नेकपा (बहुमत) द्वारा नुवाकोट–रसुवा इन्चार्ज रक्तिमलाई अविलम्ब रिहा गर्न माग

नेकपा (बहुमत) द्वारा नुवाकोट–रसुवा इन्चार्ज रक्तिमलाई अविलम्ब रिहा गर्न माग

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् नुवाकोट–रसुवा इन्चार्ज पूर्ण विक ‘रक्तिम’ लाई अविलम्ब रिहा गर्न माग गर्दै अलोकतान्त्रिक हर्कत प्रदर्शन नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रवक्ता सुदर्शनले आइनबार प्रेस वक्तव्य जारी गर्दै संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा पोस्टर टाँसिरहेको अवस्थामा रक्तिमलाई सरकारले आइतबार मध्याह्न नुवाकोटको बाराहीबाट कायरतापूर्वक गिरफ्तार गरेको सार्वजनिक गर्दै आफ्नो पार्टी सरकारलाई यसप्रकारका अलोकतान्त्रिक र फासिवादी हर्कत बन्द गर्न चेतावनी दिएका हुन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘आफूलाई लोकतान्त्रिक भनाउने देउवा नेतृत्वको गठबन्धन सरकारले शान्तिपूर्ण रूपमा संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा पोस्टर टाँसिरहेको अवस्थामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा नुवाकोट–रसुवा इन्चार्ज कमरेड पूर्ण विक ‘रक्तिम’ लाई आइतबार मध्याह्न नुवाकोटको बाराहीबाट कायरतापूर्वक गिरफ्तार गरेको छ । हाम्रो पार्टी यसप्रकारको निन्दनीय हर्कतको घोर भत्र्सना गर्दै क. रक्तिमलाई बिनासर्त अविलम्ब रिहा गर्न र आत्मालोचित हुन सरकारसँग माग गदैछौँ ।’

वक्तव्यमा भनिएको छ, ‘सरकारले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्न, आफ्ना विचार प्रवाह गर्न पाउने कथित लोकतान्त्रिक गणतन्त्रको संविधानले प्रदत्त गरेको स्वतन्त्रताको हकको पनि धज्जी उडाएको छ । हाम्रो पार्टी सरकारलाई यसप्रकारका अलोकतान्त्रिक र फासिवादी हर्कत बन्द गर्न चेतावनी पनि दिन्छ । दलाल पुँजीवादी सत्ता र सरकारले देश र जनतालाई शोषण गरेर कङ्गाल बनाउन र मुठीभर दलालहरू जन्माउनका लागि गराउन लागेको कथित प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको डटेर अवज्ञा गरिने घोषणा पनि हामी सगर्व गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :