लालताराहरूसँग – अशोक सुवेदी

माफ गर
मेरा हजारौ लालतारा
मुटु गाँठो पारेर
परेलीका डिलडिलमा डब्डबाएका
नुनिला आँसुका ढिक्काहरू रोकेर
मैले भन्नैपर्छ
चेतनार सभ्यतालाई ज्यूँदै जलाउने
कालरात्रीको दाहसंस्कार गर्न
तिमीले फायर खोलेको १८ वर्ष नलाग्दै
आत्मसमर्पण गरेको छ कमान्डरले
झुकाएको छ बन्दुक
च्यातेको छ रक्तरञ्जित पोसाक
र उठाएको छ दुवै हात !

माफ गर लालतारा माफ गर !
पश्चाताप गरेको छ उसले
तिम्रो रातो रगत र बलिदानप्रति
तिम्रो बहादुरी र कासनप्रति
तिम्रो ललकार
विस्फोटप्रति
मात्र उसका लागि र उसको स्वार्थका लागि
धुजाधुजा पारेको छ
तिम्रो रगतमा चोबलेर
रातो
गाढा रातो रङ बोकेर फर्फराएको झन्डा !
उसले प्रायश्चित गरेको छ बारम्बार
तिम्रो गौरवशाली बलिदानमाथि र
हजारौँ क्रान्तिकारी बाबाआमाको,
लाखौँ ऊध्र्वगामी नानीबाबुको
अदम्य शौर्य, त्याग र चातुर्यमाथि
थुकेको छ उसले
आफैँले बनाएको रक्तरञ्जित यात्राप्रति र
फर्काएको छ घोडा
ओरालो, सीधै ओरालो
शिखर चुम्न लागिसकेका बाइपङ्खी घोडा
फुकालेको छ काँठी र
उखेलेको छ जगर
भुत्ल्याएर शरीरमा
दलेको छ नुनचुक
मात्र आफ्ना लागि र
आफ्नो निहित स्वार्थका लागि !

आँसु, पीडा र शोकलाई
रूपान्तरित गरेर आक्रोश र बारुदमा
जो विस्फोट भएथे अन्तिम क्षणसम्म
मुक्ति जिन्दावाद, मृत्यु मुर्दावाद भन्दै
खाएथे शपथ र
बचेको एउटा मुट्ठी उचालेर
थर्काउँंदै नारायणहिटी, ह्वाइटहाउस र दिल्ली दरबारलाई
लगाएथे आशावादी नाराहरू
शिर झुकाएर भन्छु–
क्याम्प फेरेको छ कमान्डरले र
सगर्व घोषणा गरेको छ गद्दारीको
मालेमाकै नाम जप्दै
जन्मिएको छ ख्रुस्चेभको अर्को संस्करण
उदाएको छ तेङको नयाँ सन्तान र
बनेको छ रायमाझीको असली चेलो !

प्रिय लालतारा
धैर्य, संयम र गम्भीर छौँ प्रिय लालतारा !
कमान्डर बौलाएको यो घडीमा
कमान्डर मरेको यो क्षणमा
फुकीफुकी पाइला चालिरहेछौँ ।
सूर्यलाई हत्केलाले छेक्न
अब धावा बोल्नै परेन ओबामाले र
तिरङ्गी पठाउनै परेन विस्तारवादले
यहीं जन्मियो लेन्डुप र
बनायो लालसेनालाई तिरङ्गी
बिप्पा, एअरपोर्ट, सुपुर्दगी र जलस्रोमा ल्याप्चे लगाएर
ढाक्यो रातो झन्डाले !

तिम्रो महान् बलिदानीको १८ औँ वर्षगाँठ मनाउँदै गर्दा
पूर्वकमान्डरको अन्तिम संस्कारको घोषणा गर्दैछु–
नेपाली लेन्डुपको/महाभारतकालीन विभीषणको
जो आफ्नै सेनालाई बन्धक बनाउन
दिन्छ कासन दुस्मन सेनालाई
त्यही सेना
जसका गोलीले मारिएथे आफ्नै योद्धा
र लुटिएथे चेलीका अस्मिताहरू

म धिक्कार्छु, थुक्छु हजारपटक
वर्गघाती नवलेन्डुपहरूलाई र
कासन गर्छु नवीन विद्रोहको
जहाँ सामेल छन् सपनामाथि आगो लगाइएका हजारौँ अनेकोटहरू
र सपनाको सुन्दर रङमाथि हिलो छेपिएका ती अयोग्यहरू
जो क्रान्तिका लागि योग्य मात्र होइन, सुष्योग्य छन्
र वैरीलाई हायलकायल पार्न अब्बल छन् ।

प्रिय लालतारा !
तिम्रो रगतसँग साटिएको हतियार र बारुद खोसेर
तिम्रा सपना सजिएका सुन्दर पोसाक कब्जा गरेर
चैनको निद्रा सुत्ने तयारीमा छन् छविलालहरू
तर निीहरू नझकाउँदै
हुनेछ विस्फोट तिनका सिरानीहरूमा
र भग्नावशेषमाथि बन्नेछ सुन्दर संसार !
२०६८ चैत
(२०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा जिउँदै जलाएर हत्या गरिएका महान् सहिदहरुको सम्मानमा) स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत १० गते बिहान ११ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!