संस्कृतिकर्मी पौडेललाई रिहा गर्न जनसांस्कृतिक महासङ्घको माग

संस्कृतिकर्मी पौडेललाई रिहा गर्न जनसांस्कृतिक महासङ्घको माग

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले महासङ्घका कार्यालय सदस्य अग्निराज पौडेललाई बिनासर्त रिहा गर्न माग गरेको छ । महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै लामो समयदेखि कलाक्षेत्रमा क्रियाशील पौडेललाई प्रहरीले अकारण गिरफ्तार गर्नुका साथै कार्यालय एवम् निवासमा छापा मारेर श्वेतआतङ्क मच्चाएको र डिजाइनर पौडेलको कार्यकक्षबाट कम्प्युटरलगायत महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएको उल्लेख छ ।

महासङ्घका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी वली सरकारले अग्रज संस्कृतिकर्मी एवम् डिजाइनर अग्निराज पौडेललाई बिनाकारण गिरफ्तार गरेको कार्यप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । लामो समयदेखि कलाक्षेत्रमा क्रियाशील पौडेललाई गिरफ्तार मात्र गरिएन, उहाँको कार्यालय एवम् निवासमा छापामारेर श्वेतआतङ्क मच्चाइयो । प्रहरीद्वारा डिजाइनर पौडेलको कार्यकक्षबाट कम्प्युटरलगायत महत्वपूर्ण सामग्री नियन्त्रणमा लिइएको छ । प्रहरीको यसप्रकारको निकृष्ट कार्यप्रति हाम्रो सङ्गठन सशक्त प्रतिवाद गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कुनै बेला उनै अग्निराज पौडेलहरूले बनाएको चित्रको प्रशंसा गरेर नथाक्ने रामबहादुर थापा यतिबेला गृहप्रशासनका प्रमुख छन् । उनको काम देशभक्त तथा क्रान्तिकारीहरूको चरम दमन गर्नुसिवाय अर्को देखिँदैन । नेपालका शासकहरू यतिबेला सच्चा र सम्मानित नागरिकहरूको हुर्मत लिन तम्सिरहेका छन् । यो गिरफ्तारी पनि त्यसैको एउटा उपज हो । संस्कृतिकर्मी पौडेल अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य एवम् अखिल नेपाल ललितकलाकर्मी सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । वैचारिक आस्था राख्न पाउने अधिकार एवम् स्वतन्त्र रूपमा पेसा–व्यवसाय गर्न पाउने नागरिकको नैसर्गिक अधिकारका विरुद्ध वर्तमान फासिवादी वली सरकार मैमत्त भएर प्रस्तुत भइरहेको छ । अग्रज लेखक, कवि, कलाकार एवम् संस्कृतिकर्मीलाई अनावश्यक दुःख नदिन एवम् सबैको वैचारिक स्वत्वको रक्षा गर्न हामी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौँ । अग्रज संस्कृतिकर्मी एवम् डिजाइनर अग्निराज पौडेललाई तुरुन्त रिहाइका लागि यसै वक्तव्यमार्फत सम्बन्धित सबैलाई विशेष आह्वान पनि गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :