसले बिस्तारै चढ्न सिकाउनुभो
हुरी बनेर उडाउन खोज्ने यो पापी समयसँग
दरिलो थाम बनेर गड्न सिकाउनुभो ।
जीवनसङ्घर्ष र वर्गसङ्घर्ष दुवै सङ्घर्षकी पथप्रदर्शक ममतामयी आमाप्रति समर्पित यी गजलांश निकै नै मार्मिक छन् । आफ्ना अग्रजहरूप्रति सन्ततिहरूको कृतघ्नता बढ्दै गएको यो निष्ठुर र क्रूर समयमा यसरी हार्दिकता प्रकट गर्ने गजलकार न्यायका निम्ति निरन्तर सङ्घर्षमा होमिने अग्रजहरूप्रति श्रद्धारत रहेकै कारण पनि मेरा प्रिय स्रष्टाहरूको सूचीमा पर्नुभयो ।

आँधी–हुरी गजलसङ्ग्रहका लेखक अर्थात् गजलकार बीपी विद्रोहीलाई मैले यसअघि प्रत्यक्ष रूपमा चिनेको होइन । स्रष्टाका रूपमा कहिलेकहीँ सामाजिक सञ्जालहरूमा झल्याकझुलुक मात्र भेट भएको हो । वर्तमानका शक्तिशाली प्रगतिवादी युवाकवि रसुवाली कविका मुखबाट बेलाबेलामा उहाँका गजलहरूबारे चर्चा सुनेको हुँ । तर विद्रोहीका गजलले मेरो मनलाई राम्ररी ताने र लोभ्याए पनि । गजल सिद्धान्त र यसको रौँचिरा दर्शन मेरो यहाँको विषय पनि होइन । मलाई यत्ति थाहा छ– गजल पनि साहित्यका अन्य विधाझैँ कविताको एउटा खास अङ्ग हो र यो लय, सुर र तालमा गाउन मिल्छ । यसलाई गीतजस्तै कविताको लयात्मक उपविधा मान्न सकिन्छ । 

कवि हितप्रसाद उपाध्यायको सान्निध्यमा रहँदा मैले बाल्यकालमै उहाँका मुखबाट हजारौँ गजल सुनेँ हुँला । ती केही नेपाली, केही उर्दू र केही हिन्दी भाषाका समेत थिए । ७२ वर्षअघि पत्नीवियोगमा लेखिएको चन्द्रवदन काव्यमा पनि उहाँले नेपाली गजलहरू लेख्नुभएको छ र ती स्थापित पनि छन् । उहाँले गाएका कयौँ गजल आमा जूनमायाले पनि गाउने गर्नुभएको थियो । तर ती अहिले धेरै मधुर स्मृतिमा मात्र छन् । । यस अर्थमा मैले गजलहरू कोक्रामा हुँदै सुन्ने अवसर प्राप्त गरेको हुँ तर त्यति बेला मेरो बालमस्तिष्कले गजल, गीत र श्लोकहरूका बीचको भेद छुट्ट्याउन र खुट्ट्याउन सक्ने अवस्था थिएन । तर पनि यतिचाहिँ भन्नसक्छु, मैले गीत, श्लोक, कविता र गजलहरू बाल्यकालमै एकैसाथ सुन्ने अवसर पाएको हुँ र त्यसको परख पनि साथसाथै गर्न पाएको हुँ । आज विद्रोहीका वैचारिक गजलहरूकै सागरमा पौडी खेल्न पाउँदा तिनै पुराना दिनहरूको स्मृतिको नयाँ ढङ्गको पुनरावृत्ति भएको अनुभूति भइरहेको छ । यो स्मृति दिलाइदिने स्रष्टा विद्रोहीप्रति आभारी पनि छु ।

गजललाई सम्भ्रान्त वर्ग, प्रतिगामी र यथास्थितिवादका पक्षपातीहरूले महलहरूमा गाउने, गाउन लगाउने, गजल गायकहरुले विलासीहरूलाई खुसी पार्ने गायकी साधनका रूपमा दुरुपयोग गरेको र यसलाई प्रायः स्रष्टाहरूले सस्ता मायापिरतीका गन्थन गुनगुनाउने माध्यमका रूपमा कब्जा गरेको पाएको थिएँ । सीमित गजलकारले मात्र यसलाई जीवन, देश र दुनियाँका पक्षमा, अमानताका विरुद्ध र समानताका पक्षमा, शोषण, दमन, विभेदको अन्त्य र शोषणरहित समाजवादी–साम्यवादी समाज निर्माणका लागि जारी क्रान्तिको दाँती र पेचकिलाका रूपमा प्रयोग गरेको पाएँको थिएँ । विद्रोहीको यो गजलले मलाई स्रष्टाले हृदयैदेखि क्रान्तिको पक्षपोषण गरेका छन् भन्ने स्पष्ट बनायो :

परिवर्तनको यात्रा अब नयाँ ढङ्गले तय हुन्छ
डरपोक अनि कायरहरू आफ्नो बाटो गए हुन्छ ।
एकीकृत क्रान्तिमा जनता अघि बढिसके
केही वर्षमा देश अब समाजवादमय हुन्छ
घातको बदला घातै हुन्छ, लातको बदला लातै
हिसाबकिताब चुक्ता गर्न तम्तयार रहे हुन्छ
पीडितले मुक्ति पाउँछन् शोषितहरूले न्याय
रगत चुस्ने दलालहरूलाई त्रास अनि भय हुन्छ
नबिराउनु नडराउनु हिम्मत हार्नु हुन्न साथी
झूटहरू आफैँ झर्छन् साँचोको नै जय हुन्छ ।

लेखकको यो कृति एकपटक हेरिदिन जब रसुवाली कविले कमरेड्ली आग्रह गर्नुभयो मैले यसलाई इमानदारीपूर्वक, सरसर्ती पढेँ । यो गजलसङ्ग्रह गजलसिद्धान्त र गजलको रौँचिरा दर्शनअनुसार छ कि छैन, म भन्न सक्तिनँ तर के कुराचाहिँ ढुक्कसँग भन्न सक्छु भने यसमा देशभक्ति छ, राष्ट्रियता छ, अन्तर्राष्ट्रियता छ र छ– समानतामूलक समाज निर्माणका लागि अदम्य साहस अनि वेगवान् र अधैर्य हुटहुटी । समसामयिक विषयवस्तुलाई पनि टपक्कै टिपेर गजलमा उतार्नसक्ने क्षमता विद्रोहीको छ । बारम्बार राष्ट्रघातले थिलथिलो भएको नेपाल र नेपाली जनतालाई आहत पार्दै भर्खरै भारतीय शासकहरूलाई रिझाउन भारत पुगेका केपी ओलीको यात्रालाई स्रष्टाले गजलमार्फत यसरी झट्टी हानेका छन् :

जनतालाई ढाँट्नु र झुक्याउनु ओलीको व्यापार हो
भारत भ्रमणको मुख्य एजेन्डा नै खोलीको व्यापार हो
बेच्दाबेच्दा सब रित्तिएपछि बाँकी रहेको त्यो
नेपाल आमाको पटुकी अनि चोलीको व्यापार हो
अर्बौंअर्बौं लोभ देखाएर मूर्ख बनाउँदै जनतालाई
हिजो महाकाली बेच्नेहरूको टोलीको व्यापार हो ।
राष्ट्रघात गर्दै द्वन्द्वको बिउ रोपेर फेरि
आधुनिक हातहतियार अनि गोलीको व्यापार हो ।

यही गाम्भीर्य, यही क्रान्तिकारीपन, यही चिन्तनशीलता र बौद्धिकता, यही समयबोध, जिम्मेवारीबोध र धारिलोपनले नै यो गजलसङ्ग्रह र यसमा निहित सन्देशले समाजलाई आमूल परिवर्तनको दिशातर्फ डोहो¥याउन मद्दत पु¥याउनेछ ।
यस गजलसङ्ग्रहमा रहेका विशेषतालाई सङ्क्षेपमा यसरी पनि उल्लेख गर्न सकिन्छ :

यस सङ्ग्रहमा राष्ट्रियता÷देशभिक्तको लदाबदी छ । अन्तर्राष्ट्रियताको प्रचुर बखान छ । प्रायः अधिकांश गजलमा विचारमा सबलता र प्रस्टता छ । गजलकारले भ्रष्टहरूको भण्डाफोर गरेर, राष्ट्रघातीहरूको खिल्ली उडाएर, जनघातको नालीबेली प्रस्तुत गरिदिएर, जनजीविकाको पक्षपोषण गरेर र जनसङ्घर्षप्रति समर्थन र ऐक्यबद्धता प्रकट गरेर यथार्थको उद्बोधन गरेका छन् ।

हुनत एकखाले मानिसलाई जनयुद्धका केही प्रमुख पात्रहरूले समाप्त भयो भनेर घोषणा गरिदिएको जनयुद्ध, त्यसमा भएको त्याग, शौर्य, बलिदानी र जनयुद्धबाट प्राप्त उपलब्धिहरू भुल्न र सम्पूर्ण रूपमा प्रतिक्रान्तिको मतियार बन्न हतारो छ । केही खलपात्रहरू जनयुद्ध समाप्त पार्न सकेको र त्यसका केही प्रमुख सञ्चालकहरूलाई क्रान्तिको दलाली र गद्दारीको पारितोषिकका रूपमा दलाल संसद्वादको कलो लुछाचुँडी गर्न र गराउनमै मस्त र व्यस्त छन् । यस्तो पेचिलो समयमा निरन्तर क्रान्तिका पक्षमा क्रान्तिकारी आशावाद सिर्जना गर्दै एकीकृत जनक्रान्तिमा लामबद्ध हुनु चुनौतीपूर्ण कुरा पनि हो तर यो इतिहास निर्माण गर्ने एउटा सुन्दर अवसर हो भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । गजलकार विद्रोहीले सहिदी मूल्य र विद्रोहको बाटोको उच्च प्रशंसा गर्दै निरन्तर यही बाटोमा लागिरहन क्रान्तिकारीहरूलाई आह्वान पनि गरेका छन् । उनले क्रान्तिमार्ग छोडेर दलाल संसद्वादमा छिरेकाहरूप्रति यसरी घृणा र आक्रोश व्यक्त गरेका छन् :

अब कुनै सम्बन्ध छैन माकेका साथीहरूसँग
सिंहदरबार र लाजिम्पाट ताकेका साथीहरूसँग
दलालहरूको मीठो अनि स्वादिलो भोजन बन्नलाई
राष्ट्रघातीहरूको ताउलोमा पाकेका साथीहरूसँग
माक्र्सवादलाई रछ्यानमा मिल्काएर लाजै नमानी
जबजको भारी बोक्दै थाकेका साथीहरूसँग
जनवादी शासनका रङ्गीन सपनालाई मिल्काएर
संसद्वादी गणतन्त्र ताकेका साथीहरूसँग
आजै छोड्नुस् अनि तोड्नुस् घातीहरूसँगको नाता
माओवाद छाडेर भागेका साथीहरूसँग
क्रान्तिमार्ग परित्याग गर्नेहरूप्रति स्रष्टा अत्यन्त मुर्मुरिएका पनि छन् । उनी लेख्छन् ः
ठोकौँ भने निधारमै ठोक्न सकिन्छ भर्खरै
बोकौँ भने बन्दुक बोक्न सकिन्छ भर्खरै
फासिवादको यात्रालाई अजम्मरी नसम्झ भो
रोकौँ भने तिम्रो पाइला रोक्न सकिन्छ भर्खरै
जनदुस्मन कोको छन् कण्ठै छ यो दिमागमा
तोकौँ भने निसाना तोक्न सकिन्छ भर्खरै
विष छ, इख छ, आक्रोश छ मनभरि
साप बनेर टोकौँ भने टोक्न सकिन्छ भर्खरै
वर्तमानमा एमाले र माकेले गरेको कथित वाम गठबन्धनप्रति गजलकारको बक्रदृष्टि यस्तो रहेको छ ः
दासढुङ्गा पुगी खोइ पति भनी दुनियाँ गुहारी
विद्याले जितिन् दुईचोटि घिचिन् आश्रितकी ऊ हारी
गोलीको गीत ओलीसँग मीत जनताको बिचल्ली
छोरीलाई मेयर छोरो भो स्वर्गे मन्त्री भइन् बुहारी
एकलौटी शासन निःशुल्क रासन चुनावको सिटमा
आखिरी रैछ साठी र चालीस सत्ताको जुहारी ।
युद्ध छोडेर निरपेक्ष शान्तिको बाटोमा र विज्ञान छोडेर आदर्श र अध्यात्मको बाटोमा हिँडिरहेका हिजोका विद्रोही नेताहरूलाई गजलकारले यसरी मर्मस्थलमै प्रहार गरेका छन् : 
हिजो माक्र्सवाद पढाएको केका लागि थियो कमरेड
स्कुलहरूमा संस्कृत डढाएको केका लागि थियो कमरेड
आज आफैँ मन्दिरमन्दिर रुद्री लगाउँदै हिँडिरहेछौ
सत्र हजारलाई बली चढाएको केका लागि थियो कमरेड
बन्दुक त्यागेर शङ्खघण्टतिरै लागेछौ आजकल त
मुठी पार्दै दायाँ हात ठड्याएको केका लागि थियो कमरेड
अध्यात्मवाद र भौतिकवाद भन्दै बस्तीहरूमा
भाइभाइलाई लडाएको केका लागि थियो कमरेड
अन्तर्राष्ट्रिय घटनाक्रमप्रति गजलकार उत्तिकै चनाखा छन् । उत्तरसाम्राज्यवादको नाइके अमेरिका र सामाजिक साम्राज्यवादी रुसका बीचमा सिरियामा भइरहेको लडाइँका बारेमा विद्रोही लेख्छन् ः
सबैले देखेकै छन् यो अमेरिका र रुसको लडाइँ हो
अनि यो पुटिनको जैरी र ट्रम्पको झुसको लडाइँ हो
चामल र कनिकासमेत सँगै बसेर हसुरेपछिको
बाकी रहेको ढुटो अनि भुसको लडाइँ हो
तँ ठूलो कि म ठूलो भन्ने घमण्ड साँढेको जुधाईजस्तो
नालायकहरूको घमण्ड अनि तुसको लडाइँ हो
एउटा कहिल्यै नसोचिने त एउटा कहिल्यै नतातिने
त्यो रुन्चे आकाश अनि त्यो घुसघुसे पुसको लडाइँ हो
दुनियाँलाई आतङ्कित बनाउँदै तर्साउने
साम्राज्यवादीको षड्यन्त्र अनि घुसको लडाइँ हो ।
भविष्य साम्राज्यवादको होइन, समाजवाद र साम्यवादकै छ र वर्तमानमा पनि समाजवादले साम्राज्यवादलाई घिसारिरहेको छ भन्नेमा गजलकार ढुक्क छन् । उनले यसलाई प्रमाणित गर्न समाजवादी जनगणतन्त्र कोरियासँग हार्दै, झुक्दै र गल्दै गएको अमेरिका, अमेरिकी उत्तरसाम्राज्यवाद र डोनाल्ड ट्रम्पलाई प्रयोग गरेका छन् । गजलकार लेख्छन् ः
ट्रम्पको घमण्ड तोडिँदैछ विश्वभरि
किम जोड उनको साहस जोडिँदैछ विश्वभरि
शासन गर्दै रगत चुस्ने महल अनि दरबारको
दैलो अनि झ्यालहरू तोडिँदैछ विश्वभरि
साम्राज्यवादको झार अनि झ्याडीहरू पन्छाउँदै
समाजवादको बगैँचा गोडिँदैछ विश्वभरि
पुँजीवादले मुढेबलको जति छेकबार लगाए नि
साम्यवादको यात्रातिर मोडिँदैछ विश्वभरि
स्रष्टाको कलम समसामयिक घटनाक्रममा मात्र सीमित छैन । गजलकार विद्रोहीले माओ र लेनिनको स्मरण गर्दै यसरी आफूहरू निरन्तर क्रान्तिको बाटोमै हिँडिरहेको उद्घोष पनि गरेका छन् :
विद्रोह गर्नु अधिकार हो चीनमा माओ भन्नुहुन्थ्यो
शोषितपीडित वर्गहरूलाई मिलेर जाओ भन्नुहुन्थ्यो
समाजवाद नआएसम्म लालझुपडीहरूमा
विद्रोहका गीतहरू गाओ भन्नुहुन्थ्यो
बरु नखाऊ सयौँ दिन भोकतिर्खा सहेर नै
तर गाउँगाउँ अनि बस्तीबस्तीमा धाओ भन्नुहुन्थ्यो
आफू चुहिएकै झुपडीभित्र बस दुःखकष्ट पिएर
तर जनताको छानोहरू छाओ भन्नुहुन्थ्यो
… … …
तिम्रो दर्शन हामीले भुल्याछैनौँ लेनिन
सत्ता अनि कुर्सीतिर भुल्याछैनौँ लेनिन
पुँजीवादले रासायनिक मल जति खन्याए नि
दलालहरूकोे बगैँचामा फुल्याछैनौँ लेनिन
थोरै भए निसानै भए नि बलियै छाँै हामी
माक्र्सवादमा सुधारवाद हुल्याछैनौँ लेनिन
तिमी थियौ हिजो जहाँउही छौँ हामी आज
मीठोमसिनो खोज्दै हामी ढल्याछैनौँ लेनिन
तिम्रो सपना पूरा हामी गर्छौं एकदिन जसै
पापीहरूसँग मनपेट दिई खुल्याछैनौँ लेनिन
यहाँ माओ र लेनिनको पदचाप पछ्याइरहेको सन्दर्भले निरन्तर क्रान्तिको सिद्धान्तमा अडिग छौँ र क्रान्तिकै माध्यमबाट श्रमिक÷सर्वहारावर्गको सत्ता स्थापना नगरेसम्म बलप्रयोगको बाटो परित्याग गर्दैनौँ भन्ने सन्देश गजलकार विद्रोहीले दिएका छन् ।
… … …
यो सङ्ग्रहकै शीर्ष स्थान ओगट्न सफल गजल हो स्याबास् कमरेड । यो व्यङ्ग्यात्मक गजल हो । यस गजलमा क्रान्तिको अगुवाइ गर्दै गरेको कुनै समयको कमरेडले मर्ने डरले काँप्दै र धर्खराउँदै सही बाटो परित्याग गरेर खराब बाटो पछ्याएकोमा तीखो प्रहार गरिएको छ । इतिहासका खलनायकहरूलाई सरापेर मात्र क्रान्ति पूरा त हुँदैन तर ती खलपात्रका बारेमा सही सन्देश जनसमक्ष नपु¥याउँदा उनीहरूप्रतिको भ्रम बाँकी नै रहने र सर्वसाधारणमा द्विविधा कायम रहिरहने हुन्छ । त्यसैले जीवनरक्षाका लागि क्रान्तिमार्गबाट भाग्दै वर्गदुस्मनहरूको टाङमुनि छिर्ने, सहिदहरूको रगतले लतपतिएको क्रान्तिको बाटोप्रति घात गर्दै र सहयोद्धाहरूलाई धोका दिँदै वर्गयुद्धप्रति दलाली र गद्दारी गर्ने कायरहरूप्रति स्रष्टाले व्यङ्ग्यका माध्यमबाट शक्तिशाली प्रहार गरेका छन् । यो यतिबेला नयाँ क्रान्तिको तयारी, क्रियाशीलता र सफलताका लागि एउटा शक्तिशाली अस्त्र पनि हो ः
पुसको जाडोमा थरथर काँप्नुभो स्याबास् कमरेड
आफ्नै घर जलाएर आगो ताप्नुभो स्याबास् कमरेड
लालझन्डाहरूलाई भ्रष्टहरूको फरिया बनाएर
रातो इतिहासलाई फोहोरमा गाभ्नुभो स्याबास् कमरेड

माक्र्सवादी दर्शनलाई खरानी बनाउँदै मेटाएर
दलालहरूको महाकाव्य छाप्नुभो स्याबास् कमरेड
देशको छातीमा निकै नहुने क्यान्सर घुसाएर
अरूको भविष्य अनि आयु नाप्नुभो स्याबास् कमरेड
आफ्नै भाग्य बैरीहरूलाई सुम्पिएर लाजै नमानी
दुईचार कौडीको भिक माग्नुभो स्याबास् कमरेड
लाखौँलाखका सपनाहरूलाई नङ्ग्याएर ठण्डीहरूमा
आफू सिरकमाथि सिरक खाप्नुभो स्याबास् कमरेड

आँधी–हुरी शीर्षक गजलसङ्ग्रहमा गजलकार विद्रोहीले क्रान्तिप्रति दृढता र प्रतिबद्धता व्यक्त गर्दै यसलाई निष्कर्ष अर्थात् विजयमा नपु¥याएसम्म थकाइ नमार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यतिबेला सकली र नक्कली विद्रोहीहरूको बिगबिगी छ बजारमा । केही समयअघिसम्म पुष्पकमल दाहालहरूले संशोधनवादी बाटो रोजेर क्रान्तिको गला रेट्न थाले भनेर पार्टीका बैठकहरूमा प्रश्न उठाउने क्रान्तिकारीहरूलाई विप्लववादी, अराजक, प्रचण्डले गरिखाएको देख्न नसकेका, जनयुद्धका उपलब्धिहरूलाई संस्थागत गरेको सहन नसकेका, भँडुवाहरू भन्दै पार्टीबाटै कारबाही गर्नेहरू, प्रचण्ड र उनका छोरीहरूका आन्तरिक वस्त्र बोक्न र सिरानमा राख्न नपाएको रात राम्ररी निद्रासमेत नपर्नेहरू पनि यतिबेला प्रचण्डले कुनै ठूलो भाग नदिएको झोकमा कथित विद्रोही बन्दै क्रान्तिकारी शक्तिसँग नजिकिने र उता नपाएपछि यता ठूलो भाग खान बार्गेनिङ गर्ने दाउमा लागेका छन् । तर तिनीहरू सक्कली क्रान्तिकारी होइनन् । तिनमा एकथरी महान् जनयुद्धलाई सामाजिक फासिवाद, फासिवादी आतङ्क भन्दै जनयुद्धको त्याग, शौर्य र बलिदानलाई घोर अपमान गर्ने तर कथित पार्टीएकता गर्दै सक्कली माओवादीमाथि घोडा चढ्नेहरू छन् भने कोही जनयुद्धकालमै पार्टीका केन्द्रीय स्तरका नेताहरूको शङ्कास्पद हत्यामा मुछिएकाहरूसमेत छन् । कतिपय त काँचा काङ्ग्रेसी कार्यकर्ताबाट रातारात माओवादी बनाइएर प्रचण्ड र उनका सन्तानको भक्ति र सेवापछि बढुवा गरिएकाहरू पनि छन् । वर्तमान यसरी विशृङ्खलित बन्दै गएको समयमा जनसमुदायलाई क्रान्तिकारी को हो भन्ने चिन्नका लागि गजलकारले निकै नै सजिलो बनाइदिएका छन् :

गजलकारले आत्ममूल्याङ्कन गरेका छन् र भनेका छन्– समयलाई चिन्ने क्रममा म विद्रोही बनेँ र आफ्ना विद्रोही भावनाहरूलाई गजलका माध्यमबाट समाजमा पस्किएँ । सामाजिक सञ्जालहरूमा गजलको माध्यम बनाएर पोखिएका भावना र विचारका छालहरू यसरी सङ्ग्रहका रूपमा प्रस्तुत हुन लागेका हुन् ।
जब मानिसले आफूमाथि कसैले अन्याय, शोषण, दमन र विभेद गरेको अनुभूति गर्छ उसका अघिल्तिर दुईवटा विकल्प हुन्छन् ः पहिलो, सबैखाले अन्याय, दमन, शोषण, थिचोमिचो सहेर पशुवत् जीवन जिउने, दोस्रो, अन्यायका विरुद्ध विद्रोह बोल्ने र अन्यायबाट मुक्त भएर स्वतन्त्र जीवन जिउने माध्यमको खोजी गर्ने । सामूहिक रूपमा, एउटा शक्ति निर्माण गरेर आफूमाथि गरिएको अन्याय, शोषण, दमन, व्यभिचार चिर्न एक्लो प्रयासले सम्भव हुँदैन । सामूहिक प्रतिरोधको आवश्यकता पर्छ । यिनै विभेदहरूको अन्त्यका लागि मानिसले वर्गसङ्घर्ष गर्दै आएको छ । समाजका सबैखाले विभेदको अन्त्य र समानतामूलक समाजको निर्माणका लागि लडिने वर्गसङ्घर्षलाई हामी माक्र्सवाद भन्छौँ । विभेदका रूपमा आएको परिमार्जनअनुसार वर्गसङ्घर्षमा आएको परिवर्तनले माक्र्सवादको लेनिनवादमा विकास ग¥यो र लेनिनवादको माओवादमा विकास भयो । आज हामी सामन्ती शोषण, पुँजीवादी शोषण र साम्राज्यवादी शोषण–दमन र अन्यायअत्याचारका विरुद्ध मालेमावादी दर्शन र सिद्धान्त अवलम्बन गर्दै सशस्त्र मजदुर विद्रोहको रुसी मोडेल, गाउँले सहर घर्ने दीर्घकालीन किसान–मजदुर सशस्त्र सङ्घर्ष वा जनयुद्धको चिनियाँ मोडेल र यी सबै विद्रोह र युद्धहरूको उत्कर्षका रूपमा क्रान्तिका सबै तरिकाहरूको एकीकृत उपयोग नेपाली भूमिबाट विकसित हुँदै गरेको एकीकृत जनक्रान्तिको नयाँ मोडेलको प्रयोग गरिरहेका छाँै । क्रान्ति र युद्धका अघिल्ला दुई मोडेलहरूले वर्गसङ्घर्षमा देखिने गरी आउने वर्गदुस्मनहरूसँग आमनेसामने लडाइँ लड्दै विजयहरू हासिल गरेको उदाहरण हामीसँग थियो । एकीकृत जनक्रान्तिको नयाँ मोडेलले पुँजीवादको भ्रष्टीकरण साम्राज्यवाद र साम्राज्यवादको पनि भ्रष्टीकरण उत्तरसाम्राज्यवादका साथै क्रान्तिका लालगद्दारहरू अर्थात् दलाल पुँजीवादीहरूसँग पनि एकैसाथ लड्नेछ । गजलकारले गजलका माध्यमबाट यी कुराप्रतिको सङ्केत राम्रैसँग गरेका छन् । यसको तात्पर्य हो– गजलका माध्यमबाट अर्थात् साहित्यका माध्यमबाट एकीकृत जनक्रान्तिको धारिलो औजारको विकास भइरहेको छ । यो सचेत पहल र हिम्मतका लागि स्रष्टा बधाईका पात्र छन् ।

अन्त्यमा, यो आँधी–हुरी गजलसङ्ग्रहको समीक्षा वा समालोचना होइन, यो त केवल हर्ष र खुसीको क्षणमा व्यक्त शुभकामना हो । यस सङ्ग्रहका बारेमा धेरै लेख्न सकिन्छ, त्यो जिम्मा अब समालोचकहरुलाई । यहाँ त सङ्ग्रहका मूलभूत विशेषताहरुलाई बुँदामा उतार्ने प्रयास गरिएको मात्र हो । प्रगतिवादी सांस्कृतिक आन्दोलनका एक योद्धाका रुपमा हामी उनलाई सहर्ष स्वीकार गर्दछौँ र यो यात्रामा निडर भई निरन्तर प्रतिबद्धताका साथ लागिरहन आह्वान र आग्रह पनि गर्दछौँ ।
(बीपी विद्रोहीको हालै प्रकाशित गजलसङ्ग्रहको भूमिकाबाट)

२०७५ असार १२ गते मंगलबार बिहान १० : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :