अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा शनिबार जिल्लाको बनगाई बजारमा विरोध प्रदर्शन सम्पन्न भएको छ । जयसिंह धामीको हत्या, नेपाली भूमिमाथि भारतीय सेनाको हवाई गस्ती, भारतीय सरकारी प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको युवा सङ्गठनका जिल्ला अध्यक्ष सागर केसीले बताए ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) कपिलवस्तुका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले एउटा नेपाली नागरिकको हत्या हुँदासमेत एक शब्द बोल्न नसक्ने नेपालका संसद्वादी दलहरू सबै विदेशीको गुलाम भएको ठोकुवा गरे । उनले नेपाली भूमिमा हवाई गस्ती हुँदासमेत सरकार मौन रहेको र यस्तो विदेशीको चाकडी गर्ने दलाल सरकार अब नेपाली जनतालाई स्वीकार्य नहुने बताए । भारतीय दादागिरी नरोकेसम्म आफ्नो सङ्गठन, पार्टीले त्यसको कडा प्रतिरोध गर्ने चेतावनी समेत क्षेत्रीले दिए । त्यस्तै युवा सङ्गठन नेपाल लुम्बिनी क्षेत्रीय समन्वय समिति सदस्य बादलले वर्तमान दलाल सरकार विदेशबाटै परिचालित भएको र यसको विरुद्धमा आफ्नो पार्टी र सङ्गठनले देशव्यापी रुपमा कडा सङ्घर्ष र आन्दोलन गरेको बताए ।

कार्यक्रमा युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष सागर केसी लगायत युवा, विद्यार्थीको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष सङ्गीताले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :