ऊ त पिँजडाभित्र पो थुनिएछ

कविता

ऊ त पिँजडाभित्र पो थुनिएछ

ओहो ! बाजले
च्याप्प आफ्नो पन्जामा पारेछ ।
सुन्दर भविष्यको गीत गाउने कोइलीलाई
ओहो ! कति मीठो सुरिलो भाकामा
सबैको मन जित्ने
मन्दमस्तक बनाइदिने
रुवाइदिने हसाइदिने
छिनभरमा नै जुरुक जुरुक उठाएर
सबैलाई छक्क पारिदिन्थ्यो
ऊ त पिँजडा भित्र पो थुनिएछ

जस्तो छ त्यसको विरुद्ध
जस्तो हुनुपर्छ त्यसका पक्षमा
यथार्थताको बोध गराउने
सधैं
बाँडीचुडी खानुपर्छ
हाँसी खुसी बाँच्नुपर्छ
रनबन साझा हो
सबैको साझा हुनुपर्छ भनी
गीत गाउँदै हिँड्ने चरी फन्दामा परेछ
उसको गीतको शब्द सङ्गीत
भाका अनि स्वरमा
भोकका ज्वाला दन्किन्थ्यो
बलात्कारको चित्कार गुन्जन्थ्यो
थिचाई र मिचाईको पीडाले चिच्याउँथ्यो
अनि
छिया छिया पारेका आला घाउहरुको
रगतको, वीरको, सहिदको
गोली बारुदको भीषण युद्ध
मुक्तिको धुन घन्काउँथ्या
सुनौलो भविष्य र सुन्दर संसारको
जीवित प्रतिविम्ब थियो ऊ

तर
त्यही सुन्दर संसार र
सुनौलो भविष्यको गीत गाउने चरीलाई
कोर्राले ठटाउँदै सङ्गीने घोच्दै
हातहरुमा फलामे सिक्री र
मुखमा पट्टी बाँधेर
फलामको पिँजडाभित्र
सडाइराखेको छ

दुष्टहरुले चाहन्थे
कहिल्यै कसैले पनि
न्याय र मुक्तिको धुन नबजाओस्
बसन्त बहारको गीत नगाओस्
काकाकुल र न्याउलीले पनि
प्यासले छटपटिएर नरोओस्
काफल पाक्यो भनि नकराओस्
चुपचाप हात बाँधी बसोस्
तर
उसको हात बाँधिएर पनि मुख थुने पनि
गोडाहरुलाई कुँजो पारेर
सांसारिक नाता विच्छेद पारे पनि
ऊ विशाल भावनाको संसारमा खेलिरहेकोछ
कलम चलाईरहेकोछ
गीत गाइरहेको छ ।
सङ्गीत
गुन्जाइरहेकोछ

बाजहरु खुशीले गद्गद् छन्
अब,
गीत गाउँदैन, गाउन सक्दैन
काकाकुल र न्याउली रोएको अनि
विद्रोहको बज्रपात सुन्न पर्दैन भनेर
झन् खुल्ला आकाशमुनि
हिमशिखर देखि तराईको फाँटसम्म
एउटै स्वरमा कोइलीले गीत गाउन थालेका छन्
काकाकुल र न्याउलीहरुले पनि गाउन थालेका छन्
सप्तरङ्गी चरीहरुले
आ–आफ्नै भाकामा गाउन थालेकाछन् ।
विभिन्न तालमा नाच्न थालेका छन्
धर्तीमा गुञ्जायमान बढेको छ
कर्तल सङ्गीतमय भएको छ ।

(महान् सहिद कवि शारदा श्रेष्ठको जन्म २०३२ साल चैत्र १४ गते चितवनको फूलबारीमा भएको थियो । विद्रोही स्वभावकी सहिद वहाँ चर्चित जनकलाकार पनि हुनुहन्थ्यो । तत्कालिन गण्डक क्षेत्रीय ब्युरो सदस्य क. शारदालाई तत्कालिन शाही सेनाले तनहुँको साभुङ भगवतीमा गिरफ्तार गरी खैरेनीटार दोभानमा लगेर चरम यातना पश्चात गोली हानी हत्या गरेको थियो ।)

साभार : सहिद हस्ताक्षरबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :