संसदीय निर्वाचन सक्रिय अवज्ञा/बहिष्कारको अगुवाइ गर्दै दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन

काठमाडौँ : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) निकट दुईवटा अखिल क्रान्तिकारीले संसदीय निर्वाचन सक्रिय अवज्ञा/बहिष्कार गर्ने घोषणा गरेका छन् ।

‘शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ गरौँ ! मङ्सिर ४ गते तय भएको संसदीय निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गरौँ !!’ नारासहित ‘आसन्न संसदीय निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा किन ?’ शीर्षकमा दुई सङ्गठनले संयुक्त रूपमा आइतबार जारी गरेको दसबुँदे अपिलमा भनिएको छ, ‘ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षहरूमा सक्रिय भूमिका निर्वाह गर्दै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका निम्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति–विसङ्गति एवम् शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर सङ्घर्षलाई अगाडि बढाउँदै नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविदितै छ । निम्नकारणले आसन्न संसदीय निर्वाचन सक्रिय बहिष्कार/अवज्ञाका लागि विद्यार्थी, शिक्षक, मजदुर, किसान, युवा, महिलालगायत आमजनसमुदायलाई जोडदार अपिल गर्दछौँ ।’
निर्वाचन अवज्ञा/बहिष्कार गर्न आह्वान गर्दै दुई सङ्गठनले जारी गरेको अपिलमा लेखिएका दस बुँदा यसप्रकार रहेका छन् :

१) महान् १० बर्से जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।
२) शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै जनवादी एवम् वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न ।
३) विज्ञान र प्रविधिको विकासले विश्व भूमण्डलीकरणको युगमा प्रवेश गर्न लागिरहेको वर्तमान परिप्रेक्ष्यमा सूचना, सञ्चार र प्रविधिको अधिकतम सदुपयोगबाट देश निर्माणको अभिभारा पूरा गर्ने चुनौतीको सामना गर्नसक्ने समावेशी, समन्वयिक, प्राविधिक, व्यावहारिक, ज्ञान–सीपमूलक र प्रयोगात्मक शिक्षा प्रदान गर्न ।
४) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयआर्जनसँग, आयआर्जनलाई पुँजीसँग, पँुजीलाई लगानीसँग आबद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।
५) Free Visa, Free Ticket लगायतका नाममा युवा नौजवानहरूलाई विदेश पलायन गर्ने कार्य रोकी प्रत्येक दक्ष र अर्धदक्ष जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था सिर्जना गरी सीप, श्रम र पुँजीको योजनाबद्ध परिचालनसहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न ।
६)M.C.C., S.P.P., सन् १९५० को सन्धिलगायत सम्पूर्ण असमान सन्धि–सम्झौताहरू खारेज गर्न ।
७) २०४७ सालदेखि अहिलेसम्मका राज्यका उच्च पदमा रही काम गर्दै आएका सम्पूर्ण व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न र भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाही गर्न ।
८) सबैखाले विभेदको अन्त्य गर्न ।
९) विश्वविद्यालयहरूमा दलीय भागबण्डाका आधारमा गरिँदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरूबाट स्वस्थ प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न ।
१०) आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।
स्मरणीय छ, नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल, माओवादी कम्युनिस्ट पार्टी नेपालसहित चार दलले संसदीय निर्वाचन अवज्ञा÷बहिष्कार घोषणा गर्दै देशव्यापी आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :