नौनाडी गलेका कमजोर प्रधानमन्त्री वलीको नाडी छाम्दै भारतीय विदेशसचिव शृङ्गला

नौनाडी गलेका कमजोर प्रधानमन्त्री वलीको नाडी छाम्दै भारतीय विदेशसचिव शृङ्गला

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत सम्पूर्ण विषयमा कमजोर हुँदै गएका र पछिल्लो समयमा पार्टी र सरकारभित्रै अत्यन्त आलोचित भएर शिथिल बनिसकेका प्रधानमन्त्री केपी वलीका गलेका नाडी छाम्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशसचिव हर्षवद्र्धन शृङ्गलालाई नेपाल पठाएका छन् । नेपालको कालापानीमा ६० वर्षभन्दा अघिदेखि आफ्नो सेना राखेर नेपाली राष्ट्रियतामाथि हस्तक्षेप गरिरहेको र नेपालका सयौँ सीमाभूमि अतिक्रमण गर्दै विस्तारवादी र साम्राज्यवादी भूमिका निर्वाह गर्दै आएको भारतले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जमिन आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि तीन करोड देशभक्त नेपालीको आलोचना र घृणाको पात्र बनिरहेको छ । नेपालमा भारतीय साम्राज्यवादी हर्कतविरुद्ध घृणा बढिरहेकै समयमा मोदीले लाजै पचाएर धमाधम गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्त गोयल र स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेपछि विदेशसचिव शृङ्गलालाई वलीका गलेका नौनाडी छाम्न नेपाल पठाएको विश्लेषकहरूको ठम्याइ छ । फकाएर, झुक्याएर, धम्क्याएर नेपाल र नेपालीमाथि आफ्नो आधिपत्य लाद्दै आएको र नेपाललाई सकेसम्म सिक्किम, नभए फिजी र न्यूनतम् भुटान बनाउने भारतीय साम्राज्यवादको रणनीति देशभक्त नेपालीले बुझ्दै आएको विषय हो ।

केपी वली यतिबेला पार्टी, सरकार, संसद्, नेपाली जनताको हृदय सबैतिरबाट अल्पमतमा छन् र पार्टीभित्रको असन्तुष्ट पक्षले लगाएका आरोपहरूको प्रतिरोध गर्ने दस्ताबेज तयार पार्न गुफा पसेका छन् । उनको यो कमजोर अवस्थाको फाइदा उठाएर नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका जमिन वैधानिक रूपमै हात पार्न सकिएला कि भन्ने भारतको दाउ रहेको बुझ्न कुनै कठिनाइ छैन । बङ्गलादेशसँगको नाका खोलिदिने वा अन्य यस्तै सस्ता आश्वासन र प्रलोभन दिएर भारत नेपालका महत्वपूर्ण प्राकृतिक सम्पदा र भूगोल कब्जा गर्ने रणनीतिमा रहेको नेपाली जनताले जगसम्मै बुझेको विषय हो ।

भारतीय दूतको भित्री आशय अर्कै रहे पनि उनले औपचारिक रूपमा भने ‘आफ्ना प्रधानमन्त्री मोदी दुई देशबीचको आपसी सम्बन्धलाई राम्रो बनाएर अगाडि लैजान चाहेको’ नेपालका प्रधानमन्त्रीलाई वलीलाई सुनाएको सार्वजनिक भएको छ ।

यता वलीले पनि मोदीको लयमा लय मिलाउँदै ‘भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको’ सन्देश भारतीय पक्षलाई दिएको सार्वजनिक भएको छ । यी दुवै औपचारिकताका कूटनीतिको आयु धेरै लामो छैन किनकि रका प्रमुख सामन्त गोयलसँगको गोप्य वार्ता र नेपालको राष्ट्रियताविरुद्ध बकबास गर्ने नरवणेको सम्मानपछि केपी वलीको नक्कली राष्ट्रवादको मुखुन्डो नराम्रोसँग उदाङ्गिइसकेको छ ।

भारतीय विदेशसचिव शृङ्गलाले प्रधानमन्त्री वलीसँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका थिए । उक्त भेट र त्यहाँ भएको छलफलका बारेमा प्रधानमन्त्री वलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भनेका छन्, ‘दुवै देशका प्रधानमन्त्रीस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :