जोगाएर राखौँ

कविता

तस्बिर खिचेर राखौँ
रोपाइँ, बाउसे, लहलह हरियो बाली
पहेँलपुर झुलेको धानको बाला
गहुँ फलेको खेत
मियोवरिपरि खलोमा गोरु घुमाउँदै
दाइँ गरेको दृश्य
बोराका बोरा ट्रक भरेर
धान–चामल निर्यात गर्दाको घमण्ड
जोगाएर राखौँ
आउँदो पुस्तालाई देखाउन
के थाहा अब
विदेशी ब्रान्डको चामल र पिठो
ससानो पोकामा आयात हुन थालिसक्यो ।
तस्बिर खिचेर राखौँ
मकै र जुनेलोको बोट, घोगा र बाला
कोसामा पोटिलो दाना फलेको
चना, भटमास र केराउको बारी
अनि हाँडीमा मकै–भट्मास भुटेको जोगाएर राखौँ
आउँदो पुस्तालाई भन्नैपर्छ–
महीको घुड्कोसँगै मूलाको साग चपाउँदाको आनन्द
आफैँले उब्जाएको पोसिलो खाना
अनि बाआमाले गरेको सङ्घर्ष
के थाहा अब
पिज्जा, बर्गर, पपकर्न र कोल्डड्रिङ्क्स
विदेशीको नक्कल जताततै छाइसक्यो ।
तस्बिर खिचेर राखौँ
गाई–भैँसी, गोरु–राँगा,
बाछा–बाछी, पाडा–पाडी
अनि त्यो जुरो ढल्काउँदै हिड्ने मैमत्त साँढे
हरायो बयलगाडा, हलो र जुवा
गाई–भैँसी बाँधेको गोठमाथि चोटाका मकैका खोस्टा
तिनलाई बाँध्ने किला र दाम्ला
बारीको कुनामा ठडिएको परालको कुन्युँ
ठेकी, मदानी, घुर्राे र नेती
घ्यू राख्ने हर्पे
जोगाएर राखौँ मही पारेर नौनी मथेको
आउँदो पुस्तालाई चिनाउनुछ
अब के थाहा
दूध, दही, घ्यु, पनिर, खुवा सबै
पोसिलो खाद्य पदार्थ भन्दै
रासायनिक उत्पादन हुन थालिसक्यो !
तस्बिर खिचेर राखौँ
खसी बोका, भेडा च्याङ्ग्रा
बाख्राले खाँदै गरेको टाट्नाको डाले घाँस
कुखुराका भाले–पोथी, ती ससाना चल्ला
अनि जोगाएर राखाैँ
चुलामाथि झुन्ड्याएको सुकुटीको तस्बिर
खसीबाख्रा, भेडा च्याङ्ग्रा, सुँगुर र बङ्गुर
आउँदो पुस्ताले जान्न चाहे
घरपालुवा पशु र पन्छी
उखानमा नै सीमित होलाजस्तो छ ।
आकर्षक बट्टामा
विदेशी बिफ, बफ, मटन र चिकेन
धेरैको भान्सामा भित्रिसक्यो ।
तस्बिर खिचेर राखौँ
रायो, तोरी, मूला र काउली
बोडी–सिमी, काँक्रा–लौका
थाँक्रोमा बेरिएको लहरा
करेला र फर्सीको
अनि जोगाएर राखौँ
गुन्द्रुक र सिन्की खाँद्ने खाल्डोको तस्बिर
अब के थाहा
विदेशी भनेको विदेशी नै हो
किन चाहियो
गाउँघर, स्वदेशी हावापानीको मौलिकता
विदेशी ब्रान्डेड गुन्द्रक र सिन्की
अर्गानिक भन्दै गाउँगाउँ पुगिसक्यो ।
तस्बिर खिचेर राखौँ
माना, पाथी, खड्कुलो र गाग्री
डोको–नाम्लो, डालो र थुन्से
परालको गुन्द्री, बाबियाको दाम्लो
प्याला, पाला, गाग्रो र हाँडी
जोगाएर राखौँ
तुलो र ढक–तराजुका तस्बिर
प्लास्टिकको सस्तो उत्पादन
बिजुली परिधानले श्रम र सीप दुवै खाइसक्यो ।
तस्बिर खिचेर राखौँ
सगरमाथा, कोसी, गण्डकी, कालापानी, लिम्पियाधुरा
अनि महाकालीको
देश चुच्चे नक्साबाट पनि लोप हुन थालिसक्यो
सानाठूला उद्योग सबै बिक्री भइसके
सीमा मिचिएको मिचियै छ
मौलाउँदोछ भ्रष्टाचार र दलाली
गरिब जनता भोकै मर्न बाध्य छ
कमाउ धन्दामा लागेका छन् नेता र कर्मचारी
आफ्नो ढुकुटी भर्न देशै बन्धकी राखिसके
के थाहा कुन बेला
धनको कालो पट्टी आँखामा बाँधेका
अरिङ्गाल र बारुलाको जत्था
माकुराको जालोमा बेरिएर
थपडी बजाउँदै
सगौरव घोषणा गर्ने हुन्, दासता स्वीकारेको ।
कति मूकदर्शक बनेर हेरिरहने टुलुटुलु !
खोक्रो बनाइसके धमिराले अग्राखको चुरो
सम्पूर्ण हिसाब मिलाउन
ढिला भइसक्यो
हिटलर, मुसोलिनी र लेन्डुपका नयाँ अवतार
हुन् वा
नेपाली अनुहारका साक्षात् लेन्डुप
जोगाएर राखौँ
ती कुरूप तस्बिर, इतिहास र कुकर्म
राष्ट्रघातीहरूका
दुत्कार्नका लागि पनि
असली अनुहार चिनाउनु छ
आउँदो पुस्तालाई …।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :