२२ दलले भने– संसदीय चुनाव होइन, जनताको जीवनरक्षा गर

काठमाडौँ : विभिन्न २२ राजनीतिक दल/संगठनले नेपाली जनताले चुनाव नभई जीवनरक्षा चाहेको भन्दै वर्तमान सरकारले सत्ता टिकाउनका लागि संसदीय निर्वाचनको मिति तोकेको बताएका छन् ।

२२ दलका तर्फबाट सीपी गजुरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य विशेषज्ञहरूले आगामी मङ्सिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको बताएका छन् । विज्ञिप्तिमा नेपाली जनताको चाहना र आकाङ्क्षा संसदीय निर्वाचन नभएको भन्दै राष्ट्रपतिले गरेको चुनाव घोषणा गर्ने निर्णय अविलम्ब खारेज गर्न जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ ७ गते मध्यराती विद्यमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसद् विघटन गरेर आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने आदेश जारी गरेपछि पहिलेदेखि नै सङ्कटबाट गुज्रिरहेको नेपालको राजनीति झन् भयानक सङ्कटको सामना गर्ने अवस्थामा पुगेको छ । अहिले नेपाली जनता कोरोना महामारीबाट आक्रान्त छन् । अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर बिरामीहरू छट्पटाइरहेका छन् र कैयौंले ज्यानसमेत गुमाइसकेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि निरन्तर भइरहेको निषेधाज्ञाका कारण निम्न आय भएका र दिनदिनै श्रम गरेर धानिनुपर्ने अवस्थामा रहेका जनताको दैनिक जीवन धान्न नसकेर बिचल्ली भइरहेको छ । यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवनरक्षा हो । यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको हामी भत्र्सना गर्दछौँ ।’

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेबिक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :