रुकुम पश्चिम : केही दिनअगाडि नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कोरोना सङ्क्रमित बिरामी र तिनका कुरुवालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क खाना खुवाउन सुरु गरेकोमा माओवादी केन्द्रका नेताको दबाबमा जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरी बन्द गरिदिएको छ ।
नेकपाका एक नेताका अनुसार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले ‘निःशुल्क खाना खुवाउने काम त राम्रो हो तर मलाई पनि माथिको दबाब छ । खाना तत्काल बन्द गर्नुहोस्’ भनेर खाना बन्द गराएका हुन् ।
उनका अनुसार ९ गते आइतबार मात्र ३/४ पटक जिल्ला प्रहरी कार्यालयका प्रहरीले छिटो निःशुल्क खाना खुवाउने काम बन्द गर्न दबाब दिएका थिए ।
नेकपा रुकुमले प्रहरीलाई जिल्ला प्रशासन कार्यालय वा कुनै राजनीतिक दल र तिनका नेताको गोटी बनेर मानवीय कार्य नबिथोल्न आग्रह गरेको छ ।
आफूहरूले कोरोना सङ्क्रमित बिरामी र तिनका कुरुवालाई निःशुल्क खाना खुवाएर मानवसेवा गरेको र कसैमाथि अपराध नगरेको भन्दै नेकपा रुकुम पश्चिमले आफूहरू प्रतिबद्धताअनुसार जनसेवाका लागि तत्पर रहेको जनाएको छ ।
बिरामीलाई ताजा, पोसिलो र गुणस्तरीय खानाको व्यवस्थापन नगरिए आफू फेरि पनि निःशुल्क खाना खुवाउन तयार रहेको नेकपाले जनाएको छ ।
नेकपाका जिल्ला नेता नरेन्द्र विकको नेतृत्वमा बिरामी र आफन्तलाई निःशुल्क खाना खुवाउन १५ जनाको टोली खटिएको थियो ।
उक्त टोलीले सरस्वती माध्यमिक विद्यालय सल्लेमा खाना बनाउने र खाना, तातोपानी जिल्ला अस्पतालसम्म लगी बिरामी र कुरुवालाई उपलब्ध गराउने गरेको थियो ।
यसअघि जिल्ला अस्पताल सल्लेको क्यान्टिनमा चर्को मूल्य लिएर गुणस्तरहीन खाना र खाजा खुवाएको, विषम परिस्थितिमा पनि बिरामीका आफन्तबाट मनपरी रकम असुलेकोमा विरोध जनाउँदै नेकपा रुकुम पश्चिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो ।
जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरी एक लिटर पानी र आयुर्वेदिक औषधि पकाएको ३५ रुपैयाँ, ब्रोइलर कुखुराको मासु र खाना २०० रुपैयाँ, खसी र लोकल कुखुराको मासु र खानाको २५० रुपैयाँ तोक्दै मूल्यसूची देखिने गरी राख्न पनि अनुरोध गरेको थियो ।
जिल्ला अस्पतालका क्यान्टिन सञ्चालक माओवादी केन्द्रका नेता भएकाले सत्तामा पुगिसकेका पार्टीनेतालाई दबाब दिन लगाएर निःशुल्क खाना रोक्न लगाएको जानकारी स्रोतले दिएको छ ।