भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिका विरुद्ध अर्घाखाँचीमा विराेध प्रदर्शन

भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिका विरुद्ध अर्घाखाँचीमा विराेध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा सङ्गठन नेपाल अर्घाखाँचीको संयुक्त आयोजनामा शनिबार जिल्लाको सन्खिर्कमा भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विरोध प्रर्दशन सम्पन्न भएको छ । नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयको हेपाहा अभिव्यक्ति र जयसिहं धामीको हत्याको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको हो ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नविन खड्काले नेपालका दलाल र संसद्वादी नाइकेहरूले देश बेचेर मोजमस्ती गरिरहेको बताए । उनले भारतीय साम्राज्यवादी हस्तक्षेप र हेपाहा प्रवृत्तिविरुद्ध पटकपटक आवाज उठाउँदा राज्यले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको विचार व्यक्त गरेका थिए । खड्काले अहिलेका संसदीय व्यवस्थाका छोटे राजाहरू देश र जनताहरूप्रति जवाफदेही नभएको बताए । उनले आफ्नो सङ्गठन–पार्टीले अमेरिकी साम्राज्यवाद र एमसीसी परियोजनाविरुद्ध पनि सङ्घर्ष र प्रतिरोध गर्ने बताए । यस्तै अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसकेले भारतीय साम्रज्यवादले गरेको अतिक्रमण, हस्तक्षेपका विरुद्धमा सम्पूर्ण विद्यार्थीहरू, युवाहरू तथा प्रगतिशील देशभक्त नागरिकहरू एक जुट हुन आह्वान् गरेका थिए ।

कार्यक्रममा जिल्ला पार्टीका नेताकार्यकर्ता, बुद्धिजीवी, युवा, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी, लगायतको उपस्थिति रहेका प्राप्त समाचारमा जनाइएको छ । कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष पदम नेपालीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :